नेकपा एमालेले उद्योगी मोतीलाल दुगडलाई समानुपातिकतर्फ सांसद सिफारिस गरेको छ। दुगड यसअघि २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका थिए।
२०७० सालमा भने उनले नयाँ पार्टी खोल्ने भन्दै पत्रपत्रिकामा विज्ञापन समेत गरेका थिए। त्यतिबेला पार्टीको पदमा तोकेर विज्ञापन गरिएपछि तंरग पैदा भएको थियो। तर, २०७० को चुनावमा उनको पार्टी नव नेपाल पार्टी असफल भएको थियो।
२०७० को निर्वाचनमा उनको पार्टीले २२ उम्मेदवार उठाउँदा समेत केबल १३९८ मत ल्याएको थियो। पार्टी असफल भएपछि दुगडले पार्टीलाई एमाले प्रवेश गराएर विलय गराएका थिए। यसपटक भने दुगड एमालेको समानुपातिक सूचीको एक नम्बरमा परेका छन्।
दुगडको सेञ्चुरी मसला लगायतका मसला उद्योगमा लगानी छ। त्यस्तै, पोलिमर उद्योग, होटल क्षेत्रमा पनि लगानी छ। दुगडले सेतोपाटीसँगको कुराकानीमा आफू विगतदेखि नै राजनीतिमा संलग्न रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीको हितका लागि एमालेबाट राजनीतिमा सक्रिय हुने बताए।