कडा प्रतिस्पर्धाबीच धनुषा–३ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले आफ्नो जितलाई ‘मधेस आन्दोलनको जित’ बताएका छन्।
निर्वाचन परिणाम घोषणापछि शनिबार मध्यरात सेतोपाटीसँग कुरा गर्दै महतोले संविधान संशोधन र मधेस विकासका लागि आफ्नो प्रयास रहने बताए।
‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धन लगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं,’ उनले भने, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ।’
यहाँ महतो २९०३ मतान्तरले विजयी भएका हुन्। महतोले ३०७५० मतका साथ ल्याउँदा निधिले २७८४७ मत ल्याएका छन्।
हामीले उनीसँग गरेका कुराकानीको संक्षेपः
यो जितको सन्देश के हो?यो मधेस आन्दोलनको जित हो। धनुषाको जित हो। सम्पूर्ण मधेसी जनताको जित हो। जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो।
तपाईंको अबको एजेन्डा के हुन्छ?हाम्रो प्रमुख एजेन्डा संविधान संशोधनसँगै मधेसको विकास पनि हो। संविधान संशोधनका लागि केन्द्रमा हाम्रो संघर्ष जारी रहन्छ। हामीलाई पूरा विश्वास छ, दुई नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ। त्यो सरकारमार्फत् हामी विकासको एजेन्डा अघि बढाउछौं।
राजपा–फोरम गठबन्धनको जनमतलाई कसरी लिनुभएको छ?यो मधेस आन्दोलनको उपलब्धी हो। जनताको भावनको सन्देश हो। यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनताले दिएको सन्देश हो। हामीले उठाएका मुद्दा सम्बोधन गर्नैपर्छ। राष्ट्रिय राजनीतिमा उदाएका दलसँग हामी सहकार्य गरेर अघि बढ्न चाहन्छौं। मधेसलाई संविधानमा अधिकारबाट वञ्चित गरिएको छ। हामी त्यो अधिकार दिन प्रयासरत रहन्छौं।
वाम गठबन्धनसँगको सहकार्य कसरी अघि बढ्छ?हाम्रो संवैधानिक अधिकारको सुनिश्चितताका लागि हामी वाम गठबन्धन र अन्य सबै दलहरूसँग सहकार्य गर्न तयार छौं।