चुनाव सामग्रीसहित निर्वाचन केन्द्रमा खटिए कर्मचारी

चुनाव सामग्रीसहित निर्वाचन केन्द्रमा खटिए कर्मचारी


 

चुनावी सामग्री लिएर निर्वाचन कर्मचारीहरू आजदेखि आ-आफ्नो मतदान केन्द्रमा खटिएका छन्। वीरगंजथित मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले आज बिहानदेखि मतदान केन्द्रमा कर्मचारी खटाएको छ।

पर्साको चारवटै निर्वाचन क्षेत्रमा रहेको १६७ मतदान केन्द्रमा ३२ सय कर्मचारी खटिएका छन्।

मतपेटिका, मतपत्र, मतदाता परिचय पत्र, लाहा छाप, स्वस्तिक छाप, निर्दे्शिकालगायतका ६४ प्रकारका सामग्री लिएर उनीहरू सोमबारदेखि खटिएका हुन्।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले पर्सामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन करिब ३२ सय कर्मचारी खटाइएको जानकारी दिए।

पर्सामा प्रतिनिधि सभा तथा प्रदेश सभागरी विभिन्न दल र स्वतन्त्र गरी कुल १७६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर एकमा २२, दुईमा १५, तीनमा १४ र चारमा १३ गरी कुल ६४ उम्मेदवार चुनाव लडिरहेका  छन्।

यसैगरी प्रदेशसभातर्फ एक (क) मा १०, एक (ख) मा १४, दुई (क) मा १४, दुई (ख) मा १८, तीन (क) मा ११, तीन (ख) मा १८, चार (क) मा १२ र चार (ख) मा १५ गरी १२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पर्सामा दुई लाख ८९ हजार ५४ मतदाता छन्। जसमा महिला १ लाख २४ हजार ४ सय ५, पुरुष १ लाख ६४ हजार ६ सय २९ जना र १६ जना तेस्रो लिंगी मतदाता छन्।

क्षेत्र नम्बर एकमा ६७ हजार ४०५, दुईमा ७३ हजार १२, तीनमा ७४ हजार १६६, चारमा ७४ हजार ४७१ जना मतदाता छन्।

सोमबार राति १२ बजेदेखि भारत-नेपाल सीमा बन्द

निर्वाचनलाई मध्यनजर गर्दै सोमबार रातिदेखि नेपाल-भारतका सबै नाका बन्द गरिने जिल्ला समन्वय कार्यालय पर्साले जनाएको छ। चुनावमा आपराधिक गतिविधि हुन नदिन सोमबार मध्यरातदेखि सीमा नाका बन्द गरिने दुबै देशका सुरक्षा अधिकारीबिच भएको निर्णय अनुसार  सीमा नाकाहरु बन्द गर्न लागिएको हो।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला सुरक्षा समिति पर्साले सोमबार मध्यरातदेखि ७२ घण्टाका लागि मुलुककै मुख्य आर्थिक नाका वीरगन्ज भन्सार सीमालाई सिल गर्न लागेको हो।

सीमा नाकामा सर्तकर्ता अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए। उनले पर्साको सुरक्षा प्रबन्धको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागको टोलीले संयुक्त रुपमा सुरक्षा प्रबन्ध मिलाइएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.