यहाँ उल्लेखित सन्दर्भहरू कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला!
यही वैशाख महिनाको कुरा हो। दिन रापिलो थियो र हावा उम्लिँदै थियो आकाशमा। गर्मीले हुनुपर्छ, राजनीति अलि ज्यादै बतासिएको थियो त्यो दिन।
सिंहदरबारमा बस्ने केही कमरेडहरू बिहानैदेखि सामाजिक सञ्जालमा 'म झोले हो' भनेर उफ्रिँदै थिए। तर आश्चर्यजनक रूपमा त्यो दिन अरिँगाल, बच्छिउँ र बारूलाहरू मौन थिए।
वश्, त्यही दिन गोकर्णेश्वर जंगलमा केही जनावरहरूले एउटा सम्मेलन आयोजना गरे जसको मुख्य उद्देश्य थियो, नयाँ पार्टी खोल्ने र जनावरवाद ल्याउने।
जनावरहरूले पार्टी खोल्ने खबर सुन्नासाथ, मेरो मन उधुमले रोमाञ्चित भयो।
मैले जर्ज अर्वेलको 'एनिमल फार्म' सम्झिएँ।
मनमा केही प्रश्न आए।
जस्तो — कस्तो होला त्यो पार्टी, जहाँ सिंह र मृग एउटै पार्टीमा हुन्छन् र सामाजिक न्यायको वकालत गर्छन्? कस्तो होला त्यो पार्टी, जहाँ चिल र मुसा एउटै संगठनमा बस्छन् र सहकार्यको संखघोष गर्छन्? सबैलाई पुग्दो खाना दिने एजेन्डामा त्यो पार्टीले लिने नीति कस्तो होला, जहाँ स्याल र कुखुरा एउटै पार्टीमा हुन्छन्?
धामन, गोमन र करेतले संगठन गर्दै गरेको कुनै पार्टीमा भ्यागुताले सदस्यता लिँदै गरेको दृश्य सम्झिएर म भुतुक्कै भएँ। बाघ र बँदेल सँगै बसेर जनावरहरूको मुक्तिको कथा सुनाउँदै गरेको कुनै बेजोड क्षण सम्झिँदा मेरो आङ नै जिरिंग भएर आयो।
मैले त्यो पार्टीले आयोजना गर्ने सडक प्रदर्शनहरूको कल्पना गरेँ, जहाँ सिंह सबैभन्दा अगाडि उभिएर सारा जनावरहरूको मुक्ति–गीत गाइरहेको छ र गीतको भावधारामा रमाउँदै छन् खरायो र मृगहरू।
मैले आफूलाई रोक्नै सकिनँ र सम्मेलनको तमासा हेर्न पुगेँ गोकर्णेश्वर।
म त्यहाँ पुग्दा जंगलको बीचमा जनावरहरू भेला हुँदै थिए। मलसाप्रो जस्तो अनुहार परेका केही दर्जन स्वयंसेवकहरू सम्मेलनमा आउने प्रतिनिधिहरूको परिचयपत्र हेर्दै मुख्यद्वारबाट भित्र पसाउँदै थिए।
म भित्र जान खोजेँ।
एउटा फ्याउरो दौडिँदै आएर मलाई भन्यो, 'मान्छेलाई प्रवेश निषेध छ।'
म रोकिएँ र छेउमा उभिएर भित्रको दृश्य हेर्न थालेँ, जहाँ राजनीतिको मात चढेको थियो र स्यालहरू त्यसैमा मुग्ध भई नाचिरहेका थिए।
अगाडि मञ्च थियो। मञ्चमा ठूलो ब्यानर थियो र ब्यानरमा थियो, एउटा अजंगको सिंहको फोटो। जसका आँखा निकै हिंस्रक थिए र दाह्रा थिए बडेमानका। सिंहका ओठ राताराता थिए, अनुहारमा अहंकार नाचिरहेको थियो।
त्यही ब्यानर अगाडि उभिएर हरिणका तीन वटा बच्चा सेल्फी लिँदै थिए।
एकैछिनमा बाघले मोटो स्वरमा सम्मेलन सुरू हुनै आँटेको संकेत गर्यो। र, सबैलाई मञ्च अगाडि बोलायो। आसन ग्रहण भयो। मञ्चमा सिंह, बाघ, चितुवा, स्याल, फ्याउरो, ब्वाँसो र मलसाप्रो गजधम्म बसे। सबै ढुक्क थिए। सबै गदगद् थिए।
तल दर्शकदिर्घामा बस्ने दुम्सी र लोखर्केहरू आसन ग्रहण समावेशी नभएको गुनासो गर्दै थिए। बाघले धेरै ट्याउ ट्याउ नगर्न सचेत गरायो र स्वागत मन्तव्य पढ्न थाल्यो।
लगत्तै एउटा खिरिलो ज्यानको गोही आँशु झार्दै मञ्चमा चढ्यो र सम्मेलनको राजनीतिक प्रस्ताव प्रस्तुत गर्न सिंहलाई बोलायो।
जब सिंह मञ्चमा आयो, सभास्थल तालीले गुञ्जयमान भयो। सिंहले निकै शानदार ढंगले आफ्नो प्रस्ताव अगाडि बढायो।
उसले भन्यो, 'प्रिय जनावरहरू, परिवर्तन सम्भव छ र म त्यसको नेतृत्व गर्छु। एक दिन क्रान्ति सफल हुनेछ र हाम्रो सरकार बन्नेछ। म राजा हुनेछु र त्यसपछि जंगलमा जनावरवाद आउने छ। तर त्यसका लागि हामी सबै लड्नुपर्छ र आवश्यक परे बलिदान दिन पनि तयार हुनुपर्छ।'
यति भनेर उसले नारा लगायो, 'संसारका जनावरहरू एक हौं!'
हलमा उत्साहको लहर चल्यो र प्रतिनिधिहरू सिंहसँगै चर्को चर्को स्वरमा नारा लगाउन थाले।
त्यहाँको सामूहिक उत्साहले सायद सिंह पनि उद्वेलित भयो।
ऊ अझ चर्को स्वरमा गर्जियो, 'साथीहरू जित निश्चित छ। आउनुहोस्, यो खुसियालीमा हामी सबै एकताबद्ध भई अगाडि बढ्ने प्रतिज्ञा गरौं।'
यति भनेर सिंह जोड जोडले डुक्रियो।
त्यति नै बेला सानो खरायो पछाडिबाट बोल्यो, 'सिंहज्यू, तर जबसम्म हामीलाई खाने चिल आकाशमा उडिरहन्छ, हामी कसरी एकताबद्ध हुन सक्छौं? चिलले आजैबाट आफू शाकाहारी भएको घोषणा गरोस्।'
त्यसपछि भिडबाट भ्यागुतो करायो, 'म प्रस्ताव गर्छु, आजैबाट सर्पले पनि भ्यागुतो खान छोडोस्।'
बाघलाई इसारा गर्दै मृग पनि करायो, 'बाघ पनि शाकाहारी हुनुपर्छ।'
यो सबै दृश्य रूखको हाँगामा बसेर नियालिरहेको डाँफेचरीले भन्यो, 'सबभन्दा पहिले स्वयं सिंह महोदयले आफूलाई शाकाहारी घोषणा गर्नुहोस्। त्यसपछि बाघ, सर्प, गोही, चिल सबै शाकाहारी बनून्। अन्यथा न त यो एकता सम्भव छ, न त जनावरवाद नै आउँछ।'
सम्मेलनमा उपस्थित सहभागीहरूले डाँफेको प्रस्तावलाई समर्थन जनाए।
भिडको उत्साह देखेर ब्वाँसोले सिंहतिर हेरेर सोध्यो, 'के गर्ने सिंहज्यू?'
विकसित नयाँ घटनाउपर बाघ, सिंह, चितुवा, स्याल र ब्वाँसोहरूले एकछिन कानेखुसी गरे।
मञ्चबाट उठेर ब्वाँसोले भन्यो, 'हामी खरायो, मृग, भ्यागुतो, परेवा लगायत सबै बन्धुहरूलाई आश्वस्त गर्छौं कि आजैबाट हामी शाकाहारी भयौं...।'
ब्वाँसो बोल्दै थियो, बीचैमा बाघ गर्जियो, 'तर हाम्रो एउटा सर्त छ।'
बाघले सामुन्ने उभिएको कलिलो जरायोतिर हेर्दै भन्यो, 'हामी शाकाहारी बन्नुपर्छ भने तिमीहरू पनि सबै भेडो बन्नुपर्छ। पहिले यसमा मञ्जुर गर, अनि मात्र कुरा मिल्छ। अनि मात्र हाम्रो पार्टी बन्छ। अनि मात्र धर्तीमा जनावरवाद आउँछ।'
बाघको प्रस्तावले दर्शकदिर्घामा हो–हल्ला भयो। त्यो प्रस्तावमा गाई, गोरू, घोडा, खरायो, मृग, जरायो, कुखुरा, परेवा आदि सबैले अनेक कोणबाट छलफल गरे।
अन्त्यमा निष्कर्ष सुनाउँदै खरायोले भन्यो, 'यदि बाघ, सिंह, चितुवा, स्याल, ब्वाँसो र चिलहरू शाकाहारी बन्ने हो भने, हामी गाई, गोरू, घोडा, खरायो, भ्यागुतो, मृग र परेवाहरू पनि भेडो बन्न तयार छौं। लौ सहमति गरौं।'
सम्मेलनले करतल ध्वनिका साथ प्रस्ताव पारित गर्यो।
म जनावरहरूको सम्मेलनलाई गोकर्णेश्वरको जंगलमा बसेर नजिकैबाट हेर्दै थिएँ।
त्यति नै खेर, जब सभामा उपस्थित गाई, गोरू, घोडा, खरायो, मृग, जरायो, कुखुरा, परेवा सबैले 'भेडो बन्ने' प्रस्तावमा सहमति गरे, मेरो कल्पनामा आयो — एउटा भेडैभेडाको विशाल पार्टी।
त्यसपछि मेरो अवचेतन मन गोकर्णेश्वरबाट उड्यो त्यही काल्पनिक 'भेडे' पार्टीको मुख्यालयतिर जहाँ एउटा पटांगिनी थियो। पटांगिनीको दाहिनेतिर थियो भव्य दरबार। दरबारको बुर्जामा थियो फहराइरहेको एउटा चम्किलो झन्डा। र, झन्डाको आडैमा थियो सुनको भव्य सिंहासन, जसमा विराजमान थियो एउटा नेता।
बालुवाटार, बालकोट, खुमलटार वा बुढानीलकण्ठतिर कतै देखेजस्तो लाग्ने त्यो नेताको चरणमा बन्दनारत थिए हजारौं हजार मान्छेहरू।
ऊ टाउकोमा रातो फेटा बाँधेर एउटै लयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता वाचन गरेझैं बडो विनम्र स्वरमा याचना गरिरहेको थियो, 'प्रभुजी मलाई भेडो बनाऊ।'
सेवकहरूको लयबद्ध याचना सुनेपछि, सिंहासनमा विराजमान नेताले थोरै आँखा खोल्यो। अनि चर्को स्वरमा सोध्यो, 'अलिक स्पष्टसँग भन नाथेहरू यो याचनाको रहस्य के हो?'
नेताको प्रश्न सुन्नासाथ, एकछिन सबै याचकहरू शान्त भए।
केही क्षणपछि, सामूहिक स्वरमा भने, 'यसमा कुनै रहस्य छैन ख्वामित, मात्र हाम्रो बिन्ती छ कि हामीलाई भेडो बनाइदिनुस्। हामीलाई तपाईंको शाही जंगलमा चुपचाप चर्ने, तपाईंको हरेक आदेशमा ताली बजाउने, प्रश्न नगर्ने, सपना नदेख्ने, मात्र तपाईंको जय–जयकार गर्ने भेडो बनाइदिनुस्।'
भिडको सबभन्दा अगाडि थियो परिचित जस्तो लाग्ने दोस्रो दर्जाको एक जना नेता।
ब्वाँसो जस्तो अनुहारको त्यो मान्छे कुनै बेला मन्त्री समेत भइसकेको थियो।
उसले याचनाको स्वरमा भन्यो, 'हामीलाई तपाईंको जस्तो दिव्य नाम, स्वाभिमान र सम्मान चाहिएन प्रभु। हामीसँग जे जे छन्, ती सबै तपाईंको चरणमा अर्पण गर्दछौं। हामीलाई तपाईंको दयादृष्टि बाहेक बाँकी केही पनि चाहिएन। मात्र तपाईंको चरणको धूलो चन्दन लगाउन पाऊँ। प्रभुजी, हामी नाचिज, हामी तुच्छ, हामी अभागी तपाईंको छहारी चाहन्छौं। कृपा गरी तपाईंको निगाहमा मस्त निदाउन पाऊँ।'
नेताले सेवकहरूतिर हेरेर व्यंगात्मक स्वरमा भन्यो, 'तिमीहरू भेडो होइन, गँड्यौला बन।'
उसको कुराले भिडमा अन्योल र अनमनस्क वातावरण बन्यो।
नेताले लापरबाहीसँग भिडलाई हेर्दै भन्यो, 'चाहन्छौ भने म तिमीहरूलाई झुसिलकिरो, छिचिमिरो वा छेपारो बनाइदिन सक्छु। तर भेडो बनाउन असम्भव छ।'
नेताको प्रस्तावले मैदानमा अचम्मको मुर्दा शान्ति छायो। र, त्यही शान्तिको बीचमा एउटा अलिक मोटो र खाइलाग्दो ज्यानको मनुवा उठ्यो। ऊ कुनै बेला अमुक विश्वविद्यालयको हर्ताकर्ता थियो।
उसले हात जोड्दै भन्यो, 'दयानिधान प्रभु! हामी यस कारण भेडो नै बन्न चाहन्छौं कि भेडासँग कुनै प्रश्न हुँदैन। भेडाले विद्रोह गर्दैन। भेडाले प्रभुको गाथगादी ताक्दैन। भेडासँग कुनै नारा हुँदैन, कुनै प्रतिवाद हुँदैन। जता इसारा गर्यो, त्यतै खुरूखुरू हिँड्ने भेडो नै यो चराचर जगतको सबभन्दा उत्तम प्राणी हो। त्यसैले बिन्ती गर्छौं प्रभु, हामीलाई पनि त्यस्तै उत्तम प्राणी बन्ने अवसर प्राप्त होस्। प्रभुजी, हामीलाई भेडो नै बनाइदिनुहोस्।'
'यो कसरी सम्भव छ मूर्खहरू? चाहन्छौ भने म तिमीहरूलाई मच्छड बनाउन सक्छु, बारूला वा अरिँगाल बनाउन सक्छु। तर भेडो बनाउन सक्दिनँ,' नेताले थोरै आफ्नो संशय र सीमा व्यक्त गर्यो।
असली भेडो बन्न लालायीत त्यो भिड नेताको कुरा सुनेर एकछिन निराश भयो र त्यसपछि सामूहिक लयमा बिन्ती बिसाउन थाल्यो, 'हजुरको राज्यमा असम्भव के छ र प्रभु? तपाईं दिनलाई रात र रातलाई दिन बनाउन सक्नुहुन्छ। तपाईं सुनलाई चाँदी बनाउन सक्नुहुन्छ, चाँदीलाई सुन। तपाईं नेपालीलाई भुटानी बनाउन सक्नुहुन्छ, भुटानीलाई नेपाली। तपाईंको शासनमा सबै सम्भव छ प्रभु। कुनै बेलाको क्रान्तिकारी, तपाईंको नेतृत्वमा दलाल र विचौलिया बन्न सक्छ। प्राध्यापक तस्कर बन्न सक्छ। सांसद जग्गा दलाल, गिटी, बालुवाको व्यापारी र कमिसनको एजेन्ट बन्न सक्छ।'
भिडमा एक जना ठेकेदार पनि थियो।
उसले सबैलाई शान्त हुने इसारा गर्दै भन्यो, 'मालिक! हामी सबैलाई थाहा छ, तपाईंको शासनमा असम्भव केही छैन। जस्तो सडक पहिरो बन्न सक्छ, गौचरन पोखरी बन्न सक्छ, अस्पताल वधशाला बन्न सक्छ। हजुर स्वयंलाई थाहा छ, एयरपोर्टमा प्लेनभन्दा धेरै धूलो उड्छ र निर्धो मान्छे भोकै दौडिन्छ सपना खोज्न। हिजो सडकमा आन्दोलन हुन्थ्यो, आज सडकमा तपाईंको स्तुतिगान हुन्छ। जब सबै कुरा फेरिन्छन् त, हामी मात्र फेरिन कसरी असम्भव छ महाप्रभु?'
त्यसैबीच एक जना सरकारी कर्मचारी जस्तो देखिने अधबैंसे अगाडि आयो र स्तुति गर्न थाल्यो, 'महामन, कुनै बेला तपाईं नै भन्नुहुन्थ्यो, जनता महान हुन्छन्। तर आज तपाईं जनतालाई उल्लू देख्नुहुन्छ। र, भन्नुहुन्छ यी सबै रैती हुन्। आज तपाईंको आँखामा जनता भनेको मात्र एक आँकडा हो, जनगणनाको आँकडा। भूकम्पमा मर्नेहरूको आँकडा। पहिरोमा पर्नेहरूको आँकडा। रोगको आँकडा। भोकको आँकडा। भोटको आँकडा। आज जनतालाई मात्र गन्ती गरिन्छ, गन्तव्य दिइँदैन। प्रभुजी, तपाईंको कृपाले मान्छे अंकमा फेरिन सक्छ त भेडो बन्न किन सक्दैन हजुर?'
स्तुतिगान गाउँदागाउँदै याचकहरू भावुक हुँदै गए। उनीहरूको स्वर अझ नम्र र मधुर हुँदै गयो।
उनीहरू भन्दै गए, 'मान्छेहरू भन्छन्, यो देशमा लोकतन्त्र छ। आफ्नै ख्वामितलाई प्रश्न गर्ने लोकतन्त्र, भो अब हामीलाई चाहिएन। मान्छेहरू भन्छन्, तपाईंको सत्ता भ्रष्ट हो। यस्तो रामराज्यलाई भ्रष्ट सत्ता भन्ने ती मूर्खहरूको सत्यानास होस्। मान्छेहरू भन्छन्, तपाई अहंकारी हुनुभयो। हामी श्राप दिन्छौं ख्वामित, तपाईलाई अहंकारी देख्ने ती मान्छेका आँखा फुटिजाऊन्।'
'मान्छेहरू भन्छन्, तपाईंको अनुहारमा भ्रष्टाचारको दाग लागेको छ। हामीलाई तपाईंको यही अनुहार दिव्य लाग्छ मान्यवर। तपाईं धर्ती, हामी धूलो। तपाईं नदी, हामी थोपा। तपाईं पालनहार, हामी निरीह मनुवा। हामीलाई धूलो हुनुमै आनन्द छ प्रभु। कृपया हामीलाई भेडो बनाइदिनुहोस्।'
भिडको बीचबाट अर्को कोही उठ्यो।
संसदमा कतै देखेजस्तो लाग्ने चिरपरिचित अनुहारको उसले आफ्नो टाउको आधा झुकायो र भन्न थाल्यो, 'हामीलाई लाग्छ, यो देश, यो लोकतन्त्र, यो संविधान, यो सत्ता, यो सरकार सबै तपाईंको कृपा हो ख्वामित। तपाईंले हामीलाई स्वतन्त्रता दिनुभयो, हामी त्यो स्वतन्त्रताभित्र तपाईंले बाँधिदिनुभएको चार–किल्ला मान्न तयार छौं। तपाईंले हामीलाई बोल्ने जे जे शब्दहरू दिनुभयो प्रभु, हामी तपाईंले सिकाएका शब्दहरू भन्दा बाँकी शब्दहरू किमार्थ बोल्ने छैनौं।'
ऊ भन्दै गयो— भनिन्छ, मान्छे विवेकशील प्राणी हो। त्यो विवेक नामको कुनै वस्तु हामीसँग छ भने, हामी त्यो विवेक तपाईंलाई अर्पित गछौं पालनहार। हामी कसम खान्छौं, आजैबाट हाम्रो सार्वभौमिकता तपाईंको, हाम्रो स्वतन्त्रता तपाईंको। संविधानको किताब हामी बोकौंला त्यसको आत्मा तपाईंलाई। कानुनका पोथा हामी बोकौंला, त्यसको सार तपाईंलाई। हामीलाई तपाईं बिनाको स्वतन्त्रता चाहिएन। हामीलाई तपाईंसँग प्रश्न गर्ने शब्द चाहिएन। हामीलाई तपाईमाथि संशय गर्ने बुद्धि चाहिएन। हामी तपाईंको दास हौं प्रभुवर, कृपया हामीलाई भेडो बनाइदिनुहोस्।
बीचमा बसेर निकै लामो समयदेखि प्रार्थनारत अलिक श्याम रङको एक जना याचक उभियो र थरथर काम्दै बोल्न थाल्यो, 'प्रभुजी, तपाईंका हरेक शब्द हाम्रा लागि आशीर्वाद हुन्। कतै हामीले प्रश्न गर्यौं भने हामीलाई कोर्रा हानियोस्। कतै बहकिएर हामीले सत्यको माग गर्यौं भने, हामीलाई अराजक ठानियोस्।'
ऊ भन्दै गयो— ख्वामितलाई प्रश्न सोध्ने हाम्रो मुखै बैरी। ख्वामितका कमजोरीहरू देख्ने हाम्रा आँखै अटेरी। हामीलाई न त चाहियो उज्यालो खोज्ने चेतना, न त चाहियो गन्तव्य रोज्ने साधना। हाम्रा विपना तपाईंका, हाम्रा सपना तपाईंका। प्रभुजी, आजबाट हाम्रो हाँसो तपाईंको, हाम्रो आँशु तपाईंको। वश् यति बिन्ती छ प्रभु, हाम्रो बुद्धि खोस्नुहोस्, हाम्रो विवेक खोस्नुहोस्, हाम्रो आवाज खोस्नुहोस्। कृपया अब बिलम्ब नहोस्, हामीलाई तत्काल भेडो बनाइदिनुहोस्!
सूर्यास्त हुनै लागेको थियो। सिंहासनमा विराजमान नेताले एक पटक पश्चिम क्षितिजमा देखिने घुर्मैलो सूर्यतिर हेर्यो र भिडतिर फर्किएर तथास्तुको संकेतमा हात उठायो।
त्यसपछि मैदानमा जे जति मान्छेहरू भेडा बन्न बाँकी थिए, सबै हेर्दाहेर्दै भेडा बने। र, नेताको जय–जयकार गर्दै ओरालो झर्न थाले।
मैले देखेँ, उनीहरूसँगै हाम्रो लोकतन्त्र पनि ओरालो झर्दै थियो।
त्यति नै खेर मेरो कल्पनाको तन्द्रा टुट्यो।
म झसंग भएँ र गोकर्णेश्वर मैदानको कोलाहलबाट भाग्दै घरतिर लागेँ। चर्को गर्मीमा पनि मेरो शरीर चिसोले काम्दै थियो। र, कल्पनामै सही, म राजनीतिले समयको गरिमालाई कसरी सत्यानाश गर्छ, त्यो देखेर लज्जाबोधमा थिएँ।
बाटोमा हिँडिरहँदा मैले देखेँ, केही मान्छेहरू चर्को चर्को स्वरमा चिच्याउँदै भनिरहेका थिए — म झोले हो। म अरिँगाल हो। म बच्छिउँ हो। म बारूला हो। म दास हो!
सर्वसाधारण नागरिक भने उनीहरूलाई देखेर लाजले शिर झुकाइरहेका थिए।
एक्स — @dahalkeshab