समानुपातिकतर्फ ७ प्रदेशमा कुन दलले कति सिट पाए?


मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेश सभाको सबै मतगणना सकिएको छ। प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सिटको मत परिणाम अघिल्लो साता नै सार्वजनिक भइसकेको छ।

समानुपातिकतर्फ भने प्रतिनिधि सभाको मत सार्वजनिक गर्न कानुनी जटिलता छ। निर्वाचन आयोगले समानुपातिकतर्फ प्रदेश सभामा दलहरुले पाएको सिट संख्या भने तोकेर पठाउने तयारी गरेको छ।

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ। सो प्रदेशको १७ लाख ३६ हजार ६ सय २२ मत मध्ये एमालेले ६ लाख ७३ हजार ७ सय ९ मत पाएको छ। यहाँ एमालेले समानुपातिकतर्फ १५ सिट पाएको छ।

५ लाख ८६ हजार २ सय ४७ मत पाएको नेपाली काँग्रेसले १३ सिट र २ लाख ६ हजार ७ सय ८१ माओवादी केन्द्रले ५ सिट पाएको छ।

यो प्रदेशमा संघीय समाजवादी फोरमले २ र राप्रापाले १ सिट पाएका छन्।

प्रदेश नम्बर २

प्रदेश २ को १५ लाख ३७ हजार १ सय ७१ मतमध्ये काँग्रेसले ३ लाख ७० हजार ५ सय ५० मत पाएको छ। यो प्रदेशमा समानुपातिक तर्फ ४३ सिट छन्। काँग्रेसले ११ सिट पाएको छ।

दोस्रो स्थानको राजपाले ३ लाख १८ हजार ५ सय २४ मत पाएको छ। उसको भागमा १० सिट परेको छ।

तेस्रो स्थानको संघीय समाजवादी फोरमले २ लाख ८४ हजार ७२ मत पाएको छ। उसले ९ सिट पाएको छ।

एमाले २ लाख ३९ हजार ७ सय ३४ मत ल्याएर चौथो भएको छ। उसको भागमा ७ सिट परेको छ।

१ लाख ८२ हजार ६ सय १९ मत पाएको माओवादी केन्द्रले ५ सिट पाएको छ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा १८ लाख ९१ हजार ३ सय ६ मतमध्ये एमालेले ६ लाख ७७ हजार ३ सय १७ मत पाएको छ। यो प्रदेशको ४४ सिटमध्ये एमालेले १६ सिट पाएको छ।

दोस्रो भएको काँग्रेसले ५ लाख ५९ हजार २ सय ४९ मत पाएको छ। उसको भागमा १४ सिट परेको छ।

३ लाख १६ हजार ८ सय ७६ मत पाएको माओवादी केन्द्रले यो प्रदेशमा ८ सांसद पाएको छ।

पहिलो पटक संसदीय चुनाव लडेको विवेकशील साझा पार्टीले यो प्रदेशमा १ लाख २४ हजार ४ सय ४२ मत पाएको छ। उसले प्रदेश सभामा ३ जना सांसद पाउनेछन्।

राप्रपाले यो प्रदेशमा १ सिट पाएको छ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ को ९ लाख ५६ हजार ८ सय १९ मत मध्ये एमालेले ३ लाख ७३ हजार ५ सय १ मत पाएको छ। त्यहाँको समानुपातिकतर्फको २४ सिट मध्ये एमालेले १० सिट पाएको छ।

३ लाख ६४ हजार ७ सय ९७ मत पाएको काँग्रेसको यो प्रदेशमा ९ सांसद रहनेछ। माओवादी केन्द्रले १ लाख १९ हजार ५ सय २८ मत पाएको छ। उसले ३ सांसद पठाउनेछ।

यो प्रदेशमा नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाएको छ।

प्रदेश नम्बर ५

३५ समानुपातिक सांसद चुनिने प्रदेश नम्बर ५ मा १६ लाख १२ हजार १ सय ८० मत सदर भएको थियो। त्यसमध्ये एमालेले ५ लाख ३३ हजार ६ सय १३ मत पाएको छ। उसले १३ जना सांसद पठाउनेछ।

५ लाख ३० हजार ८ सय ४४ मत पाएको काँग्रेसले १२ सांसद पाएको छ। २ लाख ३९ हजार २ सय ८१ मत ल्याएको माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २ र राजपाले १ सिट पाउनेछन्।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा समानुपातिकतर्फ १६ सिट छन्। यहाँ ४ लाख ९४ हजार १ सय ६२ मत सदर भएको थियो। त्यसमध्ये एमालेले १ लाख ६९ हजार ७ सय ५५ मत पाएको छ। उसले ६ सांसद पाउनेछ।

१ लाख ६२ हजार ३ मत पाएको काँग्रेसले ५ सांसद पठाउनेछ। माओवादी केन्द्रले १ लाख १७ हजार २ सय ९८ मत पाएको छ। उसले ४ सांसद पठाउनेछ।

प्रदेश नम्बर ७

प्रदेश ७ मा समानुपातिक तर्फ २१ सिट रहेको छ। यो प्रदेशमा ७ लाख ९१ हजार ७२ मत सदर भएको छ। त्यसमध्ये काँग्रेसले २ लाख ९५ हजार ७ सय २९ मत पाएको छ। उसले ८ सिट पाउनेछ।

२ लाख ६० हजार ९ सय ९५ मत पाएको एमालेले पनि ८ सिट पाउनेछ। माओवादी केन्द्रले ४ र राजपाले १ सिट पाउनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.