घर-घर चिठ्ठी पठाउँदै उम्मेदवार


यसपालि चुनाव प्रचार कसरी गरिँदैछ?

कुनै उम्मेदवार भाषण गरेर आफूलाई चिनाउँदै छन् त कोही जनताका घरदैलो धाएर। कोही भने सामाजिक सञ्जालमा सक्रिय छन्।

नेपाली कांग्रेस रोल्पाका एक उम्मेदवारले भने बेग्लै जुक्ति निकाले, मतदातालाई व्यक्तिगत सम्बोधन गर्दै चिठ्ठी पठाउने।

इन्टरनेट र मोबाइलको विस्तारसँगै आजभोलि चिठ्ठी चलन हटेको छ। रोल्पाका यी उम्मेदवारले भने आफ्नो भोट सुरक्षित गर्न मतदाताका हातैमा चिठ्ठी थमाउन लागेका हुन्।

स्थानीय परिवेश सुहाउँदो नारा, कामको प्रतिबद्धता र ‘भोट दिनुहोस्’ भन्ने अपिलसहित हरेक मतदाताका नाममा चिठ्ठी लेखेर खाममै दिने उनको योजना छ। सम्भव भए व्यक्ति–व्यक्तिकै, नभए घरमूलीका नाममा सम्बोधन गरिने ती उम्मेदवारले बताए।

‘हामी घरदैलो गर्छौं, पर्चा बाँड्छौं र सामाजिक सञ्जालमा पनि देखिन्छौं,’ नाम नबताउने सर्तमा उनले भने, ‘गाउँमा भने चिठ्ठी पठाउने तरिका नै सजिलो छ। चिठ्ठीमा अर्कै शक्ति छ जस्तो लाग्छ।’

मौन अवधि सुरु हुनु एक दिनअघि घर–घर गएर चिठ्ठी बाँड्ने उनले बताए।

यी सबै चिठ्ठी कसले लेख्छ त?

‘हजारौं चिठ्ठी हातैले लेखेर त साध्य हुँदैन,’ उनले भने, ‘छाप्छौं।’

बागबजारस्थित एक छापाखानाबाट १० हजार प्रति चिठ्ठी छपाएको उनले जानकारी दिए।

पहिलो संविधानसभा र स्थानीय चुनावमा एकाध नेताको मात्र यस्तो प्रचार शैली थियो। अहिले प्रविधि जति विकास हुँदै गयो, उति परम्परागत शैलीमा चिठ्ठी प्रचार व्यापक भएको छ। काभ्रे, सिन्धुपाल्चोक, पर्वत, रोल्पामा बढी चल्ती रहेको छापाखानाहरुले जनाएका छन्।

केन्द्रभन्दा गाउँ र पहाडका उम्मेदवारले धेरै चिठ्ठी छपाएको प्रिन्टिङ प्रेस व्यवसायी जयराम तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार स्थानीय निर्वाचनमा बागबजारका छापाखानाबाट मात्र करिब २ लाख चिठ्ठी छापिएका थिए। एक उम्मेदवारले कम्तिमा ५ देखि १० हजारसम्म छाप्छन्।

नेताहरूले यो शैली निकै प्रभावकारी देखेको तिमिल्सिनाको भनाइ छ। आजभोलि खाममा भिजिटिङ कार्ड पनि हाल्नुपर्ने माग हुन थालेको उनले बताए। ‘एक उम्मेदवारले चिठ्ठीसँगै भिजिटिङ कार्ड पनि राख्नुपर्ने रहेछ, १० हजार प्रति छापेर पठाइदिनुस् भनेर फोन गरे,’ उनले भने।

चिठ्ठीमार्फत् भोट माग्नुको कारणबारे रोल्पाका कांग्रेस उम्मेदवारको आफ्नै तर्क छ– इन्टरनेट सबैसँग नभएकाले सामाजिक सञ्जाल प्रभावकारी हुँदैन। घरदैलो गर्दै अन्य पार्टीका उम्मेदवार पनि आउँछन्। र, भाषणका कुरा एकछिनमै बिर्सिइन्छ। ‘त्यसैले, आफ्ना भनाइ लिखित रूपमा मतदातासम्म पुर्याउन चिठ्ठी नै ठीक,’ उनले भने।

चिठ्ठी पठाउने उम्मेदवार उनी मात्र होइनन्।

एमाले पर्वतका एक उम्मेदवार पनि यसमै दौडिएका छन्। ‘टिभी, इन्टरनेट नभएको ठाउँमा चिठ्ठी नै प्रभावकारी हुन्छ,’ उनले पनि नाम उल्लेख नगर्ने सर्तमा भने।

घरदैलो सकेर हातमा चिठ्ठी दिँदा मतदातामा लामो समय प्रभाव रहने उनको विश्वास छ। ‘हाम्रो समाजमा कसैलाई निम्तो गर्नुपर्दा आज पनि कार्ड नै पठाउने चलन छ। सामाजिक सञ्जालमै निम्ता गरे त हुन्थ्यो होला नि! कार्ड नै किन पठाउनुपर्यो? त्यो भनेको चिठ्ठी पठाएजस्तै हो,’ उनले भने, ‘मैले कार्डको प्रभावकारिता देखेरै चिठ्ठी पठाउँदा त गज्जब हुन्छ भन्ने सोचेँ।’

चलनचल्तीबाट करिब–करिब हराइ सकेको यो प्रचार शैली नौलो भने होइन। पहिलो संविधानसभा निर्वाचनमा काभ्रेका शिवप्रसाद हुमागाईंले पर्चा खाममा राखेर चिठ्ठीकै रूपमा मतदातालाई थमाएका थिए, आफैंले हस्ताक्षर गरेर।

उम्मेदवारको हस्ताक्षरसहित चिठ्ठी हातमा पाउने काभ्रेका एक मतदाताले अनुभव सुनाउँदै भने, ‘नेताले नामै लेखेर चिठ्ठी पठाउँदा महत्वपूर्ण रहेछु भन्ने भयो। उहाँलाई मेरो नाम पनि याद रहेछ। घरमै चिठ्ठी आउँदा खुसी लागेको थियो।’

‘उनीहरूले बोलेका कुरा त उतिखेरै बिर्सिन्छन्,’ उनले भने, ‘लेखेरै दिएपछि प्रमाण पनि हुन्छ।’

चुनाव जितेपछि नेताले भनेका र प्रतिबद्धता गरेका कुरा बिर्सेको उनको अनुभव छ। उनले भने, ‘चिठ्ठी भएपछि भने प्रमाण देखाउन सजिलो हुन्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा फोन गरेर भोट माग्दा निकै चर्चा भएको थियो।

निर्वाचन आयोगले धनी र गरिब उम्मेदवारको खर्च असमान नहोस् भनेर भड्किलो प्रचार रोक लगाउँदै आएको छ। आयोगको नियन्त्रण बढ्दै जाँदा खर्च घट्नुको सट्टा अनेक उपाय निकाल्ने प्रवृत्तिले झनै बढेको पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्। चिठ्ठी, खाम र भिजिटिङ कार्डसमेत बाँड्दा अतिरिक्त खर्च हुने उप्रेती बताउँछन्।

‘चिठ्ठी शैली नौलो होइन,’ उप्रेतीले भने, ‘पहिला आयोगले नै निर्वाचन केन्द्र, भोट हाल्ने तरिकाबारे जानकारी दिन घर–परिवारका नाममा चिठ्ठी पठाउँथ्यो। हामीले नै त्यो अभ्यास गरेका थियौं। अहिले दल र उम्मेदवारले भोट माग्न त्यो तरिका अपनाएका छन्।’

चिठ्ठीमार्फत् भोट माग्दा त्यसमा लेखिने विषय असल मनसाययुक्त हुनु आवश्यक भएको उनले बताए। ‘राम्रो कुरा लेखेर, अझ निर्वाचन केन्द्र, भोट हाल्ने तरिकासहित दिन सके प्रभावकारी हुन सक्छ। यसले मतदाता शिक्षामा पनि टेवा पुग्छ,’ उनले भने।

पहिले–पहिले टिसर्ट, ब्यानर, पर्चा, तुल, व्याजजस्ता सामग्रीमाफत् प्रचारमा व्यस्त उम्मेदवार यसपालि गाउँमा चिठ्ठी र सहरमा सामाजिक सञ्जालको सहारा लिइरहेका छन्।

फेसबुक–ट्विटरमा आफ्नो उम्मेदवारी प्रचार गर्न कांग्रेसका गगन थापा, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्तिका बाबुराम भट्टराईदेखि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसम्म छन्। संविधानसभा र स्थानीय निर्वाचनमा पनि सामाजिक सञ्जाल प्रयोग व्यापक थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.