निधिको क्षेत्रमा फेरि निर्वाचन हुने/नहुनेबारे सर्वोच्चमा बहस हुने


सर्वोच्च अदालतको संवैधानिक इजलासले धनुषा क्षेत्र नम्बर ३मा पुन निर्वाचन गर्नुपर्ने माग गर्दै आएको एक निवेदनमा निर्वाचन आयोग र रिट निवेदक दुवैपक्षलाई बहसमा डाकेको छ।

धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो विजयी भएका थिए। भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेस नेता विमलेन्द्र निधि झण्डै ३ हजार मतले पराजित भएका थिए।

सर्वोच्च अदालतमा मुद्दा दिने उम्मेदवार भने निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका वाम गठबन्धनका लागि माओवादी उम्मेदवार राम सिंह यादव हुन्।

उनैको मुद्दामाथि सुनुवाई गर्दै  प्रधानन्यायाधीश गोपाल पराजुली सहित ५ बरिष्ठ न्यायाधीशको संवैधानिक इजलासले धनुषा ३ मा पुन निर्वाचन गर्ने अन्तकालिन आदेश दिने कि नदिनेबारे छलफल गर्न १९ गते दुवैपक्षलाई डाकेको हो। निर्वाचन सम्बन्धी मुद्दा संवैधानिक इजलासले हेर्ने गर्छ।

वाम गठबन्धनका तर्फबाट धनुषा ३का उम्मेदवार राम सिंह यादवले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनकै दिन शून्य समयमा स्थानीय संचार माध्याममा आएको समाचारका कारण आफुले हार वेहोर्नु परेको भन्दै पुष ५ गते सर्वोच्चमा मुद्दा दिएका थिए।

‘वाम गठबन्धनका उम्मेदवारले राजपालाई सघाउनका लागि जनकपुर उपमहानगर पालिकाका मेयर लालकीशोर साह र वाम गठबन्धनका उम्मेदवार राम सिंह यादव बीच सहमति भएको भन्ने ब्रेकीङ्ग न्युज प्रशारण भयो सुन्य समयमा भएको यो कार्यले म निर्वाचनमा पराजित हुनुपरेको हो, मतदातालाई प्रभावित पार्ने गरि भएको उक्त कार्य भएकाले  निर्वाचनको परिणाम नै अर्कै आएको हो, यहाँ फेरि स्वच्छ निर्वाचन गराउन आदेश जारी गरिपाउँ,’ यादवले दिएको मुद्दामा उल्लेख छ।

यादवले धनुषा ३ बाट २ हजार ३ सय ४६ मत पाएका थिए।

त्यस क्षेत्रमा राजपा अध्यक्ष मण्डलका महतोले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २९ सय  मतले हराउँदै विजयी भएका थिए। महतोको मत ३० हजार ७ सय ५० आएको थियो भने उनका निकटतम प्रतिद्वन्दी निधिको मत भने २७ हजार ८ सय ४७ मत आएको थियो।

त्यस्तै संवैधानिक इजलासले संखुवासभामा पुन मतदान माग गर्दै दिपक खड्काले दिएको मुद्दामा पुष १४ गते दुवै पक्षलाई छलफलका लागि डाकेको छ। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश (क) को मतगणनामा धाँधली भएकाले पुन मतदानको माग गर्दै परेको मुद्दामा पनि सर्वोच्चले पुष १९ गते दुवैपक्षलाई छलफलमा डाकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.