सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा भागै लिएनन्, न वडाबाट उम्मेदवार उठे न मतदान गरे। मतदाता परिचयपत्र लिन समेत गएनन्।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि सिंगो गाउँले बहिष्कार गर्ने निर्णय गरेको छ। यहाँ कांग्रेस, एमाले र माओवादीसहित प्रमुख दलहरुले नै मिलेर चुनाव बहिष्कार गरेको स्थानीय सोभित बस्नेतले बताए।
तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्ने कि नेचा सल्यान गाउँपालिकामा गाभ्ने भन्ने हो। अहिले नेचा सल्यान गाउँपालिकामा गाभिएको छ, जबकि स्थानीयवासी सोलु दूधकुण्ड नगरपालिकामा रहन चाहन्छन्।
आफ्नो त्यही चाहना सरकारले नसुनेको भन्दै तिङ्ला गाउँले मतदान बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक बालकुमार कार्कीले बताए। 'हामी चुनावका विरोधी होइनौं। हाम्रा माग नसुनेपछि सरकारलाई चेतावनी दिन मतदान बहिष्कार गर्ने निर्णय गरेका हौं,' उनले भने।
स्थानीय सरकारले उनीहरुको मागअनुसार तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्न सिफारिस गरेको थियो। त्यो सिफारिससमेत सरकारले नसुनेको भन्दै स्थानीय बासिन्दा यसपालि झन् रुष्ट छन्।
भदौ १६ गते नेचा सल्यान गाउँ कार्यपालिकाले आफ्नो वडा नम्बर ६ मा पर्ने तिङ्ला गाउँलाई सोलु दूधकुण्ड नगरपालिकामा पठाउने निर्णय गरेका थियो। भदौ २९ गतेको गाउँसभाले त्यो एजेन्डा पास गर्यो।
सोलु दूधकुण्ड नगरपालिकाको भदौ ३१ गतेको सभाले पनि उक्त गाउँलाई आफूमा गाभ्ने निर्णय गर्यो। उक्त निर्णय मन्त्रिपरिषदबाट पास गराउन स्थानीय डेलिगेसन आए। सरकारले सुनेन।
कार्कीका अनुसार मंसिर ३ गते उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। देउवाले मुख्य सचिवलाई बोलाएर तिङ्लालाई सोलु दूधकुण्डमा गाभ्ने प्रक्रिया थाल्न निर्देशन पनि दिएका थिए।
'हाम्रै अघि उहाँले आफ्ना स्वकीय सचिव र सरकारका मुख्यसचिवलाई तिङ्लालाई सोलुमा राख्ने प्रक्रिया थालिहाल्न निर्देशन दिनुभएको थियो,' उनले भने, 'हाम्रा अघि त्यसो भने पनि अन्त्यमा सरकारले बेवास्ता गर्यो। निर्णय गरेन। हामीलाई झूटो आश्वासन दिइयो। हामी फेरि निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुग्यौं।'
स्थानीयका अनुसार नेचा सल्यान गाउँपालिकाको केन्द्र बेतघारी भन्ने ठाउँमा छ, जहाँ पुग्न तिङ्लावासीलाई ८ घन्टा लाग्छ। उता, तिङ्लाबाट सोलु दूधकुण्ड नगरपालिका २० मिनेट पैदल दुरीमा पर्छ। यति नजिकको नगरपालिकाबाट छुट्टयाएर लगभग दिनभरि लाग्ने नेचा सल्यान गाउँपालिकामा गाभिएकाले तिङ्लावासी रुष्ट भएका हुन्।
स्थानीय तह पुनर्संरचना छलफल क्रममा तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामै गाभ्न जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेको थियो। तिङ्लाका जनताको चाहना पनि यही थियो।
यो पनि हेर्नुहोस्: