वाम गठबन्धनले देशैभरी आफ्नो पक्षमा नतिजा ल्याइरहेका बेला नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले यसपालि नराम्रो पराजय बेहोरेको छ। विगतका अधिकांश निर्वाचन जित्दै आएका कांग्रेसका हस्ती यसपालि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाका निकट सहयोगी तथा पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा–३ बाट पराजित भएका छन्। निधि राजपा नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोसँग पराजित भएका हुन्। निधि यसअघि २०५१, २०६४ र २०७० को निर्वाचनमा विजयी भएका थिए।
अर्का प्रभावशाली नेता शेखर कोइराला पनि पराजित भएका छन्। यसअघि दुईपटक जितेका कोइरालाले मोरङ–६ मा आफ्नो विरासत जोगाउन सकेनन्। उनी वाम गठबन्धनका लालबाबु पण्डितसँग पराजित भए।
पटक-पटक अर्थ लगायत अन्य मन्त्रालयसमेत सम्हालेका कांग्रेसका महेश आचार्यले पनि हार बेहोर्नुपर्यो। उनी वाम गठबन्धनका अमनलाल मोदीसँग हारेका हुन्। आचार्य २०५६ र २०७० मा मोरङबाट निर्वाचित भएका थिए।
सोलुखुम्बुबाट चारवटा निर्वाचन जितेका कांग्रेसका अर्का नेता बलबहादुर केसी पनि पराजित भए। केसीलाई वाम गठबन्धनका हेमकुमार राईले पराजित गरे।
सञ्चारमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक–१ बाट पराजित भएका छन्। बस्नेत वाम गठबन्धनका अग्नि सापकोटासँग पराजित भएका हुन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गोरखा–१ मा नतिजा आफ्नो पक्षमा पार्न सकेनन्। श्रेष्ठ माओवादी केन्द्रका हरिराज अधिकारीसँग पराजित भए।
विघटित संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती लम्जुङबाट पराजित भए। उनलाई वाम गठबन्धनका देव गुरुङले हराएका हुन्।
दुईवटै संविधानसभामा काठमाडौं–८ बाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि यसपटक पराजित भए। उनलाई वाम गठबन्धनका जीवनराम श्रेष्ठले पराजित गरेका हुन्।
मतगणना जारी रहेका केही ठाउँमा कांग्रेसका अन्य प्रभावशाली नेताहरुलाई पनि जित्न कठिन छ। २०४८ सालदेखिका सबै निर्वाचनमा लगातार विजय हासिल गरेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ मा लगातार पछाडि परेका छन्।
पटक–पटक अर्थमन्त्री बनेका कांग्रेसका अर्का नेता रामशरण महत नुवाकोट–१ मा पछाडि परेका छन्। कांग्रेसकै अर्जुनरसिंह केसी नुवाकोट–२ मा पछाडि छन् भने पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौला झापा–३ मा पछाडि परेका छन्।