बिपीले गिरिजाप्रसादलाई सोध्नुभयो– तिम्रो कुनै पनि सम्बन्ध विश्वासबाट सुरु हुन्छ कि शंकाबाट?


परशुनारायण चौधरी चार/पाँच दिनअघि मात्र पञ्चायत पस्नुभएको थियो। आफ्ना केही साथीहरूका साथ उहाँले निकालेको वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ राख्नुभएको थियो।

जनमत संग्रह ताकाको प्रचार क्रममा बिपी कोइरालाले बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नुभएको थियो। यस्तो मानिस सुटुक्क पञ्चायत पसेको सन्दर्भमा बिपीको रोजाईका बारेमा पनि प्रश्न उठेको थियो।

परशुजीको पलायनका सम्बन्धमा बिपीको प्रतिक्रिया पनि जोशिलो र आलोचनात्मक थिएन। ‘नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन,’ यही थियो बिपीको प्रतिक्रिया।

आजभोलि गरिने जस्तो तथानाम गाली गरेर उहाँले केही भन्नु भएन। वा, भित्र-भित्र कुरा मिलाएर गएका हुन् कि? यस्तो आशंका गर्ने भने केही थिए।

डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर सिंह- यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बिपीका बडो नजिक थिए। सहकर्मीको रोजाईमा बिपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो।

बिपी १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किँदा परशुनारायण र गिरिजा बाबु दुवै जनालाई पटना-काठमाडौंको हवाइजहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो।

यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो। यसबारे पछि फेरि लेखौंला। यसरी एकैपटक दुई जना महामन्त्री भएको सायद गिरिजा बाबुलाई त्यति मनपरेको थिएन क्यार!

त्यस साँझ चाबहिल मित्रपार्कको बिपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो। परशुजीको पलायनपछि शेख साहेबले बिपीप्रति दरो भरोसा जनाउनुभएको थियो। खाना खाने क्रमको अन्त्यमा बिपीले रूचिपूर्वक खीर खाँदै गर्दा चक्रजी (चक्र बाँस्तोला) ले कुरा उठाई हाल्नुभयो। यो कुरा गिरिजा बाबुको पनि रूचिको कुरा थियो। त्यसैले बिपीले यसको जवाफ नपन्छाउनु होस् भनेर गिरिजा बाबुले चक्रजी तिर उन्मुख हुँदै जिज्ञासा गर्नुभयो- के भन्नु भयो रे चक्रजी?

बिपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, वीरेन्द्र दाहाल र म, हामी सबै चक्रजी तिर उन्मुख भयौं। चक्रजी बिपीसँग सदैव निर्भिक हुनुहुन्थ्यो, गिरिजा बाबु सदैब थिचिएको!

चक्रजीले भन्नुभयो- हैन सान्दाजु, परशुनारायणलाई त तपाईंले निकै पत्याउनुभएको थियो। उनले धोका दिए। तपाईंलाई शंका थिएन? के पहिलेदेखि नै उनीप्रति तपाईंको विश्वास अडिग थियो र?

बिपीले चक्रजीलाई भन्दापनि गिरिजा बाबुतर्फ हेर्दै सोध्नुभयो- गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट सुरू हुन्छ कि आशंकाबाट? गिरिजा बाबुले संकोच मान्दै भन्नुभयो- म त लामो समयसम्म मानिसको परख गर्छु। सुरूमा त शंका गरिरहन्छु। ‘परफेक्ट’ देखिएपछि मात्र विश्वास गर्छु।

बिपीले सोध्नु भयो- ओखलढुंगा काण्डमा के भयो? के कारणले नख्खुबाट झिकिएर लीला, ठगीहरू मारिए? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन्?

बिपीले थप्नुभयो- सोच्दै गर्नू। म त विश्वासलाई नै आधार मान्छु। पत्यार-अपत्यार, विश्वास-अविश्वास, भरोषा र धोका निरन्तर र चिरस्थायी कहाँ हुन्छ र? यो सर्वकालिन हुँदैन। मानिसको सोचलाई तत्कालिन परिस्थितिले निर्धारण गर्छ। तत्कालिन परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई व्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारण गर्छ। यसर्थ, कोहीसँगको सम्बन्ध सुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भइरहँदैन।

खाना खान बसेका सबैले विस्तारै खीर खाइसकेका थिए। मन मिठो भएको थियो। तर, यस संवादले सबैलाई, खासगरी बिपीबाहेक हामीलाई उद्वेलित पारेको थियो।

मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बिपीले जे जवाफ दिनुभयो, मेरो लागि आज पनि प्रश्नरहित नै छ!

हो त, कोहीसँगको सम्बन्ध सुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भइरहँदैन। कोही कहाँ रहन्छ, कोही कहाँ पुग्छ। तर, ज्ञान भने सर्वकालिन नै हुन्छ।

जीवनका केही थोरै काल उहाँको वरपर बित्यो। त्यसमा म गर्व गर्छु।

आज साउन ६ गते। बिपी स्मृति दिवसमा उहाँलाई हार्दिक श्रद्धाञ्जली।

(गुप्ताको फेसबुकबाट साभार)

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.