संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावताका राजपाका ६ जना अध्यक्ष मिलाउँदा मिलाउँदै आफू हैरान भएको बताएका छन्।
मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै अध्यक्ष यादवले राजपा पार्टी एक भए पनि अध्यक्ष छतिर फर्किएको बताए।
‘उहाँहरुसँग हाम्रो चुनावी तालमेल थियो, एउटै पार्टी भनेको त ६ जना अध्यक्ष ६ तिर फर्कने रैछन्,’ यादवले भने, ‘एक जनाले एउटा भन्ने अर्कोले अर्को भन्ने, मिलाउँदा मिलाउँदै हैरान भएँ।’
उनले चुनावी तालमेल गरेपनि राजपासँग गठबन्धन नभएको बताए। ‘चुनावी तालमेल जोसँग पनि हुन्छ, गठबन्धन गर्न सिद्दान्त र नीति मिल्नुपर्छ,’ यादवले भने, ‘राजपासँग मधेसका मुद्दाबाहेकका कुरामा हाम्रो सिद्दान्त मिल्दैन।’
उनले फोरम हिमाल, पहाड र मधेसका सबै जनताको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने राष्ट्रिय पार्टी भएको तर राजपासँग यस्तो दार्शनिक आधार नरहेको बताए। राजपा मधेस केन्द्रीतमात्र भएकाले उससँग एकता नै हुने सम्भावना तत्काल नरहेको यादवको भनाइ छ।
‘अनुहार मिल्दैमा एकता हुन्छ भन्ने होइन, एकता हुन विचार र सिद्दान्त मिल्नुपर्छ,’ यादवले भने, ‘अहिले हाम्रो र राजपाको धेरै विचार मिल्दैन, उहाँहरु परिवर्तित भएर आउनुभयो भने पछि पार्टी एकता नहुने भन्ने पनि होइन्।’
उनले शासकीय स्वरुप, जनजातिका मुद्दा र जातीय विभेदका विषयमा राजपासँग आफूहरुको फरक मत रहेको बताए।
प्रदेश नम्बर २ को सरकार बनाउँदा भने राजपालाई पनि साथै लिने यादवले बताए। २ नम्बर प्रदेशका ६४ मध्ये फोरमले २० सिट जितेको छ, राजपा १५ ठाउँमा विजयी भएको छ। समानुपातिकमा भने फोरम राजपाभन्दा थोरै मतले पछि परेको छ।
‘ठूलो पार्टीका हिसाबले हामी सबैलाई मिलाएर सरकार बनाउँछौं,’ यादवले भने, ‘तर यस विषयमा ठोस कुरा भएको छैन।’
उनले यो चुनावबाट आफूहरुले उठाउँदै आएका समानुपातिक प्रतिनिधित्व, मधेसी, जनजाति र आदिवासीका अधिकारका कुरा जनताले अनुमोदन गरेको बताए।
यादवले केन्द्रमा बन्ने एमाले–माओवादी गठबन्धनको सरकारमा सहभागी हुन संविधान संशोधन आफूहरुको पहिलो सर्त रहेको बताए।
‘मन्त्रालयमा गएर जागिर खाने पक्षमा हामी छैनौं, हामीले उठाएको संविधान संशोधनको मुद्दामा उहाँहरु सकारात्मक देखिए सहयोग गर्न तयार छौं।’
यो पनि पढ्नुस्