तिब्बतका पूर्व शासक एवं हाल भारतमा निर्वासित धार्मिक नेता दलाई लामाले तिब्बतले चीनबाट स्वतन्त्रता होइन, विकासको चाहना राखेको बिहीबार यहाँ आयोजित कार्यक्रममा बताएका छन्।
‘यदाकदा तिब्बत र चीनबीच झगडा पर्ने गरे पनि आत्मीय सम्बन्ध छ,’ इन्डियन च्याम्बर अफ कमर्समा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लामाले भने, ‘विगतमा जे भयो भयो, अब हामीले भविष्यलाई हेर्नुपरेको छ।’
धर्मगुरु लामाले फेरि पनि जोड दिँदै तिब्बतीहरु चीनसँगै रहन चाहेको उल्लेख गरे। ‘हामीलाई स्वतन्त्रता चाहिएको छैन, हामी चीनसँगै रहन चाहन्छौं, हामीलाई अझ बढी विकास चाहिएको छ,’ तिब्बती जनताले अहिले पनि मनपराउने धार्मिक नेता लामाले भने।
अन्तर्क्रियाका क्रममा दलाई लामाले चीनले पनि तिब्बतको संस्कृति र सम्पदाको सम्मान गर्नुपर्ने विचार राखेका थिए।
‘तिब्बतको बेग्लै संस्कृति र उसको आफ्नै लिपि छ, जसरी चिनियाँहरु आफ्नो देशको माया गर्छन् त्यसैगरी तिब्बतीलाई पनि उनीहरुको देशको माया छ।’
बितेको केही दशकमा के के परिवर्तन भए भन्ने कुरा कुनै पनि चिनियाँले थाहा पाउन नसकेको उनले बताए। ‘चीनसँग मिसिएपछि तिब्बतले आफ्नो चालीसदेखि पचास प्रतिशत मौलिकता गुमाइसकेको छ,’ दलाई लामाले भने, ‘धेरै कुरा फेरिएका छन्।’
तिब्बतको पठारले विश्व पर्यावरणमा पारेको प्रभावबारे पनि लामाले बोल्न चाहे।
‘चिनियाँ पर्यावरणविद्हरु तिब्बतलाई उत्तरी ध्रुव र दक्षिणी ध्रुवकै ठाउँमा राखेर त्यहाँको वातावरणीय असरको चर्चा गर्छन्,’ उनले भने, ‘जबकि पर्यावरणविद्हरुले त्यस भूखण्डलाई तेश्रो ध्रुव भनेर बताइसकेका छन्।’
याङ्जेदेखि सिन्धु नदीसम्म सम्पूर्ण महत्वपूर्ण नदी तिब्बतबाटै आउने गरेको अवस्थामा अरबौं जीवन यस भूखण्डसँग गाँसिएको उनले उल्लेख गरे।
‘तिब्बतको पठारबारे चिन्ता लिँदा त्यसले तिब्बतको हित मात्र गरिरहेको हुँदैन,’ लामाले थपे, ‘त्यो पठारबाट लाभान्वित यस धर्तीका अरबौं मानिसको हित गरिरहेको हुन्छ।’