हाम्रो गाउँमा अचेल दसैं आउँदैन साथी


काठमाडौंमा घर हुने वा यतै दसैं मनाउने मेरा साथीहरू चाड आएपिच्छे गुनासो पोख्छन्, ‘काठमान्डू त कस्तो सुनसान, नरमाइलो हुन्छ दसैं बेला … तिमी त गाउँ जाने, कस्तो रमाइलो है!’

म कहिल्यै उनीहरुको ‘है’ लाई मुन्टो हल्लाएर सदर गर्दिनँ। बस्, मुसुक्क हाँसिदिन्छु।

बुझ्ने भएदेखि मलाई दसैं कहिल्यै रमाइलो लागेन। यसपछाडिका व्यक्तिगत कारण कहनु यस लेखको उद्देश्य होइन। जसलाई ती कारण थाहा हुन्थ्यो, उनीहरु माथिको वाक्य भन्दै भन्दैनथे। यो मेरो लेख तिनै साथीहरूलाई हो, जसलाई दसैं बेला काठमाडौं सुनसान लाग्छ, नरमाइलो लाग्छ।

सानो छँदा आमा-हजुरआमाहरू भन्नुहुन्थ्यो, ‘हाम्लाई केको दसैं आउँथ्यो बाऽऽऽऽ।’

उहाँहरु त्यसो किन भन्नुहुन्थ्यो मलाई थाहा थिएन, तर हाम्रा लागि आउँथ्यो दसैं, भदौरे झरीपछिको एक बिहान सुनौलो घाममा सिँगारिएर, सुन्तलाका हाँगा र स-साना हरिया दानाका चेपचेपबाट पसेर पिँढीसम्मै। अनि पढिरहेको ठाउँबाटै म चिच्याउँथेँ, ‘हजुराँ, दसैं घाम लायोऽऽऽ!’

दसैं घाम लाग्नु अर्थात् गृहकार्यको समयबाट अलिकति हिस्सा काटेर नौरथा नलाग्दै, स्कुल बिदा नहुँदै बेलुकीपख दिदीबहिनीहरू जम्मा भएर गल्लीका झार उक्काउनु, कान्लो फाँड्नु, झप्प परेका सिमलीका कुचाले ढुङ्गामाटो सिनित्तै सोहोरेर गल्ली बढार्नु। आफ्नो भागको गल्ली र आँगन कसले राम्रो पार्ने भन्नेमा हाम्राबीच एकप्रकारको शीतयुद्धजस्तै चल्थ्यो।

त्यसो गर्दा छप्पनीले ददारेका, हँसियाले काटेका अनि बूढीकमिलाले डसेका हातगोडासँगै आउँथ्यो दसैं। घटस्थापनाको दिनदेखि जमरामा पानी हाल्ने हानथापसँगै, कसका जमरा बढी पहेँला भए भनेर दाँजेसँगै आउँथ्यो दसैं। आमाहरूसँग रातोमाटो खन्न जाने ढिपी र ढिपीले नपुगे घरै जुरुक्क उचाल्ने रुवाबासीसँगै आउँथ्यो दसैं।

कोठाका भित्तामा सानसित पोज दिएर बसेका सलमान, शाहरुख अनि काजोलहरू जतनका साथ उप्कन्थे। आमाहरू भर्याङमा उक्लेर माटो लगाउँदै गर्दा हामी भने थोत्रो कुच्चो लिएर उफ्रिउफ्री भए पनि भित्तामा रातोमाटोको झोल छ्याप्पछ्याप्प पार्थ्यौँ र दंग पर्थ्यौँ। यसरी आमाको शरीरमा रातोमाटोका छिटा पारिदिएकोमा गाली खाँदै आउँथ्यो दसैं।

वर्षभरि सँगेलेर राखेका भएभरका पुराना ब्याट्री फोरेर भित्रपट्टीको कालो पिँधिसक्दा स्वरुप आजकाल टिभीमा वासिङ पाउडरको विज्ञापनमा देखाउने केटाकेटीको जस्तै हुन्थ्यो। त्यही कालोलाई पिँढीको भित्तामा स्केलले नापी नापी पोतेसँगै आउँथ्यो हाम्रो दसैं।

अनि सके घरघरमा नयाँ खाबो गाढेर नसके पालीमा वा टौवामुनि नाम्लै झुण्ड्याएर भए पनि आउँथ्यो दसैं।

जसरी आउँथ्यो, आउनचाहिँ पक्कै आउँथ्यो। वा भनौं, हामी बोलाउँथ्यौं, ल्याउँथ्यौं। रहरले, प्रेमले, अनुरोधले।

अहिले गाउँमा बिजुलीबत्ती छ। मध्यमर्स्याङ्दीले गर्दा ‘म नभए तिम्रो जिन्दगी अन्धकार छ है’ भनेर बेलाबेला सम्झाउनबाहेक बत्ती जाँदैन। ब्याट्री हालेर चल्ने लाइट गाउँ उक्लन छोडेको वर्षौं भइसक्यो। आजकाल कोठामा सलमानहरू टाँसिदैनन्, त्यसैले उप्किदैनन् पनि। जमरा राखिन्छन् तर हरेक बिहान कत्तिको बढे वा कसका बढी पहेँला भए भनेर दाँजिदैनन्। टौवाको थाममा नाम्लाका पिङ झुण्डिदैनन्, किनकी टौवै उभिँदैनन्। हरेक साल भदौरे झरीपछि दसैं घाम उस्तै गरी लाग्छ तर त्यसको उत्सव कसैले मनाउँदैन। वर्षको एकचोटि फूलपातीको अघिल्लो दिन दुइटा झोला बोकेर रातीकाली हुँदै म पनि गाउँ उक्लन्छु तर दसैं उक्लँदैन।

हो साथी, हाम्रो गाउँमा अचेल दसैं आउँदैन।

सुनसान गाउँघर

जसरी नेपाल मन्दिरै मन्दिरको देश हो, त्यसरी नै गाँवै गाउँको देश पनि हो। हाम्रो भूबनोट, भौगोलिक अवस्थितिले नै हाम्रो देशलाई ‘गाउँमय’ बनाइदिएको छ। पहाडी भेगको हकमा अलिक समथर, कम उचाइमा रहेको भूभागलाई ‘बेसी’ भन्ने चलन अझै छ। ‘सहर’ शब्दको प्रचलन त हाम्रोमा निकै पछि मात्रै आएको हो। गाउँ भन्नाले विकट पहाडी इलाका वा दुरदराजको ठाउँ भन्ने मात्र बुझिँदैनथ्यो, तराईका बस्तीहरूलाई समेत गाउँ नै भनिन्थ्यो। यसरी हेर्दा ‘गाउँ’ ले गाउँ मात्र जनाउँदैनथ्यो, घर पनि भन्थ्यो। सायद त्यसैले नै जोडिएको होला, ‘गाउँ’ को पछाडि घर।

अहिले विभिन्न प्रयोजनका लागि हुने बसाइसराइले गाउँको प्रचलित बुझाइ फेरिदिएको छ। अहिलेका ‘गाउँ’ धेरैका (पुर्ख्यौली) गाउँ मात्र हुन्, घर होइनन्। माओवादी ‘जनयुद्ध’ ताक ज्यान जोगाउन सहर पसेकाहरूबाट सुरु भएको बसाइसराइको सिलसिला अहिले ‘सुनौलो’ भविष्य खोज्न विदेश भासिएकाहरूसम्म आइपुग्दा पनि रोकिएको छैन। यसबीच कसैलाई नराम्ररी मर्का परेको छ भने त्यो मान्छेको अभावमा उजाडिएका गाउँघरलाई छ।

तथ्यांक हेर्ने हो भने नेपालमा दिनहुँ १२०० देखि १५०० युवाले विदेशमा काम गर्न जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाउँछन्। गाउँघरमा युवा जमातको खडेरीले शव उठाउने मान्छेसम्म नपाइएका समाचार हामीले सुनिरहेकै छौं। यी जमात त ढिलोचाँडो घर फर्कन्छन्, गाउँ फर्कन्छन्। अहिले हाम्रा गाउँघर सुनसान भएका त कहिल्यै नफर्कने गरी झर्ने जमातले हो। अझ तीमध्ये यस्तो जमात जो देशका मुख्य सहर ताक्दैन, अमेरिका-युरोपमा पलायन हुने सपना पनि आँक्दैन, बस् झर्छ, गाउँबाट अलिकति मुन्तिर, रोडछेउ घरको लोभमा र उक्लिइरहन्छ घरिघरि महिनादिनजस्तोको फेरमा, कहिले दाउरा त कहिले तिउनताउन बटुल्ने नाउँमा, र दुखिरहन्छ गाउँलाई गानिएको दूधसरी।

यस्तै एउटा गाउँको घरको बार्दलीमा हिमचुली हिमाललाई साक्षी राखेर म यो लेख लेख्दैछु।

मेरो गाउँ, एउटा त्यस्तो गाउँ जसलाई दसवर्षे सशस्त्र द्वन्द्वको त्रासले समेत छिन्नभिन्न पार्न सकेन। न रित्याउन सक्यो मट्टीतेलको टुकीको झन्झट वा बेसीबाट महिनौं लगाएर ओसार्नुपर्ने धानपरालको दु:खले नै। आज गाउँमा कच्ची नै सही, घरघर नभए टोलटोलसम्मै बाटो पुगेको छ। दिनैजस्तो ट्रयाक्टर उक्लन्छ। बेसीका अन्नपात गाउँ लैजान अब पहिलेजस्तो नाम्लो लाएर बोक्नु पर्दैन। मेहनत गर्न सके तरकारी र फलफूल बेचेरै जीवन धान्न सकिने उर्वर भूमि छ। घामको पहिलो प्रहरले सेता हिमालमा सुनौला रङ पोतिदिएको सुन्दर दृश्य हेर्दै बिहान उठ्न पाइन्छ।

गाउँदेखि बेसीसम्मको दुरी किलोमिटरमा त मलाई थाहा छैन, बस्, यत्ति भन्छु, गाउँको सुरु चौतारोमा हामी आइपुग्दा बेसी चोकमा रोकेको स्कुल बसले लामो हर्न फुक्थ्यो। बसले लगभग २०० मिटर दुरी पार गर्दा हामी दौडिएर झन्डैझन्डै बस चढ्ने ठाउँसम्मै पुगिसकेका हुन्थ्यौं। सामान्य मानिसलाई उक्लन आधा घन्टा नलाग्ने मेरो गाउँ आज बिरानो भएको छ। गाडी हिँडुन् भनेर खनेका बाटोमा निस्केर साँझ नपर्दै बाघचितुवा कराउँछन्। चौताराहरू मान्छेका सुस्केरा बिसाउने कम लामखुट्टेले ‘टिनिनि’ गीत गाउने थलोजस्ता बढी भएका छन्। बाटोको बीच भागमा झरिरहन्छ एउटा ढुङ्गेधारा, अनवरत, प्यासी यात्रीहरुको पर्खाइमा।

केटाकेटी छँदा साथीसंगी, शिक्षकहरू मसित गाउँको नाम सोध्थे।

‘घोक्रेस्वाँरा’।

मलाई योजत्तिको कुरुप नाम अरु लाग्दैनथ्यो।

मंसिरमास आरुबोटेको चौताराबाट पहेँलपुर देखिने गाउँ सम्झेर म उत्तर दिन्थेँ, ‘सुन्तलाबारी’।

सुन्तलामा गुलियो नपस्दै मधेसी मूलका व्यापारी एकाबिहानै घरघरमा चिया खान आइपुग्थे, बगैंचाको मूल्य तोक्ने निहुँमा। अहिले गाँवैभरिको सुन्तलाका बुटा सुकेर खिङ्ग्रिङ्ग परेका छन्। बेसी झरेकाहरूले सुकेका रुख काटेर आगो लगाइदिए, गाउँमै बस्नेहरूले घिरौंला-करेला हाल्ने थाँक्रो बनाएका छन्। डाले घाँसका हुर्केका रुखले चौतारीबाट हेर्दा घर छेक्छन्, हिउँदमा पहार छेक्छन् अनि छेक्छन्, दसैं घाम पनि।

पहिले मान्छे कसको बारीमा राम्रो घाँस छ भनेर खोज्दै हिँड्थे, अहिले गाउँमा डाले घाँस खाइदिने गाईवस्तुसमेत छैनन्। पहिले बेसीलाई दूधघ्यू गाउँले पुर्याउँथ्यो, अहिले बेसीले गाउँमा ‘सप्लाई’ गर्छ।

गाउँको सिरानमा प्राथमिक तहसम्म पढाइ हुने एउटा सरकारी स्कुल छ। वरपरका पाँच गाउँबाट जम्मा भएका आठ-दस जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँछन्। त्यही पनि हालै मात्र उपल्लो गाउँको स्कुल खारेज गरेर गाभिएको रे। गाउँ बाक्लै छँदा स्कुलअघि चौरको दूबो माडिएर भुइँमै हराएको हुन्थ्यो, अहिले त्यहाँ घुँडाघुँडासम्म आउने घाँस पलाएको छ। हुन त यसपछाडि निजी स्कुलको प्रभाव पनि उत्तिकै होला, तर स्कुल रित्तिनुको मुख्य कारण गाउँ रित्तिनु नै हो भन्नेमा कसैको विमति छैन।

मैले थाहा पाउँदा गाउँ सिङ्गो थियो। जम्माजम्मी ८६ घरधुरी थिए। तलवित्तल परेबाहेक ८६ घरमै दसैं एकैचोटि आउँथ्यो। छन त अहिले पनि गाउँमा ८६ घरधुरी नै छन् (भूकम्पले हल्लाएका वा अलिअलि लडाएकालाई पनि घरै भन्ने हो भने) तर तीमध्ये मुस्किलले २१ घरमा मात्र दसैं आउँछ। त्यही पनि छाना, आँगन अनि गल्लीमा गन्धे र मौरो बुडेका रित्ता जिङ्ग्रिङ्ग घरहरूले छिमेकमा आएको दसैं पनि धपाइदिन्छन्। दिउँसै टड्कारो सुनिने मर्स्याङ्दीको कर्कश आवाज र साँझ नपर्दै कराउने झ्याउँकिरीले आजकाल मेरो गाउँमा दसैं आउनै दिँदैनन् साथी।

बजारिया दसैं

कुनै समय बजारलाई दसैं लाग्थ्यो। गाउँका मानिस नुनमसला, चिनी, चिउरा लगायत गाउँमै उत्पादन नहुने अत्यावश्यक सामान र कपडाफाटो किन्न मात्र बजार जान्थे। मान्छेको चहलपहल बढेसँगै बजारमा दसैं भित्रिन्थ्यो, दुर्गाका कृपाले व्यापारीका सन्दुकमा पनि लक्ष्मी भित्रिन्थिन्। अहिले दसैंलाई बजार लाग्ने गरेको छ। खोटोले (खोटो सालको बोक्रालाई पानीमा बेस्सरी पकाएर बाक्लो बनाइएको प्राकृतिक कालो रङ्ग हो) रंगिने पालीका खाँबा अनि झ्यालढोकाहरू थरीथरीका इनामेलले रंगिन थालेका छन्।

त्यतिले मात्र भएन भनेर पहिले कालिमाटी लगाइने भित्ताहरूमा समेत आजकाल निलाहरिया चुना पोतिन्छन्। पहिले टीका लगाउन आएकाहरूलाई दहीमही, केरा, सेलरोटी, अचार (मासुबाहेक) आदि टक्र्याइन्थ्यो, अहिले कोक तथा स्प्राइटजस्ता पेय पदार्थले ‘मुख मीठो’ पारिन्छन्। दसैंको बजारीकरणले गाउँघरको मौलिकता ध्वस्त त पारेको छ नै, दसैंसँगै दशा आउने निम्न तथा मध्यम्वर्गीय परिवारमाथि झनै गह्रुंगो आर्थिक सामाजिक बोझ थपेको छ।

दसैंको बजारप्रतिको आकर्षण अब आकर्षण वा आशक्तिमा मात्र सीमित छैन, निर्भरता नै बनिसकेको छ, त्यो पनि यहाँसम्म कि आजकाल गाउँघरमा दसैं आफैँ आउँदैन, बजारले पठाइदिएपछि मात्र आउँछ।

टाढाको टीको

धार्मिक कथनमा दसैं शुद्ध आशीर्वाद थाप्ने पर्व होला तर यथार्थमा आशीर्वादसँगै अलिकति दक्षिणा पनि गुट्मुट्याएर दिने चलन चल्यो। यसका पक्षविपक्षमा बहस हुँदै गर्लान्, तर यहाँनेर मैले चर्चा गर्न खोजेको विषय अर्कै हो। जतिखेर गाउँ सिंगै थियो, केटाकेटीदेखि युवायुवतीसम्म गाउँको सिरानदेखि पुछारसम्म टीका थाप्दै हिँड्थे। टीका छिटो भएका बखतबाहेक गाडीमा चढेर टाढै जानुपर्नेले उही दिन ससुराली वा मामाघर भ्याउने सपना त नदेखे पनि हुन्थ्यो।

अहिले बस्ती पातलिएसँगै गाउँघरमा टीका थाप्न आउनेको संख्या वर्षैपिच्छे पातलिँदै गएको छ। बेसी झरिसकेका अधिकांश मानिस आफ्ना साख्खै दाजुभाइको घर गाउँमा रहेकोबाहेक टीकाका दिन गाउँ उक्लँदैनन्। गाउँमै रहेका कतिपय घर पनि घरमुली बेसी भए ढोकामा ताल्चा मारेर टीका लगाउन बिहानै बेसी हानिन्छन्।

पहिले आफ्नो टोलमा टीका लगाएर नभ्याउँदै आँगनभरि गाउँका मान्छेको भीड भइसक्थ्यो, अहिले घन्टौं कुर्दा पनि फाट्टफुट्टबाहेक मान्छे देखिँदैनन्। केटाकेटीका लागि गाउँ उक्लेर सँगेलिने केही नोटभन्दा मोबाइलमा गेम खेल्नु बढी उत्पादनमूलक लाग्न थालेको छ। पहिले त टीका थाप्ने निहुँमा वर्षदिनसम्म नभेटिने मान्छेसँग देखादेख हुन्थ्यो, भेटघाट हुन्थ्यो। एकप्रकारले दसैंले वर्षैं साल सम्बन्धहरू नवीकरण गर्ने काम गर्थ्यो। यिनै भेटघाट थिए र त दसैंको अस्तित्व थियो, महत्व थियो।

बदलिँदो परिस्थितिमा दसैंको समाजशास्त्रीय मूल्य कहाँनेर पुगेको छ, समाजशास्त्रका विद्यार्थीहरुले खोज गर्नुपर्ने बेला आइसकेको छ।

चित्त नबुझेको कुरो

समय गतिशील छ, परिवर्तनशील छ। मानिसकै दिनचर्या सहज बनाउन भनेर दिनहुँ नयाँनयाँ आविष्कार भइरहेका छन्। एक हिसाबले भन्नुपर्दा सुविधाको लोभी भएरै मानिस यहाँसम्म आइपुगेको हो। यस्तो अवस्थामा गाउँमा भन्दा अलिक बढी सहज र सुविधायुक्त जीवनयापनको लोभमा मानिस बेसी झरे भनेर मैले दोष दिन त कदापि मिल्दैन। भनेजस्तो परिस्थिति मिलेको भए हामी आफैं पनि झर्थ्यौं होला।

मलाई चित्त नबुझेको एउटै कुरो भनेको जीवनयापन त्यस्तो असजिलो हुँदा नरित्तिएको गाउँ अहिले दिनदिनै सहज बन्दै गइरहँदा चाहिँ झनै उजाड हुनु हो। कर्णालीका कतिपय जिल्लामा अझैसम्म गाडी पुगेका छैनन्। मान्छेहरू डोकोमा बोकेर लाँदालाँदै सुत्केरी हुन्छन्, बेलैमा उपचार नपाएर मर्छन्। मेरो गाउँ त ती गाउँ हेरी धेरै सुगम छ, र अझै सुगम बन्दै छ। तैपनि गाउँ यतिविधि किन पातलिँदैछ, मैले कारण पत्ता लगाउन सकेकी छैन।

फेरि यो मेरो गाउँको समस्या मात्रै पनि होइन। वरिपरिका गाउँघरमा रात परेपछि बल्ने बत्तीको सङ्ख्या झनै दयनीय देखिन्छ।

मेरा बुवा पेसाले शिक्षक हुनुहुन्छ, कर्मले समाजसेवी। समाजसेवीले जीवनमा दुईमध्ये एउटै कुरा मात्र कमाउँछ, कि पैसा कि नाम। बुवाले पैसा कमाउनुभएन। कहिलेकाहीँ नाम कमाउनुभयो भन्नेमै पनि विश्वस्त हुन सक्दिनँ। हरेका साल म गाउँ छिर्दा बुवाले केही न केही नयाँ बनाउनुभएकै हुन्छ। कहिले मन्दिर, कहिले प्रतीक्षालय, कहिले धारा, कहिले दुर्घटना नहोस् भनेर रोडछेउ सिमेन्टका बार। यसपालि ट्वाइलेट र कालिकाको मन्दिर थप्नुभएछ।

विडम्बना, बुवाको त्यो चर्पीमा दिसापिसाब गरिदिने पर्याप्त मान्छेसमेत गाउँमा छैनन्। तीन-तीन वर्षमा हुने कुलायनको पूजा र आक्कलझुक्कल हुने मिटिङको लागि बुवाले चर्पी किन बनाउनुभएको हो मलाई थाहा छैन। यसपालि कृषि पढेर ठाउँमा पुगेका गाउँकै दाइदिदीहरूसँग मिलेर सुन्तला रिस्टोरेसन प्रोजेक्टको खाँका बुन्दै हुनुहुन्छ। २० वर्ष पहिले गाउँमा सुन्तलाका बिरुवा उत्पादन गरेकै उहाँले हो। त्यतिले नपुगेर तीनठाउँको हारालुछ परेको स्वास्थ्य चौकी गाउँमै पार्न मरिमेट्दै हुनुहुन्छ। दिनानुदिन पातलिँदै गइरहेको गाउँमा बुवा घरिघरि यस्तो किन गर्नुहुन्छ मलाई थाहा छैन। मसित सोध्ने सामर्थ्य पनि त छैन।

यसपालि घर आएको बेला विचार गरेँ, सबै जहान परिवार भेला हुने भनिएको दसैं बेला त गाउँ यस्तो सुनसान छ, पढाइलेखाइ र इलमका लागि बाहिरिनेहरू फर्केपछि झन् कति नरमाइलो हुँदो हो?

गाउँबाट बेसी झर्ने क्रम यसैगरी नरोकिने हो भने एकदिन यस्तो नआउला भन्न सकिन्न, टीकाका लागि दुर्गामा थापेको एक माना चामल मुछ्नसमेत डेरीबाट दही मगाउनु परोस्। र, डेरीको दहीले मुछेको त्यही एक माना चामलको अक्षता पनि टाँसिने निधार नपाएर पूर्णिमाको दिन धारामा सेलाइयोस्। दसैं गाउँघरको चाडबाट दुब्लाएर तिहार वा जनैपूर्णिमाजस्तै परिवार मात्रले मान्ने चाड नबनोस्।

त साथी, हाम्रा गाउँघरमा त आजकाल दसैं पात्रोमा मात्रै आउँछ, तिमीले लोभ गर्ने गरेको दसैं आउन छाडेको त वर्षौं भइसक्यो। किनभने साथी, दसैंलाई त बोलाउनुपर्छ, प्रेमले, रहरले, अनुरोधले। हामीकहाँ दसैं बोलाउने मान्छे नै कहाँ छन् र?

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.