मतदाताले भने- काम गरे पो भोट दिन मन लाग्छ

ललितपुरको ढोलाहिटीमा भोट माग्दै वाम गठबन्धनकी संयुक्त उम्मेद्वार पम्फा भुसाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी


ललितपुरको ढोलाहिटीबाट ठूलो लस्कर अघि लाग्यो। सबभन्दा अगाडि माइकिङ टोली थियो। बेलाबेला माइकिङ थामिन्थ्यो, प्रगतिशील गीत बज्न थाल्थे। यसबीच नेवारी धिमे बाजा एकनास बजिरहेकै थियो।

लस्करको नेतृत्व गरेकी थिइन्, माओवादीकी पम्फा भुषालले।

ललितपुर–३ की प्रतिनिधिसभा उम्मेदवार उनी वाम गठबन्धनको घरदैलोमा सरिक हुँदै थिइन्। हिँड्दा–हिँड्दै बाटोछेउ कोही महिला भेटिए गम्लंग अंगालो मार्थिन्। र, कानमा भन्थिन्, ‘गोलाकारभित्रको हँसिया हथौडामा भोट हाल्नुस् है?’

कोही महिला अलमल्ल पर्थे। कोही खुसी हुँदै ‘भैहाल्छ नि’ भन्थे।

पुरुष मतादातासँग भने उनी हात मिलाउँथिन् र उसैगरी भोट माग्थिन्। अलि पर उभिएकालाई दुई हात जोडेर नमस्ते गर्थिन्।

ढोलाहिटीबाट सुनाकोठीसम्म करिब एक घन्टको घरदैलोमा भुषालसँगै वाम गठबन्धनका अरू तीन जना उम्मेदवार पनि थिए।

यो गत शुक्रबारको दृश्य हो।

भुषालका अनुसार ललितपुर–३ मा विभिन्न पेशागत भ्रातृ संस्थासमेत परिचालन गरिएको छ। ‘हामी इञ्जिनियर, कर्मचारी लगायत शुभचिन्तकको समूह प्रशिक्षित गर्छौं, अनि चुनावी मैदानमा खटाउँछौं,’ उनले भनिन्, ‘वाम गठबन्धनको संयुक्त प्रचार गरिरहेका छौं।’

पहिले–पहिले चुनाव प्रचार क्रममा कोणसभा, आमसभाजस्ता कार्यक्रम राखिन्थ्यो। त्यहाँ उम्मेदवार र ठूला नेता गएर भाषण गर्थे। यो एक किसिमको कार्यकर्ता प्रदर्शनसमेत हुने गर्थ्यो। अहिले भने घरदैलो कार्यक्रम बढी लोकप्रिय हुँदै आएको छ।

यसै साता आइतबार बिहान काठमाडौं– ५ मा कांग्रेस उम्मेदवार प्रकाशशरण महत घरदैलोमा भेटिए। महतसँगै समानुपातिक र प्रदेश सभाका उम्मेदवार पनि थिए। करिब ५० जनाको टोली बालुवाटारस्थित पवित्र पेट्रोल पम्पबाट भित्र छिरेको थियो। माइकमा कांग्रेसलाई भोट मागिएका गीत बजिरहेका थिए।

स्थानीय कार्यकर्ताले मतदातासँग परिचय गराउन नभ्याउँदै महत आफैं उनीहरूसँग बोल्न अघि सर्थे। ‘कांग्रेसलाई नै भोट दिनुस् है,’ हात मिलाउँदै भन्थे, ‘काम गर्ने हामी नै हौं।’

महतले यही वाक्य धेरै ठाउँमा दोहोर्याए। युवा मतदाता छन् भने उनी अर्को कुरा पनि भन्थे, ‘घरमा आमाबुबा सबैलाई भन्दिनू।’

यो घरदैलो टोलीमा एक जना कार्यकर्ताले रुखको हाँगो काँधमा बोकेर हिँडेका थिए। जब महत भोट मागिरहेका हुन्थे, चोकमा उभिएका कार्यकर्ता नारा लगाउँथे। त्यो बेला ती युवा त्यही रुखको हाँगो उज्याउँथे।

उनी यही क्रममा चण्डोलको एउटा फार्मेसी पुगे।

‘नेताहरूको सिस्टमै भएन,’ फार्मेसीका महेश सिग्देलले भने, ‘भोट चाहिने बेला घरमै आएर नमस्ते गर्ने, हामीलाई चाहिने बेला भेट्नै नपाइने? सिंहदरबार जाँदा पनि भेट नदिने। अनि नेताहरु साह्रै अल्छी भएर बिग्रियो।’

‘हो हाम्रो कमजोरी स्वीकार गर्छौं, तर काम गर्ने पनि हामीले नै हो, भोट दिनुहोला,’ महतले भने।

‘घरदैलोमै आएको बेला हेर्नुस् त्यो बाटो,’ अर्का मतदाता मीनबहादुर लिम्बूले भने, ‘यो सबै तपाईंहरूकै कारण हो। काम गरे पो भोट दिन मन लाग्छ।’

‘अब यो सबै म गरिहाल्छु,’ महतले भने।

उनीसँगै आएका कार्यकर्ता सिग्देल र लिम्बूलाई सम्झाउनतिर लागे भने महत त्यहाँबाट छड्किए।

उनले त्यही फुर्सदमा सेतोपाटीसँग भने, ‘धेरै कुरा गरेर बस्न भ्याइँदैन। घरदैलो भनेको यस्तै रहेछ। तै पनि सकेसम्म उहाँका प्रश्नको उत्तर दिने कोशिस गरेको छु।’

सोमबार बिहान काठमाडौं– ३ एमाले उम्मेदवार कृष्ण राई वाम गठबन्धनका अरू उम्मेदवारसँगै बौद्ध महांकालबाट ओरालो लाग्दै थिए। एमाले र माओवादी झन्डा बोकेका कार्यकर्ताले उनलाई पछ्याए। त्यो टोलीमा एक जना मात्र कार्यकर्ता यस्ता थिए, जसले नेपालको झन्डा बोकेका थिए।

राईको हातमा फूलका दुई गुच्छा थिए। उनी त्यही गुच्छासहितको हातले मतदातालाई नमस्ते गर्थे। ‘ल वाम गठबन्धनलाई भोट दिनुस है’ भन्थे, अनि अघि बढिहाल्थे। कति मतदाता त को आए, को गए पत्तो नभएर अलमल्ल परेका थिए। बरु सँगै हिँडेका कार्यकर्ता उनको नाउँ भनेर परिचय गराइदिँदै थिए।

घरदैलोमा हिँडेका यी नेताको व्यक्तिपिच्छे भोट माग्ने तरिका फरक भए पनि उनीहरूको शैली एकै छ। घरदैलो, स–साना भेला र कार्यकर्ता परिचालन।

‘उम्मेदवार सबै घर जान भ्याउँदैनन्, हामी स्थानीय कार्यकर्ता पनि परिचालन गर्छौं,’ काठमाडौं–३ मा एमालेबाट चुनावी परिचालनको नेतृत्व गरिरहेका पुण्य चौलागाईंले भने, ‘वडामा वडाकै कार्यकर्ताले भोट माग्छन्।’

यसपालि कार्यकर्तालाई आफ्नो वडामा मात्र काम गर्न लगाइएको उनले बताए। ‘उम्मेदवार आएका छन् भने उनीसँगै भोट माग्ने, नभए आफ्नै वडामा सक्रिय भएर बस्ने,’ उनले भने, ‘यसो गर्दा नेता जहाँ गयो, सबै कार्यकर्ता लस्कर लागेर जान बन्द हुन्छ। वडा–वडामा चुनावी प्रचारका काम भइरहन्छन्।’

कार्यकर्तालाई आफ्नो वडामा मात्र सीमित गर्ने यो तरिका काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले पनि अपनाएका छन्। उनले वडाका कार्यकर्ताले आफ्नो क्षेत्रमा मात्र प्रचार गर्ने, घरदैलो लगायतमा भाग लिनुपर्ने र अन्यत्र गएर प्रचार गर्न नपाउने नियम बनाइदिएका छन्।

कांग्रेस क्षेत्र नम्बर ५ ले त वडा पनि विभाजन गरेर बुथ राखिने ठाउँपिच्छे टोली बनाएको छ। त्यो टोली आफ्नै बुथमा मात्रै खटिन्छ। ‘उम्मेदवार आए घरदैलोमा लैजाने, नआउँदा आफैं गएर भोट माग्ने काम गर्छन्,’ परिचालन समितिको नेतृत्व गरेका श्रीविनोद भट्टराईले भने।

विवेकशील साझाले भने घरदैलोसँगै अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको छ। पार्टीका सह–संयोजक तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रका अनुसार विभिन्न अन्तर्क्रियामा बोल्न स्थानीयले नै बोलाउने गर्छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.