चुनाव लागे यता जनकपुरमा माछाको व्यापार बढिरहेको छ। साना ठूला पोखरीमा 'मछुवार'हरू लगातार जाल हानिरहेका छन्।
जसरी मछुवारको जालले सागर भनिने जनकपुरका पोखरी तरङ्गित छ, त्यसरी नै मंसिर २१ को चुनावले यहाँको राजनीति पनि तरंगित छ।
जनकपुर उपमहानगरका अधिकांश सडक कच्ची छन्। धुलाम्य सडक झण्डा फहराउदै हुँइकिने गाडीले व्यस्त छन्। चुनावी नारा टोल टोलमा घन्केको छ। जनकपुरका पान पसल देखि चिया दोकानसम्म चुनावी चर्चा छ।
समथर जनकपुरमा बस्ने स्थानीयसँग गुनासाका पहाड छन्।
नेताहरु विकास र समृद्धिका आश्वासन बोकेर मतदातालाई भेटिरहेका छन्। मतदातालाई भने लाग्छ- नेताका आश्वासन र माछा फसाउन मछुवारले हाल्ने चारो उस्ताउस्तै हुन्।
‘हामीलाई नेताहरुले माछाको भूरा जति पनि गन्दैनन्। अहिले भोट माग्न आउने बेला नमस्कार गर्ने मात्र हो', नगराईन नगरपालिका वडा नं ५ का भूरा व्यापारी रामनारायण मुखियाले भने।
'ठूला' नेताभन्दा उनीहरुलाई भोट मिलाइदिन्छु भन्ने 'भुरा' नेता झनै खराब भएको उनको गुनासो छ।
‘भुरा नेताहरूको यहाँ बिगबगी छ। विद्यालयको व्यवस्थापन समितिमा पनि उनीहरू नै हुनुपर्ने, स्थानीय निकाय, क्लब र सहकारी पनि उनीहरूलाई नै चाहिने,’ मुखियाले भने।
कांग्रेस कार्यकर्ता समेत रहेका रामनारायण स्थानीय चुनावमा विरुद्ध बागी उठेका थिए। तर ४ भोटले हारे।
तर उनले हार्दा पनि जीत कांग्रेसकै भयो। यहाँ काँग्रेस बलियो छ। नगराईन कांग्रेस नेता विमलेन्द्र निधिको पुर्ख्यौली गाउँ पनि हो।
विश्वकर्मा चोकका व्यवसायी महेश्वर साहलाई जानकी मन्दिरको संरक्षण नभएकोमा चिन्ता छ। दुई नम्बर प्रदेशको प्रस्तावित राजधानी जनकपुरको खराब छवि बन्ला भन्ने पीर उनलाई छ।
‘यहाँको सडक १५ वर्षपहिला जस्तो थियो नि अहिले पनि त्यस्तै छ। हरेक चुनावमा यसलाई व्यवस्थित गर्ने भनेर प्रचार हुन्छ, काम हुन्न', साहले भने,'अधिकारको लडाइँ त बाँकी नै छ। विकास पनि हुन सकेन।
साहजस्तै अर्का व्यवसायी वजरंग यादवलाई पनि नेताहरुको भनाइ र गराइको अन्तरले देखेर दिक्क लागेको छ। ‘यो पहाडी यो मधेसी नभनी संविधानमा अधिकार दिनुपर्यो, कुरा यही हो', यादव भन्छन्, 'सँगै नेताहरूले यहाँको अस्तव्यस्तता र फोहोर छवि त हटाउन पर्यो।'
पूर्वराष्ट्रपति रामवरण यादव र कांग्रेस नेता निधिले धनुषाबाट सक्रिय राजनीतिमा गरे। पटक पटक जिते पनि। तर स्थानीयको गुनासो भने नेता चुन्दैमा विकास नहुने रहेछ भन्ने छ।
उपमहानगरको निर्वाचन भएपछि पनि यहाँको फोहोर व्यवस्थापन नभएको व्यवसायी अशोककुमार साहले बताए।
मधेस आन्दोलनका बेला उनको व्यापार चौपट थियो। अब निर्वाचन पछि शान्ति भए व्यापार गरौँला भन्ने लागिरहन्छ।
`छ महिनासम्म सटर बन्द हुँदा हामीले कति धेरै नोक्सानी बेहोर्नुपर्यो', साहले भने , 'आन्दोलनबाट नेताहरुले के के पाए कुन्नि! हामीले त एउटा ग्यासलाई चार हजार सम्म तिर्नुपर्यो।'
खोला र नालाको व्यवस्थापन नहुँदा वर्षेनी जनकपुरका कयौँ भूभाग बाढीका कारण डुबानमा पर्छन्। तर ढल निकासको व्यवस्था कसैले नमिलाएकोमा स्थानीयको मन पोलेको छ।
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका -२ मा यसपटक धान नै फलेन। डुबानमा परेको खेतमा बाली भएन।
'सडक भन्दा माथिसम्म पानी आयो। हामी टोल छाडेर भाग्यौँ। हेलिकप्टर आयो। पाँच बोरा च्युरा झार्यो', शिवजी मुखिया भन्छन्, 'हेलिकप्टर हेर्न र छुनतिर लाग्दा च्यूरा त गायब भैसकेछ।'
बाढीपीडित बनेर दुई छाक खाने अन्न नहुँदा पनि सरकारले नहेरेको गुनासो उनीहरूको छ।
मुखिया जस्तै नगराइनका कृष्ण पासवान पनि बाढीपीडित हुन्। `हेलिकप्टर माथिबाट उडेर गयो तर राहत आएन´पासवानले भने`हामी जस्ता रिक्सा चलाएर छाक टार्नेलाई कसैले वास्ता गरेन।'
नेताहरुले रोजगारीको कुनै योजना नल्याएकोमा पासवानलाई चित्त दुखेको छ। `युवा विदेशमा छन्´ उनले भने,`नेताहरू तिनकै घरमा भोट माग्न जान्छन्।'
जनकपुर सुलगामाका नागेन्द्र महराले नेताहरू चुनावमा भोट माग्न आउने तर फर्केर नआउने गरेको गुनासो गरे। 'गरिबी हटाउने नारा दिन्छन्', महरा भन्छन्, 'गरिबका बच्चाले साइकल पाउदैनन् तर धनीका बच्चालाई साइकल दिइन्छ।´
जनकपुर उपमहानगरपालिकाको मूल बजार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा पर्दछ। यो क्षेत्रमा कांग्रेसबाट विमलेन्द्र निधि र राजपाबाट राजेन्द्र महतो प्रतिष्पर्धामा छन्। निधि यही क्षेत्रका हुने भन् महतो सर्लाहीबाट यहाँ चुनाव लड्नकै लागि आएका हुन्।
क्षेत्र नं ३ मा वाम गठबन्धनले माओवादीका रामसिंह यादव उम्मेद्वार बनाएको छ। स्थानीयले तीनै उम्मेद्वारलाई भेट्नेवित्तिकै अव्यवस्था र अविकासको गुनासो गर्छन्।
नेताहरुको उत्तर रेडिमेड हुन्छ— यसपालि गर्छु। म गर्छु।
मतदातालाई लाग्छ- नेताले फेरि माछालाई चारो फाले।