यतिखेर सिनेमा हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ नेपाली फिल्म 'ऊनको स्वीटर'।
यो हरेक दृष्टिले उत्कृष्ट फिल्म बनेको छ।
मनोरञ्जनात्मक त छँदैछ — समाज विज्ञानका दृष्टिले पनि उत्तम छ।
यो फिल्मका युवा लेखक तथा निर्देशक नवीन चौहानले मानवशास्त्र पढेका छन् कि छैनन्, थाहा भएन। तर मेरो मानवशास्त्रीय आँखाले यसलाई निकै अब्बल दर्जाको 'एथ्नोग्राफिक' फिल्म देख्यो।
एथ्नोग्राफी भनेको वर्णनात्मक मानवशास्त्र हो, जसले निश्चित मानव समुदाय वा जाति विशेषको समाज, संस्कृति, रीतिथिति, परम्परालाई सुक्ष्म ढंगले केलाउँछ। समाजको यथार्थपरक वा आलोचनात्मक व्याख्या र विश्लेषण गर्छ।
यो विधा मानवशास्त्रीय अध्ययन, अनुसन्धानमा मात्रै नभएर एक हदसम्म सिनेमामा पनि प्रयोग हुँदै आएको छ।
सन् १९२२ मा निर्मित अंग्रेजी फिल्म 'नानुक अफ द नर्थ' लाई विश्वकै प्रथम एथ्नोग्राफिक फिल्म मानिन्छ।
यो डकुड्रामामा एक जना मानिसको कथा मार्फत उत्तरी ध्रुव निकट आर्कटिक वृत्त सेरोफेरोमा बसोबास गर्ने इनुइट जातिको जीवन र जगतलाई प्रस्ट देखाइएको छ। इनुइट उत्तरी अमेरिका, क्यानडा र रसियाका सीमान्तकृत आदिवासी, जनजाति हुन्।
एथ्नोग्राफी र समग्रमा मानवशास्त्र विषय पश्चिमा साम्राज्यवादको मतियार बनेको आरोप लाग्दै आएको छ। त्यो आरोप हटाउन धेरै प्रयत्नहरू भएका छन्। तर आज पनि अधिकांश मानवशास्त्रीहरू युरोपियन र अमेरिकन श्वेतहरू छन्। उनीहरूले प्रायः तेस्रो मुलुक र केही पश्चिमकै उपेक्षित वर्ग, समुदायको अध्ययन गर्छन्।
धेरै पश्चिमा मानवशास्त्रीहरूले नेपाली समाजको अध्ययन गरेका छन्। उनीहरूले विशेषतः पहाडिया आदिवासी जनजाति समुदायको एथ्नोग्राफी लेखेका छन्।
तुलनात्मक रूपमा नेपाली दलितमाथि मानवशास्त्रीहरूको ध्यान अझै गएको छैन। अमेरिकी मानवशास्त्री मेरी क्यामरनको सन् १९९८ मा प्रकाशित 'अन द एड्ज अफ द अस्पिसियस' थोरै दलित एथ्नोग्राफीमध्ये राम्रो मानिन्छ।
फिल्म 'ऊनको स्वीटर' ले चित्रण गरेको पूर्वी नेपालको लिम्बूवान समाज र संस्कृतिको पनि केही गतिला एथ्नोग्राफिक अध्ययनहरू भएका छन्।
सन् २०११ मा प्रकाशित युवा मानवशास्त्री इयन फिजप्याट्र्किको 'कार्डामम एन्ड क्लासः अ लिम्बू भिलेज एन्ड इट्स एक्सटोन्सनस इन इस्टर्न नेपाल' लाई लिम्बू समुदायको नमूना एथ्नोग्राफी मान्न सकिन्छ।
ऊनको स्वीटरको विषयवस्तुसँग अझ बढी मेल खाने किताब चाहिँ लन्डन युनिभर्सिटीका पाका मानवशास्त्री लायनल काप्लानको सन् १९७० मा प्रकाशित 'ल्यान्ड एन्ड सोसल चेन्ज इन इस्ट नेपालः अ स्टडी अफ हिन्दु–ट्राइबल रिलेसन्स' हो।
लिम्बूवान भूमिमा देखिएको सामाजिक परिवर्तन यस किताबको मुख्य विषय हो।
निर्देशक चौहानको फिल्मले पनि पूर्वी नेपालकै पछिल्लो समयको सामाजिक परिवर्तनसँग सम्बन्धित अवसरहरू, चुनौतीहरू र संघर्षहरू प्रति दर्शकको ध्यान खिच्छ।
विशेषतः कथित उच्च जातीय हिन्दु र जनजाति समुदायबीच बदलिँदै गएको सम्बन्धलाई फिल्ममा बडो कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। पात्रहरू काल्पनिक भए पनि समाज, संस्कार, संस्कृति र मनोविज्ञान एकदमै यथार्थपरक छन्।
एक कुशल मानवशास्त्रीले जस्तै लेखक/निर्देशकले कुनै पक्ष वा समुदायलाई काखापाखा नगरी यथार्थ चित्र उतारेका छन्। मेरा लागि फिल्मको विशेषता यही हो।
अरू निर्माताहरूले पनि एथ्नोग्राफिक फिल्म बनाउने कोसिस नगरेका होइनन्। तर तिनले कुनै समुदायलाई दयाको पात्र देखाउँछन् त कसैलाई दानवको रूपमा प्रस्तुत गर्छन्।
ऊनको स्वीटरमा परिवर्तनको तीव्र चाहना छ — तर कुनै खास जातजाति वा समुदाय वा धर्मलाई 'भिलेन' का रूपमा उभ्याइएको छैन।
लेखक तथा निर्देशक नवीन चौहानले त्यो आफ्नै समाज हो भनेका छन्। उनी क्षत्री, अर्थात् 'उच्च' जातीय हिन्दु नै हुन्। यस अर्थमा यो फिल्म चौहानको एक खाले 'अटोएथ्नोग्राफी' मान्न सकिन्छ।
आफ्नै समाजको, आफ्नै रैथाने जीवन र जगतको चित्रण र विश्लेषणलाई अटोएथ्नोग्राफी भनिन्छ। व्यक्तिगत आग्रह, पूर्वाग्रह त्यागेर आफ्नो समुदायको विश्लेषण पनि यति निष्पक्ष ढंगले गर्नु चानचुने कुरा होइन।
कथा सुदूरपूर्व पाँचथर जिल्लाको उपल्लो लेकमा आलुको बिउ लिन र मितबुबा भेट्न उकालो चढ्छ, चामल–तेल लिन तल बेँसी झर्छ। सामाजिक संरचना जस्तै यहाँको भूगोल भिरालो छ।
अझ पछिल्लो समयमा त सडक विस्तारका कारण तल–माथिको सम्पर्क बढ्दो छ। मान्छेहरू, संस्कृतिहरू, मान्यताहरूबीच सम्पर्क बढ्दो छ।
पहिलेको तुलनामा वर्तमानमा बाहुन र लिम्बूबीच, बाहुन र अल्पसंख्यक गुरूङबीच एक हदसम्मम अन्तरघुलन बढेको छ। बाहुन र जनजातिबीचको प्रेम र वैवाहिक सम्बन्ध स्वीकार्य हुन थालेको छ।
फिल्मको मुख्य पात्र धरणीधर काफ्लेले त्यो सामाजिक परिवर्तनको उर्लिँदो जनचाहनाको प्रतिनिधित्व गर्छ। विशेषतः नयाँ पुस्ताको। ऊ जातीय सीमा मेट्न आतुर देखिन्छ।
आफन्ती र अन्य बाहुनहरूले जति निन्दा गरे पनि ऊ खोलाको किनारमा चदरा सञ्चालन गरेर काठको भाँडा बनाउने कामीसँग संगत गर्न छोड्दैन। घरमा बुबा नभएको मूलपात्रले बेलाबेला उनै सिपालु र मेहनती कामीबासँग आफ्नो अव्यक्त तर गहिरो प्रेमबारे सुझाव र सल्लाह लिन्छ।
धरणीधरले सानैदेखि मनमनै माथि लेककी मितबुबाकी भान्जी फूललाई मन पराएको हुन्छ। फूल पूर्वेली गुरूङ हुन्। यी महिलाको जीवन दार्जिलिङ र पाँचथरको लेकका बीच घुम्छ।
काफ्लेको भन्दा विपरीत स्वभावकी छे फूल, मनको कुरा तुरून्तै भनिहाल्छे। अरू युवती जस्तो ऊ लजाउँदिन, मनको कुरा मनमै कुहाएर राख्दिन।
नायिका मिरूना मगरले निर्वाह गरेको फूल गुरूङ पात्रलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।
अभिनेता विपीन कार्कीले निर्वाह गरेको पात्र धरणीधर काफ्ले चाहिँ लजालु छ, अन्तरमुखी छ। बाहुन भए पनि ऊ समाजको बन्देज नमानी, जातको वास्ता नगरी गुरूङसेनीलाई मनमनै माया गर्छ। तर व्यक्त गर्न डराउँछ। उसमा जातीय दम्भ र अहंकार पटक्कै छैन।
मुख्य पात्रको यही स्वभावले दर्शकलाई हसाउँछ, रूवाउँछ। अरू कलाकारले सायदै यस्तो गम्भीर अभिनय यति सरल तरिकाले गर्न सकेका छन्!
आफ्नो भाइले लिम्बू युवती भगाउँदा सारा गाउँलेको गाली खाए पनि धरणीधरले सहर्ष स्वीकार गर्छ। उसलाई मानवतामा विश्वास छ, जातीय पर्खाल खासै मतलब छैन।
फिल्मले विभिन्न जातिहरूबीच, समुदायहरूबीचको संघर्ष र द्वन्द्व पनि देखाउँछ।
दुवै समुदायका पुराना मानिसहरू परिवर्तन स्वीकार गर्न तयार छैनन्।
कतिपय दाजुभाइले परम्परा नमान्दा कुल बिग्रिन्छ भन्ने ठूलो चिन्ता छ काफ्ले बाहुनहरूलाई।
छोरीहरूले स्वेच्छाले बाहुनसँग बिहे गर्दा मांगेना ढल्यो भन्ने पिर छ कतिपय लिम्बूहरूलाई पनि।
जातीय खाडल गहिरो नै छ समाजमा।
तर सामाजिक परिवर्तन कसैले रोकेर रोकिएको छैन, कसैले छेकेर छेकिएको छैन। गाउँसमाज पूरै बदलिँदै गएको छ। परम्परागत समुदायहरू, मान्यताहरू भत्किँदै गएका छन्, या विस्थापित भएका छन्।
तराईको झापातिर र भारतको दार्जिलिङ र सिक्किमतिरको बसाइसराइ तीव्र छ। लिम्बूवानका परम्परागत थातथलोहरू रित्तिँदै गएका छन्।
मलाई लाग्छ यस्तो स्थानान्तरण, बसाइसराइ, सामाजिक परिवर्तन, जातीय संरचनामा उथलपुथल पाँचथरको मात्रै नभएर समग्र पहाडी भूभागको कथाव्यथा हो। यो हाम्रो युगको नवीन कहानी हो।
फिल्म 'ऊनको स्वीटर' ले जातीय विभेद दलितको मात्रै पीडा होइन भन्ने सत्य उजागर गरेको छ।
दलित र गैरदलितबीच प्रेम र बिहे मात्रै होइन, बाहुन–क्षेत्री र जनजातिबीचको सम्बन्ध पनि निक्कै चुनौतीपूर्ण छ। कथित उच्च जातीय र जनजातिबीच को ठूलो, को चोखो, को प्रभावशाली भन्ने प्रतिस्पर्धा चलेकै छ। तैपनि दलितलाई हेप्ने, दबाउने कुरामा सबैको सहमति देखिन्छ।
काफ्ले बाहुनले खोलाको किनारामा चदरा सञ्चालन गरेर विष्टको सेवा गरिरहेका एक्ला कामीको छाप्रो आगो लगाएर डढाउँछन्। अनि उसलाई त्यहाँबाट खेदाउँछन्। उसको उपस्थितिले, उसको धरणीधरसँगको संगतले कूल बिग्रियो र समुदायलाई हानि भयो भन्ने काफ्ले खलकको बुझाइ हुन्छ।
यो स्वयं दलित नेता–अगुवाहरूका निम्ति पनि गतिलो शिक्षा हो। किनभने आजसम्म पनि मूलतः धार्मिक कारणले विभेद र अत्याचार कायम रहेको हो भन्ने भाष्य नै निर्माण हुन सकिरहेको छैन।
फिल्ममा जातीय समानता चाहनेहरूका लागि कूल पूजा जस्ता धार्मिक मान्यताहरूले भाँजो हालेको तीतो यथार्थ प्रस्ट देखाइएको छ। अझै पनि यस विषयमा दलितहरू बोल्दैनन् र आफै कूलको रक्षा गर्ने भन्दै अन्य दलित जातिलाई हेलाहोचो गर्छन्।
यसरी समग्रमा ऊनको स्वीटर गतिलो फिल्म बनेको छ।
सुधार गर्न सकिने पक्षहरू पनि भएजस्तो लाग्छ।
फिल्मले दर्शकलाई पाँचथर जिल्लाको उत्तरपूर्वी सिमानास्थित रमणीय लेकमा पुर्याउँछ। दर्शकलाई आफै त्यहाँ पुगेको र त्यो अक्सिजन कम भएको चिसो हावामा सास फेरेको महसुस हुन्छ। तर त्यति सुन्दर दृश्यको छायांकन बर्खाको सट्टा बसन्त ऋतुमा गरेको भए अझ कति मनमोहक देखिन्थ्यो होला। लटरम्म लालीगुराँसको दृश्यको स्वादमा दर्शकका आखा कति रमाउँथे होला!
अनि मुख्य पात्रहरूको प्रेमकथा कताकता अपूरो लाग्छ। बल्लतल्ल मनको भाव खोलेर बेँसी घर झरेपछि किन धरणीधर प्रेमिका भेट्न वर्षौंसम्म उकालो चढेन?
घरपरिवार र समुदायमा समस्याहरू त भए, तर त्यो लेक त्यति धेरै टाढा त थिएन। अनि 'हिरो' घरबाट निस्किनै नसक्ने अवस्था भए जस्तो पनि लाग्दैन।
फिल्मले जति कसिलो रूपमा दर्शकलाई भावनाको बल्छीमा उन्न सक्यो, त्यो त्यति नै सफल हुन्छ।
अर्कातिर लेखक/निर्देशकले जसरी कथाको अर्को पाटो दर्शकलाई नै पूरा गर्न दिएका छन्, त्यो भने सबल पक्ष छ।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar