जिम्बावेमा ३७ वर्षपछि मुगावे शासन अन्त्य

जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगावे, जसले मंगलबार राजीनामा दिए। तस्बिर: एएफपी


जिम्बावेमा झन्डै चार दशक शासन गरेका राष्ट्रपति रोबर्ट मुगावेले मंगलबार राति राजीनामा दिएका छन्।

पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद उत्पन्न भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन्।

सत्तारुढ दल जानु–पिएफले उनलाई ‘सोमबारसम्म राजीनामा नदिए महाभियोग सामना गर्न’ चेतावनी दिएको थियो। महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसदका नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले जानकारी दिएका छन्।

मुगावेले पठाएको राजीनामापत्र सभामुखले संसदमा पढेर सुनाएका थिए। पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामाका कारण ‘जिम्बावे जनताको भलाइ’ र ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ भनिएको छ। ९३ वर्षीय मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख थिए।

उनको राजीनामापछि संसदले खुसी मनाएको थियो। स्थानीय जनता पनि विजयोत्सव मनाउन सडकमा ओर्लिएका थिए।

पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो। त्यसको भोलिपल्टै महाअभियोग प्रस्ताव अघि बढ्यो।

राष्ट्रप्रमुखलाई महाअभियोग लगाएर हटाउन सकिने यो संवैधानिक प्रावधान यसअघि जिम्बावेमा कहिल्यै प्रयोग भएको थिएन।

जिम्बावे राजनीतिमा सधैं नै प्रतिपक्षमा रहँदै आएको ‘मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज’ ले पनि महाभियोग प्रस्तावमा समर्थन जनायो। यसले मुगावेविरुद्ध राजनीतिक सहमतिको वातावरण बन्यो। सेनाको समेत समर्थन रहेपछि यो प्रक्रियाले थप तीव्रता लियो।

मंगलबार महाअभियोग प्रस्तावमाथि संसदीय प्रक्रिया चलिरहँदा सभामुखले बीचैमा रोकेर मुगावेको राजीनामा पढेर सुनाएका थिए। उनले आफ्ना सहयोगीको हातमा उक्त पत्र पठाएका थिए।

मुगावेविरुद्ध मंगलबार संसदमा महाभियोग प्रस्ताव अघि बढाउँदै सांसदहरु। तस्बिर स्रोत: न्यूयोर्क टाइम्स

मुगावेले ३७ वर्षको अकन्टक शासन त्याग्ने निर्णय नगरेका भए महाभियोग सामना गर्नुपर्थ्यो। उनीमाथि पत्नीलाई सत्तामा ल्याउन संविधान उल्लंघन गरेको आरोप थियो। आन्तरिक तथा बाह्य दबाब बढ्दै गएका बेला मुगावेले राजीनामा दिएर सत्ता हस्तान्तरणको सहज बाटो रोजेको विश्लेषक बताउँछन्। राजीनामा नदिएका भए देशले महाभियोगको लामो प्रक्रिया पार गर्नुपर्थ्यो। यसले आन्तरिक रूपमा राजनीतिक अन्यौल सिर्जना हुन्थ्यो।

जिम्बावेको संविधानअनुसार दुई अवस्थामा राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन सकिन्छ– संविधान उल्लंघन गर्दै कुनै गम्भीर गल्ती गरे वा शारीरिक तथा मानसिक अक्षमताका कारण राष्ट्रपतिको जिम्मेवारी वहन गर्न असमर्थ भए। यसका लागि संसदले गठन गर्ने महाभियोग छानबिन समितिले आरोप पुष्टि भने गर्नुपर्छ। त्यसपछि संसदको दुईतिहाइ बहुमतबाट राष्ट्रपति हटाउन सकिन्छ।

सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै शासन गर्दै आएका मुगावेलाई आफ्नो शासन र सुरक्षाप्रति रत्तिभर शंका थिएन। आफूभन्दा ४१ वर्ष कान्छी पत्नीलाई भावी राष्ट्रपतिका रूपमा अघि बढाउने महत्वाकांक्षामा अवरोध आउला भन्ने पनि उनले सोचेका थिएनन्। उनी यति निश्चिन्त थिए, अघिल्लो क्रिसमसलगत्तै महिनादिन छुट्टीमा गएका थिए, जिम्बावेबाट टाढा।

यसबीच आफ्नो शासन धर्मराउला भन्ने उनलाई डर थिएन, न त सत्तारूढ दल र सैनिकमाथिको कसिलो नियन्त्रण फुस्केला भन्ने चिन्तै थियो।

सत्तारुढ दलले केही दिनदेखि नै मुगावे दम्पतीविरुद्ध दबाबमूलक कार्यक्रम गर्दै आएको थियो। गत शनिबार राजधानी हरारेमा दसौं हजार मान्छेले प्रदर्शन गरेका थिए। त्यसअघि गत बुधबार मुगावे दम्पतीलाई सैनिकले घरमै नजरबन्द राखेको थियो।

सैनिकको आड र जनसमर्थनको बलमै पार्टीले उनलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो।

मुगावेले पार्टीबाट अपदस्त भएपछि पनि सत्ता छाड्ने लक्षण देखाएका थिएनन्। आइतबार रातिको सम्बोधनमै उनले राजीनामा घोषणा गर्ने धेरैको अपेक्षा थियो। उनले राजीनामा दिएनन्, बरु सत्ता छाड्न हाकाहाकी अस्वीकार गरे। देश कठिन समयमा गुज्रिरहेको स्वीकारे, तर आफ्नो समर्थन घटेकोलाई महत्व दिएनन्। केही साताभित्रै ‘पार्टी नेतृत्वमा फर्किने’ समेत घोषणा गरे।

मुगावेलाई महाभियोग लगाउन माग गर्दै स्थानीय। तस्बिर: एपी

सेनाले गत साताको हस्तक्षेपपछि पनि मंगलबार बिहान मुगावेलाई मन्त्रिपरिषद बैठक डाक्न अनुमति दिएको थियो। उक्त बैठकमा जम्मा पाँच मन्त्री उपस्थित रहे। बाँकी १७ जना उनीविरुद्ध महाअभियोग प्रक्रियामा भाग लिन गएका थिए।

मुगावे अधोगतिको सुरूआत यही नोभेम्बर ६ मा भएको थियो, जब उनले उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदच्यूत गरे। र, त्यसको केही दिनपछि नै मांगाग्वासँग निकट सैनिक कमान्डर जनरल कन्स्टान्टिनो छिविन्गालाई पक्राउ गर्ने प्रयास गरे।

उक्त घटनालगत्तै मांगाग्वा जिम्बावे छाडेर दक्षिण अफ्रिका गएका थिए। त्यसयता उनी कहिल्यै सार्वजनिक रूपमा देखिएका थिएनन्। उनले मंगलबारै आफ्नो मौनता तोड्दै ‘मुगावेले तत्काल सत्ता छाड्नुपर्ने’ बताएका छन्। ‘मुगावेले मलाई देश फर्किएर वार्तामा आउन आग्रह गरेका थिए, मैले अस्वीकार गरेँ,’ उनले भने।

सेनासँग निकट ७५ वर्षीय मांगाग्वेले आफूलाई जिम्बावेमा व्यक्तिगत सुरक्षाको खतरा भएको बताउँदै आएका थिए।

‘मैले राष्ट्रपतिलाई भनेँ, देशको राजनीतिक र संवैधानिक संकटको कारण म र उनीबीचको विवाद होइन, बरु समग्र देश र राष्ट्रपति मुगावेबीचको मुद्दा हो,’ मांगाग्वेले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘उनले जनताको माग बुझेर सत्ता छाड्नुपर्छ, ताकि देश शान्तिपूर्ण रूपले अगाडि बढोस्।’

मुगावे र मांगाग्वाबीच पार्टीभित्र लामो समयदेखि नेतृत्वको लडाइँ थियो। यीमध्ये मांगाग्वालाई सैनिक समर्थन थियो। पत्नी ग्रेसलाई नेतृत्व पंक्तिमा ओरालेका मुगावेलाई भने प्रहरीको समर्थन थियो।

ग्रेस सन् २०१४ मा पार्टीको महिला संगठन प्रमुख थिइन्। त्यसै वर्ष डिसेम्बरमा उपराष्ट्रपतिको सिफारिसमा परिन्। त्यसयता उनले आफूलाई राष्ट्रपति दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी थिइन्।

ग्रेस मुगावे

विगतमा राष्ट्रपति कार्यालयमा ‘टाइपिस्ट’ काम गर्ने ग्रेस र मुगावेको विवाह सन् १९९६ मा भएको थियो। यो दुवैको दोस्रो विवाह थियो। उनीहरूका तीन सन्तान छन्।

जिम्बावेमा ग्रेसको पहिचान नेताका रूपमा कम, ‘गुची ग्रेस’ का रूपमा बढी छ। गुची एक अन्तर्राष्ट्रिय ब्रान्ड हो। महँगा किनमेलमा रूचि राख्ने र ब्रान्ड सोखिन भएकाले नै उनलाई गुचीसँग जोडेर व्यंग्य गरिएको हो।

ग्रेसको राजनीतिक महत्वाकांक्षामा सत्तारूढ पार्टीबाट पटक-पटक निष्कासित जोनादन मोयोको हात देखिन्छ। पार्टीभित्र गुटबन्दी गरेको भन्दै मोयो निष्कासनमा परेका थिए। उनको विद्वता र संगठन क्षमताको मुगावे तारिफ गर्थे। उनको व्यक्तिगत चरित्र भने रुचाउँथेनन्। उनलाई व्यंग्य गर्दै मुगावे भन्थे, ‘मकैमा लाग्ने कीरा’।

मुगावेले आफूलाई पूर्ण विश्वास गर्दैनन् भने मोयोलाई पनि राम्ररी थाहा थियो। यहीँनिर आफ्नो स्थान कायम राख्न उनले ग्रेसलाई राजनीतिमा आउन उक्साएको पार्टी निकटहरू बताउँछन्।

‘ग्रेस आफ्नै डरको शिकार भइन्, उनी भित्रभित्रै आफ्नो भविष्य असुरक्षित महशुस गर्छिन् भन्ने मोयोलाई थाहा थियो, उनले यसैमा खेले,’ मोयोको भनाइ उद्धृत गर्दै मानवअधिकार अनुसन्धानकर्ता देवा माहिन्दाले भने, ‘तपाईं जवान हुनुहुन्छ, तपाईंका श्रीमान भने अस्ताउन लागेका घाम हुन्। उहाँको भर परेर हुँदैन। आफ्नो भविष्य सुरक्षित गराउने जिम्मा तपाईंकै हो। तपाईंलाई आफूप्रति इमानदार मान्छेको खाँचो छ, जसले पार्टीभित्र तपाईंको स्वार्थको रक्षा गर्छन्।’

यसैबाट प्रभावित भएर ग्रेस र उनका समर्थकले पार्टीभित्रका विपक्षी सदस्यलाई धमाधम निष्कासन गर्न थाले। मोयोले पनि गत जुलाईमा भएको पार्टी बैठकमा सिधै मांगाग्वाविरूद्ध धावा बोले। उनले बैठकमै ७२ मिनेटको भिडियो देखाए, जसमा मांगाग्वा र उनका समर्थक कसरी सत्ता हत्याउन चाहन्छन् भन्ने झल्किन्थ्यो।

ग्रेस निर्विवाद रूपमा जिम्बावेकी उत्तराधिकारी ठहरिन्थिन्, मुगावेको प्रयास सफल भइदिएको भए। अहिले उनी महिला संगठन प्रमुखबाट मात्र होइन, आजीवन पार्टीबाटै निकालिएकी छन्।

यो द्वन्द्वमा अन्ततः विजयी सावित भएका छन् मांगाग्वा, जसलाई पार्टीले नयाँ नेतृत्व सुम्पेको छ। र, मुगावेको उत्तराधिकारीका रुपमा समेत लिन थालिएको छ।

इमरसन मांगाग्वे

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.