जनक शिक्षा सामग्री केन्द्रले मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरेको छ।
शुक्रबार बेलुकी ६ बजेदेखि मतपत्र छाप्न थालेको केन्द्रका प्रमुख महेशप्रसाद तिमिल्सिनाले बताए।
यसअघि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारी साढे ५ बजेतिर जनक शिक्षा पुगेका थिए। उनीहरू आएर मतपत्रमा सबै ठिक छ भनेपछि केन्द्रले छपाइ सुरु गरेको हो।
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्दा पनि प्रमुख आयुक्त यादव आफैं भक्तपुर पुगेका थिए।
आयोगले यसअघि नै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको थियो। यसबीच प्रदेश र प्रतिनिधि सभाका लागि अलगअलग पानामा मतपत्र छाप्नुपर्ने माग गर्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नदिएर आयोगले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताएको थियो।
असोज १ गते सर्वोच्चले गरेको उक्त निर्णय कार्यान्वयन नभएको र यसले अदालतको मानहानी भएको भन्दै शुक्लले फेरि मुद्दा हालेपछि बुधबार सर्वोच्चले दुई अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे तीन दिनभित्र विवरण बुझाउन आयोगलाई आदेश दिएको थियो।