दाहालका लागि छोरा मात्र थिएनन् प्रकाश


आमाबुबाका लागि जीवनमा सबैभन्दा कठिन क्षण हो, आफ्नै सन्तानको चिताबाट उडिरहेको धुँवा हेर्नु।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो कठिन क्षण दुईपटक भोग्नुपर्यो।

चार वर्षअघि क्यान्सरसँग जुझ्न नसकेकी छोरीलाई दाहालले विदाइ गरे। आइतबार छोरा प्रकाशलाई पशुपतिमा दागबत्ती दिए।

दाहालका एक्ला छोरा प्रकाशको आइतबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो। अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ जेपी जैसवालका अनुसार मृत्युको कारण आकस्मिक हृदयघात थियो।

राति नै हृदयघात भएका दाहालको बिहान पौने छ बजे अस्पताल पुर्याउँदा शरीर चिसो भइसकेको थियो।

प्रायः माओवादी अध्यक्ष दाहालसँगै हिँड्ने प्रकाश केही दिनदेखि लाजिम्पाटस्थित निजी निवासमा बसेका थिए। दाहाल भने गठबन्धनको चुनावी प्रचारका लागि झापा पुगेका थिए।

आइतबार झिसमिसे उज्यालो हुँदा प्रकाश गम्भीर बिरामी भएर अस्पतालमा भर्ना भएको समाचार फैलिसकेको थियो। उनको निधन भइसकेको र दाहाल आएपछि मात्र घोषणा गर्ने अस्पताल स्रोतको भनाइ थियो। खबर सुनेर दाहाल हेलिकप्टरमा काठमाडौं फर्किए अनि शोकाकुल पत्नी सीतालाई सँगै लिएर अस्पताल आए। कञ्चनपुर–१ मा उम्मेदवार बनेकी पत्नी बिना मगर र भरतपुरकी मेयर दिदी रेणु पनि जहाजमा काठमाडौं आए।

अस्पतालमा आफूलाई जसोतसो सम्हालेका दाहाल पेरिस डाँडामा छोराको शवमाथि पार्टीको झन्डा ओढाउँदा भने सम्हालिन सकेनन्। उनका आँखाबाट आँशु टिलपिलाए।

दाहालका लागि प्रकाश छोरामात्र थिएनन्।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशका अनुसार प्रकाशले युद्धकालमा बुबालाई सुरक्षा दिनेदेखि ओछ्यान मिलाउनेसम्म गरिदिन्थे। दीपेश र प्रकाशबीच २०५९ देखि संगत थियो।

‘दाइ (प्रकाश) लाई कम्प्युटर, इन्टरनेट र भिस्याट फोन चलाउन आउँथ्यो, जनमुक्ति सेनाका हतियार बोक्ने उहाँले अध्यक्षलाई सुरक्षा पनि दिनुहुन्थ्यो,’ पुनले सेतोपाटीसँग भने, ‘आमाहरु हामीलाई तिमीहरुको पढाइ छुट्यो भन्नुहुन्थ्यो, हामी बुबाको सेवा गर्न पाएकैमा गर्व गर्थ्यौं।’ त्यतिबेला दीपेशका बुबा जनमुक्ति सेनाका कमान्डर थिए।

२०३८ असार १७ गते चितवनमा जन्मेका प्रकाश २०५४ मा भूमिगत भएर माओवादी युद्धमा होमिएका थिए। उनको भूमिगत नाम ‘साकार’ थियो।

१२ कक्षासम्म पढेका प्रकाशले २०५७ मा पार्टी सुप्रिमो रहेका आफ्ना बुबाको निजी सचिवालयमा काम गर्न थाले। द्वन्द्व बेला अरु माओवादी नेताका छोराछोरी विदेश बसेर पढे पनि दाहाल बुबासँगै सक्रिय भएर युद्धमै होमिइरहे।

‘पार्टी शान्ति प्रक्रियामा आएपछि मैले फेरि पढौं दाइ भनेको थिएँ तर उहाँले अध्यक्षलाई एकछिन छोड्न नमिल्ने भएकाले नपढ्ने भन्नुभयो,’ दीपेशले भने।

२०६५ मा दाहाल प्रधानमन्त्री हुँदा प्रकाशले उनको स्वकीय सचिव भएर काम गरे। उनले सचिवालयको काम मात्र गर्दैनथे, दाहालका ड्राइभर नहुँदा बुबाको गाडी आफैं चलाउँथे।

२०६८ चैतमा उनी सगरमाथा चढ्न गएका थिए। त्यही टोलीमा रहेकी नेतृ बिना मगरसँग उनको प्रेम भयो। त्यसको केही समयपछि भागेर विवाह गरे। उनीहरु दुवै केही समय भारतमा बसेका थिए।

बिनाभन्दा पहिला प्रकाशले दुईवटा विवाह गरिसकेका थिए। त्यसमध्ये एउटा सम्बन्धविच्छेदमा टुंगिएको थियो।

बहुविवाहको कुरा उठेपछि दाहालले पुत्र प्रकाशलाई कारबाही गर्दै सचिवालयबाट निस्कासन गरेका थिए। केही महिनापछि उनी नेपाल फर्किएर फेरि दाहालको सचिवालयमा काम गर्न थाले।

२०७३ साउनमा दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाश उनका स्वकीय सचिव नियुक्त भए।

माओवादी केन्द्रीय सदस्यसमेत रहेका प्रकाशले पछिल्लो समय दाहालको जनसम्पर्क र चुनावी अभियान सम्हाल्दै आएका थिए। उनले दाहाल प्रधानमन्त्री हुँदा सचिवालय निकै चुस्त बनाएका थिए। चितवन– ३ मा उम्मेदवार भएका दाहालको चुनावी कमान्ड उनैले सम्हालेका थिए।

दाहालको सचिवालयका मनहरि तिमिल्सेनाका अनुसार प्रविधिमा रुचि भएका प्रकाश चुनावी कार्यक्रमको सबै फेसबुक लाइभ आफैं गर्थे।

हृदयघातले निधन भएका प्रकाशलाई अरु कुनै रोग नभएको र कुनै औषधि खाने नगरेको उनका निकट बताउँछन्। उनले दुई महिनाअघि आफू माओवादी नै भएर मर्न चाहेको बताएका थिए।

‘वाम गठबन्धन हुने भएपछि एउटा भेटमा ‘भाइ, माओवादी भएर मर्न पाएको भए हुन्थ्यो भन्ने इच्छा हो तर नपाइने भयो’ भन्नुभएको थियो,’ दीपेशले भने, ‘त्यतिबेला के भनेको जस्तो लाग्यो तर उहाँ दुई पार्टी एक हुनुअघि नै माओवादी मात्र भएर जानुभयो।’

दीपेशलाई लाग्छ, प्रकाश नहुँदा माओवादी अध्यक्ष दाहाललाई आफ्नो सचिवालयमा ठूलो रिक्तता महशुस हुनेछ। ‘प्रकाश दाइ नहुँदा अध्यक्षलाई सचिवालय व्यवस्थापन गर्न निकै कठिन हुनेछ,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.