चुनाव जुनसुकै होस्, पार्टी हैन व्यक्ति चुनौं


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा सयौंको भीड देखिन थालेको एक महिना बढी भयो। चहलपहलमा धेरैजसो कार्यकर्ता आगामी निर्वाचनका लागि जिल्लाबाट सिफारिस भएर आएका प्रस्तावित उम्मेदवार छन्। स्थानीयका अनुसार दैनिक दुई हजार जनाभन्दा धेरै कोइराला निवासमा पुगेका हुन्छन्।

उता प्रधानमन्त्री निवास बालुवाटारमा लाग्ने कांग्रेस कार्यकर्ताको भीड व्यवस्थापनमा सुरक्षाकर्मीलाई हम्मे-हम्मे छ। प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न आएका कार्यकर्ताहरु भित्र छिर्न नपाएको पीडा बोकेर भए पनि हप्तौंदेखि कुदिरहेका छन्।

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा भने न कोही नेता जान्छन् न कार्यकर्ताकै चासो छ। पार्टी कार्यालयमा केही कर्मचारी बाहेक कोही भेटिन्नन्।

कोइराला निवास अगाडि भेटिएका रसुवा जिल्लाका एक पुराना कार्यकर्तासँग गत साता सामान्य कुराकानी भएको थियो। उनी भन्दै थिए- ‘जिल्लाबाट सिफारिस भएर त आइयो तर, पैसा नभएकालाई टिकट नै दिन्नन्। दिए पनि पैसा बिना जित्न नै गाह्रो छ। हामीजस्तो जीवनभर राजनीतिलाई समाजसेवा भनेर लागेकाहरू सँग पैसा हुने कुरा भएन र पैसा नहुनेलाई कसैले पत्याउँदा रहेनछन्।’ उनी एकपटक कांग्रेसकै टिकटमा सांसद चुनाव लडिसकेका व्यक्ति हुन्।

कोइराला निवासबाट करिब दुई सय मिटर पर एमालेको मुख्यालय छ। मुख्यालयमा बरिष्ठ नेता कोही भेटिँदैनन्। जिल्लाबाट आएका कार्यकर्ता मझौला तहका केन्द्रीय सदस्यहरूसँग आफ्नो दावी र गुनासो कागजको चिर्कटोमा टिपाउँदै फर्किरहेका देखिन्छन्।

माओवादी केन्द्रको हालत पनि उस्तै छ। लाजिम्पाटस्थित पुष्पकमल दाहाल प्रचण्ड निवास अगाडिको साघुँरो गल्ली कार्यकर्ताकै भीडले धेरै जसो जाम भैरहन्छ। तर माओवादी नेताहरूले पार्टी कार्यालयमा न नियमित छलफल गर्ने सिस्टम बसालेका छन् न कार्यकर्ता नै जान्छन्।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने अन्तिम साता राजनीतिक दलहरुमा गठजोड र उतारचढाव देखियो। पार्टीहरूको एकीकरण र पार्टी प्रवेश कार्यक्रम तीव्र भए।

लोकतन्त्रको सुन्दरता चुनाव हो। तर, चुनाव कुनै औपचारिक प्रक्रिया मात्रै हैन। चुनावी प्रक्रियालाई जनताको वास्तविक छनोटको माध्यम बनाउने हो भने पार्टीहरुले जनतालाई पनि पूर्ण अवसर दिनुपर्छ। छनोटका विकल्पहरू नदिई पार्टी नेतृत्वले लादेको उम्मेदवारबीचको प्रतिस्पर्धाले जनताले चाहेको प्रतिनिधि चयन हुन सक्दैन।

नेपाल जस्ता मुलुकमा दलहरूले चुनाव केन्द्रित राजनीति मात्रै गरेका कारण शासन प्रणाली र प्रजातन्त्रिक प्रक्रियाहरु बदनाम हुन थालेका छन्। यदि जनताको मनमा चुनाव र राजनीतिको यस्तै छवि मात्र कायम भए देशको सही नेतृत्व चयनमा कठिनाई देखिन्छ।

नेताका घर, पार्टी कार्यालय, चिया पसलमा भेला भएका सर्वसाधारण र  कार्यकर्ताहरुको एउटै गुनासो छ, राजनीति भ्रष्ट भयो।

कुनै पार्टीले टिकट दिने मुख्य आधार उसले चुनावमा गर्न सक्ने आर्थिक र  कार्यकर्ता परिचालन बनेको छ। त्यसपछि मात्र पार्टी, राजनीति र सिद्धान्तप्रतिको प्रतिबद्धता हेरिन्छ। व्यक्ति,आचरण, पृष्ठभूमि, योग्यता जस्ता कुरा गणनामै पर्दैनन्।

यसो भन्दैमा पार्टीहरुमा निष्ठा र इमानको राजनीति गर्नेहरु नभएका होइनन्। यस्तै राजनीतिज्ञका बलमा ती पार्टीको जनाधार टिकेको छ। तै उनीहरु आवाज उठाउन सक्दैनन्। विकृत राजनीतिक परम्पराबिरुद्ध उनीहरुले बेलैमा आवाज उठाइदिएको भए आजको राजनीति जनताप्रति उत्तरदायी हुनेमा दुई मत देखिन्न।

अहिले एमालेसहितको वाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन चर्चामा छ। यो गठबन्धन राजनीतिक स्थिरता र आपसी मेलका लागि नभई चुनावी नतिजा र सत्ताका लागि भएको देखिन्छ।

पद भागबण्डा गर्ने पार्टीका गतिविधिमा आलोचना भए पनि कुनै पनि सचेत मतदाता र कार्यकर्ताले आवाज उठाएको र विद्रोह गरेको सुनिदैंन।

चुनाव लोकतन्त्रको मेरुदण्ड हो भने यसलाई वास्तविक चुनाव बनाउन जरुरी छ। जनताले आफूले दिएको मतको हिसाब खोज्न पाउने चुनाव आवश्यक छ। एकपटक चुनिएको पार्टीले जे गरे पनि जनताले सहनुपर्नेभन्दा जनताले फिर्ता बोलाउन सक्ने अवस्था हुनुपर्छ।

विकृत राजनीतिले धमिलिएको व्यवस्था सुधार्ने उपाय चुनावबाहेक अरु केही छैन। चुनाव जसरी पनि जित्नैपर्ने एक सुत्रीय उद्देश्यका साथ लागेका दलहरूलाई पाठ सिकाउने मौका यही हो। दलहरुले राम्रा उम्मेदवार दिन सकेनन् भने कार्यकर्ता र मतदाताले अस्वीकार गर्नसक्नुपर्छ।

चुनाव प्रतिनिधि सभाको चुनाव होस् वा प्रदेशको, पार्टी हैन व्यक्ति चुनौं।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.