वाम गठबन्धनको चुनावी घोषणापत्र मंगलबार दिउँसो सार्वजनिक हुँदै थियो, तीनकुनेस्थित रोयल ब्यांक्वेटमा।
कार्यक्रम १ बजे सुरु हुने भनिए पनि दोस्रो तहका केही नेता र पत्रकार मात्र जम्मा थिए। 'सातै प्रदेश, पचहत्तर जिल्ला, बन्दैछ कम्युनिष्टको लालकिल्ला' लगायत गीत माइकमा बजिरहेको थियो।
ठीक १ बजेर १० मिनेटमा एमाले अध्यक्ष केपी शर्मा ओली हलभित्र पसे। नेता/कार्यकर्तासँग अभिवादन गरेर मञ्चको बीचमा बसे। उनका दायाँबायाँ र पछाडि दुई लहर सोफा थियो। केहीबेरमा काठमाडौं–४ का उम्मेदवार राजन भट्टराई छेउमा बसे। आफ्ना कुरा भन्न थाले। ओलीले भट्टराईका कुरा ध्यान दिएर सुनिरहे।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको बाटो कुरिरहेका ओली बेलाबेला ढोकातिर हेर्थे। केही समयपछि एमाले महासचिव ईश्वर पोखरेल मञ्चमा गए र ओलीसँग कुरा गर्न थाले।
ओली मञ्चमा उक्लेको ठ्याक्कै १० मिनेटपछि दाहाल हलमा छिरे। दाहाल मञ्चमा आउँदा ओलीले उठेर स्वागत गरे। दाहाल ओलीको दाहिनेतिर बसे। त्यतिञ्जेल हलमा रहेका पत्रकारबीच चर्चा चलिसकेको थियो, पहिलोपटक ओली समयमै आए र कसैलाई कुरे पनि।
गठबन्धन बनेपछि ओली र दाहाल एउटै मञ्चमा बसेको यो दोस्रोपटक हो। यसअघि उनीहरुले कात्तिक ९ गते पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गरेका थिए।
घोषणा सभामा दोस्रो तहका केही एमाले नेता देखिए पनि माओवादी नेता खासै देखिएनन्। केहीबेरमा माओवादी नेता रामबहादुर थापा मञ्चमा पुगे र ओलीको बायाँतिर बसे।
साझा घोषणा सभा सञ्चालन गरेका ईश्वर पोखरेलले पहिला माओवादी अध्यक्ष दाहाललाई बोल्न निम्त्याए। दाहाल एकछिन टेबलमा राखिएको माइकमै बोल्ने कि पोडियमसम्म जाने भनेर अलमलिए। पत्रकारले पोडियम जान आग्रह गरेपछि उनी गए।
उनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि गठबन्धन बनाएको र त्यसैलाई राखेर साझा घोषणा तयार पारेको बताए। ‘हामीले यसमा कसैलाई गाली गरेका छैनौं, कांग्रेसलाई दक्षिणपन्थी मात्र भनेका छौं,’ दाहालले भने, ‘हामीजस्तै विचार मिल्ने अरु पनि मिल्नुपर्छ भन्ने हाम्रो कुरा हो।’
दाहालले साझा घोषणामा आफूहरुले गर्ने कामलाई दुई, तीन, पाँच र १० वर्षभित्र सक्ने गरी वर्गीकरण गरिएको बताए। शान्तिपूर्ण रूपमा साम्यवादमा जाने गठवन्धनको उद्देश्य रहेको उनको भनाइ थियो।
‘संयमित रूपमा संविधानको मर्म र भावनाअनुसार यो उद्देश्य प्राप्त गर्न चाहन्छौं, हामी कसैलाई गाली गर्ने पक्षमा छैनौं,’ दाहालले भने।
उनले घोषणामा भएका केही कुरा पढेर भाषण सके। त्यसबाहेक राजनीति वा समसामयिक विषयमा केही बोलेनन्। अरु बेलाभन्दा संयमित र थोरै भाषण गरेका दाहालले घोषणामा उल्लिखित कार्यक्रमबारे खासै चर्चा पनि गरेनन्। उनको भाषण औपचारिकजस्तो थियो।
दाहालपछि बोल्ने पालो ओलीको आयो।
उनी दाहालजस्तो बसिरहेको कुर्सीबाट उठेर पोडियमसम्म गएनन्। बरु पोडयममा राखिएका टेलिभिजनका बुम आफ्ना अघि ल्याउन लगाए। ओलीको इसारापछि सहयोगीले पोडियमका बुम सबै उनकै अगाडि राखिदिए।
‘यो चुनाव लड्न बनाइएको घोषणा पत्र होइन, राष्ट्रनिर्माणको घोषणा पत्र हो,’ ओलीले भने, ‘यसमा राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता र शान्ति सुव्यवस्था र आर्थिक समृद्धि ग्यारेन्टी गरिएको छ।’
उनले आफ्नो भाषण क्रममा साझा घोषणाका कार्यक्रमबारे चर्चा त गरे नै, कतिपय कार्यक्रमको 'डिफेन्स' समेत गरे। उनले उल्लेख गरेका धेरै कार्यक्रम आफू प्रधानमन्त्री हुँदा चर्चामा ल्याएका थिए। 'महान र पवित्र उद्देश्यले लेखेको' घोषणा पत्रलाई 'सर्वोत्कृष्ट' भन्दै ओलीले छपटक यो शब्द दोहोर्याए।
‘गर्न त परको कुरा, भनेको सुन्दा पत्याउनसमेत मुस्किल पर्ने काम गरेर आएका पार्टी हौं,’ ओलीले भने, ‘राम्रो कुरा अवलम्बन गर्न नसक्ने र हाम्रा कुरालाई विकृत ढंगले प्रस्तुत गर्नेका लागि गठबन्धन गाह्रो हुन सक्छ।’
ओलीको भाषण दाहालको जस्तो चुनावी घोषणा पत्रमा मात्र सीमित थिएन। उनले राजनीति र समसामयिक विषयमा पार्टीको धारणासमेत राख्न भ्याए। केही दिनअघि आफूले बोलेको कुरा बंग्याएर प्रस्तुत गरिएको भन्दै लोकतन्त्रप्रति आफूहरुको निष्ठामा शंका गर्नु पर्ने कुनै आधार नभएको उनले बताए।
‘मैले संसारका कुनै पनि लोकतान्त्रिक प्रणाली गाली गर्नु हुँदैन भनेको हुँ, हामी संसदीय व्यवस्था मान्दैनौैं भनेको होइन,’ ओलीले भने।
उनले कांग्रेसलाई लक्ष्य गर्दै एमाले र माओवादी मिल्दा रुवावासी गर्न नपर्ने बताए। कात्तिक १४ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट शासन आए रुन पनि नपाउने बताएका थिए।
‘एमाले र माओवादी मिलेर ०६४ सालमा पनि सरकार चलाएका थिए, संविधान जारी भएपछि २०७२ पनि मिलेर सरकार चलाएका थिए, त्यतिबेला कोकोहोलो र रुवावासी मच्चिएको थिएन,’ ओलीले प्रश्न गरे, ‘अहिले गठबन्धन गर्दा किन पैताला बजार्ने, कपाल लुछ्ने काम भइरहेको छ? हामी मिल्दा लोकतन्त्र सकिन्छ रे, के झगडा गर्दा लोकतन्त्र बलियो हुन्छ?’
ओलीले प्रधानमन्त्री हुँदा आफूले नेपालले पानीजहाज चलाउनुपर्छ भनेको कुरालाई धेरैले मजाक बनाएको भए पनि त्यो योजना सम्भव भएको बताए।
‘त्यतिबेला मलाई धेरैले उडाए तर समुन्द्रमा पानीजहाज चलाउनुपर्छ, नेपाल आउने सामान आफ्नै पानीजहाजले बोक्नु पर्छ,’ उनले भने, ‘फुर्सद हुँदा भाडामा लगाएर नाफा कमाउन सकिन्छ।’
उनले आफूहरुले भावना र आवेशको भरमा नभई देशको आवश्यकता हेरेर योजना ल्याउने र कार्यान्वयन गर्ने बताए।
सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशप्रति इंगित गर्दै ओलीले भने, ‘कहिले मेडिकल कलेज खोल्न पाउने भन्या छ, कहिले बन्द गर्ने भन्या छ, यस्ता कुरा आवेश र उत्तेजनामा आएर हुदैन, आवश्यकता हेरेर हुन्छ।’
सरकारले कात्तिक ६ गते पारित गरेको चिकित्सा शिक्षा अध्यादेश अझै राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन। उनले अन्त्यमा फेरि घोषणा सर्वोकृष्ट भएको उल्लेख गर्दै भाषण सके।
उनको भाषण सकिनु केही समयअघि मात्र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आएर दाहालको छेउमा बसेका थिए।
सञ्चालक पोखरेलले पत्रकारलाई प्रश्न सोध्न भन्दै थिए, तर ओलीकै संकेतमा उनले विषय मोडे र कुनै जिज्ञासा भए फेरि छलफल गर्न सकिने भन्दै कार्यक्रम सकिएको जानकारी दिए।