राजु शर्मा मटका चिया पसल वीरगन्ज आदर्शनगरको धुलाम्य सडक छेउमै छ। मंगलबार बिहान त्यहाँ दुई चिज उम्लिरहेका थिए-स्टोभमा चिया र छेउका बेन्चमा राजनीतक गफ!
हामी उनको चियापसल पुग्दा बिहानको साढे सात बजिसकेको थियो। स्थानीय व्यापारीहरु अर्थात मारवाडीको समूह बिहानी हिँडाइ सकेर सुस्ताएका थिए। यहाँका व्यापारीहरुको यो नित्यकर्म नै हो-बिहानी हिँडाइ सक्ने अनि राजुकोमा आएर चिया विस्कुट खाने, गफिने।
हामी गफिइरहेको त्यही समूहमा पस्यौँ।
‘मारवाडी भनेपछि व्यापारी हो र ऊ कांग्रेस हो, यति बुझ्नुस् न,’ एक जनाले हामीलाई सम्झाए। व्यापारीको हितमा हुने नीति नियम कांग्रेसले नै बनाउने उनले तर्क गरे।
विजय सरावगीले त फोरमबाट उठेर मेयर जिते नि?
‘उनले गलत पार्टी रोजे तर पनि मारवाडीकै भोटले जिते,’ सवाल भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काए। ‘यसपाली पनि समाजवादी फोरम र कांग्रेसकै टक्कर हो! यहाँ वाम गठबन्धन छैन।’
‘२०७० सालमा एमालेले यहाँ जित्यो तर, कांग्रेसभित्रकै अन्तर बिरोधले गर्दा कांग्रेस हारेको हो,’ उनी पक्का कांग्रेसी रहेछन् भन्ने बुझ्न गाह्रो भएन।
उनीहरू केहिछिनमा हिँडिहाले। पसलको अर्कोतिर ६/७ जनाको अर्कै समूह थियो। उनीहरूमध्ये साहु समुदायका रहेछन्।
शिरमा सेतो पछ्यौरा गुथिरहेका सोनालाल गुप्ता नै बोल्न अघि सरे।
केही छिनमै उनले आफ्नो नेतागिरीको छनक दिइहाले।
‘यहाँ सबैले संघीय समाजवादी फोरमलाई भोट दिन्छन्,' उनले भने।
राजपा र समाजवादी फोरम मिलेर वीरगन्जमा यसपाली कांग्रेससँग प्रतिस्पर्धामा छन्।
पल्लो छेउमा बसेर गुप्ताको कुरा सुनिरहेका ओमप्रकाश जैसवालले भने, ‘नेता हो त्यति त भनिहाल्छ। तर उसले भनेजस्तो कहाँ हुन्छ?’
‘हरुवा नेता हो,’ महानन्द कलवारले जिस्काए। उनी भर्खरै जिल्लाको कुनै पदका लागि भएको चुनावमा पराजित भएका रहेछन्।
‘चुनाव लडेपछि हारिन्छ कि जितिन्छ। तब नेता भइन्छ,’ उनले भने, ‘लाज मान्ने मान्छे नेता हुन सक्दैन।’
उनीहरुको कुरा बीचमै जैसवालले पल्लो कुर्चिबाटै भने, ‘यो चुनावपछि काठमाडौंले मधेसलाई हेर्ने विभेद सकिन्छ की भन्ने लाग्या छ मनलाई!’
अहिले काठमाडौंले विभेद गरेको छ?
‘किन छैन? संविधान लेख्दा प्रस्तावनामै मधेस लेखिएन। उपल्लो सभामा ८ सिट मागेको दिएन। बराबर भोटिङ राइट छैन,’ उनले भने।
छेवैमा बसेका ब्रम्हानन्दले जसयसवाल बोल्दाबोल्दै थपिहाले, ‘हाम्रा बच्चाबच्ची काठमाडौं पढ्न र जागिर खान जाँदा त्यहाँ उनीहरुले धेरै विभेद झेल्नुपर्छ..’।
जैसवाल कहाँ बोल्न छाड्थे!
उनले मधेस सन्तुष्टीको फेहरिस्ता सुनाए, ‘भाषा आयोग बनाएको छैन। नागरिकतामा भने समस्या छैन अब।’
‘नेताहरु त नागरिकतामा पनि समस्या छ भनिरहेका छन्, के हो?’ हामीले सोध्यौँ।
‘होइन हाम्रो छोरी बुहारीले नागरिकता पाइरहेकै छ। नेताहरुले बारगेनिङको लागि नागरिकताको माग राख्या होला, त्यस्तो समस्या छैन,’ जैसवालले भने।
केही छिनको गफ पछि उनीहरु पनि हिँडे।
चिया लिँदै बसिरहेका विरेन्द्र आले बल्ल कुरा गर्न थाले। उनलाई पनि मधेसको मुद्दाका लागि चुनावमा मधेसी पार्टीलाई भोट हाल्नु पर्छ भन्ने रै’छ।
‘हामीले मधेसी मुद्दा जोगाउन पनि मधेसी पार्टीलाई भोट दिन्छौँ,’ उनले भने।
यतिन्जेलमा ग्राहक पातलिए। राजुले फुर्सद पाए।
६ महिना लामो नाकाबन्दी सम्झेर अहिले पनि उनको सातो जान्छ।
‘तीन लाख नोक्सान भयो,’ उनले आफैं सुनाए, 'यो बाटो त सुनसान हुन्थ्यो।’
मुलुकको राजनीतिले वीरगन्ज कतिसम्म प्रभावित हुन्छ भन्ने उनले आफ्नै चियापसलको अनुभवका आधारमा भन्न सक्ने भएका छन्।
चियापसलको हिसाबकिताब तलमाथि भएका दिन मुलुकको राजनीतिक बातावरणमा केही भएकै हुन्छ। यसपाली पनि उनको चिन्ता त्यहि थियो।
उनको चिया पसल र मुलुकको राजनीतिमा केही न केही ‘कनेक्सन' छ जस्तो उनलाई लाग्न थालेको छ। ६-७ दिन यता आफ्नो व्यापार घटिरहेकोले उनको मन पनि चियासँगै पाकीरहन्छ अचेल।
‘किन चियापसलको हिसाब घटिरहेछ?’
‘चुनाव लागेदेखि मेरो पसलको हिसाबकिताब ओरालो लाग्या छ खै किन हो,’ उनले भने। उनी दिनमा दुई तीन सय कप चिया बनाउँछन्। आफ्ना भान्जालाई भने चिया बाँड्ने काम लगाउँछन्। यही सानो पसलले उनको घर धानेको छ।
आलेले उनलाई सम्झाए, ‘चुनावमा धेरै मान्छे खटिएका छन्। उनीहरुले चिया उतै खान्छन् नि त्यसैले होला।’
‘होला,’ राजुले भने।
अहिले चियाको बिक्री कम भयो भन्ने पीर मात्र छैन राजुलाई। वीरगन्ज ‘जबरजस्ती महानगर’ बनाएकोमा पनि पीर छ उनलाई।
‘पाँच रूपैँया कर तिर्नेले अब पाँच सय रूपैयाँ तिर्नुपर्छ। त्यही उठाउन महानगर बनाएको?’ उनले सोधे।
सँगै बसेका विरेन्द्रले सहि थपिहाले, ‘त्यहि त नगरपालिकाको त गतिलो स्टक्चर बनेको छैन महानगर बनाएका छन्,' विरेन्द्रले सहि थापे।
राजुलाई लाग्छ-कामै नगर्ने नगरपालिकालाई महानगर बनाएर के काम। ‘नगरपालिकाले नालि त बनाएन बनाएन फोहोर पनि उठाइदिन्न,’ राजुले गुनासो पोखे।
केही दिनअघि उनको पसल भन्दा १ मिटर पर फोहोर थुप्रिएर बसिनसक्नु थियो। उनले नगरपालिका, ग्रीनसिटि जस्ता ठाउँमा फोन गरेर त्यसबारे जानकारी दिए। तर कोहि उठाउन आएन।
‘त्यसपछि फेसबुकमा फोटो राखे,’ उनले भने, ‘बल्ल आएर त्यो फोहोर उठाए।’
उनको पसल चोकैमा छ। यहाँ आउने नयाँ मानिसहरुले उनलाई ज्यादा सोध्ने सार्वजनिक शौचालय कता छ भनेर हो।
यहाँ वरिपरि कहिँ छैन।
'वीरगन्ज भरि त्यहि घण्टाघरमा एउटा सार्वजनिक शौचालय छ,' उनले भने, ‘बाटोको हालत हेर्नुहोस डेढ वर्षदेखि यस्तै छ। यस्तो पनि महानगर हुन्छ?’
आलेले उनलाई ढाडस दिए, 'अब चुनाव पछि काम होला जस्तो छ हुन्छ।’
चुनावको बेला उनको पसल वरीपरी राजनीतिक गफ उम्लेको त राजुले धेरै देखेका छन्। तर हरेक चुनाव पछि काम गर्ने जाँगर भने सबैको सेलाउने उनको अनुभव छ।