‘यस्तै यस्तै भयो राजनीति’

सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी


‘यस्तै यस्तै रहेछ राजनीति, बुझ्नुभो!’

यति भनेर उनले लामो सास ताने।

यो कुनै प्रश्नको जवाफ थिएन, ७१ वर्षीय कम्युनिस्ट नेता मोहन वैद्यले खिचेको आफ्नो राजनीतिक जीवनको सार थियो।

सँगै हतियार उठाएका र शान्ति प्रक्रियामा सँगसँगै आएका चेला दर्जाका नेताहरू सत्ताको कबड्डी खेलिरहँदा उनी मैदानको सेतो धर्सोबाहिर छन्। आफ्नो चिरपरिचित ‘बहिष्कारवादी’ छविविपरीत संसदीय चुनावमा सहभागी त हुँदैछन्, तर प्रचारमा हिँड्ने मुडमा छैनन्।

२०७० को संविधानसभा बहिष्कार गरेका उनले यसपालि फरक निर्णयको औचित्यबारे सेतोपाटीसँग भने, ‘बहिष्कार गर्दा पनि नाम मात्रैको बहिष्कार हुने रहेछ। विजयीको मत पहिलाभन्दा धेरै भनेर प्रचार गरिन्छ। को गयो? कसले मत हाल्यो? केही थाहा हुन्न। बहिष्कार गरेर के काम।’

‘हामी कमजोर भयौं, कमजोर भएकैले चुनाव उपयोग गर्ने निर्णय गरेका हौं,’ वैद्यले भने, ‘नयाँ जनवादी व्यवस्था ल्याउने तयारीबारे जनतालाई बताउने अवसर हो, यो।’

माओवादीले हतियार उठाउँदा पनि ‘नयाँ जनवादी व्यवस्था’ कै नाम लिएको थियो। वैद्य आजसम्म त्यही जप्दैछन्। यो उनको अन्तर्य विश्वास पनि हुन सक्छ। उनकै कुरा सुन्दा भने पराजयबोधको आभाष सुनिन्छ।

‘हामी क्रान्ति गर्नुपर्छ भनेरै अघि बढेका हौं। युद्धमै रहेका साथीहरूले विश्वासघात गरेपछि के लाग्छ? जटिल परिस्थितिमा यस्तो भैराख्दो रहेछ,’ वैद्यले भने।

दस वर्ष हतियार उठाएर शान्ति प्रक्रिया हुँदै सत्तासम्म पुगेका माओवादी नेताहरूका गुरू थिए उनी, कुनै बेला। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले उनकै नेतृत्वमा माओवादको राजनीतिक सिद्धान्त अंगाल्यो। लगत्तै २०४५ चैतमा काठमाडौंका प्रहरी बिटमाथि छापामार हमला गर्यो। ‘सेक्टर काण्ड’ भनिने त्यही हमलाले पुष्पकमल दाहाललाई पार्टी प्रमुख बनायो भने वैद्यको ‘डिमोसन’ भयो। उक्त घटनामा धेरै कार्यकर्ता समातिएपछि वैद्यले राजीनामा गरेर नवयुवक दाहाललाई बाटो छाडिदिएका थिए।

आज उनै दाहाल दुईचोटि प्रधानमन्त्री भइसके, तेस्रोचोटि हुने कसरतमा एमालेसँग वाम गठबन्धन गरेका छन्। वैद्य भने पाखा लाग्दै राजनीतिको किनारमा पुगेका छन्।

उनी २०६९ मा तत्कालीन संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादी फुटाएर नेकपा–माओवादी अध्यक्ष बनेका थिए।

माउपार्टीका ४० प्रतिशत अर्थात्, झन्डै सय जना सांसद उनको पक्षमा थिए। माओवादी केन्द्रीय समितिका आधा सदस्यको समर्थन पनि उनैलाई थियो।

त्यतिबेला ‘ड्यास’ माओवादीको पहिचान बनाएका वैद्यसँग अहिले राजनीतिक सहयात्रीका रूपमा सिपी गजुरेल मात्र छन्। उनीसँगै आएका नेत्रविक्रम चन्द फेरि पार्टी फुटाएर गए। रामबहादुर थापा, पम्फा भुषाल, देव गुरुङ लगायत नेता दाहाल नेतृत्वकै माओवादीमा फर्किए।

यसबीच क्रान्तिकारी माओवादीका महासचिव उनी पार्टीभित्र त शक्तिशाली बने, राष्ट्रिय राजनीतिमा कमजोर।

फुट्दै, मक्किँदै संगठन ‘कमजोर हालतमा पुगेको’ वैद्यलाई नै थाहा छ। ‘देशभक्त वाम गणतान्त्रिक मोर्चा’ का नाममा चुनाव लडिरहेका उलाई जितिएला भन्ने आश पनि छैन।

‘निर्वाचनलाई पैसाले खान्छ,’ उनले भने, ‘हामीसँग पैसा छैन।’

उनलाई लाग्छ- अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन दुवै ‘सत्तावाल’ हुन्।

‘सत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो छ,’ उनले  भने, ‘उनीहरूसँग पैसा छ, सत्तामा जाने दल भनेपछि सबैले थप पैसा दिन्छन्। तै हामीले दुःखसुखले अघि बढ्ने निधो गरेका छौं।’

यति भन्दाभन्दै आफ्नो मन बुझाउने बहाना पनि खोजेका छन्।

‘कम्युनिस्ट पार्टी कमजोर हुनु र शक्तिशाली हुनु सामान्य हो,’ उनी भन्छन्।

राष्ट्रिय राजनीतिक दलहरूसँग वैद्यको दुरी बढ्नुको कारण भने बेग्लै छ।

२०७० को चुनाव बहिष्कार गरे पनि वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधानसभामा ल्याउने प्रयत्न दलहरूले गरेका थिए।

गोलमेच सम्मेलन माग गरेको वैद्य माओवादी मनाउन तत्कालीन सुशील कोइराला सरकारले बानेश्वरमा गोलमेच सम्मेलन नै राखेको थियो। वैद्य अन्तिम समयमा पछि हटे। त्यतिखेर संसद भवनको क्यान्टिनमा गोलमेच सम्मेलनका सहभागीलाई खाना पाकिसकेको थियो। पस्कने बेला वैद्य माओवादीले बुद्धनगरको पार्टी कार्यालयबाटै ‘गोलमेचमा सहभागी नहुने’ खबर पठायो।

‘यस्तै यस्तै’ शृंखलाबद्ध घटना झेलेका वैद्यको राष्ट्रिय राजनीतिक दलका नेताहरूसँग अचेल सम्पर्क कम छ। दाहालसँग पनि औपचारिक सम्बन्ध मात्र भएको उनले बताए।

‘पार्टी विभाजन भएको लामो समय भयो, आवश्यकता भए न कुरा हुन्छ!’ उनले भने, ‘पातलो- पातलो कुरा हुन्छ।’

‘व्यक्तिगत रूपमा सम्बन्ध बिग्रने कारण नै के छ र! उहाँले मलाई संकीर्ण भन्नुहुन्छ, हामी उहाँलाई गलत बाटो हिँड्नुभयो भन्छौं,’ उनले भने।

दाहालले संसदीय व्यवस्था स्वीकारेर नयाँ संविधानको स्वामित्व लिएको उनलाई चित्त बुझेको छैन। विगतमा प्रतिक्रियावादी भनेको एमालेसँग मिल्नुले बोलाइ र गराइमा भेद देखिएको उनी बताउँछन्। ‘उहाँले त कांग्रेससँग पनि एकता गर्न सक्नुहुन्छ,’ वैद्यले भने, ‘मूल कुरा संसदीय व्यवस्था स्वीकारेपछि के नै बाँकी रह्यो र!’

एमाले–माओवादी वाम गठबन्धनप्रति पनि उनको यस्तै धारणा छ। ‘सत्ताका लागि मिलेका हुन्, संसदीय व्यवस्थामा कुरा मिलिहाल्यो, नमिल्ने के छ र!’ उनले भने।

वैद्य आफ्नो पार्टी कमजोर भए पनि राजनीतिको विकल्प रहेको दाबी गर्छन्। राष्ट्रियता र जनजीविकाका मुद्दा निरन्तर कमजोर हुँदै गएको औंल्याउँदै उनी भन्छन्, ‘पहाड बाँझै छन्। रेमिटेन्सले देश धानेको छ। प्राकृतिक स्रोत त भारतले सिध्यायो, मानवीय स्रोत पनि बाहिरै गयो। जग्गा बाँझो राखेर खाद्यान्न, फलफूल, तरकारी जम्मै आयात गर्दैछौं। विदेसिएका युवालाई रोक्न सरकारले कृषिमा लगानी गरे भइहाल्यो, तर यिनीहरूको ध्यान छैन।’

‘अब हेर्दै जाउँ, सिंहदरबारको अधिकार गाउँ–नगरमा जाने भन्या छ। यो भनेको सिंहदरबारको भ्रष्टाचार गाउँ–नगरमा जाने भनेको हो। पैसा खानेमा सबै मिल्छन् अनि के को विकास! जनता फेरि असन्तुष्ट हुन्छन्, त्यसपछि क्रान्ति हुन्छ। हामी त्यही क्रान्तिका लागि आधार तयार पार्दैछौं,’ उनले भने।

त्यो क्रान्तिको आधार तयार हुँदासम्म आफू नेतृत्वमा नरहने उनले बताए।

‘उमेरको कुरा पनि आयो। युवा साथीहरूलाई हस्तान्तरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ खोकीले लगातार बोल्न गाह्रो भएका वैद्यले भने, ‘अहिले त नेतृत्वमा बस्नुपर्ने बाध्यताजस्तो भयो। अब नयाँ नेतृत्वको तयारी गर्नेतिर जान्छु।’

‘पहिला प्रचण्डलाई पनि नेतृत्व हस्तान्तरण गरेकै हो,’ उनले भने।

यति भनेपछि उनले लामो सास फेरे। र, भने, ‘यस्तै यस्तै रहेछ राजनीति, बुझ्नुभो!’

तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.