यो निर्वाचनको सबभन्दा रोचक भीडन्तका रुपमा हेरिएको गोरखा- २ मा नयाँशक्ति नेपालका बाबुराम भट्टराई ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका छन्।
उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका हुन्। श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन्।
आफ्नो जितमा प्रतिक्रिया दिँदै भट्टराईले सेतोपाटीसँग भने, 'नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि जीवनमा जे समृद्धि खोजेका छन् त्यो दिशामा जानलाई एउटा वैकल्पिक शक्ति आवश्यक छ भन्ने कुरालाई सानो रूपमा भए पनि अनुमोदन गरेर अवसर दिनुभयो भन्ने अर्थमा बुझेको छु।'
भट्टराईको नयाँशक्ति पहिला वाम गठबन्धनमा थियो। गठबन्धनले गोरखाबाट चुनाव लड्न नदिएपछि उनले कांग्रेससँग चुनावी तालमेल गरेका हुन्।
'असोज १७ गते गठबन्धनमा जाँदा पनि पुरानै पार्टीको निरन्तरता र त्यसैको जोडघटाउमा म सहभागी भएको थिइनँ। आन्दोलनलाई नयाँ ढंगले समाजवादी अभियानमा लैजानुपर्छ भन्ने मेरो मान्यता थियो,' उनले सेतोपाटीसँग भने, 'त्यसमा उहाँहरु सहभागी नभएपछि हामी साथ रहन सकेनौं।'
गठबन्धनले गोरखा छाडेर अन्य ठाउँबाट लड भन्नुलाई 'कसैको घरमा आएर घर छाडिदे' भनेजस्तै हो भनी टिप्पणी गरे। 'त्यो मेराविरुद्ध उहाँहरुले गरेको षडयन्त्र थियो। त्यसलाई गोरखाका जनताले असफल बनाइदिएका छन्,' उनले भने।
उनले फेरि वाम गठबन्धनमा फर्कने सम्भावना नभएको बताएका छन्।
'कत्ति पनि सम्भावना छैन। मुद्दामा सहकार्य त सबैसँग हुन सक्छ। जनता शान्ति, सुशासन र समृद्धि चाहन्छन्। मेरो मिसन नेपालमा सामाजिक लोकतान्त्रिक शक्ति निर्माण गर्ने र देशलाई समृद्धिमा लैजाने हो। म त्यसैमा लागिरहने छु,' उनले भने।