एक घन्टा मात्र सामाजिक सञ्जाल स्क्रोल गर्दै हेर्ने हो भने यस्तो लाग्छ — हामी एक रणमैदानमा छौं।
मिडियाका हेडलाइनहरू हेर्यो — एकले अर्कोलाई गाली गरिरहेका छौं।
एकले अर्कोलाई विषवमन गरिरहेका हौं, तुच्छ वचनले सत्तोसराप गरिरहेका छौं। मनको कुन्ठा र भडास सार्वजनिक रूपमा पोखिरहेका छौं। कतिपयले प्रतिशोधको भाषा बोलिरहेका छौं।
यो सबै देख्दा लाग्छ — के हामी साँच्चै नै जस्तो लेख्छौं र बोल्छौं, त्यस्तै हौं र? कि हामी सामाजिक सञ्जालमा देखिने आफ्नै व्यक्तित्वभन्दा फरक छौं?
यसबारे केही समय अगाडि सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले गहिरो सामाजिक विश्लेषण गर्नुभएको थियो।
मेरो एउटा साथीले सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्री सम्झिन्छु। एउटा घटनाले उसलाई कसैप्रति रिस उठ्यो र घृणा पैदा भयो। त्यही आवेगमा उसले सामाजिक सञ्जालमा गालीगलौज गर्दै पोस्ट गर्यो।
एक घन्टामा त ऊ शान्त भइसक्यो। तर धेरै दिनसम्म उसको पोस्टमा मानिसहरू पक्ष र विपक्षमा गाली पोखिरहेका थिए।
एउटा व्यक्तिको क्षणिक आवेग केही नसोचीकन जस्ताको त्यस्तै सामाजिक सञ्जालमा पोखिँदा त्यसले अरू धेरैको 'आवेग' लाई पनि उत्प्रेरित गर्ने रहेछ।
यहाँ रिस वा आक्रोश गलत भन्न खोजेको होइन। व्यक्तिगत र सामाजिक स्वास्थ्यका लागि पनि रिस अभिव्यक्त गर्नु आवश्यक छ।
मनोचिकित्सकहरूका अनुसार रिस दबाएर राख्नु हुँदैन। लोकतान्त्रिक समाजका लागि पनि विभिन्न मुद्दाहरूमा नागरिकको आक्रोश अपरिहार्य छ। समाजको समग्र हित प्रतिकूल हुने मुद्दामा नागरिक आक्रोशित नहुने हो भने शासन सत्तामा बस्नेहरू मनोमानी गरिरहने छन्। हामीले सामूहिक आक्रोशको बलबाट विद्रोह हुँदै परिवर्तन भएको पनि देखेका छौं।
तर व्यक्तिगत र सामाजिक स्वास्थ्यका लागि महत्त्वपूर्ण कुरा हो — रिस कसरी पोख्ने र कहाँ पोख्ने? रिसलाई कसरी व्यवस्थापन गर्ने?
व्यक्तिगत स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरू भन्छन् — व्यायाम र योग गर, ध्यान गर, खेलकुदमा भाग लेऊ, स्वस्थ खानेकुरा खाऊ, प्रकृतिको नजिक जाऊ, घामको न्यानो र बतासको चीसो महसुस गर, सिर्जनात्मक काममा पनि सहभागी होऊ, दैनिकी लेख, आदि।
ध्यान सिकाउनेहरू भन्छन् — आफूलाई अवलोकन गर, रिसको स्रोत चिन। रिसको लक्षणमा होइन, कारणमा समाधान खोज।
ग्रामीण क्षेत्रहरूमा एकअर्कासँग संवाद गर्ने वा रिस लगायत अन्य संवेग अरूलाई अभिव्यक्त गर्ने अभ्यास मलाई रोचक लाग्छ। सामाजिक सञ्जाल प्रयोग कम गर्ने वा नगर्ने पुस्तामा कतिपय ठाउँमा यो अझै अस्तित्वमा देखिन्छ।
अँगेनो वरिपरि वा आँगनमा बसेर मानिसहरू परिवार र छिमेकीसँग मनका दुःख पोख्छन्। मेलापात र चौतारामा पनि विभिन्न समूहमा आफ्ना कुरा अभिव्यक्त गर्छन्।
एकपटक मेरो बुबाआमालाई एउटा छिमेकीसँग रिस उठ्यो। सुरूमा उहाँहरूले आफ्नै परिवारभित्र रिस पोख्नुभयो, छिमेकीको कुरा काट्नुभयो। यो समयमा उहाँहरूलाई जस्तो महसुस भएको थियो, त्यस्तै स्वरूपमा रिस निस्कियो।
रिस व्यक्त गरेपछि केही क्षणमा उहाँहरूलाई महसुस भयो — छिमेकीको नराम्रो व्यवहारको केही कारण पनि होला।
केही दिनमा आफ्नो बारीमा फलेको कागती बोकेर ती छिमेकी घर आए। बुबाआमाले सधैंझैं स्वागत गर्नुभयो, चिया दिनुभयो। कुराकानीकै बीचमा आफूलाई चित्त नबुझेको कुरा नम्र भएर भन्नुभयो। छिमेकीले पनि जिस्किँदै आफूलाई चित्त नबुझेको कुरा सुनाए।
सायद छिमेकीले पनि घरमा बुबाआमाको कुरा काटेर आएका होलान्। एउटा सानो घटनाले पैदा भएको दुई छिमेकी बीचको द्वन्द्व त्यहीँ सकियो।
एकछिन कल्पना गरौं त, मेरा बुबाआमा र ती छिमेकीले मुखमा जे आउँछ, त्यही शब्द प्रयोग गरेर गालीगलौजमा ओर्लेका भए? आफूसँग संवाद नगरीकन अरूका अगाडि गएको भए? एक अर्काबीच अलिकति पनि करूणा भाव नराखेको भए?
सायद गाउँको हरेक घरको हरेक घरसँग बोलीचाली बन्द हुन्थ्यो।
आजको दिनमा कल्पना गरौं त, छिमेकीसँग संवाद नगरी सामाजिक सञ्जालमा स्ट्याटस हाल्दा के होला?
आजभोलि हामी देख्छौं, कतिपय अवस्थामा यस्तै नै भइरहेको छ।
कुनै व्यक्ति वा संस्थाबारे केही सुनियो, त्यसलाई सामाजिक सञ्जालमा हालिहाल्यो। त्यो सही हो कि गलत हो थाहा छैन, त्यसको प्रमाण थाहा छैन। तर, बोलिहाल्यो, लेखिहाल्यो।
त्यसले सम्बन्धित व्यक्तिको जीवनमा पार्ने प्रभावको मतलब छैन। परिवार र व्यक्तिको मानसिक स्वास्थ्य र त्यसले निम्त्याउने चुनौतीहरूबारे मतलब छैन।
यस्तो आधारभूत मानवीयताबाट पनि हामी चुकिरहेका छौं।
एउटा खेलाडीले केही खेलमा नराम्रो खेल्यो, त्यसलाई लखेट्न थालिहाल्यो। एउटा नेताले एउटा परिवेशमा केही बोल्यो, उसलाई घृणा गर्न सुरू गरिहाल्यो। पृष्ठभूमि नहेरी मीठो र चर्को बोलेकै भरमा कसैको देवत्वकरण गरिहाल्यो। आरोप लागेकै भरमा कसैलाई दानवीकरण गरिहाल्यो। कुनै जात, धर्म वा भूगोलमा जन्मेकै आधारमा कसैको राष्ट्रियतामाथि प्रश्न गर्न थालिहाल्यो। सबै सरकारी कर्मचारीलाई भ्रष्ट देखिहाल्यो। सबै गैरसरकारी क्षेत्रकालाई विदेशी दलाल देखिहाल्यो। सबै निजी क्षेत्रकालाई शोषक देखिहाल्यो।
यो प्रवृत्तिमा धेरैले दोष लगाएको देखिन्छ — रातारात भाइरल हुने लोभले सामान्य मानवता र नैतिकता पनि ख्याल नगर्ने कन्टेन्ट क्रिएटरहरूलाई।
तर यो तीतो यथार्थ हो। यस्तो विषवमनको अग्रपंक्तिमा छौं राजनीतिकर्मीहरू, मिडियाकर्मीहरू, वरिष्ठ 'विद्वान' हरू।
पक्कै हरेक क्षेत्रमा इमानदार भएर उत्कृष्ट व्यावसायिक धर्म निर्वाह गर्नेहरू छन्, तर ती अपवाद हुन्।
निकृष्ट तहको सार्वजनिक गालीगलौज र घृणा नयाँ पुस्ताले अर्को ग्रहबाट सिकेको होइन। आफ्नो देशकै अग्रज विचार निर्माण गर्ने व्यक्तिहरूबाट सिकेको हो।
हाम्रा राजनीतिक दलका नेतृत्व हेरौं त, कतिपय स्थानमा उनीहरूले बोलेको सुन्दा लाज लाग्छ। उनीहरूको भाषण विश्लेषण गर्दा स्पष्ट हुन्छ, देशको अवस्था आज किन यस्तो भयो। राजनीतिमा जे पनि जायज हुन्छ भन्ने सोचबाट उनीहरू माथि उठ्न सकेनन्। सत्ता र शक्तिका लागि घाँटी जोड्न तयार हुनेहरू फरक कित्तामा हुने बित्तिकै सामान्य लोकाचार र शिष्टताको पनि ख्याल नगरी गालीगलौजमा ओर्लिए।
उनीहरूको गालीगलौज पछिल्ला पुस्ताका नेताले सिके। भुइँतहका कार्यकर्तामा पनि प्रवाह भयो। अनि समग्र समाजमा फैलियो।
केही आशा भएका पुराना र नयाँ दलका नेताहरू पनि त्यही भीडमा मिसिए। मत नमिलेको बेला तुच्छ वचनले प्रहार गर्न कोही पछि परेनन्। राजनीति बाहिर हुँदा प्रमाण बिना नबोल्नेहरू पनि राजनीतिमा पुगेपछि अनुमानको भरमा लाञ्छना लगाउन थाले।
यदि देशको कानुन कार्यान्वयन व्यवस्था सुदृढ हुन्थ्यो र राजनीतिकर्मीलाई पनि आम नागरिक जस्तै कानुन लाग्थ्यो भने हाम्रा अधिकांश राजनीतिकर्मी चरित्र हत्या, गालीगलौज, मानहानि र सामाजिक सदभाव खलबल्याउने अपराधको मुद्दा खेपिरहेका हुन्थे।
राजनीतिकर्मीको मनमानीलाई मिडियाले झनै टेवा दियो। धेरै हेडलाइनहरू राजनीतिकर्मीले 'के गरे' भन्दा पनि 'के बोले' मा सीमित भए। उनीहरूले जे भने पनि मिडियाले खुरूखुरू ठूलो अक्षरमा छापिदिए। समाचारका सबभन्दा अगाडि देखाइदिए, सुनाइदिए। यसबाट राजनीतिकर्मीहरू झनै उत्प्रेरित भए हेडलाइन दिन, भाइरल क्लिप दिन!
कतिपय मिडियाले पत्रकारिताको सामान्य आचारसंहिता र सिद्धान्त अंगिकार नगरेको लेखोटलाई पनि समाचार भनेर छापिदिए।
अनि 'बौद्धिक' र 'विज्ञ' भनिनेहरू पनि राजनीतिजस्तै विभिन्न ध्रुवमा बाँडिए। कोही राजनीतिकर्मीहरूको चाकरी र विरोधमा उत्रिए। कोही षडयन्त्रका सिद्धान्तहरू रच्दै समाजलाई भयभित बनाउने अभियानमा लागे।
विज्ञ र बौद्धिक त ती हुन् जसले अभ्यास र अनुसन्धानको आधारमा आफ्नो विचार प्रस्तुत गर्छन्। सुस्त भएको समाजलाई गति दिन्छन्। नैराश्यमा आशा दिन्छन्। भविष्यको वैज्ञानिक दिशा देखाउँछन्। समाज भाँड्ने होइन जोड्ने गरी सन्तुलित विचार दिन्छन्।
तर हामीकहाँ सामाजिक सञ्जाल र मिडियामा देखिने कैयौं 'बौद्धिक' र 'विज्ञ' हरू अफवाह फैलाउने दौडको सबभन्दा अगाडि देखिन्छन्।
पक्कै पनि देशको माया सबैलाई लाग्ला। हामी सबै चाहन्छौं सबैको प्रगति भएको हेर्न। देशको समृद्धिमा योगदान दिने रहेर सबैमा होला।
तर अहिलेको उत्तेजनाको छालले हामीलाई कतै पुर्याउँदैन। अहिलेकै गतिमा अगाडि बढिरहने हो भने हामी आजको दिनभन्दा बढी विषाक्त समाज बनाउँदै जानेछौं। हरेकको शत्रु हामी हरेक हुनेछौं।
गलत सूचना, मानहानि, चरित्र हत्या आदि नियन्त्रण गर्न यथोचित कानुनको पनि पक्कै भूमिका हुन्छ। तर हामी सबैको सहकार्य र प्रतिबद्धता बिना त्यो दिगो हुँदैन।
यो प्रक्रियाको सुरूआत हुन्छ आफूले आफैलाई हेरेर। हामी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गजक्क पर्छौं, विदेशीको अगाडि धाक लगाउँछौं। बुद्धकै दुइटा पाठ अनुशरण गरेर सुरू गरौं न।
एउटा, अरूलाई हेर्नु अगाडि आफूले आफैलाई नियालौं न! आफूलाई बुझौं न!
अर्को, सबैप्रति करूणा भाव राखौं न! अरूको पीडा महसुस गर्ने तागत राखौं न!
अपराध गर्नेलाई कानुनले स्वतन्त्र भएर सजाय दिनैपर्छ। मानिसको रूपमा भने एकले अर्कोप्रति करूणा देखाऔं न!
यस पहलमा सबभन्दा महत्त्वपूर्ण भूमिका छ समाजलाई वैचारिक अगुवाई गर्नेहरूको — राजनीतिकर्मी, पत्रकार, बौद्धिक व्यक्ति र शिक्षकहरूको।
प्रिय राजनीतिकर्मीहरू,
समाजमा सबभन्दा ठूलो प्रभाव त तपाईँहरूकै छ। तपाईँहरू पनि मानिस हो, रिस उठ्छ होला, कसैप्रति घृणाको भाव आउँछ होला। शक्ति र सत्तामा पुग्ने स्वाभाविक रहर होला। तर कृपया मनमा आउने सबै नकारात्मक कुरा सार्वजनिक रूपमा नबोलिदिनुहोस् न!
तथ्य र तथ्यांक बिना कसैको कसैको चरित्र हत्या नगरिदिनुहोस् न! सार्वजनिक मञ्चमा आफ्ना कट्टर विरोधीहरूलाई पनि निकृष्ट तरिकाले होच्याएर नबोलिदिनुहोस् न!
कुनै मुद्दामा गुण र दोषका आधारमा आफ्नो विचार राख्नुहोला। समर्थन गर्नुहोला, विरोध गर्नुहोला। जनतामा आफ्नो मुद्दा स्थापित गर्नुहोला, जनतालाई विश्वस्त पार्ने प्रयास गर्नुहोला। अनि शालीन तरिकाले निर्वाचनमा जानुहोला। तथानाम गालीगलौज र एकअर्काको मानमर्दन बिना राजनीति गर्न सकिँदैन र?
सकिँदैन भने आफैलाई प्रश्न सोध्नुहोस् न — के म साँच्नै नेता हो? समाजको नेतृत्व गर्न म लायक छु?
शालीन र सभ्य हिसाबले राजनीति गर्न सकिँदैन जस्तो लाग्छ भने कृपया राजनीतिबाट टाढा भइदिनुहोस् न! तपाईंको योगदानलाई भावी पुस्ताले सम्मान गर्नेछ।
पुरानो दलका राजनीतिकर्मीहरू इमानदार भएर आफूलाई प्रश्न गरिदिनुहोस् न — हामीले के गर्यौं जसले गर्दा देश यस्तो भयो? हाम्रो शासनबाट देशले के पायो? के गुमायो?
नयाँ राजनीतिकर्मीहरू पनि इमानदार भएर आफूलाई प्रश्न गरिदिनुहोस् न — हामीले खडा गरेको नयाँ दलको संरचना पनि पुरानैको जस्तो त छैन? पुरानोबाट हामी के सिक्छौं? के सिक्दैनौं?
प्रिय मिडियाकर्मीहरू,
हो, मिडिया तटस्थ हुन सक्दैन। मिडियाको आफ्नो एउटा वैचारिक स्थान हुन्छ, आफ्नो मूल्य र मान्यता हुन्छ। त्यसलाई खुला रूपमा उल्लेख गरिदिनुहोस् न!
यो पारदर्शिताले मिडियालाई विश्वसनीयता बनाउँछ। मिडिया प्रयोगकर्तालाई आफ्नो विवेक प्रयोग गरेर सुसूचित हुन सहयोग गर्छ।
अनि, आफूलाई केही प्रश्नहरू सोधिदिनुहोस् न — तटस्थ नभए पनि कुनै समाचार तयार पार्दा हामीले वस्तुगत विधि अपनाएको छौं? प्रमाणित स्रोत प्रयोग गरेका छौं? घटनाको विस्तृत पक्ष समेटेको छौं कि कुनै पक्षलाई मात्र हाइलाइट गरेका छौं? समाचार लेखनको हरेक प्रक्रियामा आचारसंहिता पालना गरेका छौं? हाम्रो समाचारले समाजलाई के दिन्छ? यसले कसैको जीवन त बर्बाद पारिरहेको छैन?
कृपया पत्रकारिताको कक्षामा पढेका समाचार लेखनको पाठलाई सम्झेर समाचार लेखिदिनुहोस् न!
अनि, आफैलाई सोधिदिनुहोस् न — एउटा आम नागरिकले आफ्नो फोनले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको उत्तेजनामूलक सामग्री र तपाईंको समाचार सामग्रीमा केही फरक छ कि छैन?
प्रिय बौद्धिकहरू,
कृपया अनुसन्धान र अध्ययनको संस्कृति प्रवर्द्धन गर्न पहल गरिदिनुहोस् न! मिथ्या र भ्रमको कोलाहलमा वैज्ञानिक चिन्तन र चेत कस्तो हुन्छ बुझाइदिनुहोस् न! यसका लागि आफैले अभ्यास गरेर देखाइदिनुहोस् न! क्षणिक उत्तेजना व्यवस्थापन गरेर तर्कसंगत र समाजको हित उन्मुख भएर सामाजिक मञ्चहरूमा कसरी प्रस्तुत हुन सकिन्छ, देखाइदिनुहोस् न!
आफैलाई सोधिदिनुहोस् न — हाम्रो विद्वताले समाज र मानिसलाई फाइदा भएको छ कि छैन? समाजको बृहत्तर हित र समृद्धिमा हाम्रो विद्वताको केही भूमिका छ कि छैन?
प्रिय शिक्षकहरू,
यो यात्रामा सबभन्दा दूरगामी प्रभाव भने तपाईँहरूको हुन्छ। शिशु कक्षाका बालबालिकादेखि विश्वविद्यालयका युवाहरूको शिक्षाको दायित्व तपाईंहरूसँग छ।
एक पटक आफैलाई प्रश्न गरिदिनुहोस् न — हाम्रो कक्षामा विद्यार्थीहरूले विषयवस्तुका अलावा आफैलाई चिन्न र बुझ्न सिकेका छन् कि छैनन्? एक अर्काप्रति प्रेम गर्न र करूणा दर्शाउन हामीले सिकाउन सकेका छौं कि छैनौं?
हामी सबैले पनि आफैसँग प्रश्न गरौं न — मेरो सोचको स्रोत के हो? कहाँबाट आएको छ? मेरो पुरानो अनुभवबाट आएको छ कि कुनै पूर्वाग्रहबाट आएको छ? ममा आएको सोच क्षणिक उत्तेजना हो कि होइन? यो तथ्य हो कि मेरो अनुभूति मात्र हो?
कतै सार्वजनिक मञ्चमा केही विचार राख्नु अगाडि प्रश्न गरौं न — मैले पृष्ठभूमि नबुझीकन कसैमाथि टिप्पणी गर्दैछु कि? मेरो बोलीले कुनै निर्दोषको जीवन तहसनहस बनाइदिन्छ कि? मैले 'लाइक, कमेन्ट र सेयर' का लागि कुनै गलत कुरा त प्रवर्द्धन गरिरहेको त छैन?
अनि हाम्रो राजनीति, प्रशासन, व्यवसाय, पत्रकारिता, शिक्षा तथा सबै क्षेत्रको शिक्षण र प्रशिक्षणमा दुइटा कुरा अनिवार्य गरौं न — आफूलाई चिन्ने र बुझ्ने सीप र अरूप्रति करूणा भाव राख्ने सोच।
अगुवाहरूले आफ्नो व्यवहार परिवर्तन गर्दै, शिक्षण र प्रशिक्षणमा नयाँपन अपनाउने हो भने बिस्तारै समाज त परिवर्तन भइहाल्छ नि!
***
एक्स (ट्विटर)- @mani_bijaya