चन्द्रमा खुल्नुअघिको अपरान्ह

पीपलबोट डटकम


मैले बिहान एउटा जेन कविता पढेको थिएँ। त्यसको पहिलो पंक्ति उनलाई अंग्रेजीमै सुनाएँ, जसको अर्थ थियो– बितेको समयको सवभन्दा राम्रो पक्ष के हो भने त्यो बितिसक्यो।

नयाँ वर्षको पूर्व सन्ध्याताक केही घन्टामा पूर्ण चन्द्रमा उदाउने अपरान्ह थियो।

उनी हाँसिन्। भुक्क परेका ठूला चश्मा लगाएकी केटी मेरो अढेसमा थिइन्। हामी पच्चीस हजार फिटमाथि उडिरहेका थियौँ। उनी झ्यालछेउको सीटमा थिइन्। जबकि त्यो मेरो सीट थियो।

सीटको वायाँदायाँ सधैँ झुक्किने भएकाले मैले ढोकामा पस्नासाथ विमान पारिचारिकालाई बोर्डिङ पासमा अंकित आफ्नो नम्बर देखाएर सोधेको थिएँ। उनले भनेअनुसार झ्यालछेउको सीटमा म बस्नुपथ्र्यो। बस्छु भनेरै ताकिसकेको थिएँ। त्यहाँ एउटी केटी पहिल्यै उपरखुट्टी लाइसकेकी रहिछन्।

बास बसिसकेका चरालाई उडाउने रहर ममा कहिल्यै जागेन।

माथिल्लो खापामा झोला थन्काएर आफ्नो आसन ग्रहण गरेपछि मैले उनलाई पुलुक्क हेरेँ। उनी भुक्क परेका ठूला चश्माबाट एकोहोरो अगाडि हेरिरहेकी थिइन्। त्यहाँ टेलिभिजन थिएन, न कुनै ग्याजेट वा कुनै उडान पत्रिका। एकोहोरो हेरिरहनु भनेको दोहोरो सोचिरहनु पनि त हुनसक्थ्यो।

मैले झ्यालबाहिर हेर्ने बहाना गर्दा उनका दुबै घुँडा खुल्ने गरी च्यातिएको पाइन्ट देखेँ। उध्रिएको कथम्कदाचित होइन। च्यात्नु पनि डिजाइन हो। च्यात्नु पनि परम्परागत सोच र संस्कारलाई चेतावनी दिनु हो। यस्तै त होला त्यस्तो डिजाइनको मनशाय।

त्यो डिजाइनबाट आँखा अनायास अन्यत्रै लगिहाल्नुअघि विमान पारिचारिकाको उद्घोषण आयो। सीटपेटी बाँध्नुपर्ने भयो। मैले आफ्नो पेटीको टुप्पो घुसाउने ठाउँ खोज्दा दुईटा फेला परे। उनलाई सोधेँ, ‘यो तपाईँको हो कि ?’

हाम्रो बोलचाल त्यही पेटीको टुप्पाबाट सुरू भयो।

हाई, हेलो, हाउ आर यू… ? अंग्रेजी र नेपाली अड्कल्दै, बोल्दै हाम्रो चिनजान, वार्तालाप बढ्ने भयो।

‘नेपालगञ्ज जाँदै हुनुहुन्छ ?’ मैले सोधेँ।

‘सुर्खेत,’ भुक्क परेका ठूला चश्माभित्रका आँखा उज्याला पार्दै उनले भनिन्।

‘घरै त्यहीँ ?’ मैले सोधेँ। म कति जान्ने मान्छे हगि ? कति पूर्वाग्रही। कहिलेकाहीँ लाग्छ, इतिहासका सम्पूर्ण स्वप्नदोषहरू बेहोर्न म अभिशप्त छु। के कुनै केटी आज एक्लै आफ्नो घर नभएको ठाउँ घुम्न जान सक्दिन ?

सोध्नासाथ पछुताएँ। उनको ओठका केस्राले लय खोज्दै अलिकति व्यङ्ग्य मिसाएर भनेको हुनुपर्छ, ‘कार्यक्रम छ।’

घुँडामा ठ्याक्क पाइन्ट च्यात्तिएको डिजाइन भएकी केटी भुक्क परेका ठूला चश्माभित्रबाट मेरो परीक्षा लिन थालिन्।

‘तपाईँ नि ?’

‘नेपालगञ्जसम्म,’

‘कुनै काम ?’

‘साहित्य महोत्सव छ,’ मैले भनेँ।

‘के गर्नुहुन्छ ?’

‘लेख्छु,’

‘वाह,’ उनले भनिन्, ‘मलाई लाग्छ पत्रकारहरू धेरै जान्नेबुझ्ने हुन्छन्।’

‘जान्न खोज्ने हुन्छन्,’ मैले भनेँ, ‘बुझ्छन् बुझ्दैनन् बेग्लै कुरा हो।’

‘कत्ति कुरा आउँछ नि त उनीहरूलाई,’

‘कत्ति कुरा सोध्नुपर्ने हुन्छ,’ मैले भनेँ, ‘तर धेरैजसो हामी सिल्ली कुरा सोधेरै बिताउँछौँ।’

‘किताब लेख्नुहुन्छ ?’

‘हो, नयाँ लेख्न संघर्ष गर्दैछु’

‘तपाईँले लेखेको तपाईँको फेभरेट किताब कुन हो ?’

‘कत्ति न लेख्या छु र मैले ? जम्मा दुईटा त हो।’

‘जे भए पनि,’

‘मेरो पहिलो किताबको नाम सुन्नुभएको होला कि ?’

‘के हो ?’

‘पल्पसा क्याफे,’

‘ओ माई गड्, त्यो तपाईँको किताब हो ? त्यो त धेरै प्रसिद्ध छ,’ उनले भनिन्, ‘मैले आधामात्रै पढेकी छु।’

‘आधा ?’

‘मेरो साथीले वसन्तपुर, झोँछेमा पल्पसा क्याफे नामकै रेष्टुरेन्ट खोलेको छ नि त,’ उनले भनिन्, ‘त्यही भएर पढेकी।’

‘त्यही भएर आधा पढ्नुभएको ?’ मैले हाँस्दै सोधेँ।

‘अब पूरै पढ्छु,’ उनले भनिन्।

‘तपाईँको नाम ?’

‘दीक्षा,’

‘के गर्नुहुन्छ ?’

‘गाउँछु,’

‘वाह,’

‘सुर्खेतमा शो छ,’

‘भोलि ?’

‘आजै,’

‘कतिखेर ?’

‘म पुग्नासाथ सुरू हुन्छ,’

‘धेरै बिजी हुनुहुन्छ जस्तो छ,’

‘हिजै पुग्नुपथ्र्यो, फ्लाइट मिस भयो,’ उनले भनिन्।

‘हुस्सू भएर ?’

‘ट्राफिक हेर्नोस्न काठमाडौंमा,’ उनले भनिन्, ‘चार ठाउँमा ठूल्ठूला जाम पर्नासाथ म ढिलो एयरपोर्ट पुगेँ। ब्यान्ड सदस्यहरू पनि नगई बसेछन्।’

‘तपाईँको ब्यान्ड नै छ ?’

‘मेरा गीतहरू सुन्नुभएको छैन होला,’

‘झ्वाट्ट याद भएन, सरी,’

उनले एकाधको बोल सुनाइन् मैले कपाल कन्याएजस्तो गरेपछि उनले खिप्न पाइन्, ‘तपाईँ पुराना गीतहरू मात्रै सुन्नुहुन्छ होला।’

‘तपाईँ आफैँ लेख्ने, संगीत गर्ने, गाउने गर्नुहुन्छ ?’

‘हो,’ उनले भनिन्, ‘तर आफ्ना गीतमात्रै गाएर शो चल्दैन, अरूका चलेका गीत पनि गाउँछु।’

‘सुन साईँली टाइपका ?’

‘हो, सुन्नुहुँदो रहेछ त,’

‘आज पनि यो गीत गाउनुहुन्छ त ?’

‘दर्शक स्रोतालाई खुशी पार्ने हाम्रो काम हो,’ उनले भनिन्, ‘अहिले चलेका गीत नगाए त कसैले बोलाउँदैनन्।’

‘तपाईँलाई कहाँ बढी बोलाउँछन् ?’

‘देशैभरि, दुई वर्ष भयो व्यावसायिक रूपमा गाउन थालेको। धेरै ठाउँ पुगिसकेँ।’

‘दुई वर्षमै ?’

‘गत छ महिनामा पोखरामा मात्रै एघार वटा शो गरेँ,’

‘एघार वटा ?’

‘कुनै औपचारिक कार्यक्रम हुन्छ, कतै व्यापारिक समारोह हुन्छ, कतै रेष्टुरेन्ट उद्घाटन हुन्छ, कुनै नयाँ सामान प्रवर्धन गर्नुपर्ने हुन्छ, कुनै सडक महोत्सव वा त्यस्तै केही न केही भइरहेको हुन्छ।’

‘ट्रयाकमा गाउनुहुन्छ ?’

‘होइन, म ब्यान्ड सदस्यहरू लिएरै हिँड्छु, लाइभ पर्फम गर्ने हो,’

‘वाह, गजव,’ मैले भनेँ, ‘यसरी बाहिर गाउँदै हिँड्ने केटीहरू आज नेपालमा कति होलान् ?’

‘एक दुईजना मात्रै,’

‘किन यति थोरै होलान् जस्तो लाग्छ तपाईँलाई ?’

‘सो सा इ टी,’ उनले लेघ्रो तान्दै मलाई फेरि त्यही भुक्क परेका चश्माभित्रबाट हाँसेका आँखाले हेर्दै भनिन्। ‘हाम्रो सोसाइटी…..।’

‘त्यही त,’

‘म भाग्यमानी हुँ,’ उनले भनिन्, ‘ड्याडी ममीले प्रोत्साहित गर्नुभयो। उहाँहरू संगीत बुझ्ने अनि आफैँ शिक्षक भएर पनि होला।’

‘सबैलाई त्यो सुबिधा कहाँ ?’

‘छोरीलाई एक्लै बाहिर जान दिने ? गीत गाउन ? यस्ता नानाथरी प्रश्न गर्दैनन् त ?’ उनले भनिन्, ‘हाम्रो समाज कहाँ छ तपाईँलाई थाहै होला।’

‘केही परिवर्तन त विस्तारै आयो पनि होला,’ मैले भनेँ अनि त्यही बेला त्यही बिहान पढेको त्यो जेन कविता उनलाई सुनाइदिएँ। उनले मखमली मुस्कान फिँजाउन त्यही भक्क परेका ठूला चश्माभित्रका आँखालाई माध्यम बनाइन्।

विमान पारिचारिकाले पानीका लागि प्लाष्टिकको कप दिएपछि बदामको प्याकेट र कागजी रूमाल पनि बाँड्दै आइन्। आँत हरर भएकाले मैले पानी थपेर पिएँ। उनले बदामको प्याकेट दाँतमा राखेर किटिक्क पारिन् र तिनै निपूण दाँतले खोस्रेको प्वालबाट नूनिला दाना निकाल्दै खान थालिन्।

भोक त मलाई पनि लागेको थियो। तर प्याकेट खोल्न सकिन। त्यही बिहान भान्छामा कागती काट्न खोज्दा वायाँ हात चक्कूले काट्नाले रगत रोक्न सानो पट्टी बेरिरहेको थिएँ। उनले मेरो मर्का सायद कर्के दृष्टिले त्यही चश्माबाट देखिरहेको हुनुपथ्र्यो।

‘मे आइ ..?’ उनले हात बढाइन्।

‘स्योर, प्लिज,’ मैले भनेँ।

उनले भुक्क परेका ठूला चश्माबाट आँखा उज्याला पार्दै मेरो बदामको प्याकेट आफ्नो हातमा सारिन् र मतिर हेर्दै दाँतले किटिक्क पारिदिऊँ भन्ने ईशारा गरिन्।

दाँतले किटिक्क खोलेर उनले दिएको बदाम चपाउन थालेँ। सोधेँ, ‘तपाईँलाई गीतपछि धून फुर्छ कि धूनपछि गीत ?’

‘कहिले गीत, कहिले धून,’

‘गीत कसरी फुर्छ नि ?’

‘तपाईँ पनि लेख्ने मान्छे,’ उनले भनिन्, ‘कति खेर कसरी के फुर्छ तपाईँलाई पनि त अनुभव होला।’

केही बेर हाम्रा दाँतहरू बदामका दानाको निहुँमा बाझाबाझ गरिरहे।

‘संगीत पढ्नुभयो ?’

‘हो, सानैदेखि रूचि थियो,’

‘तपाईँको खास सपना चाहिँ के छ ?’

‘मन्टेश्वरी खोल्न चाहन्छु,’

‘मन्टेश्वरी ?’

‘त्यस्तो प्रि– स्कूल जसले बच्चाहरूलाई आत्मविश्वास देओस्,’ उनले भनिन्, ‘हेर्नोस् न नेपाली बालबालिकाहरूको कन्फिडेन्सको लेभल……। विदेशी बच्चाहरू कस्तो परिपक्व अभिनय गर्छन्, टेलिभिजन शोहरूमा देख्नुहुन्छ होला नि कसरी खरररर बोल्न सक्छन्, आफ्नो कला कसरी नहिच्किचाइ देखाउन सक्छन्।’

‘त्यही त,’ मैले भनेँ, ‘हाम्रा बच्चाहरू किन यति लजालु, संकोची छन् मैले बुझ्न सकेको छैन।’

‘सानैदेखि वातावरण कस्तो छ त्यसमा भरपर्छ,’ उनले भनिन्, ‘सानो स्कूलबाटै ठूलो काम गर्न सकिन्छ जस्तो लाग्छ। मेरो त्यो एउटा धोको छ।’

उनले ब्याचलर पढाइ सकेपछि गायनमा पूर्णरूपमा लाग्नुअघि सोचेकी रहिछन्, त्यो। अब समय मिलाएर माष्टर्स सक्ने योजना छ रे। विदेशमा केही शोका लागि कुरा पनि आइरहेको छ।

उनले सोधिन्, ‘तपाईँ फेसबुकमा हुनुहुन्छ ?’

‘तपाईँ नि,’

उनले भनिन्, ‘एकाउन्ट पनि छ, पेज पनि। म्यानेजरले ह्यान्डल गर्छन्, म पनि चेक गर्छु।’

नाम के छ नि फेसबुकमा ?

‘दीक्षा जे थापा,’

त्यसो भए त सेल्फी खिच्नुप¥यो भनेर मैले मोबाइल निकालेँ। प्रकाश नमिलेपछि उनले मेरो हातबाट तानेर झ्यालतिर लगिन्। सेल्फी लिने उनको हात पोख्त भएको थाहा पाउन बेर लागेन। उनले तीनवटा भिन्न कोणबाट हामी दुईजनाका तीनवटा पोज लिइन्। तैविसेक ठीकै आयो त्यो मधुरो उज्यालोमा पनि।

मैले मोबाइल फिर्ता पाएपछि भर्खर खिचिएका फोटो हेर्दा तीनवटै पोजमा उनको एउटा आँखा बन्द थियो। भक्क परेका ठूला चश्माभित्र पनि उनले आँखाको कलाकारिता गरिसकेकी रहिछन्। त्यो एउटा स्टाइल थियो। नत्र त मस्त खुलेका ओठ र मदमस्त मुस्कान छरिरहेका आँखामध्ये एउटा झिमिक्क त गर्दैन नि।

जहाज विस्तारै अवतरण गर्ने सूचना आउँदै थियो। पाइलटले बोले। उनले बोलेको कहाँ बुझिन्थ्यो र ? ‘मलाई त यस्तो उद्घोषण मनै पर्दैन,’ उनले भनिन्, ‘झ्याऊ मानेर बोल्या जस्तो गर्छन्।’

‘हामीसँग खुशी नभएजस्तो, हगि ?’

‘हामीले केही बिगारिदिएजस्तो,’

‘त्यही त,’ हाम्रो ससानो हाँसो त्यही वरपर रयलपयल भइरह्यो।

पचपन्न मिनेट लामो समय होइन रहेछ। उड्नासाथ ओर्लिएजस्तो भान पार्न समथर भूमि, जंगल, पर ससाना पहाडहरू देखिन थाले। विमान होचिँदै आएपछि झ्यालबाट हामीले मिलेर दृश्यावलोकन ग¥यौँ।

‘यो तपाईँको डिजाइन चश्मा ?’ मैले सोधेँ।

‘कहाँ पाएर हुनु ?’ उनले ओठ झन् उघार्दै भनिन्, ‘माइनस तीन छ, केही पनि देख्दिन।’

विमान अडिएपछि बाहिरको तापक्रम ३२ डिग्री सेल्सियस भन्ने जानकारी दिने पारिचारिकाले पछाडिका सीटका यात्रीलाई प्राथमिकता दिन अनुरोध गरिन्।

मैले सीटमाथिको खापाबाट झोला निकाल्न खोज्दा उनको केही सामान छ कि सोधेँ। उनले ‘आफ्नो त ठूलो सामान लगेजमै छ’ भनिन्।

‘ठूलो सामान ?’

‘सुटकेश छ,’ उनले भनिन्, ‘दुई दिनका लागि भए पनि केटी मान्छेका कति धेरै फेरफार हुन्छन् नि त।’

म आफ्नो हलुङ्गो ढाडे झोला लिएर ओर्लिएँ। उनी सरासर सामान निकाल्ने ठाउँतिर पुगिन् र स्टाफलाई गितार र अरू वाद्ययन्त्र देखभाल गर्न आग्रह गरिन्। मैले सुर्खेतमा उनको त्यही साँझको प्रस्तुतिका लागि शुभयात्रा र शुभकामना दिनुपर्ने थियो। हेर्दाहेर्दै हालहुलमा हामी एकार्काबाट उछिट्टिएछौँ।

एक घन्टाको मित्रवत् संगत कुनै औपचारिक अभिवादन विना टुङ्गिएको थियो। मानौँ हाम्रा वर्षहरू यसैगरी सुटुक्क आउँछन् र फ्याट्ट विदा हुनेगर्छन्। गएँ है भन्न पनि भ्याउँदैनन्।

म साहित्य महोत्सवस्थलमा साथीहरूसँग मिसिएँ। साँझ अवेरसम्म रमझम ग¥यौँ। रमझमस्थलबाट होटलतिर फर्किन लाग्दा आकाश पूरै नीलो थियो। पूर्णिमाको रात परेकाले चन्द्रमा छुन सकिएला झैँ लाग्ने दूरिमा ढक्क हाम्रै अगाडि अडिएको थियो। काठमाडौंबाट चन्द्रमा पहेँलो देखियो भनेर सामाजिक सञ्जाल छाउन थालेको बेला हामी भने दागसहितको चन्द्रमा सकल देखिरहेका थियौँ।

दिउँसो सहयात्रा गर्ने व्यस्ततम् गायिकासँगको कुराकानी मैले राति साथीहरूलाई सुनाएँ। देशमा भित्रभित्रै बजारले जे बदलाव ल्याइरहेको छ त्यो सायद हामीले पत्तो पाइरहेका छैनौँ। बजारले आफ्नै बान्की बनाइरहेको छ। पानी जस्तै। जता सजिलो छ उतै बजार बगिरहेको छ र कति त सीमा पनि भत्काइरहेको छ। असिम सागरको कविता जस्तो– ‘नदी आफैँ बग्न पाएन भने अरूलाई बगाउँछ।’

बजारसँगै लहरिरहेकी तर मैले नसुनेकी ती गायिकासँगको संक्षिप्त संलापका सन्देशहरू के हुन सक्लान् ? साहित्यमार्फत समाज चियाउन तल्लीन साथीहरूको ध्यान खिच्न म खोजिरहेको थिएँ।

समयमात्र बितेको हुने रहेछ। समय बितेपछि सम्झना सुरू हुने रहेछ।

त्यसो भए, मैले केही घण्टाअघि उनलाई सुनाएको जेन कविताको पहिलो हरफ नै सायद् पूर्ण सही होइन। बितेको समयको सवभन्दा राम्रो पक्ष के हो भने त्यो बितिसकेको हुँदैन रहेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.