काँग्रेसः पुनर्जन्म कि अर्थहीन अस्तित्व?


विख्यात भारतीय इतिहासकार रामचन्द्र गुहाका अनुसार भारतको पुरानो पार्टी काँग्रेस विगत लामो समयदेखि मृत्युशैयामा छ तर विभिन्न कारणले उसको मृत्यू भइहालेको छैन ।

गुहा भन्छन्- काँग्रेसको त्यस्तो मृत्युयात्रा २०१४ मा नरेन्द्र मोदी नेतृत्वमा बिजेपीले चुनाव जितेका कारण सुरु भएको होइन। बरु झण्डै साढे चार दशकअघि इन्दिरा गान्धीको शासन र नेतृत्वकालमा त्यो यात्रा सुरु भएको हो जब उनले पार्टीभित्रका मतभिन्नतालाई लोकतान्त्रिक विधिबाट समाधान गर्नुको साटो पार्टी नै फुटाएर आफ्नो व्यक्तित्वको छाँयाका रूपमा अर्को काँग्रेस बनाएकी थिइन् जुन लगत्तै सत्तामा पुग्न सफल पनि भयो ।

इन्दिराको जीवनकालमा र त्यसपछि पनि पटक(पटक चुनाव जितेर भारतमा काँग्रेसले २०१४ सम्म सबैभन्दा बढी समयसम्म शासन गर्यो । त्यो अवस्थामा कसरी ७० को दशकको शुरुतिरै काँग्रेसको मृत्यु सुरु हुन सम्भव हुन्छरु

गुहा भन्छन्- पार्टी र सरकारमा इन्दिराको दरो पकड हुनासाथ उनले पहिले पार्टीभित्रको लोकतन्त्रलाई माटोमा मिलाइन्। दशकौं मूल्यको राजनीति गरेर कुनै राज्यमा राम्रो जनाधार बनाएको मानिस अब मुख्यमन्त्री बन्न सक्ने भएन, इन्दिराको चाप्लुसी गर्नेमध्ये सबैभन्दा निर्लज्ज र बफादार मानिस टपक्क टिपेर त्यो पदमा पुर्याइने भयो। उनको शासनकालमा भारतीय राजनीतिमा भारतका संस्थापक हस्तीहरू जवाहरलाल नेहरु, बल्लभभाइ पटेल र सी राजागोपालचरीलगायतको लिगेसीको दुखद अवसान भयो, महात्मा गान्धीको ग्राम–गणतन्त्रको सपनाको त कुरै नगरौं। उनको आफ्नो व्यक्तिगत ‘कल्ट’ यति बढ्यो कि इन्दिरा भन्नु काँग्रेस र काँग्रेस भन्नु इन्दिरा बन्न पुग्यो।

त्यसको असर काँग्रेसमा मात्रै परेन। इन्दिराले काँग्रेसलाई गान्धी वंशीय पार्टीमा बदलेपछि उत्तर प्रदेश र विहारमा यादव वंशदेखि तमिलनाडुमा करुणानिधि वंशजस्ता राजनीतिक शक्ति केन्द्रहरुको उदय भयो। राजनीतिमा क्षमता र इमानजस्ता कुराले महत्व राख्न छाडे, पहुँच र चाप्लुसी सर्वेसर्वा भए।

विडम्बनाचाहिं के भयो भने इन्दिरा गान्धीको भ्रष्ट र अधिनायकवादी शासनको चर्को विरोध गरेका र १९७४–७५ को जनउभार ९त्यसका गान्धीवादी नेता जयप्रकाश नारायणको नाममा जेपी मुभ्मेन्ट भन्ने गरिएको अभियान जसका विरुद्ध इन्दिराले संकटकाल लगाएकी थिइन्० का लालुप्रसाद र मुलायम यादवजस्ता जल्दाबल्दा युवा नेताहरू पछि गएर पतित र भ्रष्ट राजनीतिका पर्याय बन्न पुगे। सिंगो भारतका मतदाता भ्रष्टाचारमा घाँटीसम्म डुबेका पार्टी र नेताहरूमध्ये एक वा अर्कालाई जिताउन अभिशप्त भए ।

फाइल तस्बिर।

यति पढिरहँदा पाठकलाई नेपालको आफ्नै २०४६ पछिको राजनीति झल्झली याद आएन भने त्यसलाई अनौठो माने हुन्छ। नेपाली राजनीतिमा बीपी र गणेशमानले कस्तो लिगेसी छाडेर गए अनि सत्तामा पुग्ने सौभाग्य र देश र समाजलाई कोल्टे फेराउने असीम सम्भावना र अवसर पाएका गिरिजाप्रसादले के गरे, त्यो अब कसैबाट लुकेन।

गिरिजाप्रसादको युग छँदै शासनमा समेत पुगेका तर त्यो युग अन्त भएपछि काँग्रेसको बागडोर सम्हालेका शेरबहादुर देउवाको लिगेसी भारतमा इन्दिरा गान्धीको भन्दा पनि लालुप्रसाद यादवको लिगेसीसित बढी मिल्छ भन्नु केही असंगत प्रतीत होला तर त्यो यथार्थको नजिक छ। र अहिले जुन चुनौतीको पहाड अहिले काँग्रेसको सामुन्नेमा छ, त्यसको सिर्जना गर्नमा मूख्य भूमिका देउवाको छ।

देउवाको अहिलेसम्मको राजनीतिक लिगेसीलाई कुनै राजनीतिक सिद्धान्त, वाद वा विचारभन्दा अंकगणितले राम्रोसँग प्रतिनिधित्व गर्छ। संसदमा कति सदस्य छन् जोड, दुईले भाग गर, शुन्य दशमलव पाँच जोड, त्यति वटा सांसदको जोहो गर, सत्तामा पुग। सत्तालाई समाज र देशलाई कतै पुर्याउने साधन हैन आफैंमा एउटा साध्यका रूपमा लिएर राज्यकोषको दोहन गर। पार्टी फुटाउन पर्छ भने फुटाऊ, जुटाउन पर्छ भने जुटाऊ। मन्त्रीको संख्या सतक पुर्याउनुपर्छ भने पुर्याऊ तर जसरी हुन्छ सत्ताको भोग गर। न्यायालयलाई ध्वस्त पार्नुपर्छ भने पनि पार, अख्तियारलाई प्रतिशोधको साधन बनाउन पर्छ ने पनि बनाऊ। राज्यलाई कंगाल बनाउनुपर्छ भने पनि बनाऊ तर आफूले सत्ताको भोग चाहिं गर।

प्रतिस्पर्धी पार्टीहरु अलिकति मात्रै फरक भइदिएको भए नेपालका इतिहासकारहरुले पनि गुहाले झैं काँग्रेसको मृत्युको भविष्यवाणी पनि गरिसकेका हुने थिए। तर त्यसो नहुँदा काँग्रेसले अहिलेसम्म जीवन बुटी पाइरह्यो।

सम्भवतः अब त्यो जीवन बुटीको आयू गुज्रिसकेको छ। प्रतिस्पर्धीहरु सुध्रेर हैन कि एकगठ भएर।

यी घटनाक्रमको सुखद पक्ष के भने, अब अहिलेको काँग्रेस अहिलेकै हालतमा धेरै टिक्ने छैन। अबका कांग्रेसका सामू  कि त खुम्चिएको सानो पार्टीका रूपमा अरु लामो समय अर्थहीन रुपमा अस्तित्वमा रहने  हैन भने अंक गणित छाडेर सही अर्थको राजनीति गर्न थाल्ने  विकल्प छ। त्यसो गर्न सुरु गर्ने यस्तो राम्रो मौका सायद काँग्रेस पार्टीको जीवनमा कहिल्यै आउने छैन। त्यो किनभने वाम पार्टीहरूको ध्रुवीकरण हुनु भनेको वामपन्थ–दक्षिणपन्थको ध्रुवीकरणमा मध्यतिर रहेको ठूलो जनमतलाई दुईमध्ये एक पक्ष रोज्न बाध्य पार्नु हो।

त्यसरी रोज्दा झण्डाको रङ र नाराको उत्तेजनाका आधारमा भोट हाल्नेहरुको संख्या निरन्तर घट्दो छ र व्यवहारमा सुशासन र जनजीविकालाई खास पार्टीले दिएको प्राथमिकता हेरेर भोट खसाल्नेहरुको संख्या बढ्दो छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.