कास्कीमा चुनावी रौनक


एक महानगरपालिकासहित ४ वटा गाउँपालिका रहेको कास्की अहिले चुनावमय बनेको छ।

कास्कीको पोखरा प्रदेश नम्बर ४ को निर्विकल्प राजधानी पनि हो । राजनीतिक दलहरूले पोखरा र समग्र प्रदेश नम्बर ४ कै सम्वृद्धिको महत्वाकांक्षी सपना बाढ्दै जनताको घर दैलोमा पुगेका छन् । कास्कीमा प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ सिटका लागि करीब १ सय उम्मेद्वार चुनावी मैदानमा छन् ।

कास्कीको क्षेत्र नम्बर १ मा कानूनमन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । कांग्रेस र वाम गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका यी दुई दोस्रोपटक भिड्दै छन् । यसअघि ०६४ को संविधानसभा निर्वाचनमा माओवादीका देव गुरुङसँग दुवै पराजित भएका थिए ।

चुनावी मैदानमा दुई सशक्त राजनीतिक खेलाडी बीचको घम्साघम्सी भने मतदातामाझ चासोको विषय छ । दुई उम्मेदवारबीच एउटा समानता के छ भने दुवैले २/२ पटक जिल्लामा पार्टी नेतृत्व सम्हालेका छन् । दुवै विद्यार्थी राजनीतिबाट उदाएका हुन् । क्षेत्र नम्बर १ मा अहिले ९६ हजार ९९ मतदाता छन् ।

कास्कीको क्षेत्र नम्बर २ मा दुवै संविधानसभा चुनावमा विजयी भएका एमाले नेता रवीन्द्र अधिकारी ह्याट्रिक गर्ने दाउमा छन् । पहिलो संविधानसभा चुनाव २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजित गरेका उनले २०७० को चुनावमा कांग्रेस नेता शोभियतबहादुर अधिकारीलाई हराए ।

यस पटक उनको प्रतिस्पर्धाको रुपमा कांग्रेसका बौद्धिक नेता देवराज चालिसे छन् । लामो समय प्राध्यापनमा बिताएका चालिसे राजनीतिक जीवनमा अग्रपंक्तिमै रहेर पार्टीको जिम्मेवारी बहन गर्दै  पहिलो पटक चुनावी मैदानमा छन् । यी दुईको प्रतिस्पर्धा पनि निकै कसिलो बन्दै गएको छ ।

दुवै संविधानसभा चुनावमा विजयी एमालेका नेता रवीन्द्र अधिकारी यसपटक पनि विजयी हुनेमा ढुक्क छन् ।

कास्की क्षेत्र नम्बर २ मा स्थानीय निर्वाचनलाई हेर्ने हो भने वाम गठबन्धन करीब ७ हजार मत अन्तरले अगाडि रहेको छ । वाम गठबन्धनको २२ हजार ९ सय ६६ मत छ भने कांग्रेसको १५ हजार २ सय १७ मत छ। यो क्षेत्रनमा अहिलेको मतदाता संख्या ७० हजार ६ सय ५१ रहेको छ । यो क्षेत्रमा मात्रै नयाँ मतदाता करीब १० हजारको हाराहारीमा थपिएका छन्। थपिएका मतदाताको मत निर्णायक हुने कांग्रेस नेताको भनाई छ। मतदाताले सधै एउटै उम्मेद्वारभन्दा पनि फरक उम्मेद्वार जिताउने नेपालकी कांग्रेसका उम्मेद्वार देवराज चालिसे बताउँछन् ।

कांग्रेस कास्कीको इतिहासमा सबैभन्दा लामो समय पार्टी सभापतिको भूमिकामा रहेका पूराना नेता शुक्रराज शर्मा कास्की क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएका छन्। क्षेत्र नम्बर २ बाट २०४८ र २०५१ को चुनावमा लगातार एमाले नेता तुलबहादुर गुरुङसँग पराजित भए। उनको यो उम्मेदवारी तेश्रो पल्ट हो । शर्माको प्रतिस्पर्धा  एमालेका नेता जगत विश्वकर्मा छन् । लामो समयदेखि नेपाली राजनीतिक आन्दोलनमा होमिएका विश्वकर्मालाई वाम गठबन्धनको साथ छ। उता, शर्मा भने लगातार पराजय भोगेको आफ्नो इतिहास बदल्ने तयारीमा छन्। कास्की क्षेत्र नम्बर ३ मा ८८ हजार ७ सय १७ मतदाता रहेका छन् ।

स्थानीय चुनावको मतलाई हेर्ने हो भने कास्कीमा कुनैपनि क्षेत्र कांग्रेसका लागि सुरक्षित छैनन् । सबै क्षेत्रमा वाम गठबन्धन नै आगाडि छन् ।  स्थानीय चुनावमा उम्मेदवारको व्यक्तित्वदेखि निर्वाचन परिचालन र कास्कीमा थपिएका करीब ५० हजार नयाँ मतदाताले कसलाई विजय गराउँछन् ?भने ठूलो हात हुने राजनीतिक विश्लेषकहरू बताउँछन् । यसपाली भने कांग्रेसले सुधारोन्मुख नतिजा निकाल्ने नेताहरूको दाबी छ। वाम गठबन्धनले पनि सबै क्षेत्रमा आफ्नो पकड जमाउने दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.