सर्लाहीबाहेक सबै क्षेत्रको समानुपातिक मतगणना सकियो


प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नतिजा करिब करिब सकिएको छ। निर्वाचन आयोगका अनुसार अब सर्लाहीको मात्र मतपरिणाम घोषणा हुन मात्र बाँकि छ।

सर्लाहीबाहेक सबै क्षेत्रको मतगणना सकियो। २-३ दिनमा अन्तिम नतिजा सार्वजनिक गर्नेछौ, आयोगका प्रवक्ता नवराज ढकालले भने।

प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायमै राखेको छ। प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा आफ्नो उपस्थिति कायमै राख्दै दोस्रोमा उक्लिएको छ।

शनिबार साँझ ६ बजेसम्म आयोगमा प्राप्त मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो।

गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत पुर्‍याए।

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्।

गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ। समानुपातिकतर्फ ४/५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ। समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन।

३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ।

समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा पनि सिट पाउनेछैनन्।

प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्‍याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्‍याएमा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन।

प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतभन्दा तल देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउनेछैनन्।

अहिलेसम्म प्राप्त मतगणना

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले): ३१६०८८४
  • नेपाली काँग्रेस: ३१०९६५२
  • माओवादी केन्द्र: १२९५६३०
  • संघीय समाजवादी फोरम, नेपाल: ४६८२१९
  • राष्ट्रिय जनता पार्टी नेपाल: ४६७३४०
  • विवेकशील साझा पार्टी: २१२२९३
  • राष्ट्रिय प्रजातन्त्र पार्टी: १९६१८५
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८८२०१
  • नयाँ शक्ति पार्टी, नेपाल: ८१४१५
  • राष्ट्रिय जनमोर्चा: ६२१२३
  • अन्य: ३५४३२१

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.