नेपाल पर्यटनमा अपार सम्भावना भएको मुलुक हो भन्दै आए पनि हामीले यो सम्भावनालाई पुँजीकृत गर्न सकेका छैनौं।
देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, जैविक विविधता र ऐतिहासिक सम्पदालाई आर्थिक समृद्धि, उद्यमशीलता, समता र सुशासनको माध्यम बनाउन सकेका छैनौं। गतिहीनताको यो पासोबाट मुक्त हुन पर्यटनमार्फत आर्थिक क्रान्ति गर्न आवश्यक छ।
गतिशील लोकतान्त्रिक पार्टीले 'हरेक पुस्ताको जिम्मेवारी नवयुवाका लागि दिगो रोजगारी' भन्ने नारालाई आत्मसात गर्दै आर्थिक रूपान्तरणका लागि उद्यमशीलता–समता–सुशासनको नीति अघि सारेको छ।
यो नीतिको केन्द्रमा पर्यटन–कृषि–ऊर्जा–सूचना तथा सञ्चार प्रविधिलाई रूपान्तरणका वाहकका रूपमा राखिएको छ। यसमा स्वास्थ्य, शिक्षा, स्थानीय शासन र डिजिटलाइजेसन सहयोगी भूमिकामा हुन्छन्।
दस वर्षको लक्ष्य
गतिशील पार्टीको भिजन 'नेपाल पर्यटन २०३५' ले यिनै आधारमा पर्यटनमार्फत अबको आर्थिक क्रान्तिको खाका कोरेको छ।
यो भिजन अनुसार दस वर्षमा अहिलेभन्दा ५ गुणा बढी पर्यटक भित्र्याएर ६० लाख पुर्याउने, तीस लाखभन्दा बढी मर्यादित र उच्च आय हुने रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रमा १२ खर्ब २० अर्ब रूपैयाँ बराबरको योगदान दिने र २१ खर्ब रूपैयाँ बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ।
एक वाक्यमा भन्नुपर्दा नेपाललाई पर्यटनमय देश बनाउने रणनीति गतिशील पार्टीले तर्जुमा गरेको छ।
उद्यमशीलता भनेको नवीन सोच, जोखिम लिने क्षमता र स्वरोजगारीको संस्कृति हो। पर्यटन क्षेत्रमा होमस्टे, ट्रेकिङ एजेन्सी, साहसिक खेलकुद, खाद्य परिकार र डिजिटल मार्केटिङ जस्ता अवसरहरूले जनतालाई उद्यमी बनाउँछ।
समता भनेको अवसरको समान वितरण हो — हिमाल, पहाड र तराईका सबै समुदायले पर्यटनको लाभ पाउनुपर्छ।
सुशासन भनेको पारदर्शी नीति, भ्रष्टाचारमुक्त शासन र लगानीमैत्री वातावरण हो।
यी तीन पक्षले पर्यटनलाई दिगो बनाउँछन्।
यसै सन्दर्भमा पार्टीले 'सबैको साथ समृद्ध राष्ट्र' को आह्वान गरेको छ। यसले सबै तह र तप्काका जनताको सहभागितालाई जोड दिएको छ।
पर्यटन विकासमा स्थानीय तह, निजी क्षेत्र, गैर आवासीय नेपाली र सरकारको सहकार्य आवश्यक छ। यसले विदेशी लगानीलाई पूरक बनाउँदै स्वदेशी उद्यमशीलता प्रोत्साहन गर्छ।
हामीले पहिचान गरेका आर्थिक रूपान्तरणका चार मुख्य वाहक पर्यटन, कृषि, ऊर्जा र सूचना तथा सञ्चार प्रविधि एकअर्कासँग जोडिएका छन्।
पर्यटनले कृषि उपजलाई बजार दिन्छ — खाद्यान्न, तेलहन, तरकारी, फलफुल, माछामासु जस्ता स्थानीय उत्पादनले पर्यटन क्षेत्रको माग पूरा गर्छ।
ऊर्जाले पर्यटन पूर्वाधारलाई बलियो बनाउँछ।
जलविद्युत लगायत स्वच्छ ऊर्जाको उपयोगबाट यातायात, होटल र केबलकार आदिको सहज सञ्चालन सम्भव हुन्छ।
सूचना प्रविधिले डिजिटल मार्केटिङ, अनलाइन बुकिङ र स्मार्ट टुरिजम सहज बनाउँछ।
हामीले रूपान्तरणका सहायक वाहकका रुपमा स्वास्थ्य, शिक्षा, स्थानीय शासन र डिजिटलाइजेसनलाई पहिचान गरेका छौं। शिक्षा र स्वास्थ्यको समुचित व्यवस्थाबाट स्वस्थ र सक्षम जनशक्ति विकास हुन्छ।
वडा तथा पालिकाको सक्रिय भूमिकाले गाउँ गाउँमा व्यावसायिक अवसर तथा रोजगारी सिर्जना गर्छ। डिजिटलाइजेसनले शिक्षा, स्वास्थ्य, स्थानीय शासन सबैलाई दक्ष र अधिक उत्पादनशील बनाउँछ। पर्यटन उद्योगमा यसले प्रत्यक्ष तथा परोक्ष प्रभाव पार्छ।
हामीलाई विश्वास छ, यी सबैको संयोजनले पर्यटनमय देशको परिकल्पना साकार हुन्छ।
पर्यटनमय देशको परिकल्पना साकार पार्न हामीले हवाई सेवा, स्थलमार्ग, आवास र सीपयुक्त जनशक्ति विकासमा जोड दिएका छौं।
विमानस्थलहरूको अधिकतम उपयोग
हवाई सेवा तर्फ राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय उडानका लागि उपलब्ध सबै विमानस्थलको अधिकतम उपयोग गर्ने, नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने र विमान खरिद गर्ने ठोस योजना बनाएका छौं।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक घन्टा ६ वटा अन्तरमहादेशीय उडान सम्भव हुने देखिएको छ। यो विमानस्थलले पश्चिममा लसएन्जलस, टोरन्टोदेखि पूर्वमा टोकियोसम्म सोझै जोड्न सक्छ।
यसले नेपाललाई संसारसँग जोडिएको देश बनाउँछ। पर्यटन मात्र होइन व्यापार, लगानी र कूटनीति पनि बलियो बनाउँछ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक र मध्यपूर्व, सार्क तथा आसियान मुलुकका गन्तव्य जोड्ने गरी क्षेत्रीय उडानको हब बनाउनुपर्छ।
यो विमानस्थलमार्फत ए३२०/ए३२१ विमानले काठमाडौंलाई एसिया र अन्य मुलुकसँग जोड्नेछ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ए३१९ विमान सञ्चालनका लागि उपयुक्त छ। यसलाई पनि सार्क र आसियान मुलुक उडान गर्ने क्षेत्रीय हब बनाउन सकिन्छ।
आन्तरिक उडाननर्फ ट्विनअटर विमानले सबै प्रादेशिक राजधानीलाई जोड्नेछ। दुर्गम क्षेत्रमा विश्वसनीय हवाई सेवा पहुँचले पर्यटन, व्यापार र समावेशितालाई प्रवर्द्धन गर्नेछ।
समग्र उड्डयन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्तिको विकास महत्वपूर्ण विषय हो।
यसका लागि दाङमा उडान तालिम तथा प्राविधिक केन्द्र स्थापना गर्ने सोच हामीले बनाएका छौं। यसले कुशल पाइलट, सहयोगी उडानकर्मी, इन्जिनियर र हवाई सेवा सम्बद्ध अन्य पेसाकर्मी विकासमा योगदान गर्नेछ।

नेपाल वायुसेवा निगमको पुनर्संरचना
नेपाल वायुसेवा निगम (एनएसी) लाई आधुनिक, चुस्त र नाफामूलक हवाइसेवा प्रदायक बनाउने हाम्रो योजना छ। यसका लागि सर्वप्रथम निगमको स्वामित्वमा परिवर्तन गर्नुपर्छ।
परिवर्तित स्वामित्व संरचनामा ३० प्रतिशत नेपाल सरकार र ७० प्रतिशत संस्थागत तथा व्यक्तिगत नेपाली लगानीकर्ता हुन्छन्। तत्पश्चात निगमको व्यवस्थापन व्यावसायिक र पारदर्शी बनाइनेछ। अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको समूहलाई व्यवस्थापन करारमा दिन पनि सकिन्छ।
अबको दस वर्षपछि निगमले ५० वटा ए-३५०-१००० विमान सञ्चालन गर्नेछ। यसका लागि पहिलो ५ विमान अन्तर्राष्ट्रिय लिज फाइनान्स मोडालिटीमा खरिद गर्न २५ अर्ब रूपैयाँ आवश्यक हुन्छ।
यही ढाँचामा अरू विमान पनि खरिद गरिनेछ। पर्याप्त विमान र सुधारिएको व्यवस्थापन मार्फत निगमले विश्वस्तरको सेवा दिनेछ। यसका उडान सुरक्षित, नियमित, विश्वसनीय र प्रतिस्पर्धी हुनेछन्।
कालो सूचीबाट मुक्त नेपाल
नेपाललाई युरोपियन युनियनको कालो सूचीबाट मुक्त गरी सबै नेपाली वायुसेवा कम्पनीलाई युरोप र अन्य अन्तर्राष्ट्रिय रूटमा पहुँच स्थापित गरिनेछ। सँगसँगै समग्र नेपाली उड्डयन क्षेत्रको छवि सुधार्ने काम गर्नुपर्छ। उड्डयन क्षेत्रको सुधार बिना पर्यटन विकास कोरा कल्पना मात्र हुन्छ।
पर्यटनमा लगानी र लाभ
पर्यटनसँग जोडिएका भौतिक पूर्वाधार र जनशक्ति विकासमा पर्याप्त लगानी गर्नुपर्छ, तब मात्र उचित प्रतिफल पाउन सकिन्छ। हामीले गरेको पर्यटन क्षेत्रमा हुने लगानी र लाभको प्रक्षेपणलाई तलको तालिकामा प्रस्तुत गरिएको छ।
सरकार र निजी क्षेत्रको सहभागितामा उल्लिखित लगानी जुटाइनेछ भने लाभको वितरण पनि सोही अनुसार हुनेछ। यसबाट सबभन्दा बढी लाभान्वित हालसम्म आर्थिक अवसरबाट बञ्चित रहँदै आएका समुदाय र सर्वसाधारण हुनेछन्। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनेछ।
नेपालको नयाँ पहिचान र नयाँ अनुभव
विश्व पर्यटन बजारमा नेपालको पहिचानलाई नयाँ किसिमले प्रस्तुत गर्न सकेको खण्डमा मात्रै अधिक लाभ हासिल गर्न सकिन्छ। यसका लागि विश्व बजारमा पहिल्यैदेखि स्थापित प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका साथै नयाँ पर्यटकीय उत्पादनलाई पनि अगाडि सार्नुपर्छ।
गतिशील पार्टीले पर्यटन लक्षित अभियानलाई 'शिखरदेखि समथर भूमिः एउटै यात्रामा सारा संसार' भन्ने नाराका साथ नेपालको नयाँ पहिचान निर्माण गर्न खोजेको छ। यस अभियानमा पर्यटीकय हिसाबले नेपाल सुरक्षित तथा शान्त गन्तव्य हो, नेपालमा इमानदार आतिथ्यता प्राप्त हुन्छ भन्ने सन्देश स्थापित गरिनेछ।
यसैगरी नेपाललाई सभा, सम्मेलन, प्रदर्शनीका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह हुने छ। निरोग तथा पर्यापर्यटन केन्द्रका रूपमा पनि नेपाललाई प्रस्तुत गरिनेछ।
साहसिक खेलकुद, खाद्यपरिकार, आध्यात्मिक पर्यटन, होमस्टे, रिट्रिट लगायत विविधताको अनुभव पर्यटकले पाउनेछन्। पोखराको पुरानो विमानस्थललाई पर्यटकीय सम्पदाका रूपमा पुनर्विकास गरिनेछ।
पर्यटकहरूको आगमन, बसाइ र बहिर्गमन सहज र सुरक्षित बनाउन डिजिटल भिसा व्यापक बनाइने छ। देशभर आतिथ्यता मापदण्ड लागू गरी सुरक्षा प्रत्याभूति गरिनेछ।
भारत–चीन–आसियान करिडोरमा पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइनेछ। पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मिडिया तथा चर्चित व्यक्तिसँग साझेदारी पनि गरिनेछ।

सर्वसाधारणलाई मनग्य लाभ
पर्यटन विकासले समुदायमा जरो गाडेको हुनेछ। पर्यटक आगमनले सिर्जना गर्ने मागको आपूर्ति स्थानीय उत्पादनबाट हुनेछ। समुदायले उत्पादन गरेको खाद्यान्न, फलफूल, तरकारी, माछा, मासु लागायत उत्पादन पर्यटकले खपत गर्नेछन्।
पर्यटन क्षेत्रमा स्थानीयले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीको अवसर पाउनेछन्। यसैगरी पर्यटनसँग प्रत्यक्ष र परोक्ष रूपमा जोडिएको कृषि, यातायात, हस्तकला जस्ता स्थानीय व्यवसायको प्रवर्द्धन हुनेछ। घरबास पर्यटनका रुपमा गति लिएको होमस्टे अझ विस्तार हुनेछ।
यसरी गतिशील लोकतान्त्रिक पार्टीले नेपाल पर्यटन–२०३५ मार्फत आर्थिक क्रान्तिको सपना साकार गर्नेछ।
पार्टीको पहलकदमीमा उद्यमशीलता, समता र सुशासन मार्फत अबको १० वर्षमा ३० लाखभन्दा बढी मर्यादित रोजगारी सिर्जना हुनेछ। विमानस्थलको अधिकतम उपयोग, नेपाल वायु सेवा निगमको पुनर्संरचना, स्थलमार्गको स्तरोन्नति, दिगो लगानी र स्थानीय समुदायको सहभागिता सुनिश्चित गरी नेपाललाई अनुपम पर्यटकीय गन्तव्य बनाउन हामी सफल हुनेछौं।
नेपालको आर्थिक भविष्यलाई केवल परम्परागत आर्थिक मोडलहरूमा सीमित राख्न हुँदैन।
अबको आवश्यकता भनेको गतिशील पार्टीले परिकल्पना गरेको जस्तो आर्थिक रूपान्तरणको महाअभियान हो। यो दस वर्षे आर्थिक रूपान्तरणको महाअभियान केवल महत्वाकांक्षी योजना मात्र नभई नेपालको अर्थतन्त्रलाई परनिर्भरताबाट मुक्त गरी आत्मनिर्भर, समृद्ध र विश्वसँग जोडिएको बनाउने स्पष्ट मार्गचित्र हो।
पर्यटनले नेतृत्व गर्ने यो मार्गचित्रमा ऊर्जा, कृषि र प्रविधिलाई समेटेर लगिएको छ। यसका लागि राजनीतिक इच्छाशक्ति, नीतिगत स्थिरता र सबै सरोकारवालाको इमानदार सहभागिता अपरिहार्य हुन्छ।
(लेखक वीरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) का सदस्य र ज्ञानेश्वर महतो पर्यटनविद हुन्)