मधेसी पछाडि पर्नुमा दोषी को?


करिब तीन महिना अगाडि मेरी आमालाई पर्साको गर्दौल गाउँमा एक भारतीय जीपले ठक्कर दियो। राति करिब ७ बजेतिर दुर्घटना भएको थियो। हतार-हतार वीरगन्ज उपक्षेत्रीय अस्पतालसम्म पुर्‍याइए पनि त्यहाँ राम्ररी उपचार हुन नसकेपछि तुरन्तै एम्बुलेन्सबाट काठमाडौं लगियो।

मेरी आमा जस्तो दुर्घटना भएकालाई मात्र होइन, कोही गर्भवतीलाई व्याथा लागे वा सुत्केरी भए, तुरन्तै फोन गरी एम्बुलेन्स मगाइन्छ। सदरमुकाम या भारतको रक्सौल पुर्‍याई सहजै आमा र बच्चालाई आवश्यक  स्वास्थ्य सुविधा उपलब्ध हुन्छ।

तर, खोटाङमा सुत्केरी हुनेले यो सुविधा पाउन हेलिकप्टर नै चार्टर गर्नुपर्छ। हेलिकप्टरमै लग्दा पनि कहिलेकाँही समयमा अस्पताल पुर्‍याउन नसक्दा आमाबच्चा दुवैले ज्यान गुमाउँछन्।

यता, पहाडमा स-साना विद्यार्थीको हालत हेरौं। उर्लेका खोलामाथिको जीर्ण तुइन चढेर विद्यालय जान्छन्। र, कहिलेकाँही त्यो तुइन चुँडिएर विद्यार्थीको मृत्यु हुनु नौलो कुरा होइन।

यस्तो जोखिम छ पहाडमा। बाटो-घाटोको सुविधा छैन। खानेपानी ल्याउन समेत घन्टौं हिड्नुपर्ने बाध्यता छ, त्यो पनि उकालो, ओरालो, बांगोटिंगो भिरको गोरेटो। हिँड्दा खुट्टा चिप्लियो भने ज्यानै गुम्ने खतरा!

बस्नै पनि कति गाह्रो! हरसमय पहिरोको त्रास लिएर बाँच्नुपर्ने।

अनि कम जग्गा जसमा पनि खेतिपाति गर्न निकै कठिन। भौगोलिक बनौट नै यस्तो अप्ठेरो की खानजोत, सिँचाई गर्न गाह्रो।

बिजुलीबत्तीको पनि त्यतिकै समस्या। अझै अधिकांश भागमा टूकीकै भरमा चलेको छ जीवन।

यस्तोमा अस्पतालको त कुरै नगरौं। एम्बुलेन्स त झन् सपनै जस्तो। कोही साह्रै भए डोकोमा राखेर उपचार गराउन लानुपर्ने। कति सास्ती होला? यतिका बावजुद समयमा अस्पताल पुर्‍याउन नसक्दा पहाडमा बस्ने कैयौं हाम्रा दाजुभाइ-दिदीबहिनीको अकालमै मृत्यु भइरहेको छ।

यही समस्या र कथा छ हिमालमा बस्नेको।

जाडो, हिमपहिरो, विकटता, अन्धकार जस्ता प्रतिकूलताबीच बाट जुधेर हाम्रा पहाड-हिमालका दाजुभाइ-दिदीबहिनी देशको उच्च ओहदामा पुग्न सफल भएका छन्। सफल नेतृत्व दिन सक्षम छन्।

तर, भौगोलिक अनुकूलता, सहजता एवं स्रोत साधनको प्रचुर उपलब्धता हुँदाहुँदै पनि मधेसमा बस्नेहरू किन अगाडि बढ्न सकेका छैनन्?

मधेसी नेताको जीवनस्तर उच्च छ। तर, किन हजारौं मधसी समुदाय निम्नस्तरको जीवन जिउन बाध्य छन्? आखिर के कुराले मधेस र मधेसीको उन्नति-प्रगति रोकेको छ?

नेपालको संविधानले हिमाल-पहाड-मधेसलाई काखापाखा गरेको भन्छन्,  के यो वास्तवमै हो त? यसैका लागि संविधान संशोधन गर्नेपर्ने हो? अनि संशोधन पछि चाँहि मधेसको विकास हुन्छ भन्ने ग्यारन्टी छ र?

बुझ्न पर्ने कुरा के छ भने, नेपाल सरकारले  बजेट विनियोजन गर्दा सबैको माग समान तवरले समेट्ने प्रयास गरेकै छ।

हिमाल र पहाडभन्दा तराईलाई त आफैंमा कति सहज छ, विकास हुन।

पहिलो सहजता मधेसको भूभाग हो, जो समथर छ। बाटोघाटो निर्माण र अन्य पूर्वाधार विकास गर्न पहाड र हिमालको तुलनामा तराईमा कति हो कति सहज।

यहाँ गाडी सर्र कुद्छन्, उद्योग-कारखाना संचालन गर्न र उत्पादित सामान ढुवानी गर्न कुनै कठिनाइ छैन।

प्रशस्त खाली जमिन छ। यातायात र बाटो सहज भएकाले सुविधा सम्पन्न अस्पताल निर्माण गरेर स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ।

सिँचाईको सुविधा र समथर जमिन भएकाले मधेसबाटै कृषि क्रान्ति सुरुवात गर्न सकिन्छ।

म एक नेपाली मधेसी युवा भएका नाताले मधेस विकासका प्रचुर सम्भावानाहरूमा आफू संलग्न हुने अठोट गर्छु जुन त्यहाँका ‘भनाउँदा मसिहा’ हरूबाट हुनुपर्ने भए पनि भएको भने छैन ।

समाजमा धनी-गरिब सबै थरीका मानिस हुन्छन्। एक अर्काको प्रत्यक्ष -अप्रत्यक्ष सहयोगबाट नै हाम्रो जीवन चल्छ। सामाजिक स्तर बीचको दूरी घटाउन सकिएन भने केही व्यक्तिको प्रगति हुनसक्ला तर कुनै समाजको समग्र विकास हुन सक्दैन।

मधेसको समस्या यही सामाजिक स्तर बीचको दूरी हो। धनी-गरिबको खाडल एकदमै ठूलो हुनु हो। मैले थाहा पाएअनुसार चार-पाँच वर्ष पहिले खेतमा दिनभरि काम गर्नेलाई ५ किलो धान ज्याला दिन्थ्यो जसको मूल्य लगभग ४०/५० रुपैयाँ हुन्थ्यो। यो अहिले १० किलो भएको छ जसको मूल्य लगभग २००-३०० रुपैयाँ हुन्छ। दिनभर काम गर्नेको कमाइ यही नै हो अहिले पनि। यो परिवर्तन हुन जरूरी छ।

मधेसमा अन्ध-विश्वास र रुढिबादी सोच पनि धेरै हाबी छ। अझ पनि छुवाछुत भयानकरूपमा व्याप्त छ। छोरा-छोरीमा विभेद उत्तिकै छ। छोरी अर्काको घरमा जाने हो,पढेर केही हुँदैन, पढाइ आवश्यकता नै होइन भन्ने विचार प्रचुर छ।  जातीय भेदभावबाट पनि मधेस एकदमै ग्रसित छ। दलितले छोएको माटोको भाँडो फालिदिने चलन छ। फलाम-पित्तलको भने पखालेर घरमै राखिन्छ।

दाइजो मधेसको ठूलो चुनौती हो। ‘दहेज’ नाममा चेलिबेटी किनबेच सम्म हुन्छ। दहेज नल्याएकै कारण चेलीबेटी मार्ने, जिउँदै आगो लगाउने, पिट्ने जस्ता अनेक कष्ट, यातना दिइएका थुप्रै घटना हामीले सुनेका छौं, देखेका छौं।

दाइजोविरुद्ध कोही लागिहाले उसले समेत सास्ती पाउँछ। बिहेमा अनावश्यक रवाफिलो भोज-भतेर, नाचगान, रक्सी खाने, अनि झैझगडा गर्ने जस्ता क्रियाकलापका कारओ बिहे संस्कृतिभन्दा विकृति बन्दै गएको छ।

नातवाद झनै बढिरहेको छ। आफू, आफ्नो परिवार र नातागोता मात्र राम्रो भए पुग्छ अरूको ‘बाल मतलब’ भन्ने भावना बढ्दै गएको पाइन्छ।

नेतृत्वमा भएकालाई जनताले खबरदारी र उतरदायित्वको बोध गराउनुपर्नेमा आफ्ना-आफन्तका लागि अनुनय-विनय गर्ने परिपाटी थुप्रिदैं छ।

चुनावबेला विभिन्न प्रलोभनमा परेर असक्षम नेतृत्व चुन्ने प्रवृत्ति उत्तिकै छ।

देश र समाज सेवामा लाग्नुपर्छ भन्ने सोच कम छ।

कुनै पनि ठाउँको उन्नति र अधोगतिमा त्यहाँको राजनीतिले ठूलो भूमिका खेल्छ। राजनीतिमार्फत जनताको सेवा गर्ने हो र पेसा होइन। राजनीतिकर्मी सेवक हुन्, शासक होइनन्। हाम्रो संविधानमै लेखिएको छ -नेपाली नागरिक सार्वभौम सम्पन्न छन् अर्थात् जनताको सर्वोच्चता संविधानले स्वीकार गरेको छ। तर, त्यही संविधान अधिनमा रही बनेका राजनीतिक दल जनभावना लत्याएर आफ्ना स्वार्थ पूरा गर्न तल्लीन छन्।

मधेसी हितका निम्ति भन्दै दर्ता भएका राजनीतिक दल तथा मधेसका ‘मसिहा’ भनाउँदा आफ्नाको मात्र इच्छा-आकंक्षा पूर्ति गर्न तँछाड-मछाड गर्दैछन्। कुर्सी र सत्ताका लागि मधेसीको भावनासँग खेलवाड गरेर विदेशीको कठपुतली हुने धेरै छन्।

मधेस, पहाड, हिमाल जोड्नुको सट्टा फुट पैदा गराएर दूरी बढाउन सक्रिय छन्। मधेसवादी दलका प्रतिनिधी उच्च ओहदामा पुग्न सफल भए पनि मधेस र त्यहाँका जनताको जीवनस्तर उकास्न सकेका छैनन्। जनतका लागि झुपडी बनाउन सकेका छैनन्, बाढीमा डुबिराख्दा पनि राहत समेत दिन सकेका छैनन्।

विभिन्न ठाउँबाट पुगेका राहत वितरणमा पनि विभिन्न निहुँ झिकेर समस्या खडा गर्छन्। चुनावबेला भोट पाउन प्रलोभन देखाउन घर-घर पुग्ने र जितेपछि मुख पनि नदेखाउने गर्छन्।

स्थानीय भाषा संरक्षणमा त झनै कमजोर छन् मधेसवादी दल।

सरकार भनेको जनताको अभिभावक हो। देश विकास गर्न उसले बजेट सबै ठाउँमा बाँड्ने मात्र हैन त्यसको सही सदुपयोग भए-नभएको अनुगमन गर्ने निकाय पनि हो। कुनै पनि ठाउँको प्रगति या दुर्गतिमा सामाजिक, राजनीतिक, भौगोलिक कारण सहायक हुन्छन् र सरकारको भूमिका प्रमुख हुन्छ। सरकारले अरूलाई दोष लगाएर उम्किन पाउँदैन।

मधेसमै सरकारको बलियो जिम्मेवारी हुँदा अवस्था सुधारिएको र जनताले खुसी महसुस गरेको पुष्टि हुन्छ एसपी रमेश खरेलको कार्यकालमा वीरगन्जमा भएको प्रगतिबाट।

मधेस उन्नतिका लागि सरकारले जुन रूपमा जनभावना अनुरुप इमान्दारीका साथ हस्तक्षेपकारी एवं जिम्मेवारीपूर्ण दूरदर्शी भूमिका खेल्नुपर्छ। त्यो नहुनु पनि मधेस पछाडि पर्नुको कारण हो।

हरेक समस्याको सही कारण पहिल्याउन सके समाधान पनि हुन्छ। त्यसैले मधेस पछाडि पर्नुका मुख्य कारण प्रस्ट छन्। मधेसका यी समस्यामा गम्भीर भएर विकास र समृद्धि नै सिंगो मुद्दा बनाउँदै काम गर्ने हो भने विकास सम्भव छ। समाजमा विद्यमान कुसंस्कार हटाउदै सुसंस्कृत राजनीतिको माध्यमबाट सरकारको मद्दत लिई अगाडि बढ्ने हो भने मधेस समृद्धिको पथमा हिँड्न धेरै समय लाग्दैन। र, यो अहिलेको माग हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.