नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको दौडमा नलागेको बताएका छन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न नभई मुलुकको सर्वोपरी हितका लागि काम गर्न आफू निर्वाचनमा उम्मेदवार बन्न लागेको प्रतिक्रिया दिएका छन्। झापा क्षेत्र ५ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिनका लागि विहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनले विहिबार बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ प्रधानमन्त्री बन्ने र बनाउने भन्ने विषयमा पार्टी भित्र कुनै औपचारिक निर्णय नभएको पनि बताए। अध्यक्ष ओलीले जनता र राष्ट्रको हितका लागि काम गर्नुबाहेक आफ्नो कुनै उद्देश्य नरहेको पनि उल्लेख गरे।
अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायसहितको मुलुकको शान्ति, समृद्धि र दीगो विकास एमालेको लक्ष्य भएको र सोही लक्ष्य प्राप्त गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे।