बिजुली, मोटरबाटो, टिभी, रेडियो र पत्रिका त परको कुरा, सिन्धुपाल्चोकको तेम्पाथाङ पुगेपछि मोबाइलले पनि सिग्नल भेट्दैन।
जिल्लाका अरू गाउँ पार्टीका ध्वजापताका र पोस्टरले रंगीविरंगी देखिएका बेला जुगल हिमालको काखमा बसेको यो शेर्पा गाउँमा चुनावको जानकारी दिने एउटा कागजको टुक्रोधरि कतै देखिएन। तै अबको १९ दिनमा भोट हाल्न जानुपर्छ भन्ने जानकारी यहाँका केही गाउँलेले पाइसकेका रहेछन्।
त्यसको सुइँको कसरी पाए उनीहरूले?
‘मैले थाहा पाएर सुनाको हुँ,’ नुर्बु शेर्पा सरक्क अघि बढ्दै भने।
जुगल गाउँपालिकाको यस तीन नम्बर वडाका सदस्य नुर्बु तेम्पाथाङ चिन्ने एक मात्र जनप्रतिनिधि हुन्। उनको घर यहीँ छ। नत्र यो गाउँको भोट पाएर स्थानीय निकायदेखि सांसदसम्म जित्ने गाउँबाहिरका कुनै नेता आजसम्म यहाँ आएको गाउँलेलाई सम्झनै छैन।
कोदारी राजमार्गको बलेफीबाट जलवीरे हुँदै माथि उक्लने कच्ची मोटरबाटो हिउँदमा पनि भरपर्दो देखिँदैन। जति उक्लँदै गयो, त्यति बाटोको दुर्गती देखिन थाल्छ। यस्तो बाटो गएको सातादेखि भने जसोतसो लम्बिएर गुम्बा गाउँसम्म जोडिएको छ। चारवटै पाङ्ग्रा गुड्ने बलिया मोटर बल्लतल्ल गुम्बा गाउँ पुग्दा गाउँले र केटाकेटीको रमिता लाग्न थाल्छ।
यहाँबाट पुलबिनाका खोला तर्दै एक दिनको ठाडो उकालो पैदल यात्रापछि बल्ल पुगिन्छ, तेम्पाथाङ।
[caption id="attachment_103248" align="alignnone" width="825"]
तेम्पाथाङ गाउँ।[/caption]
एउटै वडा भइकन पनि तल गुम्बासम्म तामाङहरू रहेकामा अब शेर्पा मात्र देखिन थाल्छन्। गाई होइन, चौंरीगाई भेटिन्छन्। र, तल खेतमा हरियै रहेको कोदो यहाँ काटेर सुकाउन सुरु भइसकेको देखिन्छ। सबथोक बेग्लाबेग्लै भइकन अर्को गुम्बा गाउँसँग यो गाउँलाई जोडेको छ, मतदानले।
तेम्पाथाङका बासिन्दाले गुम्बा गाउँमै ओर्लिएर मतदान गर्नुपर्छ। केही महिनाअघि स्थानीय चुनावमा पनि यो गाउँकी ७५ वर्षीया ङाजोक शेर्पाले गुम्बा गाउँसम्मै हिँडेर भोट हालेकी थिइन्। राजनीति गर्ने तन्नेरी भने गाउँमा कहिल्यै नउक्लेको देख्दा नरमाइलो लाग्ने गरेको उनी बताउँछिन्।
जे जस्तो भए पनि मंसिर १० गते पनि यस गाउँका तीन सय मतदाताको लर्को गुम्बा गाउँमा लाग्नेछ।
यो सबै प्रक्रियाको सुरुआत अर्थात् चुनाव हुन लागेको जानकारी नुर्बु आफैंले कसरी पाए त?
‘गाउँबाट एक घन्टा ओरालो लागेपछि मोबाइलको टावर समात्ने ठाउँ आइपुग्छ,’ नुर्बु भन्छन्, ‘सोलारले चार्ज गरेको मोबाइल बोकेर त्यो ठाउँ पुगेपछि नेताहरूसँग मेरो सम्पर्क हुन्छ। नेताबाट थाहा पाएका सबै कुरा म गाउँलेलाई सुनाइदिन्छु।’
नुर्बुले चुनाव हुन लागेको सूचना केही दिनअघि यसैगरी पाएका रहेछन्।
स्थानीय सोनाम शेर्पाका अनुसार शेर्पा भाषामा मानिसको बस्ती बसेको पवित्र ठाउँलाई ‘तेम्पाथाङ’ भनिन्छ। गाउँमा गुम्बा र छोर्तेन जताततै देखिन्छन्। गाउँलेहरू यस्तरी मिलेर बसेका छन्, एउटाको घरमा केही आइपरे सबैले सघाउँछन्।
‘राजनीतिमा भने बेग्लै अवस्था छ,’ नुर्बु भन्छन्, ‘राजनीतिको कुरा आयो कि चारवटै दलका मानिस चारथरीका कुरा गर्न थालिहाल्छन्।’
चुनाव आउन लागेको खबर पनि नुर्बुले सबैभन्दा पहिले उनकै पार्टीका मानिसलाई सुनाएका रहेछन्। त्यसपछि क्रमशः अरूले थाहा पाउँदै गएको उनले बताए।
नेताहरू कहिल्यै नपुग्ने यो गाउँमा पाँच कक्षासम्म पढाइ हुने एउटा मात्र स्कुल छ। त्यसमा तीन जना शिक्षकको दरबन्दी रहेकामा ती मुश्किलले गाउँमा भेटिन्छन्। यतिबेला दुई जना शिक्षक भर्खरै आइपुगेको बताइए पनि स्कुलमा देखिएनन्।
गाउँमा ज्यामी काम गर्नेले एक सातामा गर्ने आम्दानी आफ्नो एक महिनाको तलबभन्दा बढी रहेको गुनासो विद्यालयकी परिचारिकाको थियो। यस्तो अवस्थामा नुर्बु गाउँभरिमै दस कक्षासम्म पढेको मानिस एक जना पनि सम्झन सक्दैनन्।
यस्तो निराशाबीच पनि गाउँलेरूले संघर्ष गर्न छाडेका छैनन्। सबेरैदेखि हुल बाँधेर निस्कने टोली गुम्बा गाउँसँग जोड्ने पैदल मार्ग सुधार गर्न खटिइरहेको दृश्य बाटोभरि देखिन्छ।
गाउँका लगभग घरैपिच्छेबाट कमाउन बाहिर जानेको संख्या बढ्दो छ। खाडी, मलेसिया र भारतको सबैभन्दा बढी लद्दाख भेगमा यो गाउँका बासिन्दा कमाउन जान्छन्। काठमाडौं पुगेका पनि उत्तिकै छन्।
[caption id="attachment_103251" align="alignnone" width="825"]
नुर्बु शेर्पा।[/caption]
गाउँकै तन्नेरी तेन्जिङ शेर्पाका भाइ निमा रिन्जी साढे छ वर्षअघि कमाउन मलेसिया गएका थिए। डेढ लाख खर्च गरेर गएका रिन्जीले पुगेलगत्तै ६० हजार रुपैयाँ पठाएको तेन्जिङलाई याद छ।
‘त्यसपछि एकैपटक १४ दिनअघि भाइको लाश आइपुग्यो,’ तेन्जिङ भन्दै थिए, ‘त्यहाँ के भयो भन्नेबारे सरकारले अहिलेसम्म हामीलाई जानकारी दिएको छैन।’
यसरी उज्यालो हिमालको मुन्तिर अँध्यारो जीवन बिताइरहेका गाउँलेसँग नुर्बुजस्ता राजनीतिक कार्यकर्ताले के भनेर भोट मागिरहेका छन्?
‘गाउँको बारेमा भन्ने कुरा त मसँग केही हुँदैन,’ उनले सुनाए, ‘एमाले बूढापाका र विधवालाई भत्ता दिने पार्टी हो भनेर सम्झाउने उही पुरानो थेगो छ, जसबाट अहिले पनि काम चल्दै आएको छ।’
नुर्बुका अनुसार यो गाउँका बासिन्दा सबै एमाले हुन् भनिदिँदा फरक पर्दैन। कहिलेकाहीँ चुनाव हुने बेला कताकताबाट फरक परिस्थिति पनि देखिन्छ।
‘काठमाडौंतिर गएका गाउँले चुनाव बेला तल गाडी रोकेर आउँछन्,’ उनले थपे, ‘ठ्याक्कै भोट हाल्ने बेला धेरैलाई कांग्रेस बनाइदिन्छन्।’
त्यस्तो त कसरी सम्भव होला भनेर सोध्दा अर्का गाउँले कामी शेर्पा जवाफ दिन बढे।
‘हिजोआज एउटा कुखुराको भाउ महँगिएर तीन हजार रुपैयाँ पुगिसक्दा पनि चुनाव बेला मान्छेको भाउ घटेर एक हजार रुपैयाँ हुने गर्छ,’ कामीले थपे, ‘हो, यसरी भाउ घटेको मानिसले गर्दा कुन भोट कता जान्छ थाहै हुन्न।’
नुर्बुले वडा सदस्यमा जित्नुअघि तेम्पाथाङ गुम्बा गाविसको वडा नम्बर ९ थियो। २० वर्षअघि चुनाव हुँदा यस वडाबाट यिनै कामी शेर्पाले वडाध्यक्ष जितेका थिए। कामी पनि नुर्बुजस्तै एमाले कार्यकर्ता हुन्।
[caption id="attachment_103249" align="alignnone" width="824"]
तेन्जिङ शेर्पा।[/caption]
सायद त्यसैले, तीन दिनअघि जलवीरेमा पार्टीका मान्छे आइपुगेको जानकारीका साथ कामीलाई उनको एक नम्बर क्षेत्रका उम्मेदवार भेट्ने निम्तो आएको थियो। उनी कुदेर पुगेछन्। ‘त्यहाँ त माओवादीका मान्छे उम्मेदवार बनेर अघिअघि,’ उनले त्यो अनौठो दृश्य वर्णन गर्दै सुनाए, ‘हाम्रा मान्छे चाहिँ कार्यकर्ता बनेर पछिपछि।’
जे होस् भेटघाट र कुराकानी भइसकेपछि कामीले उम्मेदवारलाई एकपटक तेम्पाथाङ आएर घुमिदिन अनुरोध गरेछन्।
‘अहिलेसम्म हचुवाकै भरमा भोट पाउँदै आइरहनुभएको छ, एकपटक हाम्रो गाउँ आएर यहाँका मानिसको सुखदुःख हेरिदिनुस्,’ उनले नेताहरूसँग बिन्ती बिसाएछन्, ‘चुनावमा उठेको मानिस एकपटक मात्रै गाउँ आइदिए पनि हामीलाई भोट माग्न धेरै सजिलो हुनेछ।’
‘मानेनन्,’ उनले भने, ‘के मान्थे?’
त्यसपछि चाहिँ कामीलाई रिस उठेछ।
‘तपाईंहरू मोटर नचल्ने गाउँमा जाँदै नजाने,’ उनले भनिदिएछन्, ‘के हामीजस्ता गाउँले तपाईंजस्तो मानिस नभएर बाँदर हौं?’
जवाफमा नेताले यस गाउँपालिकाका ४५ वटै वडामा पुग्न सम्भव नरहेको बताउँदै आफू जितेर आए तेम्पाथाङसम्म मोटरबाटो मागिदिने आश्वासन दिएछन्। कामीको टोली निराश भएर फर्किनुअघि नेताहरूले ‘मिलेदेखि केही दिनभित्रै बोल्डेसम्म आउन प्रयास गर्ने’ ढाडस पनि दिएछन्।
‘गाउँको इतिहासमै आजसम्म यहाँको भोटले जितेको कुनै नेता गाउँ पुगेका छैनन्। यस्तो गुनासो आइरहँदा सक्दो प्रयास गरेकै हो,’ कामीले भने, ‘तर, सफल भएनौं।’
नेताहरू गाउँ नआउने गुनासो तेम्पाथाङबासीको मात्र छैन, मोटर नपुगेका वरपरका अन्य गाउँ पनि यसबाट दुःखी छन्।
[caption id="attachment_103252" align="alignnone" width="825"]
सिन्धुपाल्चोकमा पैदलमार्ग बनाउँदै गाउँले।[/caption]
छेवैको क्याङसिङ गाउँका कर्मा शेर्पा गुम्बा गाउँमा भेटिए। उनी लेकका गोठबाट छुर्पी संकलन गरेर बेच्दै आएका छन्।
‘यहीँका कार्यकर्ताबाहेक कुनै पनि नेता वा उम्मेदवार भोट माग्न हाम्रो गाउँ आएको मैले आजसम्म देख्न त परै जाओस् सुनेको पनि छैन,’ २४ वर्षीय कर्मा भन्दै थिए, ‘तल बजारमा आएर प्रचार गर्ने नेताले माथिको गाउँमा कता के छ भन्ने थाहा पनि पाएका छैनन्।’
राजनीतिले भन्दा जलविद्युतको सम्भावनाले आफ्नो भेगमा विकास ल्याउने कर्माको अनुमान छ। गुम्बा गाउँसम्म मोटर आउन थालेको एक साता भयो। यो अवधिमा सबभन्दा बढी मोटर न्हेसम खोला बाँधेर जलविद्युत आयोजना बनाउन खोज्ने टोलीले नै ल्याएको उनले जानकारी दिए।
गुम्बा गाउँमा यो साता भित्रिएको मोटरबाटोसँगै केही परिवर्तन पनि देखिएका छन्।
माथि लेकका गाउँमा चुनावी प्रचार सामग्री ठ्याम्मै नदेखिएका बेला यस गाउँमा भने एकाध घरमा नेपाली कांग्रेसका पोस्टर टाँसिएका देखिन्छन्।
त्यही पार्टीको झन्डा फहराउँदै आएको एउटा मोटरसाइकल सोमबार बाङ्गो–टिङ्गो कुद्दै गाउँ भित्रिएको थियो।
सबै तस्बिर: गिरीश गिरी/सेतोपाटी