शुक्रबारबाट सगरमाथा संवाद सुरू हुँदैछ। तीन दिनसम्म चल्ने यो कार्यक्रममा जलवायु परिवर्तन र यसले ल्याएका बहुआयामिक संकटबारे विचार–विमर्श हुनेछ।
त्यही सन्दर्भ पारेर म केही विषय उठान उर्दैछु।
गत वर्ष असोज १०–१३ गते अकल्पनीय बाढी–पहिरो आयो। उक्त त्रासदीपछि सुरूमा हामीले राहत–उद्धारमा जोड दियौं। त्यसको केही समयपछि क्षतिको अवलोकनको लागि गृहमन्त्री रमेश लेखक, म आफै र विभिन्न मन्त्रालयका अधिकारीसहितको समूह विभिन्न ठाउँमाा गएका थियौं।
अधिकांश स्थानमा हामी गाडीबाटै गयौं। काभ्रेपलाञ्चोकको रोशी, खुर्कोट र यसको तटीय क्षेत्र आदि ठाउँहरूमा पुग्यौं।
असोजको तीन दिनको बाढी–पहिरोले मात्रै १६८ जनाको निधन भयो। २०७२ वैशाखको भूकम्पपछि बनेका धेरै बस्तीहरूमा गम्भीर क्षति पुगेको थियो।
त्योभन्दा वीभत्स दृश्य कहाँनेर थियो भने हाम्रा नदीनालाका खोँचहरू सबै भरिभराउ थिए। पूरै बालुवा, पाँगाे माटो र कतै ठुल्ठूला ढुंगासमेतले पुरिएका थिए।
नदीको शिर क्षेत्रबाटै उत्पत्ति भएको गेग्रान बहावले नदीनाला, खोलाखोल्सी भरिन कतै बाँकी थिएनन्। नदी–खोलाको लय खज्मजिएको थियो।
हाम्र अधिकांश नदी क्षेत्रमा ढुंगा, बालुवा खानी तथा क्रसर उद्योग सञ्चालनमा छन्। नदी क्षेत्रमा त्यसरी सञ्चालित खानी, क्रसर उद्योगहरूले त्यहाँबाट निस्किएका धूलोलगायत सामग्रीको सही व्यवस्थापन गरेका छैनन्। वर्षातको पानी जथाभावी थुपारिएका ती सामग्रीमा मिसिँदा गेग्रान बहावको रूप लिएको देखिन्थ्यो।
नेपालको हिमालाय पर्वत शृंखलालाई विश्वकै कान्छो पहाड पनि भनिन्छ। कमजोर पहाडमा पानी बजारिँदा साना–ठूला पहिरा चले। भिरालो सतहमा वर्षातको पानी जम्मा हुँदै, थुनिँदै, खोतलिँदै जाँदा गेग्रान बहावको रूप लियो।
त्यही गेग्रान बहावले ‘रिभरस्केप’ (नदीको जोखिम परिदृश्य) लाई पनि ठूलो फेरबदल ल्याइदियो।
एउटा उदाहरण दिऊँ।
दक्षिणी ललितपुरको महांकाल गाउँपालिका हामी पुगेका थियौं। सबै खण्डहर थियो। इलाका वन कार्यालयलाई नदीको गेग्रानले करिब २४ मिटरसम्म पुरेको थियो।
त्यहाँ पुग्न नै दुस्कर, दुरूह थियो। हेलिकप्टरबाट राहतका सामग्री लगेका थियौं। खसाल्नसमेत गहारो अवस्था थियो।
ठूलो विपत्ति आइ नै सकेको थियो। झन् भयवाह थियो, विपदपछिको अवस्था।
साविकको नदीको डोबसमेत नदेखिने अवस्था थियो। पर्वत आकारका ढुंगाहरू नदीले किनारामा थुपारेको थियो।
यत्रा ढुंगाहरू कसरी नदीले बोक्यो होला भनेर स्थानीयहरूसमेत आश्चर्यचकित पर्नुभएको थियो।
उहाँहरूले हामीहरूलाई एकपछि अर्को गरी विध्वंश वर्णन गरिरहनुभएको थियो।
एउटा सानो खोल्सोजत्रो टुङ्गुन खोला, धामी खोला, र मसान खोला विशाल गंगाजत्रो बनेका थिए।
मठ, मन्दिर, देवालय, वैतरणी धामसमेत बगाएको, पुरेको अवस्था देख्दा गेग्रान बहावले ल्याउन सक्ने परिणाम र निम्याउनसक्ने परिणतिबारे हामी कल्पना पनि गर्न सक्दैनथ्यौं। नदीको बगरभन्दा माथिको जलविद्युत परियोजनाको उत्पादन केन्द्रसमेत क्षतविक्षत अवस्थामा थियो।
नदी प्रणाली मानिसको जीवन प्रणाली पनि हो। खेत, बारी, सिञ्चाइ, खानेपानीको स्रोत सबै त्यसमै अडिएको हुन्छ। यो त हाम्रो जीवन नै हो। तर त्यहाँ सबै खण्डहर थिए। त्यहाँको सभ्यता, संस्कृति मात्र होइन, जीवन नै नासिएजस्तो देखिएको थियो। अब कहाँ जाने? अब के खाने? तटीय क्षेत्रका बासिन्दाहरू अन्योलमा थिए। ठूलो अनिश्चयमा थिए।
केही मानिसहरू मरेर गए। बाँचेकाहरूको बसोबासको टुंगो थिएन। थातथलोसमेतको नामोनिशान नरहेको पनि हामीले भेट्यौं।
त्यो अरू देशमा आउनेजस्तो सामान्य बाढीले ल्याएको विपत्ति र विध्वंश थिएन। पानी मात्रको बाढीको परिणाम यो हुँदै होइन। यो त गेग्रान, ढुंगा र बोल्डर समेतको बाढी थियो। जसले देखाउने भनेकै अकल्पनीय परिदृश्य हो। जुन हाम्रो आँखा अगाडि थियो।
हामीले पानी नाप्न थालेको ६५–६६ वर्ष भयो। हाम्रो मुलुकमा। हामीले पानी नाप्न सिक्यौं, जान्यौं पनि। त्यसले गर्दा हामीलाई जलवायु परिवर्तन कसरी भइरहेको छ। त्यसले कसरी विपत्तिको संकेत गरिरहेको छ भनेर हामीले भन्न सक्ने भयौं।
तर हामीले गेग्रान मापन गर्ने संस्था र संरचना नै बनाएनौं। यो किन नाप्ने? कसले नाप्ने? नाप्नुपर्छ कि पर्दैन? नाप्नुपर्छ भने कहिलेबाट सुरू गर्ने भन्ने कुराको ज्ञान नै भएन। त्यस प्रकारको ज्ञान, सीप र संस्थाबारे हामीले अहिले पनि सोचेका छैनौं भन्दा फरक पर्दैन। केही नदीहरूमा सिँचाइ नहरका लागि पानीमा घुलेको 'सस्पेन्डेड सेडिमेन्ट' नापेका छौं। तर 'बेड लोड' गेग्रान मापन भने गर्ने गरेका छैनौं।
पोहोर सालको बाढी–पहिरो मात्रै हेर्ने हो भने, ४० वटा पुल असोज १० देखि १३ गतेसम्मको बाढीले नै बगायो। मनसुन यामभरिमा झन्डै १०० वटा पुग बगे।
अर्बौंको क्षति हामीले निम्त्यायौं। त्यस्ता धेरै विपत्तिलाई फर्किएर हेर्ने हो भने त्यसको केन्द्रमा गेग्रान बहाव नै भेटिन्छ। यसको कारण खोला–खोल्सीमा बग्ने सेडिमेन्ट र गेग्रान नै हो भन्ने निष्कर्षमा सहजै पुग्न सकिन्छ।
अझ स्पष्ट भाषामा भन्दा नदीको चरित्र, बदलिँदो वर्षाको स्वभाव, हाम्रो नदी प्रणालीमा मिसिँदै गरेको गेग्रान बहाव र यसले निम्त्याउन सक्ने परिणाम र परिणति नबुझ्दा हामीले बनाएका संरचना बगेका हुन् भनेर निष्कर्ष निकाल्न सकिन्छ।
केही पुलहरु पुराना भएका थिए होलान्। अनिगिन्ती बाढीको प्रहारले जीर्ण पनि बनेका थिए होलान् भन्न सकिन्छ। तर बन्दाबन्दैको, भर्खरै बनिसकेका पुलपुलेसा, नहर, तटबन्ध र त्यस्ता संरचना बाढीमा बगेका छन्।
यसैले जोड दिएर भन्न सकिन्छ, धेरै पुलहरू हामीले पानीलाई मात्रै, यसको बहने चरित्रलाई मात्रै बुझ्दा बगेका छन्। हाम्रो हिमालयन नदी प्रणालीमा पानीका अलावा बग्ने गेग्रानलाई नबुझ्दा बगेका छन्।
तर यो चेत हामीले अझै ल्याउन सकेका छैनौं।
२०७८ र त्यस भन्दापूर्व केही वर्षअघिदेखि नै यसको संकेत देखिसकेको थियो।
मेलम्चीकै कुरा गरौं न, एक अर्ब लगाएर बनाएको बाँध काठमाडौं पानी पठाउनेबेला पुरियो। मेलम्चीको बाँध क्षेत्र २० मिटर पुरिएको छ। मेलम्चीको ‘इनटेक’ गेग्रानले नै पुरेको हो। बाँध क्षेत्रबाट झन्डै १० किलोमिटर तल चनौटे क्षेत्रको रातो पुल पानी मात्रैले बगाएकै होइन। पानीसँगै मिसिएर आएको ढुंगा, बालुवा विशेषतः गेग्रान बहावले नै लगेको हो।
त्यो आउने दिनको विध्वंशको संकेत थियो। आगामी दिनमा हाम्रो थाप्लामा बज्रेन विपत्तिको पूर्वसंकेत थियो।
अहिले हेरौं न, पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीदेखि, सप्तरीसम्म मात्र नभई, चुरे र महाभारत पर्वतमाला मुन्तिरका अहिले बगाएका पुल, बग्ने जोखिममा रहेका पुलको कारक गेग्रान बहाव नै हो।
पुल, बाँध जस्ता संरचना बनाउँदा 'फ्रि बोर्ड' तय गर्ने गरिन्छ। त्यसको मतलब पानी बग्ने सतहभन्दा पुल कति अग्लो राख्ने भन्ने कुरा डिजाइन गर्ने हो। पानी मात्र नापेर तय गरिएको पाँच मिटर जतिको 'फ्रि बोर्ड' अपुग हुँदो रहेछ। एकै वर्षमा आएको गेग्रान वहावले नदीको पिँद उकासिएर पुलनै टालिन आँटिसकेका छन्। कतिपय स्थानमा टालिइसकेका छन्।
पानीले आफ्नो निकास खोज्छ। गेग्रान भरिँदै गएपछि बहावले त्यसलाई भत्काउने सामर्थ्य राख्छ। जुन हामीले सिन्धुपाल्चोककै जुरेमा पनि देख्यौं। त्यहाँ तुलनात्मकरूपमा समथर ठाउँमा बाँध बनेको सुनकोशी खोलिँदा त्यसले ठूलो क्षति ल्याएन।
अहिले जलवायु परिवर्तनको विषय बहसमा छ। त्यसको असर र प्रभावको चर्चा समाजमा व्याप्त छ। यसको असर न्यूनीकरणको सुरूआत मजबुत र सुरक्षित संरचनाबाट गरिनुपर्छ। संरचनाले नै यसको रोकथाम गर्नुपर्छ। क्षतिको न्यूनीकरण गर्नुपर्छ।
विज्ञानको आँखाबाट हेर्ने हो भने मान्छे, बस्ती र संरचना बचाउन गेग्रान बहावको मापन र यसको यसको लागि संस्थागत संरचना आवश्यक हुन्छ। यसको लागि सरकारले कुनै एउटा निकाय तोकी जिम्मेवारी दिनु आवश्यक हुन्छ। यो संस्था कसको क्षेत्राधिकारमा रहने, पालिकामा कसले हेर्ने? प्रदेशमा कसले निगरानी गर्ने र संघीय तहमा यसको अख्तियारी कसले लिने भनेर अधिकार क्षेत्र किटान गरेर अगाडि बढ्नुपर्छ।
योसँगै अर्को डरलाग्दो कुरा पनि छ।
अहिले हामीले जताततै बाटो बनाइरहेका छौं। डाँडा कोतरिरहेका छौं। घरघर बाटो पुर्याउने अभियानमा छौं। स्थानीय तह, प्रदेश र संघकै पनि काम देखाउने भनेकै बाटोघाटो खनेर हो।
संघीय सरकारका ठूला परियोजना अन्तर्गत् एकाध योजनाबाहेक अरू सबैमा सडक खन्दा निस्किएको माटो जताततै फालेको देखिन्छ। अझ जहाँ खन्यो त्यही फालेको अवस्था छ। थोरै पैसा बढी पर्थ्यो होला, व्यवस्थापनको उपाय छ, मापदण्ड तोकिएको छ, तर पालना गरिएको छैन। गर्नुपर्छ भनेर समेत सोचिएको छैन। यसैकारण नदीले हाम्र बस्ती बगर बनाइरहेका छन्।
हिमालय क्षेत्रबाट बग्ने नदीहरू सेडिमेन्ट र गेग्रान बहावका लागि प्रख्यात छन्। चीनको ह्वाङ् हो नदी संसारकै सबैभन्दा सेडिमेन्ट बग्ने नदीको रूपमा चिनिन्छ। पहेँलो सेडिमेन्टको 'लोड' बोक्ने गरेकै कारण ह्वाङ् होलाई 'एलो रिभर' पनि भन्छन्। ह्वाङ् हो पछि उच्च सेडिमेन्ट बोक्ने नदी कोशी नै हो। कमजोर पर्वतीय शृङ्खलामा गइरहने भू–क्षयबाट हुने सेडिमेन्ट बहावको अलावा ठूला पहिरोले सेडिमेन्ट र गेग्रानको आकस्मिक भार थप्छ। अंग्रेजीमा यस्तो आकस्मिक बहावलाई 'पल्स्ड सेडिमेन्ट लोड' भनिन्छ। 'पल्स्ड सेडिमेन्ट लोड'ले नदीको पिँध छिटो उकासिन्छ। नदी छिटो उकासिने चरित्र कि त ठूला पहिरो जाने ठाउँमा या डोजरलगायत हेभी उपकरणले जथाभावी खनेका सडकको माटो व्यवस्थापन नगर्दा देखिन्छ।
यसले नदीको बहने चरित्र (मर्फोलोजी अफ् रिभर) नै एकाध वर्षमै परिवर्तन गरिदिएको छ। नदीको आफ्नो प्राकृतिक बहाव हुन्छ। बाढी आएका दुई–चार सालभित्र नदीले आफ्नो धार समातेको हामीले देखेकै छौं। तर पछिल्लो समयबाट यो क्रम टुटेको छ। मेलम्ची, भोटेकोशी नदीको अवस्था हेर्दा पनि त्यो देखिन्छ। ठूलो मात्रामा सेडिमेन्ट र गेग्रान बहावका कारण नदीले आफ्नो बाटो पहिल्याउन नै पाएको छैनन्। यो अर्को डरलाग्दो कुरा हो। जुन केही दिनअघि रोशी नदीमा पनि देखियो। त्यहाँ पनि अघिल्लो मनसुन यामको गेग्रान बहावले थुपारेका सेडिमेन्ट र अन्य अवेशष व्यवस्थापन गरिनस्दै परेको थोरै (२४ घन्टामा ४४ मिलिमिटर वर्षा) पानीले एक जना महिला बेपत्ता बनायो। सडक, पुल–पुलेसा, बन्दै गरेको पुल र बाटाघाटमा क्षति पुर्यायो। अर्को गेग्रान बहावको रूप लियो।
नदीलाई कहिल्यै नियन्त्रण गर्न सकिँदैन। व्यवस्थापन मात्रै गर्ने हो। हाम्रा सरकारी निकायहरू अझै पनि नदी नियन्त्रण आयोजनाहरू बनाइरहेका छन्। नदीलाई सही, समुचित र वैज्ञानिक निकास दिने हो। नदीको बहावलाई व्यवस्थापन गर्ने हो।
व्यवस्थापन भनेको सडक खन्दा या अरू पूर्वाधार बनाउँदा निस्कने मक (माटो आदि पदार्थ) ठाउँ तोकेर व्यवस्थापन गर्नुपर्छ ताकि बगेर खोला–खोल्सी र नदीमा नजाओस्।
हुन त यी सबै कुरा कागजी रूपमा गरिएका पनि होलान् तर व्यवहारिक रूपमा नभएको, नगरिएको, गरिए पनि विधिसम्मत् नगरिएको प्रमाण नदीका बाढीले देखाइसकेका छन्।
पालिकाहरूले कुन रूपमा सडक खनिरहेका छन्, अनुगमन भएको छ कि छैन भनेर त सिमलतालले पनि देखायो। त्यहाँ ६२ जना मानिस अझै बेपत्ता छन्। यसको मुख्य कारण नै गेग्रान बहाव हो। बिनाइन्जिनियरिङ, बिनाजोखिम अध्ययन खनिएको बाटो र त्यहाँबाट निस्किएको माटोलाई ख्यालख्याल सोच्दा नसोचेको परिणाम निस्कियो।
नदी करिडोरमा बाटो बनाएका छौं। नदीलाई सानो डोबमा बस भनेर आदेश दिएकोजस्तो पनि देखिन्छ। अफसोस! त्यही नदीमा गेग्रान बहाव बढ्न थालेको छ। हाम्रो पहाडको बनोटको, अवस्थितिको हेक्का राखेका छैनौं। बर्सेनि गइरहने पहिरोबारे सोचेका छैनौं। जलवायु परिवर्तनले गर्दा निम्तिरहेका मौसमी घटना (छोटो समयमा पर्ने हाँडीघोप्टे वर्षा) को ख्याल गरेका छैनौं। डाँडाकाँडाको अवस्थितिको ख्याल नगरी सडक पूर्वाधार बनाइरहेका छौं। जसका कारण किलोमिटरका किलोमिटर सडक नदीले काटेको छ। पुल, कल्भर्ट बगाएको छ। अब त खोला सिधै बस्ती, बजारतिर सोझिएको छ।
हामी कति ठूलो विपत्तिको सामुन्नेमा छौं सहजै अनुमान गर्न सक्छौं। विपत्ति सामुन्नेमा छ तर यसबारे सोच्न ढिला गरिरहेका छौं।
अब म तपाईंहरूलाई केही समयअगाडि फर्काउँछु।
२०- ३० वर्षअगाडिको कुरा हो। भारत, बंगलादेश र अन्तर्राष्ट्रिय समुदायबाटै हामीलाई के आरोप लगाउँथे भने नेपालीहरूले रूख कटान तीव्र पारे। वनजंगल नासे। वन नासेकाले पहाडमा माटो अडिएन, बर्सेनि बाढी आउन थाल्यो। बाढीले सेडिमेन्ट ल्याउन थाल्यो। नेपालका नदी सेडिमेन्ट बोक्ने कार्गो बनिरहेका छन् भन्थे।
बाढीको मूल कारण नै रूख कटान हो भन्ने थियो।
वास्तवमा त्यतिबेला गलत र मिथ्या ज्ञान व्याप्त थियो। नेपालीहरूले प्रमाणित नै गरे। गएको ३० वर्षमा हाम्रो वनजंगल १५ प्रतिशतबाट बढेर ४५ प्रतिशत भयो। हामीले जंगल तीन गुणाले बढायौं।
तर वन क्षेत्र तीनले गुणा बढ्दा पनि हिमालय क्षेत्रबाट बगेर आउने गेग्रान, सेडिमेन्ट त रोक्न सकेनौं। झन् बढ्दो उपक्रममा पो छ।
गत वर्षकै उदाहरण हेरौं न रोशीको बाढी त त्यहाँको वनजंगल (महाभारत लेक) ले रोकेन। ठूला, भीमकाय रूखसमेत बोकेर ल्याएको पनि देखियो।
हामीले यो भूखण्डमा सयौं वर्षदेखि खेती–कमाइ गरिरहेका छौं। ठूला गह्रा निकालेका छौं। आली लगाएर धानखेती गरेका छौं। पहाड, तराईमा सिँचाइ गर्ने जुन रैथाने ज्ञान, सीप, धारणा छ, त्यसले धेरै हदसम्म माटो बग्न रोकेका छ। कुला, कुलेसो काढ्ने चलन, प्रचलनले पनि पनि माटो बग्न रोकेको छ।
उहिले पाखा, खर्क, चौरीहरूमा साना-साना पोखरीहरू खन्ने चलन पनि थियो। गाउँघरतिर अहिले पनि त्यसका अवशेष भेटिन्छन्। भैंसी बस्ने आहाल, पशुचौपायाले पानी खाने साना–ठूला पोखरी अद्यापि छ। त्यसले पनि माटो बग्न रोकेको छ।
तर गएको ३० वर्षयता हामीले अन्धाधुन्ध जसरी सडक खन्ने काम गरिरहेका छौं। पहाड र आफू बसेको ठाउँको भूबनोट ख्याल नगरी, जोखिमको अनुमान, आँकलनसमेत नगरी, पानीको निकास (नाला) समेत नराखी खनेको सडक–पूर्वाधारले नदीमा पल्स्ड लोडको मात्रा ह्वात्तै बढेको छ।
अब हामीले रूख रोप्ने मात्र होइन पानीको व्यवस्थापन सही, उचित ढंगले गर्नुपर्छ भन्ने कुरा झ्याप्ले खोला (नागढुंगानजिकै गत असोजमा गएको पहिरो, जहाँ ३५ जनाको मृत्यु भएको थियो) कै विपत्तिले सिकाइसकेको छ। सिमलतालको कुरा पनि त्यही हो।
वनजंगलले ढाकेको ठाउँ काठमाडौंकै मातातीर्थ, पर्वतको दुर्लङ आदिमा पनि पहिरो गयो। सिन्धुपाल्चोकका कैयन् त्यस्ता ठाउँछन् जहाँ जंगलबाटै पहिरो उत्पत्ति भएको छ।
तसर्थ पहिरो रोकथामका लागि पानी निकासको समुचित प्रबन्ध गर्नुपर्छ। बाटो लगायत पूर्वाधार बनाएपछि भित्तोलाई टाल्नुपर्छ। बायो इन्जिनियरिङको अर्को विधि हुन्छ। जुन हामीले कृष्णभीर मा पनि गर्यौं। त्यहाँको ८०० मिटरभन्दा ठूलो पहिरो रोकियो। जमिनको बढी झुकाव भएको ठाउँमा पाइलिङ र नेलिङ (किला ठोक्ने काम) पनि गर्नसक्छौं।
घाँसपात रोपेर मात्र हुँदैन, जमिनभित्र र सतहको पानी निकास नै सही हुनुपर्छ भनेर कृष्णभीरले पनि सिकाएको छ।
सडक–पूर्वाधार मात्र होइन नदी किनारमा बसेका बस्ती, विकास हुँदै गरेका सहर पनि जोखिममा छन्। कोशी जलाधार क्षेत्रकै कुरा गर्ने हो भने छर्लंग हुन्छ। मेलम्चीको शीर क्षेत्र भ्रेमाथाङ, जहाँ अझै १८ लाख ट्रक सेडिमेन्ट टाउकोमाथि झुन्डिएको तरबारजस्तो बनेको छ। २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले ल्याएको २०–३० प्रतिशत मात्रै हो। ठूलो परिमाणमा माथि नै सञ्चित छ। यसले मेलम्ची नदी क्षेत्रमा ल्याउने अर्को प्रलयको अनुमान सहजै गर्न सकिन्छ।
यो असर यतिमा मात्र सीमित छैन। मेलम्चीलगायत कोशी जलाधार क्षेत्रका नदीले ल्याउने सेडिमेन्ट हरेक साल बराह क्षेत्रबाट तल पुग्छ। मेलम्चीलगायत कोशी जलाधार क्षेत्रको नदीको सेडिमेन्ट बगेर कतिपय त सागरमासमेत पुगिसक्यो।
सप्तकोशी क्षेत्रमा तीन वर्ष अघिदेखि नै हामीले अनुभव गर्न थालेका छौं। त्यहाँ पूर्वतिर कटान भइरहेको थियो। अहिले उदयपुरतिर हानिन थालेको छ। यो सेडिमेन्ट प्रणालीलाई अहिले कोशीको तटबन्धले छेकेको छ। तर नदीको पिँध भने उकासिँदै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकै नेतृत्वमा मापनको काम गर्दा तीन वर्षअगाडि नदीको जमिन २० सेन्टिमिटरसम्म सेडिमेन्ट थुप्रिएको पायौं।
कोशी मात्र होइन अन्य ८–९ वटा नदीको पिँध मापन गर्दा हामीले के पायौं भने हिमाली, मध्यपहाडी क्षेत्रमा मात्रै सेडिमेन्ट बहावको समस्या होइन। प्रत्यक्ष त्यहाँ होला। तर दीर्घकालीन रूपमा तराईका भूभागमा झन् ठूलो समस्या देखिएको छ। नदीको पिँध उकासिएको छ, त्यसकारण अहिले हामीसँग भएका तटबन्ध छिटो फुट्ने, एक्कासि बढेर आउने बाढीलाई छेक्न नसक्ने अवस्थामा पुगिसकेका छन्।
यसको रोकथाम भनेकै कि नदी उकासिएसँगै तटबन्धलाई पनि उचाल्दै लैजानुपर्यो। कि सेडिमेन्ट निकाल्नुपर्यो।
हामीले के हेक्का राख्नुपर्छ भने चीनको ह्वाङ् हो नदीपछि सबैभन्दा बढी सेडिमेन्ट बोक्ने नदी कोशी हो। यद्यपि यो थाहा भएको पूर्वी पहाडका डाँडाकाँडामा डोजर कुदाउनुअघि नै हो। अहिले जुन तरिकाले सडक खनिरहेका छौं, त्यसले ह्वाङ् हो भन्दा पनि बढी सेडिमेन्ट बोक्ने नदी कोशी बनेको हुनसक्छ ।
बिपी राजमार्गको १३ किलोमिटर कटान हामीले हेर्यौं भने कोशीले निम्त्याउन सक्ने संकट चिन्न सक्छौं। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कटान र पहिरो रोकथाम गर्न भित्ता टाल्दै बनाएको परिपक्व संरचनासमेतले हाम्रो नदी प्रणालीलाई चिन्न र थेग्न सकेन भने सप्तकोसी बाराज, त्यसभन्दा माथिको तटबन्धले रोक्छन् भन्ने छैन।
अतः हामीले हाम्रो नदी प्रणाली र यसमा बगिरहेको सेडिमेन्ट र गेग्रान बेलैमा बुझौं। व्यवस्थानबारे विपद्अघि नै सोचौं।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलसँग सेतोपाटी संवाददाता अक्षर काकाले गरेको कुराकानीमा आधारित)