सात प्रदेशमा प्रत्यक्षबाट निर्वाचित हुने ३ सय ३० सांसदमा १७ जना मात्र महिला निर्वाचित भएका छन्।
प्रदेश सभामा नेकपा एमालेबाट ८, माओवादी केन्द्रबाट ७ र राष्ट्रिय जनता पार्टी नेपालका २ जना महिला उम्मेदवार विजयी भएका हुन्। विजयी सबै महिलाले पुरुष प्रतिष्पर्धीलाई हराएका हुन्।
प्रदेश नम्बर १ मा दुई जना महिला सांसद भएका छन्। इलाम क्षेत्रनम्बर–१ (१) बाट खिनु लङ्वा लिम्बु र उदयपुर २ (२)मा कला घले सांसद बनेका छन्।
दुबै जना एमाले नेतृ हुन्। प्रदेश नम्बर २ मा ५ महिला सांसद निर्वाचित भएका छन्।एमालेबाट महोत्तरी–१ (१) मा शारदादेवी थापा र सर्लाही १(२) मा बेची लुंगेली विजयी भएकी छन्। त्यस्तै राजपाबाट महोत्तरी– २ (२)मा सुरिताकुमारी शाह र महोत्तर– ३ (२)मा रानीकुमारी तिवारी विजयी भएका छन्। माओवादी केन्द्रकी नेतृ ज्वालाकुमारी शाह बारा–३(१) बाट निर्वाचित भएकी छन्।
प्रदेश नम्बर ३ मा पाँच महिलाले सांसद जितेका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्य काठमाडौं–८ (२) र रमा आले मगर काठमाडौं–१० (२) बाट विजयी भएका छन्। त्यस्तै पूर्वराज्यमन्त्री समेत रहेको माओवादी केन्द्रकी नेतृ राधिका तामाङ नुवाकोट १ (१) बाट सांसद चुनिएकी छन्।
सोही पार्टीबाट ललितपुर–१ (१) मा लालकुमारी पुन र मकवानपुर– २ (१)मा कुमारी मोक्तान विजयी भएका छन्।
प्रदेश चारमा दुई महिलाले सांसद जितेका छन्। एमालेकी नरदेवी पुन मगर म्याग्दी–१ (२) बाट विजयी भएकी छन् भने माओवादीकी आशा कोइराला तनुहँ– २(१)बाट सांसद चुनिएकी छन्।
प्रदेश पाँच पनि २ जना महिला सांसदमा विजयी भएका छन्। त्यसमध्ये बाँकेको क्षेत्र नम्बर १ को दुबै प्रदेश सभामा महिला सांसद निर्वाचित भएका छन्। एमालेकी आरती पौडेल बाँके –१ (२) मा र माओवादी केन्द्रकी कृष्णा केसी बाँके–१ (१)मा विजयी भएका छन्।
प्रत्यक्षमा २४ सिट रहेको छ नम्बरको प्रदेश सभामा भने एउटा पनि महिला विजयी भएका छैनन्।
प्रदेश नम्बर सातमा माओवादीकी देवकी मल्ल थापा बझाङ –१ (२) बाट निर्वाचित भएकी छन्।
प्रतिनिधि सभामा तेस्रो ठूलो दल बनेको नेपाली कांग्रेसबा भने प्रतिनिधि र प्रदेश दुबै सभामा १ जना पनि महिला निर्वाचित भएका छैनन।
प्रदेश सभामा ३३ प्रतिशत महिला हुनै पर्ने संवैधानिक व्यवस्थालाई पूरा गर्न अब दलहरुले समानुपातिक सूचीबाट महिला सांसद बढी पठाउनु पर्नेछ। संविधानको धारा १७६ को उपधारा ९ मा प्रदेश सभाका कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ महिला सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रत्यक्षतर्फको नतिजा हेर्दा महिला ५.१५ प्रतिशत मात्र भएका छन्।
अब दलहरुले थप ९१ जना अर्थात २८ प्रतिशत महिला प्रदेश सांसद बनाउनु पर्नेछ।
काठमाडौं–८(२) बाट प्रदेश सभामा निर्वाचित एमाले नेतृ अष्टलक्ष्मी शाक्य संविधानमै एक तिहाइ महिला सदस्य हुनुपर्ने व्यवस्था गरेपनि दलहरुले उम्मेदवार नै कम उठाएकाले यस्तो नतिजा आएको बताइन्।
‘महिलाको स्थान परिपुर्तिका लागि समानुपातिक देखाउने चलन अहिले पनि दोहोरिदैँछ, जुन अत्यन्तै घातक हो,’ प्रदेश नम्बर ३ की मुख्यमन्त्रीकी प्रबल दाबेदार शाक्यले सेतोपाटीसँग भनिन्, ‘यसले महिला नेतृत्व विकासमा नोक्सान पुग्छ। आगामी दिनमा दलहरु यो विषयमा गम्भीर हुनुपर्छ।’
माओवादी नेतृ लालकुमारी पुनले एमाले र माओवादीबीच ६०/४० को भागबन्डा हुँदादेखि महिलाको सहभागिता कम गराइएकाले यस्तो नतिजा आएको बताइन्।
‘सवै दलमा पुरुषवादी मानसिकता हावी भएकोले महिलालाई समानुपातिक बाटो देखाउने चलन छ,’ पुनले भनिन्, ‘आउँदो चुनावमा यो अवस्था आउन नदिन महिला उम्मेदवार नै बढी बनाउनु पर्छ।’