जेनजी आन्दोलनपछि नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको दिन म बेलायत आइपुगेँ। बेलायत सरकार र साझेदार शैक्षिक संस्थाले प्रदान गर्ने चेभनिङ छात्रवृत्ति पाएर दक्षिण पश्चिम इंगल्यान्डको युनिभर्सिटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछु।
आफूले अध्ययन गर्ने विषयसँगै म केही जिज्ञासा बोकेर बेलायत आइपुगेको छु।
एक वर्षको दौरान मलाई बुझ्न मन छ — बेलायत शिक्षामा कसरी अब्बल भयो? यहाँका शैक्षिक संस्थाहरू कसरी निर्माण भए र कसरी सुदृढ हुँदै गए? यहाँको शिक्षण सिकाइ प्रणाली कस्तो छ? जस्तो छ, किन त्यस्तो छ? यहाँका शिक्षकहरू कस्ता छन्? जस्ता छन्, त्यस्तो किन छन्?
यो लेखमा एक महिनाको दौरान विश्वविद्यालयमा मैले अनुभव र अवलोकन गरेका केही कुराहरू प्रस्तुत गर्दैछु।
वास्तवमा मेरो सिकाइको प्रक्रिया बेलायत आइपुग्नु अगाडि नेपालबाटै सुरू भइसकेको थियो।
एक विदेशी विद्यार्थीको रूपमा विश्वविद्यालयले गरेको निरन्तर सञ्चार र सहयोगबाट म चकित भएको थिएँ। उनीहरूले पठाउने इमेलमा वा राख्ने अनलाइन कार्यक्रमहरूमा विद्यार्थीको मनमा आउने सवालहरू, अन्योलहरू र सम्भावित समस्याको समाधानका लागि विस्तृत जानकारी थियो।
यतिले आफूलाई नपुगेको खन्डमा सहयोग गर्न फोन वा इमेलमा मानिसहरू तम्तयार थिए।
सायद दशकौंको अनुभव, त्यो अनुभवमा विद्यार्थीहरूबाट लिएको पृष्ठपोषण र निरन्तर सिकाइको प्रतिबद्धताले होला, उनीहरूले विद्यार्थीको सानोभन्दा सानो सवालमा काम गरेका थिए। ती सवाल सम्बोधन गर्ने प्रक्रिया पनि संस्थागत गरेका थिए।
उदाहरणका लागि — विद्यार्थीहरू कहाँ बस्ने, विद्यार्थीका लागि सस्तो सामान कहाँ पाइन्छ, कम खर्चमा कसरी जीवन धान्ने, आर्थिक रूपमा कठिनाइ हुने विद्यार्थीले के गर्ने, आंशिक रूपमा काम गरेर कसरी खर्च जुटाउने जस्ता यावत सवाल विश्वविद्यालयले सम्बोधन गरेको थियो।
लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिँदा विश्वविद्यालयका कर्मचारीहरू विद्यार्थीको स्वागत गर्न तयार भएर बसेका थिए। विदेशी विद्यार्थीलाई बासस्थानसम्म पुर्याउन विश्वविद्यालयले दुई दिनका लागि बसको व्यवस्था गरेको थियो।
विश्वविद्यालयका कर्मचारीहरू विद्यार्थीहरूलाई निःशुल्क सिम कार्ड दिएर 'आ–आफ्नो घर परिवारलाई आइपुगेँ भनेर खबर गर' भनेर सम्झाउँदै थिए।
काठमाडौंमा गर्मीले पसिना चुहाउँदै जहाज चढेको म लन्डन पुग्दा सिमसिम पानी परेर जीउ नै कठ्यांग्रिने मौसम थियो। नेपालको पुस–माघ जस्तो अनुभव भइरहेको थियो। चिसो सिरेटोले छोएर जाँदा देविका प्रधान र शम्भुजित बास्कोटाले गाएको 'अच्छा लेकिन लन्डनको चिसोले समाउला' गीत याद आइरहेको थियो।
लन्डनबाट करिब ४ घन्टा बस यात्रापछि एक्सेटर सहर पुग्ने बेला सडकको एउटा बोर्डले ध्यान खिच्यो।
बोर्डमा लेखिएको थियो — साहित्यको सहर एक्सेटर।
मलाई भने आफ्ना साहित्यमा यो सहर समेट्ने चार्ल्स डिकेन्स, थोमस हार्डी जस्ता साहित्यकारको याद आइरहेको थियो।
पुगेको भोलिपल्ट किनमेल र घुमघामका लागि निस्किएँ। विभिन्न किनमेल गर्ने ठाउँमा यात्राको सहजीकरण गर्ने व्यवस्था विश्वविद्यालयले पनि गरेको थियो।
सुरूमा मलाई ध्यान खिचेको कुरा थियो — व्यवस्थित सडक पेटी। यहाँको सडक पेटी शारीरिक रूपमा कठिनाइ हुनेहरूले पनि सहजै हिँडन सक्ने थियो।
वृद्धवृद्धाहरू र शारीरिक रूपमा कठिन हुनेहरू 'मोबिलिटी स्कुटर' बाट सडक पेटीमा सहजै हिँडेको देख्दा म दंग परिरहेको थिएँ। सानो सानो कुरामा ख्याल गरेर सडक पेटी बनाइएको थियो। सडक पेटीको डिलबाट सडकमा झरेर बाटो क्रस गर्न सहजै मिल्ने गरी भिरालो बनाइएको थियो।
भिडभाड नहुने र निश्चित समयमा नियमित चलिरहने सार्वजनिक यातायात देख्दा लागेको थियो — इच्छाशक्ति हुने हो भने यस्तो नि सम्भव हुने रहेछ त!
जेब्रा क्रसिङ भएको ठाउँमा त भइहाल्यो, नभएको ठाउँबाट पनि वृद्धवृद्धाहरूले बाटो काट्न खोज्दा गाडीहरू आफै पर रोकिएर धैर्यपूर्वक पर्खिएको पनि मेरो लागि नौलो दृश्य थियो।
सडक र गल्लीहरू घुम्दै अनौठो अनुभव गरिरहँदा म डा. तारानाथ शर्माको 'बेलायततिर बरालिँदा' पुस्तक सम्झिरहेको थिएँ। सन् १९७० मा प्रकाशित भएर मदन पुरस्कार समेत पाएको यस यात्रा संस्मरणमा शर्माले बेलायतमा आफ्नो रोचक अनुभवबारे लेखेका छन्।
त्यस्तै छिनछिनमा परिवर्तन भइरहने मौसम देखेर म छक्क परेको थिएँ। एकैछिनमा सिमसिम पानी पर्छ, एकैछिनमा अँध्यारो हुन्छ, एकैछिनमा घाम लाग्छ।
हिउँदको केही दिन र अत्यधिक वायु प्रदूषणको केही दिन बाहेक सधैं घाम देखिने ठाउँमा जन्मिएको, हुर्किएको मलाई दिनमा कैयौं पटक घाम आकाशबाट हराएको दृश्यले चकित बनाएको थियो। बेला बेला घाम त लाग्थ्यो, तर त्यो घाममा नेपालको जस्तो ताप र राप थिएन। नेपालमा हुँदा त भिटामिन–डीको कमी थियो, यहाँ के होला भन्ने डरले सताइरहेको थियो।
एक्सेटर पुगेको तीन दिनपछि आफू पढ्ने क्याम्पस पुगेँ।
क्याम्पसबाट देखिने खुला आकाश, शरद ऋतुले रंगीन देखिएका रूखहरू र फराकिलो हरियो चौरले अदभूत महसुस भइरहेको थियो। त्यसमाथि लोखर्केहरूको चहलपहल, मौरीहरूको भुनभुन र समुद्री हाँसको आवाजले वातावरण जीवन्त बनाएको थियो।
सन् १८५४ मा शिक्षक तालिम कलेजको रूपमा स्थापना भएको क्याम्पसमा गएर सिक्न म उत्साहित थिएँ। मेरो विशेष रूचि थियो, १६० वर्षदेखि यस क्याम्पसले आजको दिनसम्म ऐतिहासिक विरासत सम्हाल्न कसरी सम्भव भयो?
यस कौतुहुलतासँगै शिक्षा संकायको अभिमुखीकरण कक्षामा पुगेँ। प्राध्यापकहरू विद्यार्थीभन्दा अगाडि पुगिसकेका थिए। तयार भएर बसेका थिए।
यो कक्षामा विभिन्न प्राध्यापकसँग परिचय भयो। विश्वविद्यालयले विद्यार्थीहरूलाई उपलब्ध गराउने सेवा र सुविधाबारे जानकारी दिइयो।
प्राध्यापकहरूको कुरा सुनेर कक्षा बाहिर फर्किँदा मलाई लागिरहेको थियो , सिक्ने र सफल हुने एक विद्यार्थीको रूपमा मेरो जिम्मेवारी हो, यसका लागि विश्वविद्यालय सहयोग गर्न उदार हृदयले तयार छ।
सिकाइप्रति विद्यार्थीलाई दिइने स्वायत्तता र स्वतन्त्रता मलाई नौलो लाग्यो।
अनि पहिलो कक्षादेखि नै मलाई अनुभूति भइरहेको थियो — मेरा प्राध्यापकहरू मलाई विश्वास गर्छन्। मप्रति सपना देख्छन्। मप्रति उच्च अपेक्षा राख्छन्। अनि मेरो लागि समय दिन र सहयोग गर्न तयार छन्।
विश्वविद्यालय र प्राध्यापकहरूले विद्यार्थीप्रति गरेको व्यवहार र सिर्जना गरेको वातावरण मेरो लागि नितान्त नौलो थियो।
अर्को दिन म आफूले पढ्न लागेको विषयको अभिमुखीकरणमा पुगेँ। यस विषयगत कार्यक्रमकी प्रमुख प्राध्यापक डा. साराह कोलले हाँस्दै स्वागत गरिन्।
म पुग्ने बेलासम्म ती प्राध्यापकलाई मेरो नाम थाहा भइसकेको थियो। उनले नामले बोलाउन सुरू गरिसकेकी थिइन्।
उनले विद्यार्थीहरूलाई आ–आफ्नो पृष्ठभूमि र रूचि सोधिन्। पढाइबाहेक बेलायतमा के गर्न मन छ भनेर सोधिन्। शैक्षिक लक्ष्यसँगै व्यक्तिगत लक्ष्यबारे सोधिन्।
कुनै प्राध्यापकलाई मेरो व्यक्तिगत लक्ष्य सुनाउनुपर्ला वा उनमा त्यस्तो जिज्ञासा होला भन्ने मैले सोचेकै थिइनँ। म अन्योलमा परेँ।
उनले हौसला दिँदै भनिन्, 'पढाइ मात्र होइन, आफ्नो व्यक्तिगत लक्ष्य पनि सँगै लिएर हिँड्नू। आफूलाई मनपरेको काम गर्न नछुटाउनू। रमाउनू। रमाएपछि नै धेरै सिक्न सक्छौ।'
कक्षाको दौरान म आफूले आफैलाई अवलोकन गर्दै थिएँ। आफूलाई मख्ख र फुरूंग परेर बसेको एउटा बालक जस्तो लागिरहेको थियो।
डा. साराहले धेरै पटक दोहोर्याएर हामीलाई भनिन्, 'कुनै पनि समस्या पर्दा संकोच नमान्नू। त्यसलाई दबाएर वा लुकाएर नराख्नू। तिम्रो साथमा हामी छौं। हरेक समस्याको मिलेर समाधान खोजौंला। समस्या पढाइसँग सम्बन्धित मात्र हुनुपर्छ भन्ने छैन। तिम्रो बस्ने ठाउँमा, भान्सामा वा तिम्रो समग्र अनुभवमा कतै कुनै समस्या छ भने सानो त हो भनेर लुकाएर नबस्नू। त्यसको समाधान खोज्नु हाम्रो पनि दायित्व हो।'
यो सुनिरहँदा मलाई कुनै 'एकादेशको राज्य' मा छु कि जस्तो पनि लागिरहेको थियो। तर यो यथार्थ थियो।
प्राध्यापकहरू हामीलाई आश्वस्त पार्न खोजिरहेका थिए — तिम्रो यात्रामा हामी पनि छौं!
डा. साराह मेरो 'पर्सनल ट्युटर' पनि हुन्।
बेलायतको अधिकांश विश्वविद्यालयमा हरेक विद्यार्थीका लागि एक जना 'पर्सनल ट्युटर' तोकिने रहेछ। यो पद विद्यार्थीको मुख्य सम्पर्क व्यक्ति जस्तो हुने रहेछ। यस पदमा भएको व्यक्तिको जिम्मेवारी विद्यार्थीलाई समग्र विकासका लागि व्यक्तिगत रूपमा सहयोग र मेन्टर गर्नु हो।
हरेक विद्यार्थी फरक हुन्छन् र उनीहरूको विकास पनि फरक फरक तरिकाले गरिनुपर्छ भन्ने अवधारणाको यो अभ्यास गजबको उदाहरण लाग्यो।
शैक्षिक बाहेक अन्य सवाल वा समस्याका लागि छुट्टै सम्पर्क व्यक्तिको व्यवस्था रहेछ। पर्सनल ट्युटरले पनि शैक्षिक बाहेकका अन्य समस्या समाधानका लागि पहल गरिदिने रहेछन्।
अर्को एउटा कक्षा मेरो लागि पृथक अनुभव थियो।
यो कक्षा एउटा प्रश्नमा आधारित थियो — हामी कुनै कुरा कसरी जान्दछौं?
प्रा. केरी चापेलले यो कक्षा सहजीकरण गर्दै थिइन्।
कक्षाको मूल विषयवस्तु थियो — अधिकांश पश्चिमा अध्येताहरूले 'मस्तिष्क' र 'शरीर' लाई छुट्ट्याएर हेरे। यो द्वेत दृष्टिकोणमा मस्तिष्कलाई बढी महत्व दिँदै आइयो। यो द्वेत दृष्टिकोण अन्य धेरै शक्ति संरचनासँग पनि जोडियो। जस्तै– महिला र पुरूष, कालो र गोरो, तर्क र भावना, आदि।
उनले गैर–पश्चिमा र विभिन्न आदिवासीहरू समूहहरूको दृष्टिकोण ल्याइन्।
कक्षामा चिनियाँहरूको 'शेन्ती' भन्ने एउटा शब्दबारे सुनाइन्।
चीनमा रहेको एउटा अवधारणा पनि सुनाइन् — शरीरले पनि सोच्छ, अनुभव गर्छ र महसुस गर्छ।
उनले यो सबै व्याख्या मात्र गरिनन्, कक्षामा अनुभव गराइन्।
उनले सचेत भएर सास लिँदै, आफ्नो हात र औंलाहरू चलाउँदै तथा सामूहिक रूपमा एउटा क्रियाकलाप गराएर सचेतनाको अभ्यास गराइन्। त्यो अभ्यासलाई हरेक अनुभूति समेट्दै लेख्न लगाइन्।
अनुभव गरेको कुरा शब्दमा लेख्दा मलाई कैयौं अनुभूति छुटेको महसुस भइरहेको छ। तर यो एक अनौठो अभ्यास थियो।
त्यस कक्षामा मैले देखेँ — शिक्षकमा इच्छाशक्ति र जिज्ञासा हुने हो भने बुझ्न कठिन हुने दर्शनहरू पनि अनुभव गरेरै बुझाउन सक्ने रहेछन्। आफूले वर्णन गर्ने दर्शन अभ्यासबाट देखाउन सक्ने रहेछन्।
प्राध्यापक केरीजस्तै मैले यहाँ अहिलेसम्म भेटेका हरेक प्राध्यापकमा शिक्षण र सिकाइप्रतिको समर्पण पाएँ। विद्यार्थीप्रतिको लगाव पाएँ। हरेक प्राध्यापक अनुसन्धानमा लागेको पाएँ। आफूले अध्यापन गराउने विषयवस्तुमा अत्यधिक खोजी र तयारी गरेको पाएँ।
अनि, सबैभन्दा महत्वपूर्ण कुरा, विद्यार्थीलाई सहयोग गर्न सबै जना तम्तयार रहेको पाएँ।
यहाँ विद्यार्थीको सिकाइका लागि स्वायत्तता र स्वतन्त्रताको आधार तयार गरेको पाएँ। विद्यार्थीहरू आफ्नो हिसाबले खोजी गर्न, सिक्न स्वतन्त्र र स्वायत्त छन्। उनीहरूको सिकाइ यात्रामा विश्वविद्यालयले आफूलाई हर तरहले तयार गरेको छ।
यहाँ विश्वविद्यालय देख्दा मलाई महसुस भइरहेको छ — देशमा निर्वाचन हुनु मात्र लोकतन्त्र होइन। लोकतन्त्र भनेको त हरेक संस्था र व्यक्तिले लोकतान्त्रतिक अभ्यास र संस्कार पालना गर्नु पनि हो। हरेकका लागि आवश्यक सेवा सहज र सुलभ हुनु पनि हो। हरेकको आवाज सुनिनु हो। देशको लागि ज्ञान निर्माण गर्ने ठाउँ शैक्षिक संस्थाहरू सुदृढ हुनु पनि हो।
नागरिक, समुदाय, प्राध्यापक र सरकारहरूको पहल र प्रतिबद्धतामा नै ऐतिहासिक विरासत कायम गर्ने सुदृढ विश्वविद्यालयहरू बन्छन्। लोकतन्त्र सुदृढ गर्ने हो भने नेपालमा पनि सबै सँगै आएर सामूहिक प्रतिबद्धता गर्नैपर्छ।
यहाँको अवलोकन र अनुभवबाट अरू लेखहरूमा म विभिन्न प्रश्नहरूमा खोतल्दै जानेछु — यहाँ शैक्षिक संस्थाहरूको दीर्घकालीन संरचना कसरी बन्न सक्यो? प्राध्यापकहरू आज जस्ता छन्, त्यस्ता किन छन्?
***
एक्स (ट्विटर)- @mani_bijaya
(लेखक विजयमणि पौडेल चेभनिङ छात्रवृत्ति अन्तर्गत हाल बेलायतस्थित युनिभर्सिटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछन्। यो छात्रवृत्ति बेलायत सरकार अन्तर्गत 'फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस' र साझेदार संस्थाको वित्तीय योगदानबाट सञ्चालित छ। यो लेखमा व्यक्त विचारहरू लेखकका निजी हुन्।)