यतिबेला वीरगन्जमा सडकका बिजुलीको पोलमा दलैपिच्छेका झण्डा झुण्डिएका छन्। वीरगन्ज महानगर दलका प्रचार सामाग्री र झण्डाले रंगिएको छ।
पोल माथि मात्र होइन, तल्लो भागमा पनि रंग पोतिएको छ। बिजुलीका पोलमा रंग र झण्डा मात्र छैनन्, पान खाएर थुकेको रातो रंगले पोल कुरुप देखिन्छ। सडक छेउका भित्तामा विकासका आकर्षक नारा सहितका दलका पोस्टर टाँसिएका छन्। त्यसको ठीक मुनिपट्टी खुल्ला र दुर्गन्धित नालीले ती नारालाई चुनौती दिइरहेका छन्।
व्यस्त महानगरमा रिक्सा, मोटरसाइकल र गाडीको कर्कश हर्न बजिरहन्छ। अनि त्यसमा मिसिएको छ दलहरुको चुनावी माइकिङ।
वीरगञ्ज पहिलो दृष्टिमै अव्यवस्थित र फोहोर देखिन्छ। त्यसमाथि थपिएको चुनावको होहल्ला।
मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि मुलुका अन्य भाग सहित यहाँ पनि निर्वाचन हुँदैछ।
वीरगन्जमा पार्टी र उमेद्वारहरुको नारा सामाजिक सद्भाव, मधेस आन्दोलन र वाम गठबन्धनमा केन्द्रीत छ।
तर यहाँका जनताको ध्यान व्यवस्थित ढल र वीरगन्जको विकासमै केन्द्रित छ।
'निर्वाचनको बेलामा नेताले जे पनि गर्दिन्छु भन्छन् तर निर्वाचन जितेपछि फर्केर आउँदैनन्', राधेमाई टोलमा टेलरिङ गर्दै आएका अव्दुल अन्सारी भन्छन्, ‘चुनावी नारा त जे पनि दिन्छन्।’
२०५६ सालमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले वीरगन्जबाट चुनाव जिते। उनले आफूले जिते बिजुलीका तारहरू अण्डरग्राउण्ड गर्ने आश्वासन दिएको वीरगन्जवासी सम्झन्छन्। भट्टराईले जीते र प्रधानमन्त्री पनि भए। तर तारसँगै वीरगन्जवासीको आशा तुर्लुङ झुण्डिरह्यो।
अन्सारी भन्छन् 'निर्वाचन जितेपछि विकासमा भन्दा पनि सरकार बनाउन र भत्काउन केन्द्रित भए।’
'न सरसफाइ छ न खानेपानी र ढलको व्यवस्था', स्थानीय किसान शेषनाथ शाह गुनासो गर्छन्, ‘नेताहरुलाई वास्ता छैन। सरकारले कर लिने बाहेक केही काम गरेको छैन।’
वीरगन्ज मुलुककै कान्छो महानगर हो। तेस्रो मधेस आन्दोलनको केन्द्र पनि।
देशकै धेरै समान आयात निर्यात गर्ने सीमा नाका पनि वैरगन्जमै
पर्छ। यो नाका ब्यवस्थित पनि गर्न काठमाडौंले ध्यान नदिएको उनीहरुको आरोप छ। दिएको छैन। `विराटनगर र भैरहवाको नाका हेर्नुहोस्। त्यहाँको सरसफाइ र व्यवस्थापन हेर्नुस कस्तो छ',रिक्सा चालक किशोरलाल साह भन्छन्, `तराई मधेस बन्दमा चीनबाट तेल ल्याए तर वीरगन्जको सुधारमा ध्यान दिएनन्।'
वीरगन्जका सडकहरू साँघुरा छन्। सडक गाडीलेनै भरिएपछि मानिसलाई हिड्न सकस हुन्छ। बिस्तार गर्न लागिएका सडकको निर्माण गति यति सुस्त छ, मानिसहरु धुलेको दिक्क छन्।
'आदर्शनगरको सडक बनाउन थालेको डेढ वर्ष भयो अहिले धुलो उडिरहेछ', सडक किनार देखाउँदै ५० बर्षिया नन्दकिशोर पाण्डे भन्छन् 'असार साउनमा हिलो भएर हिँड्न सकिन्न। कामको गति यति सुस्त छ। कसले हेर्ने हो?'
आदर्शनगरका अरुण कुमार गुप्तालाई पनि रिस उठेको छ। चोकमै उनको रक्सी पसल छ। उनले आफ्नो पसल सफा राखेका छन्। तर पसल अगाडिको सडक भने फोहोरले बिजोग छ।
स्थानिय निर्वाचन सकिएर मेयर चुनिए पनि कामको मेसो मिलेको छैन।
'काम कसले गर्ने हो भन्ने नै थाहा हुन्न',गुप्ता भन्छन्, ‘ कामयाब मान्छेनै भएन वीरगन्जका लागि।'
'वीरगंजबाट कांग्रेस, एमाले, फोरम सबै पार्टीलाई जितायौँ', घडीअर्वाका रतनदासले गुनासो सुनाए, 'तर वीरगन्जको उन्नती भएन। बोलेको कुरा नपुर्याउने नेताहरुलाई कसरी भोट दिने?’
वीरगन्ज महानगर प्रतिनिधि सभा निर्वाचनमा पर्साको क्षेत्र नं १ र २ मा पर्छ।
क्षेत्र नं १ मा कांग्रेसका अनिल कुमार रूगंटा, एमालेका विचारीप्रसाद यादव र संघीय समाजवादी फोरमका प्रदिप यादव प्रतिष्पर्धामा छन्।
अनि क्षेत्र नं २ बाट कांग्रेसका अजयकुमार चौरासिया, माओवादीका महमद सलिम मन्सुर र फोरमका विमल श्रीवास्तव प्रतिष्पर्धामा छन्।
वीरगन्जमा त्रिकोणीय प्रतिष्पर्धामा छ। मतदातामा यसैले राम्रो गर्छ भन्ने विस्वास कमै देखिन्छ। त्यसैले मतदाता पनि बिभाजितनै छन्। चुनावमा को ‘कामयाब' हुन्छ यकिन छैन। त्यसपछि काममा पनि उनीहरुले आफूलाई 'कामयाब' सिद्द गर्न सक्छन् वा सक्दैनन्, त्यो भने हेर्न धेरै समय कुर्नै पर्छ।