यही भदौ १९ गते सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको अघिल्लो साँझ संखुवासभाबाट एक जना वृद्धाले म्यासेन्जरमा फोन गरेर मलाई सोधिन्, 'बाबु अब के फेसबुक बन्द हुन्छ रे हो? के अब म मेरा नातिनातिनाको अनुहार देख्न पनि पाउँदिनँ? के सरकारले मेरो मोबाइल पनि खोस्छ र बाबु?'
वृद्धाका प्रश्नहरू सरल थिए। तर त्यसभित्र जुन भाव थियो, त्यो सरल थिएन।
त्यसैले प्रश्न सोध्दा उनका आँखा आँशुले भरिएका थिए।
मैले उनलाई आश्वस्त पार्दै भनेँ, 'त्यस्तो हुँदैन आमा। हजुरआमा र नातिनातिनालाई कुराकानी गर्नबाट रोक्ने यो संसारमा कुनै सरकार छैन। तपाईं निश्चिन्त हुनुहोस्, न त तपाईंको मोबाइल कसैले खोस्छ, न त कुराकानी गर्नै कसैले रोक्छ।'
मेरो कुरा सुनेर वृद्धा मुस्कुराइन्। र, उनीसँगै म पनि मुस्कुराए।
निकैपछि गत साल म संखुवासभा जिल्लाको मेरो गाउँ चुंखुरूंग पुगेको थिएँ। त्यो यात्रामा म बाल्यकालका मेरा अनेक सम्झनाहरूलाई फेरि ताजा बनाउन चाहन्थेँ। म मैले डुलेका रनवन फेरि घुम्न चाहन्थेँ। खर्कमा पुगेर ऐँसेलु टिप्न चाहन्थेँ। र, देउरालीमा उभिएर बताससँगै जीवनका गीतहरू गाउन चाहन्थेँ।
त्यहाँ मेरा प्रिय खोलाहरू थिए, हेवा र चिंखुवा। म हेवा र चिंखुवा खोलामा पसेर दुवाली फर्काउन चाहन्थेँ। आफूले पौडी खेलेका दहमा मनमौजी हेलिन चाहन्थेँ। म चाहन्थेँ बर्खामा भेल आउँदा मैले तरेका फड्केहरू फेरि तर्न। र, स्कुलको चौरमा उभिएर प्रार्थना गर्न।
त्यो यात्रामा मैले भेट्नुपर्ने अनेक नामहरू थिए। केही सम्बन्धी र प्रियजनहरू थिए। केही बालसखाहरू थिए। केही मलाई माया गर्ने वृद्धवृद्धा थिए। केही मैले सम्झिरहने मान्छे थिए।
जस्तो, जन्तरे काका थिए। नेउपाने मामा थिए। कोइराला दाइ थिए। कुप्री फुपू थिइन्। पाखाघरे माइलो थियो। पार्तेलनी साइँली थिइन्।
त्यो यात्रामा उनीहरूलाई एक पटक भेटेर म आफ्नो बाल्यकालका सम्झनाहरू फेरि ताजा बनाउने चाहन्थेँ।
मैले भेट्न चाहेका तिनै अनेक नाममध्ये एक थिइन्, नेउपाने आमा। उनी पछिल्लो समय मलाई खास खास बेलामा भिडिओ कल गरेर हालखबर सोधिरहन्थिन्।
जब मैले नेउपाने आमालाई भेटेँ, उनी मख्ख परिन्।
त्यो भेटमा उनले मलाई बारीको सबभन्दा ताजा काँक्रो टिपेर दिइन् र भनिन्, 'अब त गाउँमा काँक्रा चोर्नेहरू पनि छैनन्। सबै विदेश लागे। हामी बुढापाका मात्र यहाँ।'
दिल खोलेर मस्त हाँस्दै उनले आफ्ना पुराना दिन सम्झिइन्। गाउँका अनेक किस्साहरू सुनाइन्।
सुनसान घरको पिँढीमा बसेर दिन बिताइरहेकी ती वृद्धासँग भन्न धेरै कुरा थिए। सुनाउन धेरै कथा थिए।
देखाउन भने उनीसँग एउटा खास कुरा थियो — नयाँ मोबाइल।
दुई महिना अगाडि मात्र कतारमा बस्ने आफ्नो नातिले उपहार दिएको मोबाइल।
उनका छोराबुहारी, खेतीकिसानीमा थिए। नातिनातिना थिए विदेशतिर।
मैले सोधेँ, 'आमा अनि कसरी दिन बिताउनुहुन्छ?'
उनले मख्ख पर्दै हातको मोबाइल देखाइन् र भनिन्, 'यो छ नि साथमा! बिहान र बेलुका नातिनातिनासँग कुरा गर्छु। समय त यसैउसै हाँस्दै, रूँदै बितिहाल्छ नि नानी!'
उनी प्रफुल्ल थिइन्। र, उनले त्यही प्रफुल्ल मुद्रामा आफ्ना नातिनातिनाको बखान सुरू गरिन्। जो उनीसँग प्रत्येक दिन म्यासेन्जरमा कुरा गर्थे र उनको त्यो सुनसान जीवनलाई आनन्दले भरिपूर्ण पारिदिन्थे।
यो त एउटा सानो सन्दर्भ मात्र हो। म्यासेन्जरमा गरिने भिडिओ कलको सन्दर्भ। चमचम चम्किने चिल्लो मोबाइल फोनको सन्दर्भ। हजुरआमा र नातिनातिनालाई जोड्ने सामाजिक सञ्जालको सन्दर्भ।
तर यो यस्तो सन्दर्भ हो, जो संसारभरका मानिसको जीवनको एक हिस्सा बनेर आएको छ।
र, अहिले यसमा आवद्ध छन्, हाम्रै देशका पनि लाखौं लाख मान्छेहरू।
प्रश्नहरूको सूची
अन्ततः सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सुनाइ नै हाल्यो।
कुनै पश्चाताप, कुनै अप्ठ्यारो, कुनै संशयबिना, निकै गर्वसाथ हाम्रा सञ्चारमन्त्रीले भने — सामाजिक सञ्जाल बन्द गरिने छ।
संजोग पनि यस्तो पर्यो, तत्कालीन राजा ज्ञानेन्द्र शाहले माघ १९ गते सामाजिक सञ्जाल प्रतिबन्धित गरेका थिए। लोकतान्त्रिक सरकारले भदौ १९ गते रोज्यो।
१९ गतेको यो संजोग निकै रोचक हुने भयो!
जब निर्णय आयो, मैले मनमनै आफैलाई सोधेँ — के सरकारले सामाजिक सञ्जाल बन्द गर्ने नै हो त?
त्यसो हो भने, अब वैदेशिक रोजगारीमा गएका छोराछोरीसँग यता बस्ने बिरामी र वृद्ध आमाले आफ्नो मनको कुरा कसरी गर्लिन्? वा, भिडिओ कलमा आफ्ना सन्तानको अनुहार हेरेर कम्तीमा एक प्रहर ढुक्कले निदाउने त्यो वृद्ध पिताजीको अबको रात कस्तो होला?
के उनीहरू चैनले निदाउलान्? कि उनीहरूको पूरा रात खट्पटीमै बित्ला?
सोचौं त — भागदौडको व्यस्त जिन्दगीबाट सानो पल निकालेर आफ्नी प्रियतमासँग कुरा गर्ने प्रेमी, भिडिओ कल गरेर आमालाई औषधि खान सम्झाउने छोरी र आफ्ना सन्तानलाई स्कुल जान प्रेरित गर्ने आमाहरूले अब कसरी उनीहरूसँग कुरा गर्लान्?
के सरकारले यी मान्छेहरूको खुसी खोस्न लागेकै हो त? — जो विदेशमा कमाएको अर्बौं रेमिटेन्स पठाएर सरकारको ढुकुटी भरिदिन्छन्। र, आफू भने प्रत्येक साँझ सामाजिक सञ्जालमा आफ्ना प्रियजनको फोटो हेरेर टोलाइरहन्छन्।
त्यसो त, सामाजिक सञ्जालको महत्त्व यति मात्र होइन। अहिले सामाजिक सञ्जालकै माध्यमबाट छुटेका परिवारहरू मिलेका छन्। हराएका आफन्तहरू भेटिएका छन्। वर्षौंपछि मित्रहरूको मिलन भएको छ।
र, संसार आँगनझैं छोटो र सजिलो हुँदै गएको छ।
अवश्य नै, समाजको आधारभूत वर्गका लागि सामाजिक सञ्जाल सूचना र सम्पर्कको सबभन्दा सस्तो माध्यम भएको छ। अझ हाम्रो जस्तो देश, जहाँ हरेक घरका लगभग एक जना सदस्य विदेश छन्, उनीहरूका लागि यो सूचनाको सबभन्दा सस्तो, भरपर्दो र महत्त्वपूर्ण साधन भएको छ।
फेरि पनि यसको महत्त्व यति मात्र होइन। अर्थात्, यो हाम्रो पारिवारिक जीवनको मात्र नभई सामाजिक जीवनको पनि महत्त्वपूर्ण सेतु बनेको छ।
आज विवाह, ब्रतबन्ध र पूजापाठको समाचार 'ग्रुप' मा राख्यो, पुग्यो। दुःख बिमार, जन्ती र मलामीको खबर राख्यो, पुग्यो।
आज सार्वजनिक जीवनमा क्रियाशील अनेकौं यस्ता 'समूह' छन्, जो सामाजिक सञ्जालबाटै आफ्ना गतिविधि अगाडि बढाउँछन् र प्रभावकारी पनि छन्।
जस्तो, समाज सेवा गर्न सामाजिक सञ्जाल। गाउँमा पुस्तकालय बनाउन सामाजिक सञ्जाल। आमा समूहको काम गर्न सामाजिक सञ्जाल। बचत समूहको बैठक गर्न सामाजिक सञ्जाल।
आजकल गाउँ सहरमा यस्ता अनेक समूह म्यासेन्जर, फेसबुक, भाइबर र ह्वाट्सएपमा सक्रिय छन्, जसले सामाजिक संगठन, सूचना र सहकार्यको अलग्गै संसार निर्माण गरेका छन्। केही वर्ष अगाडि यी कल्पनामा पनि थिएनन्।
यी सक्रिय पनि छन्। प्रभावकारी पनि छन्। र, परिणाममुखी पनि छन्।
त्यसैगरी आजका दिनमा सामाजिक सञ्जाल सूचना र मनोरञ्जनको विषय मात्र रहेन।
यो रचनात्मक क्षेत्र त भयो नै, यो आफैमा व्यापारिक थलो पनि भएको छ।
परिणाम — नेपालमा आज हजारौं युवाहरू सामाजिक सञ्जालमार्फत अनलाइन व्यापार–व्यवसायमा संलग्न छन्। उनीहरूलाई यसले रोजगारी दिएको छ र व्यवसाय फस्टाउनमा मद्दत गरेको छ।
जस्तो, मैले आफै चिनेकै केही 'गृहिणी' हरू छन् जो अनलाइनबाट व्यापार गर्छन्। सामाजिक सञ्जाल बन्द हुँदा, मानौं यसमा आबद्ध दस हजार अनलाइन पसलहरू बन्द भए भने?
यावत परिस्थितिले पार्ने सामाजिक, आर्थिक र अन्य प्रभाव निकै ठूलो हुने पक्का छ।
अर्कोतर्फ, आजका दिनमा सामाजिक सञ्जाल शिक्षाको समेत महत्त्वपूर्ण थलो बनेको छ। नेपालमै पनि आजकल सयौं अनलाइन क्लासहरू सञ्चालन हुन्छन्। अनलाइन विमर्शहरू गरिन्छन्। बहसहरू हुन्छन्। अनलाइन प्रशिक्षणहरू हुन्छन्। यी सबैले ज्ञानको प्रवर्द्धनमा ठूलो भूमिका खेलिरहेका छन्।
त्यसो त सामाजिक सञ्जालको घेरा अहिले परिवार र समाजभन्दा व्यापक र विस्तारित छ।
अतः अहिले यो हामीलाई विश्वसँग जोड्ने एक महत्त्वपूर्ण माध्यम बनेको छ।
र, यो हाम्रो नयाँ पुस्ताका लागि विश्व चियाउने एक महत्त्वपूर्ण ढोका बनेको छ।
परिणाम — यसैका माध्यमबाट आज फगत एक क्लिकमा मान्छे संसारसँग जोडिन सक्छ। र, आफ्नो योग्यतामार्फत नयाँ क्षितिजमा निर्वाध उड्न सक्छ।
त्यसैले सामाजिक सञ्जाल आजका दिनमा मानव सभ्यताकै लागि एक अपरिहार्य उपहार हो। यो हाम्रो अस्तित्वको हिस्सा हो। जीवन पद्धति हो।
र, हो लोकतन्त्रको सबभन्दा सुन्दर परिकल्पना।
किन असहिष्णु बन्दैछ सरकार?
प्रश्न आउँछ — त्यसो भए सामाजिक सञ्जालसँग सरकार किन असहिष्णु बन्दैछ? किन हाम्रा सञ्चारमन्त्री सामाजिक प्लेटफर्महरूप्रति नकारात्मक सुनिन्छन्? अथवा, सरकार किन सामाजिक सञ्जाल बन्द गर्न चाहन्छ?
यी प्रश्नहरूको जबाफ दिन सरकारले मुख्यतः तीन वटा तर्क अगाडि सारेको देखिन्छ।
पहिलो तर्क छ — सामाजिक सञ्जालहरूले नेपाल सरकारलाई हेपे। उनीहरू हाम्रो देशको नियम–कानुन अनुसार सूचीकृत हुन आएनन्। अनेक पटक ताकेता गर्दा पनि आएनन्। त्यसैले उनीहरूलाई छाडा छोड्न सकिँदैन। अतः सामाजिक सञ्जाल बन्द गर्ने सरकारको बाध्यात्मक निर्णय हो।
दोस्रो तर्क छ — सामाजिक सञ्जालहरू नियमन गर्न स्वयं अदालतले सरकारलाई आदेश दिएको थियो। सरकारले अहिले त्यही आदेशको तामेली मात्र गरेको हो।
तेस्रो तर्क छ — पछिल्लो समय सामाजिक सञ्जालले भाँडभैलो मच्चाएका छन्। सार्वजनिक आचार र अनुशासन भंग भएको छ। हाम्रो धर्म संस्कृतिलाई आघात गरिँदैछ। यो छाडा भयो। अतः यसलाई नियमन गर्न आवश्यक भयो। र, त्यसका लागि सञ्जालको सूचीकरण एक र अनिवार्य सर्त हो।
के कुरा यही हो त?
सरकारका तर्क थोरै पर्गेलेर हेरौं।
जस्तो, पहिलो तर्क सुन्दा अवश्य नै हाम्रो स्वाभिमान जागृत हुन्छ। सरल ढंगले हेर्दा सामाजिक सञ्जालले हाम्रो सरकारलाई हेप्ने, यिनलाई ठीक लगाउनै पर्छ भन्ने भावनात्मक र राष्ट्रवादी भाव मनमा आउँछ।
तर अर्को प्रश्न पनि त छ।
जस्तो, के साँच्चै सरकारले उनीहरूसँग समुचित छलफल गर्यो? अन्यथा, हाम्रो कर प्रणालीमा दर्ता भएका सामाजिक सञ्जालहरू नियमन प्रणालीमा जोडिन नआउनुपर्ने कारण के हुन्छ? के सरकारले ठीक ढंगले उनीहरूसँग संवाद गरेको छ?
यो आशंका गर्न किन पनि आवश्यक भयो भने, हामीलाई थाहा छ — हाम्रा सरकारी कामहरू कति गम्भीर हुन्छन्! हाम्रा अधिकारीहरूले गर्ने संवाद, लेख्ने पत्र, उनीहरूको जबाफदेहिता यो सबै कति छिपछिपे छ!
त्यसैले यो प्रश्न स्वाभाविक हुन्छ — कतै सामाजिक सञ्जालका विषयमा हामी र सञ्जालका अधिकारीहरूबीच ठूलो सञ्चार शून्यता त छैन?
अर्थात्, पठाएको इमेल नपुग्ने, गलत ठेगानामा इमेल गर्ने, गलत मान्छेलाई इमेल गर्ने, भाषागत कठिनाइले ठीक संवाद नहुने र सतही संवादले विषयको गाम्भीर्य प्रकट नहुने आदि समस्याले पो यो सबै भइरहेको छ कि?
अन्यथा, सञ्जालहरू नेपाल सरकारसँग टाढिनुपर्ने न त आर्थिक कारण देखिन्छ, न त कानुनी जटिलता नै!
जहाँसम्म अदालतले आदेश दिएको दोस्रो तर्क छ, यहाँ भने सरकारले नेपाली नागरिकलाई ढाँटेको प्रस्ट देखिन्छ। किनभने, अदालतले सरकारलाई कानुन बनाएर नियमन गर्न निर्देशन दिएको हो। मन्त्रीको मनमौजी आदेश र निर्देशिका बनाएर नियमन गर्न भनेको होइन।
यो अर्थमा, सरकारले सामाजिक सञ्जाल नियमनका लागि संसदमा दर्ता भएको विधेयक छलफलमा ल्याउनुको साटो निर्देशिकामार्फत काम गर्न खोजेकोमा प्रश्न स्वाभाविक हुन्छ।
र, यहाँ सरकारको बेइमानी स्पष्ट देखिन्छ। कतै सरकार नियतवश नै सञ्जालहरूलाई अंकुश लगाउन चाहन्छ कि भन्ने प्रश्न पनि उठ्छ।
होइन भने, सामाजिक सञ्जाल बन्द गर्ने जस्तो व्यापक जनजीवनलाई प्रभावित गर्ने विषयमा संसदमा छलफल गर्न सरकारले किन रूचि देखाएन?
कानुन बनाउने प्रक्रियामा सरकारले किन कुनै अतिरिक्त तदारूकता देखाएन?
अदालतले कानुन बनाउन गरेको आदेशलाई सरकारले किन अपव्याख्या गर्यो?
सरकारको तेस्रो तर्क, सामाजिक सञ्जालले भाँडभैलो गर्यो भन्नु उचित नै होला। यसका लागि सरकारले उचित सतर्कता पनि अपनाउनै पर्छ। तर सञ्जाल बन्द गर्नु यसको सही समाधान हुँदैन।
सोचौं त, उडुस लाग्यो भनेर घरमा आगो लगाउनु हुन्छ?
अन्तिम कुरा
सामाजिक सञ्जाल र नेपाल सरकारको लफडा के हो, त्यो आम नागरिकलाई कुनै सरोकारको विषय होइन। र, यसमा सरकारले धेरै भावुक तर्कहरू गर्न आवश्यक पनि छैन।
आम नागरिकलाई यति थाहा छ, सामाजिक सञ्जालले उसलाई संसारसँग जोडेको छ। परिवारसँग जोडेको छ। आफ्ना प्रियजनहरूको हाँसो र खुसीसँग जोडेको छ।
यसले साधारण मान्छेको जीवनमा सूचनाको क्रान्ति ल्याएको छ। यो मान्छेको जीवनमा अनिवार्य हिस्सा बनेको छ। र, यसले मान्छेलाई बलियोसँग बोल्न र प्रश्न गर्न सिकाएको छ।
अतः यो खुला समाजको एक अपरिहार्य जीवन पद्धति हो। यो हाम्रो सामाजिक जीवनको आम हिस्सा हो।
नेपालमा सामाजिक सञ्जालले दैनिक कम्तीमा एक करोड मान्छेलाई आफ्ना परिवारसँग जोडेको हुनुपर्छ। जो आफूभन्दा टाढा पुगेका प्रियजनहरूसँग कुरा गरेर दिनको सुरूआत गर्छन् र रातमा ढुक्कले निदाउँछन्।
विचार गरौं त, जब यो बन्द हुनेछ, तब ती यावत खुसीहरू के होलान्? ती खुसीहरू खोसिए भने यसको मूल्य कति होला?
र, त्यसपछि आम मान्छेको जीवनमा छाउने जुन रिक्तता छ, त्यसको परिपूर्ति कसरी गरिएला?
विचार गरौं, एउटा लोकतान्त्रिक सरकारले के आफ्ना नागरिकको यो खुसी त्यति सजिलै खोस्न सक्छ?
अन्यथा, कि भनौं, हामी उत्तर कोरियाको यात्रामा अगाडि बढेका हौं!
नत्र सामाजिक सञ्जाल बन्द नै गर्ने हो भने, यसबाट सिर्जना हुने राजनीतिक, नैतिक र सामाजिक क्षतिको परिपूरण कसरी हुन्छ?
हामीलाई अझै सम्झना छ — २०६१ माघ १९ एक अँध्यारो दिन थियो। अर्थात्, त्यो दिन राजा ज्ञानेन्द्रको शाही–आदेशमा हाम्रो सूचनाको हक खोसिएको थियो।
र, त्यही तानाशाही दिन सम्झाउने गरी १९ गते नै पारेर हाम्रो लोकतान्त्रिक सरकारले त्यस्तो अर्को निर्णय कसरी गर्न सक्छ?
यो हाम्रो संविधान, कानुन र लोकतन्त्रको आधारभूत मान्यता विपरीत कुरा हो।
यो अस्वीकार्य कुरा हो। र, यसलाई अस्वीकार गर्नुपर्छ।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab