पाँचथरमा मतदाता शिक्षा अभावमा बदर मत बढ्यो


निर्वाचनको अघिल्लो दिनसम्म मतदाता शिक्षाको रटान लगाउने निर्वाचन आयोगले निर्वाचन सकिएपछि अर्को निर्वाचनको मुखमा मात्रै गर्ने गरेको मतदाता शिक्षाको खर्च ‘बालुवा पानी’ बन्ने गरेको छ।

पाँचथरमा प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभामाभन्दा सामानुपातिकमा बढी मत बदर भएको छ। प्रत्यक्षतर्फको प्रतिनिधि सभामा ५ हजार ७ सय ३१ मत बदर भएको छ भने र प्रदेश ‘क’ मा २ हजार एक सय ७३ र ‘ख’ मा २ हजार ४ सय ७९ मत बदर भएको छ भने समानुपातिकतर्फ प्रतिनिधि सभामा ९ हजार एक सय ४० र प्रदेश सभामा ६ हजार एक सय ९१ मत बदर भएको छ।

मतदाता शिक्षाको लापारबाहीले गर्दा धेरै मत बदर भएको छ। प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रत्यक्षतर्फ ७७ हजार ९ सय १३ मत खसेकोमा ७२ हजार एक सय ८२ मत मात्र सदर भएको थियो। जहाँ बदर मतको प्रतिशत ७ दशमलब ३५ हुन आउँछ । त्यस्तै प्रदेश क मा ४१ हजार ५ सय ८१ मत खसेकोमा सदरमत ३९ हजार ४ सय ८ रहेको थियो जहाँको वदर मतको प्रतिशत ५ दशमलव २२ प्रतिशत हुन्छ । प्रदेश ख मा ३६ हजार एक सय ५६ मत खसेकोमा २ हजार ४ सय ७९ मत वदर भइ कुल ३३ हजार ६ सय ७७ मत सदर भएको थियो जहाँको वदर प्रतिशत ६ दशमलव ८५ प्रतिशत छ ।

सामानुपातिकतर्फ प्रतिनिधिसभामा भन्दा प्रदेशसभातर्फ बढी मत बदर भएको देखिएको छ। सामानुपातिकको अन्तिम मत परिणाम सार्वजानिक हुँदा बदर मतले तेस्रो स्थान ओगटेको छ। सामानुपातिकमा कांग्रेस र एमालेले प्राप्त गरेको मतपछि तेस्रो स्थानमा बदर मतको संख्या रहेको छ।

पाँचथरमा प्रतिनिधि सभातर्फ ११ दशमलव ७२ प्रतिशत मत बदर भएको छ। जहाँ खसेको ७७ हजार ९ सय ७७ मत मध्ये ९ हजार एक सय ४० मत बदर भएको थियो भने प्रदेश सभा ‘क’ तर्फ समानुपातिकमा कुल खसेको ४१ हजार ७ सय ६५ मतमध्ये ६ हजार एक सय ९१ मत बदर भएको थियो जसको बदर प्रतिशत १४ दशमलव ८२ प्रतिशत हुन आउँछ भने प्रदेश ‘ख’ मा सबैभन्दा बढी प्रतिशत मत बदर भएको छ। जहाँ खसेको ३६ हजार २ सय १२ मतमध्ये ६ हजार ५ सय ५६ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत ध्रुबकुमार राईले बताए।

यति धेरै मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ। जसमा मतदाता शिक्षामा प्रभावकारी सिकाइ नहुनु र सबै दल तथा गठबन्धनहरूले सचेतना जगाउन नसक्नु र नेता मन नपर्नु अर्थात् ‘नो भोट’को व्यवस्था नहुनुले प्रत्यक्षमा भन्दा सामानुपातिकमा बढी मत बदर भएको बताइन्छ।

गठबन्धन निर्माणका कारण कतिपय मतदाता झुक्किएर मत बदर भएको पाइएको छ। जिल्लाका एक सय ६५ मतदान केन्द्रमा एक/एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो र उनीहरूले करीब १५ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.