कुरा सुरू गरौं एक जना माओवादी युवाको प्रसंगबाट। ऊ नाताले मेरो भतिज पर्छ।
निकै समय अगाडिको कुरा हो। सानै उमेरमा ऊ माओवादी भयो र युद्धमा हिँड्यो। त्यसपछि लगभग ४ वर्ष ऊसँग मेरो भेट भएन। जब देशमा शान्तिवार्ता भयो र २०६२/६३ सालको आन्दोलन सकियो, ऊ एक दिन टुप्लुक्क मेरो घर आइपुग्यो।
युद्धमा भाग लिएर आएको ऊ निकै जोसमा थियो, मानौं संसार जितेर फर्किएको छ। ऊ उत्साहित त थियो नै, विजयको उन्मादमा पनि थियो। उसका खुट्टा भुइँमा थिएनन्!
उसले आफू लडेको युद्धको कथा सुनाउँदै भन्यो, 'त्यो साधारण युद्ध थिएन काका, त्यो न्यायप्रेमी नेपाली जनता र देशी–विदेशी प्रतिक्रियावादीहरू बीचको भीषण युद्ध थियो। एकातिर थिए विश्वभरका प्रतिक्रियावादीहरू र अर्कोतिर थियौं हामी। अन्ततः हामीले जित्यौं।'
त्यस दिन ऊ यसरी बोल्दै थियो, मानौं त्यो जितको नायक ऊ स्वयं हो।
उसले मलाई आफ्ना भूमिगत दिनका अनेक किस्सा सुनायो।
अनि आशावादी हुँदै भन्यो, 'अब देशमा समाजवाद आउँछ। माओवादी सरकार बन्छ। चीन, भियतनाम र उत्तर कोरियाको जस्तै हाम्रा कमरेडहरू मन्त्री हुन्छन्। प्रचण्ड (पुष्पकमल दाहाल) प्रधानमन्त्री हुन्छन्। नयाँ युग आउँछ।'
म उसको कुरा सुनिरहेँ र मुस्कुराइरहेँ।
सायद, मेरो मुस्कानले उसलाई अझै उत्साहित गर्यो, उसले ममाथि दबाब बढाउँदै भन्यो, 'देशमा परिवर्तनको यत्रो आँधी चल्दा तपाईं कहाँ हुनुहुन्थ्यो काका? त्यही नाथे घर गृहस्थी, त्यही बुर्जुवा पठनपाठन? त्यही दुई–चारपैसे बन्द–व्यापार?'
मैले नरम हुँदै भनेँ, 'हो, म त यही नाथे गृहस्थीमा फसेँ भतिज।'
शब्दहरूमा धार लगाउँदै उसले थप्यो, 'यही त तपाईंको दुर्भाग्य हो काका! इतिहासको यति ठूलो संक्रमणमा तपाईंको कुनै भूमिका थिएन। हामी युद्धको मोर्चामा लडिरहँदा, तपाईंहरू किनारमा हुनुहुन्थ्यो। यो निकै अफसोचको कुरा हो!'
मैले उसको भनाइमाथि थोरै व्यंग्य गर्दै भनेँ, 'इतिहासको यो वेगमा तिमी आकासमा थियौ, म धर्तीमा। मान्छे आकाश र धर्तीमा हुनुको अर्थ आज तिमीले जसरी लगाउँदै छौ, भोलि त्यो फरक हुन सक्छ भतिज। तर पनि तिमीलाई बधाइ छ। जमिनमा आइपुगेका छौ, खुट्टा राम्रोसँग टेक्नू।'
मेरो पछिल्लो कुरा उसले कति बुझ्यो थाहा छैन। यद्यपि, ऊ मख्ख पर्यो र संसार जितेझैं प्रफुल्ल मुखमुद्रामा मसँग हात मिलाउँदै उठ्यो।
हिँड्दाहिँड्दै उसले भन्यो, 'अब तपाईं माओवादी बन्नुहोस् काका। आवश्यक परे म तपाईंको सिफारिस गरौंला।'
ऊ मसँग बिदा भएर हिँड्यो। हिँड्दा ऊ विजयी घोडाझैं दृढताका साथ खुट्टा चलाउँदै थियो।
त्यसको लगभग पाँच महिनापछि ऊ फेरि मलाई भेट्न आयो। यसपालि ऊ त्यति धेरै उत्साहित थिएन जति पहिलो पटक भेट्दा थियो।
मैले सोधेँ, 'के गर्दैछौ?'
उसले भन्यो, 'खुला राजनीति निकै कठिन होला जस्तो छ काका। नेताहरू कतै नबिग्रिऊन्, खबरदारी गर्दैछौं।'
माओवादीहरू खुल्दै थिए। उनीहरूको रहस्य र रोमाञ्चकता सकिँदै थियो। उनीहरूमाथि चोक र चियापसलमा अनेक प्रश्नहरू उठ्न थालेका थिए। र, ती प्रश्नहरूसँग साक्षात्कार हुन उनीहरूलाई कठिन हुँदै थियो।
अर्थात, मेरो भतिजको राजनीति कल्पनाको रोमाञ्चक संसारबाट भुइँका जटिलताहरूसँग ठोक्किन आइपुगेको थियो। पार्टीभित्र बढ्दै गएको आन्तरिक प्रतिस्पर्धाले पनि ऊ थोरै अलमल र अप्ठ्यारोमा थियो सायद!
'अलमलमा नपर भतिज, आफ्नो काममा इमानदार बनेर अगाडि बढ,' मैले नमागेको सल्लाह दिएँ।
उसले भन्यो, 'हामी त इमानदारिताका साथ नै काम गर्दैछौं काका। तर जनतालाई धोका नहोस् र नेताहरूले बलिदानलाई अवमूल्यन नगरून्। त्यसैले पार्टीभित्र पनि खबरदारी आवश्यक छ र बाहिर पनि। म अहिले त्यसैमा लागेको छु।'
यो पटक ऊ पहिलेभन्दा जिम्मेवार देखिएको थियो।
तेस्रो पटकको भेटमा भने ऊ अलिक निराश देखियो। भर्खरै काठमाडौं पुगेर फर्किएको ऊ, नेताहरूको शान, शौकत देखेर आश्चर्यमा थियो। चिल्ला गाडी, लश्करै सुरक्षादस्ता, नयाँ नयाँ मान्छेको भिडभाड।
प्रचण्डलाई भेट्नै चार दिन कुर्नुपरेको सुनाउँदै उसले भन्यो, 'म त शुभ संकेत देख्दिनँ काका।'
खासमा, माओवादी खुला भएको लगभग दस महिनाभित्र उसले पहिले कहिल्यै नभोगेको परिस्थितिसँग साक्षात्कार गर्नुपरेको थियो।
यता गाउँमा पहिलेजस्तो क्रान्तिको रबाफ थिएन। उता सहरमा आफ्नै नेताहरूसँग भेट्न कठिन हुँदै थियो।
आफैले लडेर ल्याएको पछिल्लो उपलब्धिको छेउकुनो के हो, उसले भेउ पाउन छाडेको थियो। आफ्नै जस्तो लाग्ने प्रचण्ड उसका लागि भेट्नै नसकिने पराइ भएका थिए।
नयाँ नयाँ मान्छेको भिडमा ऊ हराँउदै थियो।
त्यो दिन मसँग बिदा हुँदै गर्दा उसले भन्यो, 'घरबाट बिहे गर्ने दबाब आएको छ।'
मैले भनेँ, 'विवाह गर। गृहस्थी बसाऊ। कमाउन थाल। त्यो राम्रो हुन्छ।'
तर मेरो कुरा उसलाई जँचेन।
ऊ ठूला ठूला कुरा गर्न जान्दथ्यो — देशभरका आमाको चिन्ता गर्थ्यो, तर आफ्नै आमा दमको बिमारी भएको उसलाई थाहा थिएन। ऊ देश स्वर्ग बनाउने कुरा गर्थ्यो, तर आफ्नै घरको छानो चुहिएको उसलाई हेक्का थिएन। ऊ लाखौं मान्छेलाई रोजगारी दिने कुरा गर्थ्यो तर आफै बेरोजगार थियो। रातो झन्डा काँधमा बोकेर कृषिक्रान्ति गर्न हिँडेको उसलाई आफ्नै बारी बाँझो भएको थाहा थिएन। ऊ बातबातमा समाजवाद ल्याउने कुरा गर्थ्यो तर त्यसको रङ कस्तो हुन्छ, थाहा थिएन।
उसको जीवन एउटा विशाल भ्रमको संसारभित्र रूमलिइरहेको थियो।
त्यसपछिका केही महिना हामी आफ्नै धुनमा रह्यौं। त्यसबीच उसको विवाह भयो।
विवाहको लगभग एक महिनापछि एक दिन ऊ हुनहुनाउँदै मेरो घर आयो र भन्यो, 'मलाई जागिर खोजिदिनुपर्यो काका!'
समाजवाद ल्याउने उत्साह बोकर राजनीति गर्न हिँडेको एक नवयुवा ऊ, जसलाई केही अगाडिसम्म आफू इतिहासको नायक हुँ भन्ने र म त्यो इतिहासले किनारमा छाडेको एक बेकामे मनुवा हुँ भन्ने भ्रम थियो। समयको चक्रवातमा परेर ऊ आकाशबाट भुइँमा यसरी झरेको थियो, उसलाई धेरै कुरा उल्टोपाल्टो भएको थाहै थिएन।
उसकै भाषामा भन्दा, इतिहासको त्यो भीषण आँधीले उछिट्याएर किनारमा छाडेको एक नालायकसँग, इतिहासको नायक त्यो दिन जागिरको याचना गर्दै थियो। न त त्यो मेरा लागि गर्वको विषय थियो, न उसका लागि निराशाको विषय।
त्यो खासमा माओवादी विद्रोहमाथि उठेको ठूलो प्रश्न थियो, जुन विद्रोहलाई कुनै बेला ऊ आफूजति नै माया गर्थ्यो।
मैले भनेँ, 'हुन्छ म कोसिस गर्छु। मलाई तिम्रो सिभी देऊ।'
उसले सोध्यो, 'के हो सिभी भनेको?'
मैले भनेँ, 'तिम्रो योग्यता, अनुभव र क्षमताको विवरण।'
'त्यो त मसँग छैन।'
'के तिमी कम्प्युटर चलाउन जान्दछौं?'
'जान्दिनँ।'
'के तिमी लेखा राख्न जान्दछौ?'
'जान्दिनँ।'
'के तिमीसँग कुनै औपचारिक डिग्री छ?'
'छैन। मैले त फगत रातो किताब पढेको छु।'
'कुनै तालिम लिएका छौ?'
'बन्दुक चलाउन र लाठी घुमाउन आउँछ।'
'सीप के छ?'
'चन्दा उठाउन जान्दछु। दुश्मनका आँखा छलेर सेल्टरमा लुक्न आउँछ।'
मेरा प्रश्नहरू साधारण थिए, जुन कुरा उसलाई आउँदैन थियो। उसलाई त जनयुद्ध, जनक्रान्ति, जनवाद, समाजवाद र साम्यवाद आउँथ्यो। उसलाई साम्राज्यवाद, पुँजीवाद वा प्रतिक्रियावाद आउँथ्यो। तर गणित, इतिहास र भूगोल आउँदैन थियो। ठूलो ठूलो कुरा गरेर हिँडेको ऊसँग जीवनका साना कुरा छुटेका थिए।
मलाई लाग्यो — उसका लागि गतिलो जागिर पाउन सजिलो छैन।
तैपनि मैले भनेँ, 'म कोसिस गर्छु।'
त्यसको एक–दुई महिनापछि एक बिहान ऊ फेरि मलाई भेट्न आयो र भन्यो, 'मलाई काम देऊ काका।'
मैले सोधेँ, 'के काम गर्छौ?'
उसले भन्यो, 'रङ लगाउने काम गर्छु।'
देशलाई सप्तरंगी सपनाहरूले सजाउन कलिलै उमेरमा हिँडेको ऊ, त्यसपछि घर रंगाउने काममा लाग्यो। अलिक सुविस्तासँग कमाउन र गृहस्थी चलाउन थाल्यो। ऊ रङ लगाउने कामको ठेकेदार भयो।
ऊ त्यसपछि जमिनमा उभियो।
मुख्य कुरा— उसले आकाश धेरै टाढा छ भन्ने बुझ्यो। ऊ कल्पनाको चामत्कारिक उडानबाट वास्तविकताको धरातलमा आयो। मान्छे नै नबनी, महान बन्ने सपना देखेर बर्गेलिएको मेरो भतिज त्यसपछि मान्छे बन्ने प्रयत्नमा लाग्यो।
र, मान्छेलाई ईश्वर बनाउने प्रक्रियाबाट अलग भयो।
त्यो समयको एक जना नवयुवा जो समाजवाद आफैले ल्याएझैं गरेर आँधीसमान उत्साहित हुँदै पहिलो पटक मलाई भेट्न आएको थियो, जब जीवनको अपार सत्यसँग ठोक्किन आइपुग्यो, तब उसलाई थाहा भयो, त्यो क्रान्तिको त ऊ फगत एक मोहरा रहेछ। बादशाह अरू नै रहेछन्।
समयको झापड जब उसका गालामा परे, त्यसपछि उसले थाहा पायो — उसलाई जुन संसार आफैले जितेको घमण्ड थियो, त्यो संसार त उसले देखेको पनि रहेनछ। ऊ आफूलाई जुन परिवर्तनको चालक ठान्थ्यो, त्यो परिवर्तनभित्र उसको अस्तित्व फगत तिल बराबर रहेछ!
अहिले कतै हाम्रा जेनजी भाइबहिनीहरू पनि यस्तै भ्रमको सिकार त भइरहेका छैनन्?
गत भदौ २३ र २४ गते जुन आँधी उनीहरूको सामुन्नेबाट गयो, अवश्य नै त्यसको एक हिस्सेदार उनीहरू हुन्। किनभने, उनीहरू सडकमा थिए। उनीहरू संघर्षमा थिए। उनीहरूले नै त्यहाँ नारा लगाएका थिए। उनीहरूमाथि सरकारले लाठी हानेको थियो, गोली चलाएको थियो। र, त्यो आन्दोलनमा जो ढले र सहिद भए, ती उनीहरू नै थिए।
तर त्यसपछि जे भयो र भइरहेको छ, के त्यो उनीहरूको निर्णयमा भएको हो? उनीहरूको स्वामित्वमा भएको हो? उनीहरूको पहलमा भएको हो? अहिले जो मन्त्री छन्, के उनीहरू जेनजीहरूले बनाएका हुन्? फागुन २१ गते निर्वाचन हुने जुन निर्णय भयो, के त्यो उनीहरूको निर्णय हो?
उनीहरूलाई लाग्ला — सुशीला कार्कीलाई उनीहरूले नै प्रधानमन्त्री बनाएका हुन्।
के वास्तविकता त्यही हो?
यी प्रश्नहरू म कुनै 'कन्स्पिरेसी' को सिद्धान्त अनुसार गरिरहेको छैन। म मात्र यो भनिरहेको छु कि, आन्दोलनपछि जे भयो र जे भइरहेको छ, त्यसको निर्णायक जेनजी होइनन्। उनीहरू त आन्दोलनका फगत उत्प्रेरकहरू हुन्।
तर उनीहरू जे होइनन्, त्यो थाहा नहुनु, अथवा उनीहरू जे हुन्, त्यो पनि थाहा नहुनु हाम्रा जेनजी अगुवाहरूले (सबै होइन, केही) भोगिरहेको आजको भ्रमपूर्ण वास्तविकता हो। यस्तो वास्तविकता (भ्रम) जुन आजभन्दा लगभग २० वर्षअघि माओवादी हुँदा मेरो भतिजले भोगेको थियो।
अर्थात्, सबै कुरा जेनजीहरूले गरेजस्तो देखिनु, तर त्यस्तो केही पनि नहुनु नै आजको यथार्थ हो। जब हाम्रा जेनजी अगुवाहरूले यो यथार्थ थाहा पाउँछन्, त्यसपछि मात्र उनीहरूको असली राजनीति सुरू हुन्छ। अन्यथा, आकाशमा उडेर जमिनको राजनीति हुन्छ कसरी?
लामै अन्तरालपछि, गत असोजमा मेरो उही भतिजसँग फेरि भेट भयो।
ऊ समयको आँधीमा परेर परिपक्व भएको थियो। पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेको थियो। गृहस्थी बन्दै र भत्किँदै गरेका कारण, ऊ पहिलेजस्तो न त अति उत्साहित थियो, न निराश नै। ऊ निकै संयम र परिपक्व भएको थियो।
उसले आफ्नै विगतप्रति आत्मसमीक्षा गर्दै भन्यो, 'हिजो त म ठूलो भ्रममा रहेछु काका। उमेरभन्दा ठूला सपना देख्नु, स्वयं आफू नसम्हालिँदै देशलाई सम्हाल्ने यात्रामा निस्किनु र संसार नदेखिकनै, संसार चिनेको भ्रममा पर्नु — कस्तो अनौठो! तर आज जब म त्यो अँध्यारो भ्रमबाट निस्किएँ, लाग्यो — मैले युवा हुन जानिन छु। एउटा उमेरको सौन्दर्य अनुभूत गर्न नपाई नै जब उमेर बितिजान्छ, पछुतो हुने रहेछ काका।'
'त्यस्तो पछुतो मान्नुपर्ने के छ र?' मैले उसलाई आश्वस्त गर्न चाहेँ।
उसले आफ्नो पछिल्लो बुझाइ सुनाउँदै भन्यो, 'हरेक उमेरको आफ्नै प्राकृतिक चरित्र हुन्छ। जस्तो कि, बच्चा रून्छ, चकचक गर्छ र जिज्ञासु हुन्छ। मानौं, एउटा ५ वर्षको बच्चालाई नखेल, ज्ञानी बन, चकचक नगर, प्रश्न नसोध भन्यौं भने के हुन्छ? अथवा, एक बालिका युवतीझैं देखिन खोज्छे, त्यो रहरले त हुन्छ, तर चरित्र नै त्यस्तो देखियो भने? त्यो घोर अप्राकृतिक हुन्छ। त्यस्तो भयो भने, त्यो शारीरिक र मनोवैज्ञानिक बिमारी हुन्छ।'
भतिजले आफ्नो कुरा अझ स्पष्ट बनाउँदै भन्यो, 'नवयुवा उमेर भनेको विश्वविद्यालय जानुपर्ने, प्रेममा रमाउनुपर्ने, सिनेमा हेर्नुपर्ने, बिन्दास यात्रा गर्नुपर्ने, इतिहास पढ्नुपर्ने, किताब बोक्नुपर्ने, संगीत सिक्नुपर्ने, करिअरको प्लान गर्नुपर्ने उमेर रहेछ काका। त्यसले मात्र मान्छेलाई परिपक्व, जिम्मेवार र क्षमतावान बनाउँदै लैजान्छ। यो जीवनको प्राकृतिक लय हो। तर जब मान्छेमा त्यो लय भत्किन्छ, तब मान्छे मान्छेजस्तो हुँदैन। मान्छे बन्ने प्रक्रियामा कहीँ न कहीँ गडबडी हुन्छ र बिग्रिन्छ।'
'म तिमीसँग सहमत छु,' मैले उसको कुरामा सही थपेँ।
ऊ अगाडि भन्दै गयो, 'आज हेर्नुहोस् त के हुँदैछ? एउटा २० वर्षको युवा देशको मन्त्री को बन्ने, प्रधानमन्त्री को बन्ने भन्ने नेगोसिएसनमा बस्न थाल्यो भने के हुन्छ? अथवा एउटा नवयुवा, आम मान्छेलाई जनता देख्छ र आफूलाई उनीहरूको भाग्य विधाता ठान्छ भने के हुन्छ? एउटा २१ वर्षको युवालाई, यो देशको प्रधानमन्त्री मैले बनाएको हुँ, सेना मैले चलाएको हुँ, गृहमन्त्री मेरो मुठ्ठीमा छ भन्ने लाग्छ र ऊ देश बनाउने भूतमा सवार भई, दिनैपिच्छे बालुवाटार, सिंहदरबार गर्न थाल्छ भने के होला?'
'कल्पना गरौं त एउटा कलेज जानुपर्ने नवयुवा बिहानदेखि बेलुकासम्म युट्युबेहरू अगाडि, पछाडि राखेर हिँड्छ। ठूला ठूला होटलमा पत्रकार सम्मेलन गर्छ। राजनीतिको कुरा गर्छ। देश बनाउने कुरा गर्छ। तर उसलाई विश्वविद्यालयमा कक्षाहरू छुटेको पत्तै हुँदैन?'
'कुनै नवयुवा जब उमेरजन्य काम छाडेर, फेसबुकमा चर्का कुरा गर्दा आउने लाइक र कमेन्ट हेरेर मख्ख पर्छ, भविष्यमा त्यो युवा नेता नै भयो भने पनि कस्तो नेता होला?'
'अथवा, एउटा नवयुवा, काँधमा देशको झण्डा बोकेर चौबीसै घन्टा देश बनाउने हतारमा दौडिइरहन्छ भने के हुन्छ? ऊ मान्छे बन्न नभ्याउँदै कतै महान नेता बन्ने चक्करमा परेर पो सकिन्छ कि?'
भतिजको कुरा सुनेपछि मलाई लाग्यो — अवश्य नै मान्छेको जीवनमा उमेरको आफ्नै महत्त्व छ। निश्चित समयसम्म उसले पढ्नुपर्छ। खास उमेरमा ऊ आफ्नो साथीसंगीहरूसँग रमाउनुपर्छ। आर्थिक अवस्था ठिकै छ भने डुल्नुपर्छ। पदयात्रा गर्नुपर्छ। गाँउ–समाज हेनुपर्छ। समय छ भने सिनेमा हेर्नुपर्छ। साहित्य, नाटक, संगीत र कला बुझ्नुपर्छ। इतिहास पढ्नुपर्छ। प्रेम गर्नुपर्छ।
जुन उमेरको उमेरजन्य चरित्र हो, त्यसमा रमाउनुपर्छ। अनि मात्र ऊ स्वस्थ मान्छे बन्छ।
यसको अर्थ नवयुवाहरूले देशको चिन्तन गर्नु हुँदैन भन्ने होइन। उनीहरूले प्रधानमन्त्री र मन्त्रीको सपना देख्नु हुँदैन भन्ने होइन। उसले राजनीति गर्नु हुँदैन, दल खोल्नु हुँदैन भन्ने पनि होइन।
तर राजनीति नै नबुझी राजनीतिको घोडा चढियो भने के हुन्छ?
देश बुझेको छैन, इतिहास बुझेको छैन, संविधान बुझेको छैन, हाम्रा समस्या गहिरोसँग चिनैकै छैन, मात्र देश बनाउने ठूला ठूला कुरा गर्ने र युट्युबेहरू बोकेर हिँड्यो भने त के हुन्छ?
जमिनमा ठिकसँग हिँड्न नसिकी जब कोही सपनाको 'बाइपंखी' घोडामा सवार हुन्छ, त्यो रोग हो। त्यसले मान्छेलाई बर्बाद बनाउँछ। मनोरोगी बनाउँछ। त्यसो भयो भने मान्छे स्वाभाविक हुँदैन। अस्वाभाविक हुन्छ। लयहीन हुन्छ। टपरटुइँयाँ हुन्छ। खासमा त्यस्तो मान्छे राजनीतिका लागि किमार्थ योग्य हुँदैन।
अर्थात्, जब कुनै नवयुवा मान्छे बन्ने प्रक्रियामा प्रवेशै नगरी महान बन्ने चक्करमा पर्छ, त्यसपछि ऊ स्वयंले बोकेको महत्त्वाकांक्षाको भारीले किचिएर थिलथिलो हुन्छ। र, मान्छे बन्नै नपाई सकिन्छ।
हामीलाई आज युग हाँक्ने नयाँ पुस्ताका अब्बल नेताहरू चाहिएको छ। जसले पुराना पुस्ताका मान्छेहरूले भन्दा अझ गहिरोसँग यो देश चिनोस्, समाज चिनोस्, इतिहास चिनोस्, भविष्य चिनोस्, ज्ञानसँग साक्षात्कार गरोस्, हाम्रो सभ्यता चिनोस र मुख्यतः आफैलाई चिनोस्।
हाम्रा नवयुवाहरूले सोच्नुपर्ने छ — उनीहरू धीर, गम्भीर र गहिरो समुद्र बन्ने कि उर्लिँदो खहरे?
खहरे बन्ने धुनमा गडगडाउन त रमाइलै हुन्छ, तर जब भल सुक्छ, त्यतिखेर खहरेलाई कमिलाले पनि पत्याउँदैन।
अर्थात्, समय छुटेपछि छुट्यो, जसलाई फेरि हासिल गर्न सकिँदैन। नवयुवाहरूले समय छँदै आफूलाई चिनून्। समयको अदभूत मजा लिऊन्। र, भविष्यका लागि तयारी गरून्।
अन्यथा, आफू, आफ्नो जमिन र समयलाई नचिनी महान नेता बन्ने कुरा त के, योग्य मान्छे बन्ने प्रक्रिया पनि प्रारम्भ हुँदैन।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab