प्रिय दीपकजी र दीपाजी,
नमस्कार!
सन्चो-विसन्चो सोधेर लोकाचार पार्न थाल्दिनँ। हिजो छक्का पन्जा २ नामको सवा दुई घण्टे 'हास्य टेलिश्रृंखला' हेरेर आएदेखि दीपकजीसित फेरि रिस उठेको छ, दीपाजीसित चित्त दुखेको छ। यसो गरौं, पहिले रिसै शान्त पारौँ। चित्त दुखाउनेहरूको त यो संसारमा यसै पनि हिसाबकिताब छैन। त्यसमा पछि आउँला।
दीपकजी,
सुरुमै भन्छु, फिल्मको सारथिका नाताले तपाईंलाई सम्बोधन गरेर लेखिएको भए पनि यो पत्र यो फिल्मको कथा लेखकका रूपमा नाम आएका अरु पाँचै जनालाई पनि हो।
थाहा छ, तपाईं व्यस्त हुनुहुन्छ। आलोचना गरिएका सामग्री पढ्नमा तपाईंको रूचि छैन भन्ने कुरा त छक्कापन्जा १ र २ मा फरक नदेखिएबाटै बुझिएको हो। एउटी नसुनिएको नामकी लेखकले आलोचना गरेकी छ भन्ने सुन्नासाथ तपाईंले नाक खुम्च्याउँदै भनिसक्नुभो होला, 'कुनचाहिँ नारीवादीले काम पाइनछे फेरि।'
किनभने नि दीपकजी, तपाईंलाई थाहा छ, हाम्रो समाजमा महिलाका मुद्दामा महिलाबाहेक अरुले 'बोल्दिने' चलन छैन। कसैले सानो स्वरमा बोलिहाले पनि मन अमिल्याएर यति लामो लेखै लेखिबस्ने फुर्सद र जाँगर कसैसित हुँदैन।
हुँदो हो त फिल्ममा महिलालाई होच्याइएको कुरा फिल्म समीक्षामा एकदुई लाइनमा मात्र सीमित हुँदैनथ्यो। कहिले त लाग्छ, पुरुषहरू कि हामीलाई पोल्नलाई मुख खोल्छन्, कि मुख खोल्नलाई हामीलाई पोल्छन्। कतिले जानाजान, कतिले तिनको सङ्गतले, नजानेरै, थाहा नपाएरै।
तर दीपकजी, ख्यालठट्टा र अपमानबीचको फरक बुझ्न सक्नेहरूलाई लागेको छ, तपाईं जानाजान महिलालाई अपमान गर्ने मान्छे हो। नहुँदो हो त तपाईंको यो फिल्म हेरेर म पनि मजाले हाँस्न सक्ने थिएँ। तर तपाईं त फिल्ममा तपाईंले भूमिका निर्वाह गरेको पात्र राजाजस्तै हुनुहुँदो रहेछ, कहिल्यै नसुध्रने। ‘कहिल्यै सुध्रनै नचाहने’ भन्दा अझ बेस होला। सुध्रन चाहनेहरूमा कम से कम सुध्रन खोजेको लक्षण त देखिन्छ!
खैर, तपाईं सुध्रनु वा नसुध्रनुसँग मेरो केही पनि लेनादेना हुँदैनथ्यो, यदि तपाईंको फिल्म हेर्न कपाल फुलेकाहरूदेखि ललिपप चुस्नेहरूसम्म नगइदिएका भए!
हुनेवाला बेहुलाले स्पष्ट ‘राम्रै जाँड खान्छु’ भन्दा पनि अमेरिका जान पाउने लोभमा युवतीले बिहेको स्वीकृतिमा टाउको हल्लाउँदा छेवैकी बहिनी दिल खोलेर नहाँसिदिएकी भए!
सन्तान सप्रँदा छाती फुलाएर आफ्नो भन्ने अनि बिग्रँदा 'झिँगे'की आमालाई दोष दिने बाउ पात्र देखेर आमाहरूले अलिकति आँखीभौं खुम्च्याइदिएका भए!
अथवा माग्नेबुढाले 'बच्चा पाउन लाग्दा नि के के न हात्ती पाउनला'जस्तो गर्छन्' भन्दा कुनै आन्टीले थोरै चर्को स्वरमा'मुर्दार्! त्यसो भन्नीले पा'र देखा न!' भनिदिएको भए!
म लेख्ने थिइनँ यो चिठी, प्रेमपत्रले पट्टिन नसक्ने केटी चिट चोराएमा पट्टिन्छे भन्ने मानसिकता बोकेर एक हुल अल्लारे ठिटाहरू हलबाट नबाहिरिएका भए!
म लेख्दैछु, किनकि नहाँस्नु पर्ने ठाउँमा मान्छेहरू हाँसे। रिसाउनुपर्ने ठाउँमा मान्छेहरू हाँसे। चित्त दुखाउनुपर्ने ठाउँमा पनि हाँसे। कोही भित्रैदेखि कुत्कुत्याएर, कोही वरपरका मानिसको सिको गरेर। कोही आफैंलाई उडाइरहेको पत्तो नपाएर त कोही टिकटको पैसा असुल्नलाई।
र यता त्यही हाँसोलाई आधार मानेर फिल्म 'राम्रो' भयो भन्ठानेर तपाईं हाँस्दै हुनुहुन्छ। र तपाईंहरू दुवैथरीको हाँसो देखेर डराएका छन् अर्का एकथरी मान्छे। लजाएका छन्। घिनाएका पनि छन्। म तिनैमध्येकी एक हुँ।
दीपकजी, तपाईंका फिल्मले जति दर्शक नेपालमा अरु कुनै फिल्मले तानेको छैन होला। यति धेरै दर्शक अरु फिल्मले हँसाएको पनि नहोला र तपाईंका फिल्मले जति कमाएको पनि नहोला। तर दर्शक तान्नु, हँसाउनु र कमाउनु मात्रै फिल्मकोउद्देश्य भइदिएको भए फिल्मलाई ‘कला’ मानिने नै थिएन।
फिल्म रिलिज हुनु केहीअघि एउटा प्रतिष्ठित रेडियोबाट तपाईंले गर्वसाथ भन्नुभएको सुनेकी थिएँ, 'दीपकराजको गुडविलले गर्दा दसैँकै समयमा, अरु चलचित्रको भीडभाड नभईकन फिल्म रिलिज गर्न पाउने भएको!'
तर आज मलाई तपाईंको त्यो 'गुडविल' यस्सै बिनाअर्थ मान्छे हँसाउन मात्र खेर गएकोमा बडो दुःख लागेको छ। तपाईंको फिल्ममा आकांक्षा भन्ने पात्रको सट्टा आकाशलाई डिपेन्डेन्टमा अष्ट्रेलिया लाने युवतीको भूमिका मुख्य र सकारात्मकभइदिएको भए के बिग्रन्थ्यो? महिलालाई बलियो पात्रको रूपमा प्रस्तुत गर्न तपाईंहरु किन हिच्किचाउनुहुन्छ?
अथवा प्रज्ज्वलको सट्टा आकांक्षाले आईईएलटीएसमा सेभेन प्वाइन्ट फाइभ स्कोर गरेको भए तपाईंको के जान्थ्यो? कि युवतीहरूले त्यति स्कोर गर्नै सक्दैनन् भन्ठान्नुभो? के हाम्रा युवतीहरू आफ्नो बलबुतामा विदेश जानै नसक्ने गरी असक्षम छन्? नत्र फिल्म सुरू भएदेखि नै महिलालाई असक्षम देखाएर पुरुषप्रति पूर्णतया निर्भर र अवसरवादी पुष्टि गर्न तपाईंहरू किन लागिपर्नुभएको छ?
'मैले त अपवाद पो ल्याको त' भन्नुहोला तपाईं। तर तपाईंका आँखाले किन हरेक कुराको अपवाद मात्र खोज्छन्? छक्कापन्जाका लागि पनि तपाईंले श्रीमान् विदेश गएपछि भएभरको एक्लोपन र जिम्मेवारीको भारी उठाएर पनि हरहप्ता शनिबारको ब्रत बस्ने आम महिलाहरूको पीडा र आँशुलाई देख्नुभएन, बस् 'टाप कस्ने'हरूको धोका मात्र देख्नुभो। पैसाका लागि जोसित, जस्तोसित पनि बिहे गर्न तयार हुने केटीहरू मात्र देख्नुभो। र छक्का पन्जा २ मा पनि उही गल्ती दोहोर्याउनुभो।
तपाईंको समस्या के रहेछ भने नि दीपकजी, एक त तपाईं हास्य विधाको फिल्ममा अत्यन्त संवेदनशील विषय ल्याएर जोत्नुहुन्छ, बिना अध्ययन र विवेक फिल्म बनाउनुहुन्छ अनि आफ्ना कमजोरीलाई छोप्न ‘अपवाद’ को लेप लगाइदिनुहुन्छ। यसबाट विषयको मर्ममा आघात पर्छ। यता 'कमेडी' दुख्छ, उता हलमा हाँसो गुन्जिन्छ। यता कतिपय ‘समीक्षक’हरू फिल्मको कमाइ हेरेर दङ्ग पर्छन्, उता कला दुख्छ, सुरुचि दुख्छ र मजस्ता धेरैको मन दुख्छ।
दीपकजी, तपाईंले पनि बुझेकै हुनुपर्ने हो, फिल्मले समाजले रुचाउने कुरा पस्किने मात्र होइन, समाजको रुचि निर्माण र परिमार्जन गर्न पनि सक्नुपर्छ। कालान्तरसम्म बाँच्ने त्यस्तै फिल्म हुन्। उताका चार्ली च्याप्लिन र उडी एलनदेखि छिमेकका ऋषिकेश मुखर्जी, उत्पल दत्त, राजकुमार हिरानीजस्ता अनेक सर्जकको उत्कृष्ट हास्यचेत र उनीहरूले दिएको कलात्मक हास्यका बारेमा तपाईंलाई थाहै छैन भनेर म कसरी सोचौँ?
तपाईं भन्नुहोला मेरो काम मनोरन्जन दिने हो, समाज परिवर्तन गर्ने होइन। म पनि भन्दिनँ उसो त। 'थ्री इडियट्स' हेरेर बाउआमाले छोराछोरीमाथि आफ्नो सपना लाद्न छाड्ने हैनन्, 'होटल रुवान्डा' हेरेर म्यानमारका बौद्ध धर्मावलम्बीहरूले रोहिंज्याहरूको उठीबास लगाउन बन्द गर्ने पनि हैनन्।
फिल्म या साहित्यले त दर्शक या पाठक मनमा कताकता अलिकति छोइदिएजस्तो, जगाइदिएजस्तो वा घोचिदिएजस्तो मात्र गर्ने हो, ताकि समय आएका बेला ती छुवाइ अनि घोचाइहरूले मान्छेले केही राम्रो गर्नलाग्दा हात छिटोछिटो चलाइदिउन् अनि गलत गर्नलाग्दा अल्मल्याइदिउन्, अल्झाइदिउन्। दर्शक वा पाठकलाई कलाबाट यति आश गर्नबाट पनि वञ्चित गरायौँ भने चाहिँ कला मर्यो भने जाने हुन्छ।
कुनै पनि राम्रो फिल्मले सन्देश दिँदैन, ठाडो सन्देश त झन् दिँदै दिँदैन, जस्तो तपाईंले वकिलको रोलमा उभिएकी उमामार्फत् दर्शकमाझ थोपर्न खोज्नुभएको छ। फिल्मले दिने त ससाना कुरा हुन्, जस्तै, सपना देख्ने चाह, रहर, पखेँटापलाउने उत्साह, आत्मविश्वास, साहस, ऊर्जा आदि। संवेदनाका मार्फत्, न कि पात्रको भाषणबाट। तपाईंले फिल्ममा सन्देश भएन भन्नेहरुलाई जवाफ दिनुपर्छ भनेजसरी थोपर्नुभएको सन्देशको थुप्रोले त फिल्मलाई 'विकासे' स्वाद दिने काम मात्र गरेको छ, जुन संवाद भट्याउने पात्रले त छिनमै बिर्सन्छ, दर्शकले घर लैजाने त कुरै छाडौँ।
दीपकजी, यो चिठी लेख्नुको मेरो मतलब सबै पुरुष गलत र सबै महिला सही हुन्छन् भन्ने कदापि होइन। हामी दुवै सही पनि छौँ र गलत पनि छौँ। यसको उद्देश्य 'महिला मात्रको जयजयकार गरिदेऊ दीपक दाइ' भन्नु पनि हैन।
तर के हाम्रो समाजमा महिलालाई होच्याउने, तल पार्न खोज्ने, मभन्दा माथि नजाओस् भन्ने मानिसहरूको कमी छ र तपाईं यसरी मरिमेट्नुभएको? हामी बाँच्ने समाज यही हैन, जहाँ भर्खरै मात्र, काम गरेनन् भनेर का.म.न.पा.का मेयरविद्यासुन्दर शाक्यको कार्टून बनाउँदा महिलाका लुगा लगाइदिएको?
हामीकहाँ असफलता, अक्षमता, सानो चित्त, कचकचेपन जस्ता अनेक नराम्रा कुराका लागि महिलालाई प्रतीक बनाइन्छ। हामी जतिसुकै माथि पुगौँ, तपाईंजस्ताको नजरमा हसिँमजाकका पात्रभन्दा माथि उठ्न सक्दा रहेनछौँ! हामी जतिसुकै सफल होऊँ, हाम्रा कथा हामीबाहेक अरुले पढ्नै पाउँदैनन्, किनकि तपाईंजस्ता मानिसहरू अपवादको कथा खोज्दै हिँड्छन्।
र त्यस्तै कथामा गएर तपाईंका आँखा अडिन्छन्, जहाँ हामी फुस्किएका हुन्छौँ, फेल भएका हुन्छौँ। किनकि, मिसेल ओबामाले फोर न्यूजलाई दिएको अन्तरवार्तामा भनेजस्तै हाम्रा लागि सेट भएको सफलता मापन गर्ने चुचुरो त तपाईंहरूका लागि सेट भएभन्दा धेरै माथि हुन्छ नि हैन र?
हो, यस्तै बेला दीपकजी, तपाईंजत्तिको 'गुडविल' भएका मान्छेहरूसँग हामीले थोरै भएपनि अपेक्षा राख्दा रहेछौँ, हौसलाको, साथको, सहयोगको, स्याबासीको। तर 'खेलकुद पत्रकार'ले लेखेको फिल्मको रिभ्यूलाई त 'अयोग्य'ठहर्याइदिनुभएको तपाईंलाई एउटी भर्खर लेख्न थालेकी ठिटीका कुराल कति छोलान् र भन्ने पनि लाग्छ।
यति हुँदाहुँदै पनि केसम्म चाहिँ अनुरोध गर्छु भने तपाईंको कलमले हाम्रो स्वाभिमानको गाथा लेख्न जान्दैन भने पनि हाम्रो खिल्ली नउडाइकनै दर्शक हँसाउन सक्ने पटकथा भने लेख्न सकोस्! छक्का पन्जा २ को 'अपार सफलता' पहिल्यै आँकलन गरेर हिन्ट छोडिएको छक्का पन्जा ३ ले 'एनिहाउ, दर्शक हँसाऊ'को सिद्धान्तमा तपाईं आफैँलाई नछक्काओस्, अहिल्यैदेखि शुभकामना!
दीपाजी,
अब तपाईंको पालो। टाढाका वा टाढाका जस्तो गर्न खोज्नेहरूसँग त रिसाइन्छ। आफ्नैहरूसँग भने चित्त दुख्दो रहेछ। तपाईंलाई याद छ? धेरै पहिले साथीसँग मनका कुरा भन्ने एउटा रेडियो कार्यक्रममा तपाईंकी मिल्ने साथी र तपाईंको सम्बन्ध कसरी लामो समयसम्म टिकिरह्यो भन्ने सम्बन्धमा तपाईंले भन्नुभएको थियो, 'हामीबीच कहिल्यै पनि पैसा आएन। जब सम्बन्धको बीचमा पैसा आउँछ, तब आत्मीयता सिद्धियो भन्ने जाने हुन्छ।'
त्यही भएको हो दीपाजी? तपाईं हाम्रा बीचमा पनि पैसा आएको हो?
नत्र सानैदेखि तपाईंलाई मन पराएर हुर्केका हामी आज तपाईंसँग यति टाढा किन महसुस गर्दैछौँ?
छक्का पन्जामा निर्देशक तपाईं भएको सुन्नासाथ मेरो मनमा गर्वको एउटा सानो पहाडै उभिएको थियो- 'वाह! दीपा दिदी निर्देशक!'
तर रिलिज भएलगत्तै फिल्मबारे आएका रिभ्यू र सामाजिक सन्जालका कमेन्ट्सहरू देखेपछि लाग्यो, साँच्चै, डाइरेक्टर दीपा दिदी नै हुन् र?
अस्ति एउटा मल्टिप्लेक्सको हाउसफुल सोमा तपाईंको फिल्मका महिलालाई छेड हानिएका संवादहरूमा पटकपटक हलै गलल्ल हाँसिरहँदा पनि लागिरह्यो, साँच्चै, डाइरेक्टर दीपा नै हुन् र?
दीपाजी, चलचित्रको अनुमतिपत्रमा निर्देशकको ठाउँमा तपाईंको नाम देख्दादेख्दै पनि विश्वास नगरी मलाई भन्न मन छ, फिल्मको असली निर्देशक तपाईं हुँदै होइन। कागजमा तपाईंको नाम छ तर 'डि फ्याक्टो' निर्देशक त महिलालाई उडाउनु आफ्नो पुरुषार्थ संझने, पुरुषसरहको क्षमता त छोडौँ, महिलाको सुझबुझ वा बुद्धि हुन्छ भनेर पनि नठान्ने, फगत् आफ्नो लिङ्गमा गर्व गर्ने कुनै असंवेदनशील, ढोंगी मानिस हो। कुनै पनि महिलाले आफूलाई नारीवादी भनेर चिनाओस् वा ‘म नारीवादी चाहिँ होइन’ भनोस्, उसको मनमा महिलालाई उडाऊँ, नीच वा असक्षम देखाऊँ भन्ने भावना त हुँदै हुन्न। कि म भ्रममा परेँ दीपाजी?
दीपाजी, निर्देशक भनेको त फिल्मको आमा हो। उसैको पेटमा फिल्मले जीवन धारण गर्छ र हुर्कन्छ। लेख्ने, खिच्ने, सम्पादन गर्ने अरु सबै त सुडेनी मात्र हुन्। फिल्ममा डाइरेक्टरको अनुहार झल्कनुपर्छ, ती सुडेनीहरूको होइन।
स्क्रिप्ट लेखकलाई बाउ मान्ने हो भने भन्नै पर्छ, तपाईंका त दुवै फिल्मको बीऊ गतिलो परेन। तर तपाईंकै दोस्रो फिल्मले भनेको कुरो मान्ने हो भने पनि बाउको काम त रोपिदिने मात्र न रहेछ, हैन र? आमाले गर्भाशयमा राम्रो हेरचाह र वातावरण दिइन् भने त बीऊ कमसल परेकै बिरुवा पनि सुन्दर भएर पो हुर्कन्छ त। अरु त के कुरा, 'डि जुरे' अर्थात् नाममात्रकी आमा भएर सरोगेट नै गरे पनि बायोलोजी त आमाकै हुन्छ। अझै पनि तपाईंका फिल्म 'आमा गोता' जान किन नसकेका होलान्?
दीपाजी, कैयौँ नेपाली युवतीहरू मोडलिङमा संघर्ष गरिरहँदा तपाईं भने नेपाली फिल्म इन्डस्ट्रीका दुई ब्लकबस्टर फिल्मको निर्देशक बन्नुभएको छ। यो हाम्रा लागि गर्वको विषय हुनुपर्ने हो। तपाईं मात्र के, आफ्नो साहस, सामर्थ्य अनि मेहनतले यसअघि हाम्रा आमा वा हजुरआमाहरूले पुगिएला भनेर कहिल्यै नचिताएको पदमा पुग्ने सबै महिलाहरू हाम्रा लागि गौरव बन्न सक्नुपर्छ।
तर पद आफैँले गौरव सिर्जना गर्ने होइन रहेछ। त्यो पदमा रहेर तपाईंहरूले हाम्रा लागि कतिबेर, कसरी सोच्नुभो र केकस्ता काम गर्नुभो भन्ने कुराले निर्णायक भूमिका खेल्दो रहेछ। पदमात्र सबथोक भइदिने भएको भए इतिहासका विभिन्न चरणमा भारत, पाकिस्तान, बाङ्लादेशजस्ता छिमेकी मुलुकहरूलाई महिलाहरूले नै शासन गरेका थिए। अझैपनि महिलाहरूको जीवन किन जस्ताको तस्तै मात्र रह्यो? किन उनीहरूको पदको मिठास सबै दिदीबहिनीले चाख्न पाएनन्? उत्तर सजिलो छ, किनकि पद मात्रले गौरव सिर्जना गर्ने होइन, पदासीनको कर्मले हो।
दीपाजी, अब महिला भएर मात्र नाम कमाउने दिन छैनन्। बिना कारण पछाडि धकेलिएको यो वर्गको सशक्तिकरणका लागि कसले के गर्यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। बाङ्लादेशी प्रधानमन्त्री शेख हसिनाले त भर्खरै मात्र बालबिवाहलाई प्रोत्साहन दिने खालको कानुन ल्याएर आफूलाई त्यहाँका महिलाहरूबाट झनै टाढा बनाएकी छिन्।
एनाटोमी र फिजियोलोजी एकैखाले भएर पनि तिनले हाम्रा संवेदना, पीरमर्का, व्यथा बुझ्न सक्दैनन् भने समानुपातिक वा समावेशी प्रतिनिधित्व भयो भनेर हाम्ले चम्किनु बेकार छ, महिला भनेर गर्व गर्नु बेकार छ! हाम्रा लागि काम नगर्नेहरूलाई हाम्री भनेर गर्व गर्नु बेकार नै हैन र दीपाजी?
र त्यहाँसम्म पुगेर पनि हाम्रा आँखाबाट हेर्न नसकेर, हामीले जसरी सोच्न नसकेर तपाईं महिला निर्देशक भनेर गर्व गर्न नमिल्ने हुनुभएको छ। त्यतिमात्र होइन, आफूलाई पैसाको पछि लाग्नेहरूको गोटी बन्न दिएर तपाईंले हामीमाथि मात्र होइन, आफैँमाथि समेत अन्याय गर्नुभएको छ।
दीपाजी, मेरी हजुरआमा, आमा र मेरो पुस्ताका महिलाहरूको विचार, व्यवहार र अवसरमा आएको भिन्नता हेर्नुस्। मेरी हजुरआमाले हजुरबाको बिँडी चोरेर उडाउन सिकेको धुँवा र आज मैले बारमा वा कुनै कफी सपमा बसेर निष्फिक्री उडाउने चुरोटको धुँवाको प्रकृति बुझ्नुस्, भाषा बुझ्नुस्।
महिनावारीको पाप पखाल्न हरेक साल ऋषीपन्चमीको पूजा लगाउने मेरी आमाको आस्था र योनीभित्र मेन्स्ट्रुअल कप घुसारेर ट्रेकिङमा निस्कने मेरा पाइलाहरूले नाप्ने गन्तव्यको तुलना गर्नुस्।
वृद्ध भत्ता लिँदा ल्याप्चेको सट्टा नामको सहीछाप हान्ने मेरी हजुरआमाको रहर र हार्वर्डमा विद्यावारिधी गर्ने मेरो सपनाबीचको इभोल्युसन हेर्नुस्। अनि सोध्नुस् एकफेर आफैँलाई, के हामी साँच्चै आफ्नै बलबुतामा खाडीबाहेक अरु मुलुक जान नसक्ने गरी असक्षम छौँ?
सोध्नुस्, के 'टाप कस्ने' हाम्रा आमाहरूका यौनचाहना अर्काकी स्वास्नी खोज्दै हिँड्ने कुनै 'राजा'का भन्दा दूषित छन्?
के महिला भएकै कारण मलाई समाजले दिएका अनेकौँ उपमा असङ्ख्य हाउसफुल हलहरूमा मान्छे हँसाउन प्रयोग गर्नुपर्ने गरी ‘रमाइला’ छन्?
दीपाजी, समय धेरै अगाडि बढिसक्यो। केही मानिसहरू भने महँगो घडी लगाउँदैमा समयलाई वशमा राख्न सक्छु भन्ठान्छन् र आत्मरतिमा रमाइरहन्छन्। बिन्ती छ, आफूलाई यस्ता मानिसको कठपुतली बन्नबाट बचाउनुस्।
अन्त्यमा, तपाईंकी आमाले मात्र गर्व गर्ने छोरी बन्ने वा हाम्री आमाहरूले पनि, तपाईं आफैँले तय गर्नुहोला!
तपाईंको आगामी निर्देशकीय करियरको लागि शुभकामना!
उही तपाईंकी शुभचिन्तक/बहिनी,
दुर्गा