अभिमन्यु


कागजपत्रमा उनको नाम रविन्द्रजंग ठकुरी भए पनि सबैले रवि मात्रै भनेर बोलाए। उता रेजिमेन्टमा त न रविन्द्र, न रवि। उनको सबैले बोलाउने नाम भयो अभिमन्यु।

उनलाई अभिमन्यु भन्नुका पछाडि केही कारण थिए। युद्धमा जहाँ जहाँ दुष्मनको किल्ला तोड्नुपर्यो, त्यसको रणनीति उनी आफैँ बनाउँथे। चक्रव्यूह तोड्नमा माहिर मान्थे सबै उनलाई।

सामान्य सिपाहीको रूपमा सेवा प्रवेश गरेका उनले मेजर भएर सेवानिवृत्त हुँदासम्म धेरै ‘किल्ला–तोड अभियान’ को नेतृत्व गरेका थिए। र जब उनी सेवाबाट निस्किए, निकै राम्रो छापसहित निस्किए।

डढेल्धुरा जिल्लाको नेपाली मान्छे, भारतीय सेनाको जागिरे। घरगाउँमा उही दशैँतिहारका बेला छुट्टीमा आउँथे। नत्र, धेरैजसो समय भारतमै हुने हुनाले उनको बोलाइमा हिन्दी, विशेष गरी फौजका शब्दावली मिसिएको पाइन्थ्यो।

घरतिर संयुक्त परिवार, खानदानी मानिएको। समयसँगै उनको बिहे भयो, र दुई छोरा सन्तोष र सुमित क्रमैसँग जन्मिए। हुर्काउन कुनै धौधौ परेन। श्रीमती भने असाध्यै सोझी। हो, र हस् मात्रै भनेर चलाइन् उनले घरव्यवहार।

दुर्भाग्य नै भनौँ, सन् १९९१ मा भारत र पाकिस्तानबीच कार्गिलमा भएको युद्धमा अभिमन्यु घाइते भए। टाउको अथवा छातीतिर गोली लागेको भए ठहरै हुने, उनलाई गोली ढाडतिर लाग्यो। सेनाकै स्वास्थ्य शिविरमा प्रारम्भिक उपचार गरेपछि उनलाई, र अन्य घाइते योद्धालाई श्रीनगर ल्याइयो।

गोलीले उनको नशा भेदन गरेको हुनाले उनको शल्यक्रिया अत्यन्तै संवेदनशील थियो। चिकित्सकहरूले जोखिम मोलेरै गरे त्यो क्रिया, र बिस्तारै उनी सामान्य अवस्थातिर फर्किए।

उनको जागिर अझ केही वर्ष बाँकी थियो। युद्धमा ज्यानकै बाजी लगाएर लडेको हुनाले सेनाभित्र धेरै सम्मान र पदक पनि पाए। रेजिमेन्टमा सबै उनलाई माया गर्थे। धेरैले उनलाई अभिमन्यु भने पनि कार्गिलको युद्धपछि कोही कोही उनलाई ‘आयो गोर्खे’ पनि भन्न थाले।

घाइते भएपछि उनको कामको स्वरूपमा परिवर्तन गरियो। अब उनलाई मैदानमा होइन, ब्यारेकभित्रै सामान्य क्लरिकल काममा खटाइन थालियो। उनको कम्मरमा अझै च्वास्स चुस्स दुखिरहने हुनाले भारी बोक्ने, निहुरिने, कुद्ने आदि काममा चिकित्सकले बन्देज लगाएका थिए। सधैँ योग गरिरहनुपर्ने, बेल्ट लगाइरहनुपर्ने, क्याल्सियम र न्युरोबिनका चक्की खाइरहनुपर्ने जस्ता अनिवार्य कुराहरू उनको दिनचर्याका पाटा बने। उनले जमिनको अभ्यासबाट हात धुनै पर्यो।

धेरैले सोचे, अभिमन्युलाई अब काइदा भो। उनी अब मोटाउने, झर्झराउँदो हुने र झन्झन् जवान हुँदैजाने अनुमान पनि गरे। तर भयो ठीक उल्टो। अभिमन्यु निकै निराश देखिन थाले। उनी खाना पनि कम खान थाले। उनको तौल पनि बढ्नुको सट्टा घट्दै गयो। ‘राति निन्द्रै लाग्दैन,’ भन्ने पनि उनको गुनासो थियो।

ब्यारेक एउटा जङ्गला ठाउँमा थियो। उत्तरतिर पातलो बस्ती, तर अन्य तीनतिर भने पूरै जङ्गल। ब्यारेकको वरिपरि काँडे तारको घेरा लगाइएको थियो। सैनिकहरूलाई गस्तीको समयमाबाहेर ब्यारेकबाहिर घुमफिर गर्ने अनुमति थिएन। सुरक्षाका कारणले यसो गरिएको हो भनिएको थियो।

अभिमन्युलाई यी बन्देजहरूले झनै खिन्न तुल्यायो। उनी साँझपख निस्कन चाहन्थे, नदी किनारतिर टहल्न चाहन्थे, गाउँलेहरूसँग संवाद गर्न चाहन्थे, आँखाले पिएर भए पनि छोडिएको मायाको तिर्खा मेट्न चाहन्थ। तर…

डेढेल्धुरा जिल्लाको सदरमुकाम डढेल्धुरा बजारका हुनेखाने ठकुरीका सन्तान थिए उनी। दसौं बिघा जगा–जमिन भएका। यसरी जागिर खान लाहुरे भएर मुग्लानै पस्नुपर्ने कुनै पनि बाध्यता उनीसँग थिएन। उनले बसीबसी खानपुग्ने जमिन र सम्पत्ति उनका पुर्खाले आर्जेका थिए। कुनै ठूलो व्यापारै गर्छु अथवा उद्योग चलाउँछु भन्दा पनि लगानीको खाँचो हुने स्थिति थिएन। तर शैन्य–खेल उनको पुरानो उत्कण्ठा थियो। उनलाई किन किन युद्धखेलहरू मनपर्थे सानैदेखि।

डेढेल्धुरामा, उनको घरबाट नजिकै अमरगढी किल्ला देखिन्थ्यो। छेवैमा नेपाली सेनाको ब्यारेक थियो। सानो हुँदैदेखि, सेनाको नियमित अध्यास उनको सबैभन्दा उत्कट कौतुहलताको विषय रहँदै आएको थियो। जबजब अभ्यासमा रहेका सैनिकहरूले पड्काएको गोलीको आवाज सुन्थे, उनका हात र खुट्टा स्वतःस्फूर्त झट्कारिन्थे, र हावामा उठ्थे। कहिलेकाहीँ सेनाको बेण्ड बज्यो भने त उनी भित्रै नपसी सुनिरहन्थे। हरेकपल्ट नयाँ लुगा किन्न बजार जाँदा सैनिक पोशाकजस्तै लुगा किन्थे। खेलौनामा उनका सबैभन्दा प्रिय बन्दुक, गोली र पिस्तोलहरु नै हुन्थे।

अमरगढी किल्लासँग गाँसिएका कइयौँ युद्धकथा उनले घरमा बाआमाबाट सुनेको थिए। उनले स्कुलमा पढेको एएटा कुरा उनलाई अझै पनि याद छः
गोर्खाली राजा रणबहादुर शाहका पालामा पनि पृथ्वीनारायण शाहले सुुरु गरेको नेपाल एकीकरणको काम चलिरहेकै थियो। विसं १८४७ भाद्र १३ गते कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोर्खाली सैनिक, तथा डोटीका रैथाने सैनिकका बीच सेती नदिको नारीदाङमा भीषण युद्ध भयो। त्यस युद्धमा गोर्खाली फौजका सामुन्ने डोटेली फौज पराजित भयो।

यस पराजयसँगै डोटी राज्य पनि नेपाल अधिराज्यमा गाभिन पुग्यो। यस क्षेत्रको शासनलाई बलियो बनाउन र राज्यलाई अझ अगाडि विस्तार गर्नका लागि अमरसिंह थापा यस क्षत्रको प्रथम प्रशासनको रूपमा नियुक्त भए। उनले महाकालीपारि पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन्। अमरसिंह थापा र उनका अन्य शैन्य कमाण्डरहरूले यस अमरगढी किल्लालाई आधारकिल्ला बानाई काली–कुमाउतिर अगाडि बढ्दा कुमाउका राजा मोहन चन्दको फौजले गोर्खाली फौजमाथि एक्कासि आक्रमण गरिदियो। यसबेला गोर्खाली सैनिक सजक नभएको कारण उनीहरूको पराजय भयो।

तर केही समयपछि नेपाली सेना पुनः काली–कुमाउतर्फ अगाडि बढ्यो। गोर्खाली सैनिकको वीरता तथा स्वयं अमरसिंहको रणकुशलताले गोर्खाली सौनिकको विजय भयो। विजय अभियानको समाप्तिपछि अमरगढी किल्लाको मातहातमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो। त्यस विशाल किल्लाकै कारण विसं १८७३ को अङ्ग्रेजसितको लडाइँमा अङ्गेजलाई महाकाली तरेर नेपाल पस्नबाट रोक्नमा नेपालीहरू सफल भए।

बिहान दैलो उघार्नेबित्तिकै देखिने त्यो किल्ला उनको आँखामा बसेका सबैभन्दा पुराना प्रतिबिम्बहरूमध्ये एक थियो। उनलाई सधैँ लाग्थ्यो, उनी पनि कुनै दिन एउटा शैनिक बन्नेछन् र तोड्नेछन् दुश्मनहरूका दुर्ग र किल्लाहरू। आफ्नै नामको कुनै किल्ला पनि बनाउनेछन्, र इतिहासमा अमरसिंहले जस्तो आफ्नो नाम लेखाउनेछ। उनले हजुरबाबाट सुनेको थियो, त्यस बेलाका युद्धका धेरै हातहतियार यस किल्लाभित्र राखिएका छन्। तर, अलि ठूलो भएपछि आफैँ त्यस किल्लामा घुम्न जाँदा धेरैजसो हातहतियार हराएका अथवा चोरिएका भन्ने जानकारी पाए। उनलाई खिन्न लाग्यो।

र नै उनी मरिहत्ते गरेर सेनामा पसे। त्यो बेला नेपाल एक चकमन्न देश थियो। खासै युद्ध अथवा विद्रोह हुँदैनथे। उनी सेनामा प्रवेश गर्ने बेलामा माओवादी युद्ध सुरु भएकै थिएन। नेपालको छिमेकी कुनै पनि मुलुकसँग दुश्मनी थिएन। नेपाल लगभग लगभग शान्ति क्षेत्र नै थियो, औपचारिक रूपले घोषणा नभए पनि। त्यसैले नेपाली सेनामा पसेर उनको शैन्यक्षुधा मेटिने उनले देखेनन्। उनी भारतीय सेनामा पसे।

भारत र पाकिस्ताबीच हानाहान चलि नै रहन्थ्यो। सन् ७२ मा त युद्ध नै भयो। तर ऊबेला उनले सेवा सुरु गरेकै थिएनन्। ऊ सेवामा पसेको सन् १९८९ मा त। सुरुका दिनमा उनलाई कता कता खटाइयो। तर १९९४ देखि भने उनी निरन्तर कश्मीरमा सेवारत रहे। खूब हुन्थ्यो भीडन्त।

उनको योजना अब्बल मानिन्थ्यो। उनको निशाना अचुक। तरै पनि, उनको दिमागमा जुन ‘युद्ध’ थियो, त्यो कहिल्यै भएन। होला होलाजस्तो सधैँ हुन्थ्यो, तर भइ चैँ हाल्दैनथ्यो। कसोकसो टरिहाल्थ्यो। उनको भीषण युद्धमा लड्ने चाहना कहिल्यै पूरा भएन। र सन् १९९९ मा कार्गिलको युद्ध भयो। उनीभित्रको सैनिक एक हिसाबले खुसी पनि भयो। अब आफूभित्रै बाल्यकालदेखि नै हुर्किएको शैन्यचेतनाले जमिनमै सौर्यप्रदर्शन गर्ने मौका पाउने निश्चित भयो। धेरै किल्लाहरूमा उनले प्रदर्शन गर्यो विरासतमै आएको नेपाली वीरता। तर जब उनलाई गोली लाग्यो, बन्द भयो यो सिलसिला। उनको रहर उधारो नै रह्यो। जब डाक्टरहरूले उनी डिप्रेशनमा भएको ठहर गरे, उनलाई स्वेच्छिक अवकासको सल्लाह दिइयो। रेजिमेन्ट पनि अब उनीबाट केही काम हुँदैन भन्नेमा ढुक्क थियो।

उनले अवकास लिँदासम्ममा छोरो सन्तोषले धनगढीमा जमिन किनिसकेको थियो। डढेल्धुराको घरजग्गा र जमिन छँदैथियो। तर तराईमा धेरै सुबिधा छन्, गाडीघोडा बढी छन्, स्कुल कलेज पनि उत्तिकै तथा अस्पतालको सुबिधा पनि राम्रो छ भन्ने केही तर्कसहित मिलनचोकमा केही कट्ठा जग्गा किनेर घर बनाइसकेको थियो। आमा, ऊ र उसकी श्रीमती र भाइ सुमित त्यहीँ बस्थे।

अवकासपछि अभिमन्युको निवास त्यहीँ भयो। पारि, गौरिफन्टाबाटै उनले पेन्सन थाप्ने व्यवस्था रहेकोले सजिलो पनि भयो।
मानसिक स्वास्थ्य पनि खासै ठीक थिएन नै। अवकाश पाएपछि ब्यारेकमा जस्तो योग, ब्यायाम पनि छुटे। उनी झ्यालमा बस्थे, र बाहिर सडक हेरेर टोलाइरहन्थे। रात परेपछि पातो दुख्यो, खुट्टो दुख्यो, कम्मर दुख्यो, ऐयाया, आथाथा…सबै सुरु हुन्थ्यो।

भयभित आँखाले श्रीमती उनलाई हेरिरहन्थिन्। यसो–उसो भन्ने बानी थिएन उनको। धरती जो थिइन्। आँखाभरि आस बोकेर छोराको अनुहारतिर हेरिरहन्थिन्। कहिल्यै केही नमागेका उनको आँखामा पनि यस्ता भाव हुन्छन् भन्ने कसैले सोचेकै थिएन। बूढाले जवानी अत्यत्रै बिताए। सन्तानको रहर हुँदामात्रै उनलाई सम्झेका त हुन्। माटो बनेरै बिताइन् जवानी।

सन्तोषले कहाँ कहाँ कुदाएन अभिमन्युलाई? धनगढीका सबै प्रमुख अस्पताल सकेपछि कोहलपुर र नेपालगञ्जमा लगेर उनको उपचार गरायो। कोहलपुरमा त एउटा डेरै लियो, र बासँग भाइलाई राख्यो। दुई महिनाको फिजियोथेरापी गरेपछि स्थिति अलि ठीक भयो। उनले दुखाइ कम भएको बताए। मानसिक सन्तुलनको औषधिसमेत लिएर उनीहरू धनगढी फर्किए। डाक्टरको सल्लाह थियो — बिहान अनिवार्य हिड्नू, एक घण्टा।

अभिमन्यु सधैँ सधैँ उठेर मोहना पुल तर्दै गौरीफन्टातिर जान्थे। माओवादी द्वन्द्व चरम उत्कर्षमा रहेको समय थियो। भारतीय सेनाले सीमा निकै कडा पारेको थियो। भारततिर छिर्दा कडा चेकजाँच हुन्थ्यो। शङ्काकै भरमा मान्छे कुटिन्थे। त्यसैले छोराहरू उनलाई भन्थे, ‘बा, यतैपट्टि हिँड्नू। उता चौराहतिर जानू। फूलबारीको बाटो जानू। गेटातिर जानू। मिलनचोकतिरै बरु भित्र गाउँतिर जानू। भारततिर नजानू।’

‘हस्’ भन्थे बूढा, तर उतैतिर लाग्थे, बाङ्गोबाङ्गो हुँदै, बिहानैपच्छिे। सबैलाई केरकार गर्दा उत्तापट्टिका सैनिकले उनलाई खासै केही नगर्ने देखेर छोराहरू पनि अचम्मित हुन्थे। उनी सिमानामा उभिएका जवानसँग हिन्दीमै कुरा गर्थे, शैन्यभाषा प्रयोग गर्थे, भारत, विशेष गरी कार्गिलका कुरा गर्थे, र सजिलो भिसा लाउँथे।

एकदिन बिहानको हटल सकेर घर आएपछि उनले छोरालाई भने, ‘बाबु, उत्तापट्टि घर बनाउन सकिँदैन?’

‘कत्तापट्टि, बा?’

‘गौरीफन्टा। मोहनाले बगाउँदैन।’

छोराले मगजको औषधि नै साटिएछ कि भनेर हेर्यो। औषधि ठीकै थियो। केही भनेन।

अलिदिनपछि फेरि भने, ‘क्या पड्काउँछन् ! मैले आवाजबाटै चिनेँ ती बन्दुक। हुन त चान हानेका हुन्। मतलब, सिकेका।’

‘के बा?’

‘उत्तापट्टि। ती फ्यास्स गर्नेचाहिँ भरुवा हुन् — मस्केट। बडडड गर्ने कार्बाइन्। धेरैजसो एसएलआर। अहँ, मसिनगन चैँ भएजस्तो लागेन।’
सन्तोषले भोलिपल्टदेखि गौरीफन्टातिर जाने कार्यमा पूर्ण प्रतिबन्ध लगाइलियो।

बूढा पुनः घरै बस्न थाले। मिर्मिरेमै झ्याल खोल्थे, र बाहिर हेरिरहन्थे। बुहारीले ल्याएर राखिदिएको चिया कतिखेर सेलाउँथ्यो, थाहै पाउँदैनथे।

‘बा, डाक्टरले हिँड्नू भनेको छ दिनैपच्छिे। हिँड्नुपर्यो,’ सन्तोषले एक दिन बिहानै भन्यो। उनले याचिकापूर्ण आँखाले उसलाई हेरे, र लौरो बोकेर बाहिर निस्किए। छोराले निगरानी गरि नै रह्यो। उनी लुसुलुसु गौरीफान्टातिरै लागे।

ऊ दुगुरेर तल झर्यो र बालाई समात्यो। बल लगाएरै उनलाई फर्कायो, र बलात चौराहतिर ठेल्यो। बूढाले लौरो उझाए, र बलियोसँग उसको ढाडमा हाने – ड्याम्म। यो कुरो टोलमा चर्चाको विषय बन्यो।

बूढापाकाले सन्तोषलाई भने, ‘जान्देऊ न त गौरीफन्टा। के बिग्रिन्छ त?’

केहीले बिरोध गरे। भने, ‘किन जाने उता? यता छैन हिँड्ने ठाउँ?’

‘ए भाइ, भारतीय सेनाका रिटायर्ड मेजर हुन्। उनको मन उता छ। सिपाहीहरूसँग कुरा गर्छन्, रमाउँछन् अनि फर्किन्छन्। कुन ठूलो कुरा भयो त?’

‘यहाँ पनि छ त ब्यारेक। उः पर।’

‘भाषा मिल्दैन। जान देऊ।’

‘हुँदैन। ती विस्तारवादी।’

‘यो उनैको खुसीको लागि भनेको मैले।’

‘सीमा मिचाहा।’

‘उनीहरूको मन मिल्छ।’

‘बाँध थुनेर बाढ खन्याउँछ। नरह खनेर पानी लान्छ।’

अन्त्यहीन विवाद। चर्काचर्की नै हुन थालेपछि छोराले तान्दै घरतिर लग्यो अभिमन्युलाई।

भोलिपल्ट बूढा फेरि निस्केनन्। छोराले केही भनेन। उसले पनि सायद सोच्यो, भारततिरै जानुभन्दा बरु घरै बसेको बेस।

अभिमन्युको हिँडाइको सिलसिला रोकियो। उनी घरैभित्र कैदीजस्ता भए। वाल्यकाल ढडेल्धुरा र जवानी भारतमा बिताएकाले उनका खासै साथीभाइ पनि थिएनन् धनगढीमा। घरबाहिर निस्कनासाथ मन मोहना पुलतिरै लहिसन्थ्यो। त्यो विवादास्पद भएपछि उनले दिनचर्या फेरे।
केही दिन चौराहतिर गए। चौराहमा पुलिस चौकी थियो। सधैँ त्यस चौकीनेर पुगेर उभिन्थे, र फर्कन्थे। यो क्रम करीब एक हप्ता चलेपछि उनले

छोरालाई भने, ‘पुलिस चौकीमा दम छैन। पड्काउँदैनन्।’

‘के बुवा?’ सन्तोषले सोध्यो।

‘बन्दुक।’

सन्तोषले चौराहतिर पठाउनु पनि उचित ठानेन। उनी पुनः घरैका बन्दी हुन पुगे।

यसरी घरैमा रहेपछि उनको शरीरले व्यायाम पाएन। उनमा नशाको रोग सनै सनै बल्झिन थाल्यो। दुख्ने र सक्सकाउने हुन थाल्यो। हातगोडा सुन्निने, झम्झमाउने, कम्मर सड्केर हप्तौँ ओछ्यानमा थला पर्ने, जीऊ बाउँडिने…अनेक समस्या देखिए।

सन्तोषका पनि धेरै प्रतिकूलता थिए। भनेको बेलामा बुवालाई लिएर हिँडिहाल्न पनि सकेन। भर्खरै सुर गरिएको फर्निचर उद्योग यसैले हेर्नुपथ्र्यो। गलैँचाको व्यापारमा पनि हात हाल्ने सुरसारमा थियो। रुपियाँपैसा, घरको व्यावहार मिलाउँदा मिलाउँदै केही दिन लागिहाल्यो। अभिमन्युलाई बिमारले च्यापेर सिकिस्त बनाइहाल्यो। हातखुट्टा कक्रिने र आँखा टोलाउने गर्न थाले। बोली लर्बरिन थाल्यो।

उसले यसपल्ट बालाई सीधै काठमाडौँ लग्यो। त्यहाँका ठूला भनिएका प्राय सबै अस्पताल पुर्यायो। धेरै चिकित्सकको सल्लाह लियो। दुई महिनाको बसाइमा पनि खासै सुधार भएन। पुनः धनगढी नै पुर्यायो।

त्यसै टोलमा भारतीय सेनाकै पूर्व सैनिक धनजीत थापा पनि बस्थे। सैनिक नै भएको हुनाले उनको आवतजावत अलिअलि थियो। अभिमन्युलाई

पुनः घरै ल्याइएको छ भन्ने सुनेपछि उनी एक दिन एकाबिहानै आए, र सन्तोषलाई भने, ‘भाइ, लखनाऊ केन्टमा मिलिटेरी अस्पताल छ। त्यहाँ लैजाऊँ दाइलाई। खर्च लाग्दैन। बाटाखर्च त कति हुन्छ र? बरु म पनि जान्छु।’

सन्तोषलाई यो कुरा मनासिपै लाग्यो। धनजीतसहित बालाई लिएर लखनऊ नै जाने भयो। गौरीफन्टाबाट सीधै लखनाऊको बस समात्यो र पुर्यायो कमाण्ड अस्प्ताल, लखनऊ। त्यहाँ पुर्याउनसाथ चिकित्सकहरूले घोषणा गरे — अर्धपक्षघात हुने खतरा। भइसकेको भने थिएन।
करिब डेढ महिनाको बसाइपछि अभिमन्युका हातगोडा चल्न थाले। कम्मर पनि चलायमान भयो। बोली अलि अलि फुट्यो। निरन्तर व्यायाम गरिरहने र बिहान बिहान सकेको हिँड्ने सल्लाह बोकेर उनीहरू धनगढी फर्किए।

अरु सबै ठीक थियो धनगढीमा, तर बूढालाई बिहान बिहान कहाँ हिँडाउने, त्यही समस्या भयो। सन्तोषले धेरै सोचेपछि निचोड निकाल्यो — घरबाट त्यसै टेलमा रहेको लिटल फ्लावर स्कुलसम्म जाने, र त्यसैको ठूलो प्रङ्गणमा चारै कुना हिँड्ने। बूढाले केही दिन यसो गरे, तर निरन्तरता दिएनन्। पुनः घरैमा। शरीरको समस्या बल्झिन थाल्यो। सन्तोषले हरेस खयो।

सोच्यो, ‘अब के गर्नु त? मैले गर्न बाँकी केही राखिनँ। बाटो सबैको उही हो। एक दिन नगई हुँदैन। मायाले थाम्दैन।’

माओवादी द्वन्द्वको चरम अवस्था थियो। देशैभरि हानाहान भएको खबर आइरहन्थ्यो।

एक दिन, बिहान उज्यालो हुनेबेलातिर ड्याङ् ड्याङ् गोली पड्केको आवाज सुनियो। ब्रह्ममुहूर्तको बेला भएपनि प्रायः मानिसहरू सुतिरहेकै थिए।

गोलीको आवाज सुनेपछि अभिमन्यु बिउँझिए। उत्तरतिरको झ्याल खोले, र हेरे। माथि, पहाडको फेदीमा झ्ल्याकझुलुक उज्यालो देखियो। निभ्दै, पुनः बल्दै गरेका उज्यालाका झिल्काजस्ता देखिए। उनले ठम्याए, गोलीको आवाज त्यहीँबाट आइरहेको थियो। काम थापेर सुने — हो। इन्सास। कार्बाइन। एसएलआस। मसिन गन नै पो हो कि जस्तो पनि सुने। गोली पड्कि नै रहे, निरन्तर।

उनका नशा नशामा, र हरेक मांशपोशीमा कुँजिएर बसेको स्फूर्ति स्वतः जाग्रित भयो। हरेक ड्याङको आवाजमा उनी कि हात झड्कार्न थाले, कि खुट्टा। अचलप्रायः भएको कम्मरमा काजी अमरसिंहका कमाण्डरका जस्ता जाँगर बौरिएर आए। जब कानै खाने गरी ड्याम्म गरेर बमजस्तो केही पड्कियो र सारा धनगडी आत्तिएर उठ्यो, उनी एक्लै तल सडकमा आए।

धनगडीबासी डरले थुर्र भएर घरैभित्र बसिरहे। उनीहरूले थाह पाएकै थिए यो युद्ध के हो भनेर। सन्तोषले उठेर सबै झ्यालढोकाको निरीक्षण गर्यो। बा कोठामा थिएनन्।

ऊ झस्कियो। बाहिर गोलीबारी जारी थियो। सोच्यो, बा शौचालय गएका होलान्। धेरैबेर पर्खियो। बा आएनन्। शौचालयमै गएर हेर्यो, खुलै थियो। सबै कोठा चाहार्यो, भेटेन।

बाहिर छ्याङ्ङ उज्यालो भइसकेको थियो। तैपनि धनगढी चकमन्न थियो। दूध बोकेका गाडी कुदेनन् त्यसदिन। राजमार्गमा कुनै जीवन थिएन। बिहानको कलेज जानेहरू पनि देखिएनन् सडकमा। मूर्दाशान्ति थियो धनगढीमा। कि भाले कराउँथे, कि माथि पहाडतिरका चलायमान बन्दुकहरू। बस्। बाहिर, बिजुलीका तारमा लहरै बास बसेका चराहरूको सम्राज्य थियो।

सन्तोषको मनमा भित्रैसम्म चिसो पस्यो। मौससको ठिही र बन्दुकको डरभन्दा पनि उसका बा ओछ्यानमा थिएनन्। उसले बिस्तारै सडकपट्टिको झ्याल खोल्यो, र हेर्यो परसम्म। करिब तीन सय मिटरजति पर, सडकमा उभिएका थिए उसका बा। उनको हातमा लौरो थियो। हरेक पल्ट गोलीको आवाज आउँदा त्यो लौरो उठाउँदै उत्तरतिर देखाउँदै गरिरहेका थिए।

बाहिर निस्किनु निकै जोखिमपूर्ण थियो। सन्तोषले सम्पूर्ण साहस बटुलेर बोलायो – बा ! उसका दुई बोली त माथिबाट आएको बन्दुकको आवाजले खाइदियो। तेस्रो पल्टमा सुनेछन्, बूढा फर्किए।

उनी भित्र पसेपछि सन्तोषले ड्याम्म दैलो लगायो। बूढाले लौरो हावामा उठाए, र उत्तरतिर तेस्र्याए। उनी खाटमा बसेपछि सन्तोषले उत्तरतिरको झ्याल बन्द गरिदियो र सोध्यो, ‘बा, बाहिर गोलीबारी छ। तपाईं कस्तो मान्छे? किन सडकमा जानुभाको? हिँड्नै नसक्ने मान्छे कसरी जानुभो?’
बूढा बोलेनन्। अपराधबोधले केही झुकेका आँखाले एकपल्ट पुलुक्क हेरे सन्तोषलाई।

‘सुत्नू,’ भनेर सन्तोष बाहिर निस्कन खोज्यो। च्याप्पै समाते।

‘बाबु, डढेल्धुरामा किल्ला छ?’ उनले सोधे।

‘छ। ‘

‘ब्यारेक नि?’

‘छ।’

हामी उतै सरौँ। म पुरानै घरमा बस्ने।’

धेरै, धेरै नै समयपछि अभिमन्युले बोलेका शब्द थिए यी। सन्तोष अकमक्क पर्यो। ल भन्न पनि सकेन। नाइँ भन्न पनि सकेन।

केही दिनपछि उसले भाइ सुमितसँग घनिभूत सल्लाह गर्यो। चर्काचर्की पनि भयो। तर अन्त्यमा उनीहरू एउटा सहमतीमा पुगे। गाडी खोजे, र बाआमालाई हालेर हुइँकिए डढेल्धुरातिर।

दुईचार दिन बसेर सन्तोष फर्कियो। सुमित उतै बाआमासँग बस्यो।

अमरगढीको किल्ला त्यहीँ थियो। त्यहीँ थिए त्यसको इतिहासका साक्षी ती शैन्य स्मारकहरू र केही बचेका ती पुराना हातहतियार। बिहान, त्यसै किल्लाभित्र रहेको उग्रभैरवको मन्दिरको घण्ट बजेपछि उठ्थे अभिमन्यु। कसैले कर गर्नुपर्ने अवस्थै आएन। उनी बिस्तारै त्यसै किल्लातिर जान्थे र त्यहीँ अल्मलिन्थे। खाना खानेबेलामा आउँथे, र पुनः त्यतै जान्थे।

नजिकैको ब्यारेक छँदै थियो। सैनिकको सङ्ख्या निकै थपिएको रहेछ। युद्धको बेला थियो, दुश्मन तर्साउनै भने पनि सैनिकहरू बन्दुक पड्काइरहन्थे। अभ्यास गरिरहन्थे। हरेक पल्ट गोली पड्किँदा अभिमन्यु बसेको ठाउँबाट उठ्थे अथवा निद्राबाट बिउँझिन्थे र आफ्नो लौरो गोली पड्केतिरै ताकेर हल्लाउँथे।

अचेल अभिमन्युको स्वास्थ्यमा कुनै समस्या छैन। राति मज्जासँग निदाउँछन्। बन्दुक पड्केको बेलामा उठ्छन्, र सधैँकै जस्तो प्रतिक्रिया दिन्छन्। दिउँसो अमरगढीको किल्लामा गएर बस्छन्, र आउने जानेलाई भन्छन्, ‘काजी त काजी नै थिए। कसरी पो छप्काए अरे त, छ्याप्पै। तरबार भित्र छ।’

एकदिन त्यही बाटो भएर आउँदै गरेको सुमितलाई बूढाले किल्लाअगाडि च्याप्पै समाते, र भने, ‘बाबु, म नब्बे वर्ष बाँच्छु।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.