प्रदेश सभाले पूर्णता पाउनै दुई साता लाग्ने


आउँदो दुई साता भित्र प्रदेश सभाले पूर्णता पाउने भएको छ। निर्वाचन आयोगले एक साताको समय दिदैँ दलहरुलाई प्रदेश सभा तर्फको समानुपातिक सूची बुझाउन पत्राचार गरेसँगै दुई सातामा प्रदेश सभाका पूर्णता पाउने देखिएको हो।

प्रदेश सभाको बैठक भने अझै अनिश्चित छ।

प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनु पर्नेछ। सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गरेको छैन।

आयोगले प्रदेश सभा तर्फ समानुपातिकको मतपरिणाम सार्वजनिक गर्दै दलहरुलाई आज पत्राचार गरेको हो। आयोगको पत्रमा एक साता भित्र परिणाम बुझाउन समय दिइएको छ।

प्रदेश सभा निर्वाचन सम्बन्धि निर्देशिकामा दलहरुलाई समानुपातिकको बन्दसूचीबाट नाम छनौटका लागि एक साताको समय दिने उल्लेख रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए। दलहरुले नाम पठाएपछि आयोगले दलित, जनजाती, महिला, खस आर्य लगायतका क्लष्टर मिले नमिलेको जाँच गर्नेछ। साथै सच्याउन थप तीन दिनको समय दिनेछ।

प्रदेश सभा गठनको समान्य प्रक्रियामै १० दिनको समय लाग्ने देखिएको हो। निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले दलहरुले छिटो नाम टुङ्गो लगाएर पठाए आयोगलाई पनि मतपरिणाम सार्वजनिक गर्न छिटो हुने बताए।

‘राजनितिक दलहरुले छिटो भन्दा छिटो मतपरिणाम घोषणा गर्नुभयो भने हामीलाइ नतिजा प्रकाशन गर्न छिटो हुन्छ’, पौडेलले भने, ‘बन्दसूचीको क्रम र समावेशी सिद्धान्त अनुसार प्राथमिकताक्रमका साथै आदिवासी जनजाती, महिला, दलित जे जति क्लष्टर छन् छिटो भन्दा छिटो पेश गर्नुहुनेछ भन्ने आशा आयोगको छ।’

निर्वाचन आयोगका अनुसार नेकपा एमालेले प्रदेश सभा तर्फ ७५, कांग्रेसले ७२, नेकप माओवादी केन्द्रले ३५, संघीय फोरमले १३, राजपाले १२, राप्रपाले ३, विवेकशिल साझाले ३, राष्ट्रिय जनमोर्चाले २ सिट जितेका छन्। त्यस्तै अन्य साना पाँच दलले एक एक सिट जितेका छन्।

राष्ट्रिय सभा गठनको गाँठो नखुल्दा प्रतिनिधि सभा तर्फको मतपरिणाम भने आयोगले सार्वजनिक गरेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.