नेकपा एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार बनाएपछि मंसिर १० र २१ को चुनावी नतिजा उनीहरूकै पक्षमा आउने धेरैको आकलन छ।
दुवै दलका नेताले स्पष्ट बहुमत ल्याउने दाबी गरिरहेका छन्। यो दाबी सही साबित हुन्छ कि हुन्न भन्ने छिनोफानो केन्द्रमा जस्तै स्थानीय स्तरमा पनि कार्यकर्ता र मतदाता मिल्छन् कि मिल्दैनन् भन्ने प्रश्नसँग जोडिएको छ। यसअघि सूर्यमा छाप लगाएकाले यसपालि हसियाँ हथौडामा भोट दिन्छन् वा अरू कसैलाई छान्छन् भन्ने प्रश्नले पनि नतिजामा ठूलो प्रभाव पार्नेछ। सिट बाँडफाँटमा एमालेले आफू बलियो भएका धेरै क्षेत्र माओवादीलाई छाडिदिएको छ।
प्रतिनिधिसभाका १ सय ६५ क्षेत्रमध्ये एमालेले १०२ मा उम्मेदवारी दिएको छ। यीमध्ये केही क्षेत्रमा सूर्य चिह्न लिएका स्वतन्त्र उम्मेदवार छन्। एमालेले माओवादीलाई ६१ र जनमोर्चालाई २ सिट छाडेको छ।
यो भागबन्डामा माओवादीले एउटा पनि आफ्नो प्रभाव क्षेत्र एमालेलाई छोड्नु परेको छैन। त्यसैले धेरै माओवादी उम्मेदवारको जित एमाले मतदाताकै हातमा छ।
के एमाले मतदाताले माओवादीलाई सहजै भोट देलान्? यो प्रश्नको उत्तर हामीले एमालेको बलियो उपस्थिति भएको तर माओवादीले उम्मेदवारी दिएको काठमाडौं-६ मा खोजेका छौं।
काठमाडौं- ६ मा महानगरपालिकाका ३, तारकेश्वरका ७ र टोखा नगरपालिकाका ५ वडा छन्।
कांग्रेसबाट रक्षामन्त्री भीमसेनदास प्रधान र वाम गठबन्धनबाट माओवादीका झक्कुप्रसाद सुवेदी चुनावी मैदानमा छन्।
२०७० सालको संविधानसभामा कांग्रेसका प्रधानले एमाले उम्मेदवार योगेश भट्टराईलाई करिब १३ सय मतले हराएका थिए। प्रधानले १४ हजार १ सय ५१ मत पाएका थिए भने भट्टराईले १२ हजार ८ सय ७४ मत ल्याएका थिए। माओवादीका हिमाल शर्मा ५ हजार ९ सय ४५ मतसहित तेस्रो भएका थिए।
माओवादीभन्दा दोब्बर बढी रहेको यो एमाले मत यसपालि सबै माओवादीतिर जाला त?
यो प्रश्न अहिले यहाँका एमाले नेता/कार्यकर्तामा पनि छ। एमाले क्षेत्र नम्बर ६ का सदस्य विकल प्रधानलाई सबै मत माओवादीलाई आउनेमा शंका छ।
'सूर्य चिह्न भएको भए तपाईंहरू जित्नुहुन्थ्यो तर हसियाँ हथौडामा त कसरी भोट हाल्नु र भन्ने पनि छन्,' विकलले प्रचारप्रसारमा जाँदा मतदाताले सुनाएको कुरा उल्लेख गर्दै भने, 'उनीहरूलाई हाम्रो पार्टी अब एक हुन लागिसक्यो, त्यही भएर हसियाँ हथौडामा भोट हाले पनि सूर्यमा हालेजस्तै हो भनेर सम्झाइरहेका छौं।'
यो क्षेत्र पर्ने बागबजार, महाबौद्ध, ठमेल, सामाखुसी, टोखा र तारकेश्वर पुगेर अघिल्लो चुनावमा एमालेलाई भोट दिएका ५ दर्जन बढी मतदातासँग हामीले सोध्यौं- यसपालि माओवादीलाई भोट दिनुहुन्छ कि हुन्न?
हामीले कुरा गरेका ६३ मध्ये २८ मतदाताले मात्र यसपालि माओवादीलाई भोट दिने बताए।
यस्ता मतदाता महानगरभन्दा बढी नगरपालिकामा भेटिए। यीमध्ये धेरै एमाले कार्यकर्तासमेत हुन्। एमालेले गर्ने जुनसुकै निर्णयमा आफूहरूको सहयोग हुने उनीहरुको भनाइ छ।
टोखाकी एक मतदाताले एमाले जोसँग मिल्छ उसैलाई भोट दिने बताइन्।
'म त पहिल्यैदेखि एमालेलाई भोट दिन्थेँ, बिहे कांग्रेससँग भयो। उहाँहरुले रुखलाई भोट देऊ भन्नुहुन्छ तर सूर्यमा भन्दा अन्त हात जान्न,' उनले भनिन्, 'अहिले एमाले-माओवादी मिलेका छन्। एमालेले जसलाई भन्छ, उसैलाई भोट दिने हो। माओवादीलाई पनि दिने हो।'
काठमाडौं-२७ का वडा सदस्यसमेत रहेका महाबौद्धका नरेशमान महर्जनले यो क्षेत्रमा सूर्य चिह्न नै नभएकाले एमाले मतदातासँग हसियाँ हथौडामा भोट हाल्नुको विकल्प नरहेको बताए।
'पार्टी कमिटीमा कुनै असन्तुष्टि छैन, सबैले उहाँ (सुवेदी) लाई आफ्नै उम्मेदवार ठानेर सहयोग गरिरहेका छौं,' महर्जनले भने, 'सूर्य चिह्न नभएपछि एमाले मतदाताको हात रूखमा त पक्कै जान्न बरू हसियाँ हथौडामै जान्छ। त्यसैले धेरै एमाले मतदाताले माओवादीलाई नै भोट हाल्छन्।'
हामीले कुरा गरेका आधाभन्दा बढी अर्थात् ३५ जनाले भने माओवादीलाई भोट दिन्छौं भन्न सकेनन्।
माओवादीलाई मत नदिनुका पछाडि उनीहरुले तीन कारण देखाए, बाहिरको उम्मेदवार, माओवादीको हिंसात्मक विगत र नयाँ पार्टीप्रतिको आकर्षण।
महाबौद्धका एक मतदाताले भने, 'स्थानीय चुनावमा त एमालेलाई भोट हालेँ। अहिले भीमसेनदास प्रधान यहीँको मान्छे हो। उसलाई भोट हाले काम पर्दा भन्न सजिलो हुन्छ, बाहिरबाट आएकालाई हालेर के काम?
यो क्षेत्रको चक्रपथभित्र नेवार समुदायको बाहुल्य छ। माओवादीबाट गैरनेवार उम्मेदवार भएकाले एमाले मतदाताले जातीय आधारमा प्रधानलाई भोट दिन सक्छन्।
माओवादीको हिंसात्मक विगतले पनि केही एमाले मतदातालाई प्रभाव पारेको देखिन्छ।
मनमैजुकी एक मतदाताले पहिले एमालेलाई भोट दिएको तर यसपालि गठबन्धनलाई मत नदिने बताइन्।
'गठबन्धनलाई त नदिने, पहिले एमालेलाई नै दिएको हो। त्यत्रा मान्छे मारेको माओवादीलाई कसरी भोट दिनु? सत्ताका लागि ठूल्ठूला नेता मिल्ने हामीलाई बेच्ने,' उनले भनिन्।
बागबजारका रमेश शाहीलाई पनि विगत सम्झेर माओवादीलाई मत हाल्न मन छैन। 'हामी पो सहरमा बसेकाले द्वन्द्वका बेला दु:ख पाउनु परेन। तर गाउँमा त एमाले भएकाले नै माओवादीबाट कति दु:ख पाए। त्यो सबै बिर्सेर कसरी माओवादीलाई भोट हाल्नु?' शाहीले भने।
यसरी बाहिरको उम्मेदवार र माओवादीको विगत मन नपराएकामध्ये ७ जनाले यसपालि कांग्रेसलाई मत दिने बताए। यस्ता मतदाता चक्रपथभित्रका धेरै थिए।
माओवादीलाई मत नदिनेमध्ये छ जनाले नयाँ दललाई भोट हाल्ने निर्णय गरेका छन्।
'पुरानाले आश्वासन दिनेबाहेक केही गरेनन्। त्यही भएर विवेकशील साझालाई भोट हाल्ने सोचेकी छु,' बागबजारकी एक मतदाताले भनिन्।
हामीले कुरा गरेकामध्ये २२ जनाले भने अझै कसलाई भोट हाल्ने निर्णय गर्न सकेका छैनन्। यसअघि एमालेलाई भोट हाल्दै आएका उनीहरू चुनावको दिनसम्म नजिकको 'सगोत्रीय' माओवादीलाई नै छान्छन् कि अलि टाढाको कांग्रेस वा कुनै अर्को दललाई रोज्छन्, त्यसले चुनावी परिणाम ठूलो फरक पार्नेछ।