प्रधानमन्त्री निवास बालुवाटार बसेको पाँच दलका शीर्ष नेताको बैठक सकिएको छ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नजिकैको पसलमा चिया पिउन पसेका छन्।
राष्ट्रिय सभासम्बन्धी अध्यादेश र प्रतिनिधि सभाको मतपरिणाम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रिय दल बनेका पाँच पार्टीका शीर्ष नेताको बैठक बोलाएका थिए।
बैठक सकिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुराकानी गरेका थिए। एमाले नेताहरुले भने हामी वाम गठबन्धनका तर्फबाट उहाँ (नारायणकाजी)ले नै बोल्ने हो भन्दै बाहिरिएका थिए।
बालुवाटारबाट बाहिरिएलगत्तै ओली र दाहाल तीन नम्बर गेटको अर्कोतिर रहेको चिया पसलमा छिरे। उक्त पसलमा १११ थरि चिया पाइन्छ।
एमाले अध्यक्ष ओली हिमाली चिया पनि पाइने सो पसलका नियमित ग्राहक भएको सञ्चालक आश्विनी कोइरालाले जानकारी दिए। आज पनि ओलीले नै दाहाललाई चिया खान प्रस्ताव गरेका थिए।