'खै त भ्रमण? पहिला त ठूला–ठूला भाषण दिनुहुन्थ्यो। अहिले लाज लाग्दैन? यसरी झुक्क्याउन पाइन्छ? आफूलाई मन लागेको कुरा मात्र गर्ने, हाम्रो मन हुँदैन?'
जाजरकोटको दशेरास्थित जनप्रिय माविका विद्यार्थीको गुनासो पढ्दा जति 'अप्रिय' सुनिन्छ, त्यसभित्रका हरेक शब्दमा बालबालिकाको मनको भावना प्रतिबिम्बित हुन्छ।
मैले प्रधानाध्यापक जयबहादुर थापालाई सोधेँ, 'गुनासो पत्रमा त विद्यार्थीको आक्रोशको ज्वाला देखिन्छ नि?'
उनको जबाफ थियो, 'यस्तै समस्या सुन्न गुनासो पेटिका राखेका हौं। विद्यार्थीले गाली नै गरे पनि उपहारजस्तो लाग्छ। यसबाट विद्यार्थीले हामीलाई मौखिक रूपमा भन्न नसकेका समस्या पहिचान गरी समाधान गर्न सहज भइरहेको छ।'
सरकारले विद्यालय हाताभित्र, विद्यालय आउँदा–जाँदा, घरपरिवार र समुदायमा बालबालिकाले भोग्नुपरेका समस्या, सबै प्रकारका भेदभाव, हिंसा, दुर्व्यवहार, बेवास्ता वा हेलचेक्र्याइँ, शारीरिक तथा मानसिक दण्ड-सजाय लगायतको रोकथामका लागि 'गुनासो सुनुवाइ कार्यविधि २०७४' बनाएको छ।
देशका अधिकांश सामुदायिक स्कुलमा यसको कार्यान्वयनको अवस्था निकै कमजोर छ। जाजरकोटको छेडागाडमा मैले केही फरक देखेँ।
चैत अन्तिम साता छेडागाड नगरपालिकामा रहेका १२ स्कुलको अवस्था अध्ययन गरेको थिएँ। तीमध्ये जनप्रिय माविको विद्यार्थीका गुनासो सुन्ने र सुनुवाइ गर्ने तत्परता अनुकरणीय लाग्यो।
जाजरकोटको छेडागाडस्थित जनप्रिय मावि, दशेरा। तस्बिर: कलेन्द्र सेजुवालजनप्रियले २०८१ भदौ १३ गते कार्यविधि अनुसार गुनासो सुनुवाइ समिति गठन गरेको रहेछ। त्यसयता चैत मसान्तसम्म गुनासो पेटिकामा ५४ वटा गुनासो परेका छन्।
'विद्यार्थीले शिक्षक वा प्रधानाध्यापकसँग सिधै भन्न नसकेका समस्या लेखेर गुनासो पेटिकामा खसाल्छन्,' प्रधानाध्यापक जयबहादुरले भने, 'अधिकांश गुनासाहरू शिक्षक र प्रधानाध्यापकसँग सम्बन्धित हुन्छन्, तैपनि हामी तिनलाई सकारात्मक रूपमा ग्रहण गर्दै समाधानका लागि पहल गर्छौं।'
उनका अनुसार तत्काल समाधान गर्न सकिने गुनासाहरू पेटिका खोलेकै दिन गुनासो सुनुवाइ समितिले विद्यालय प्रशासनलाई मौखिक जानकारी गराउँछ। प्रधानाध्यापकले एक–दुई दिनभित्रै समाधान गरिदिन्छन्। स्रोतसाधन र विधि–प्रक्रियासँग सम्बन्धित गुनासाहरू भने निर्णय गरेर प्रक्रियामा पठाउने गरिन्छ।
गुनासो पेटिकामा परेको एउटा गुनासो यस्तो थियो – 'कार्यालय सहयोगीले ४ नबज्दै विद्यालयको गेट किन बन्द गर्नुभयो?'
झट्ट हेर्दा यो समस्या सामान्यजस्तो लाग्छ, तर विद्यार्थीले धेरै दिनदेखि यो समस्या न कार्यालय सहयोगी, न त प्रधानाध्यापकलाई भन्न सकेका थिए।
'हामीले लिखित गुनासो पढेको ५ मिनेटमै यसको सम्बोधन भयो,' प्रधानाध्यापक जयबहादुरले भने।
स्कुलले प्रत्येक शुक्रबार गुनासो पेटिका खोल्छ। तत्काल सम्बोधन गर्न सकिने गुनासोलाई आइतबारको प्रार्थना सभामै सुनुवाइ गरिन्छ। सम्बोधन गर्न समय लाग्ने गुनासोका सन्दर्भमा निर्णयबारे जानकारी गराइन्छ।
गुनासो सुनुवाइ समितिको बैठक पुस्तिका हेर्दा २०८१ पुस २८ गते दुईवटा र फागुन ९ गते तीनवटा निर्णय भएको देखियो। समितिले पुस २८ गते विज्ञान प्रयोगशाला र कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यार्थीले प्रयोगशाला प्रभावकारी रूपमा सञ्चालन नभएको र गणित, विज्ञान तथा अंग्रेजी विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था गर्न माग गरेका थिए।
त्यस्तै, फागुन ९ गते बास्केटबल र क्रिकेट खेलका लागि आवश्यक खेल सामग्री खरिद गर्ने, शैक्षिक भ्रमणको बन्दोबस्त मिलाउने र सामाजिक अध्ययन अध्यापन गर्ने निर्णय गरिएको छ।
प्रधानाध्यापक जयबहादुरले विद्यार्थीले लिखित रूपमै समस्या दर्साएपछि आफूमाथि यथाशीघ्र समाधानका लागि दबाब पर्ने गरेको बताए।
उनका अनुसार अधिकांश गुनासाहरू शौचालय र खानेपानीको समस्या, विषयगत शिक्षकको अभाव, अतिरिक्त क्रियाकलाप र शैक्षिक भ्रमणसँग सम्बन्धित हुने गरेका छन्।
जनप्रिय मावि, दशेराका प्रधानाध्यापक जयबहादुर थापा। तस्बिर: कलेन्द्र सेजुवालस्कुलले गुनासो सुनुवाइका लागि गुनासो पेटिका, सुनुवाइ समितिको माइन्युट र गुनासोको फाइलिङ व्यवस्थित गरेको छ। शिक्षक दिनेशकुमार थापालाई गुनासो सुन्ने संयोजक तोकिएको छ। उनले प्रत्येक शुक्रबार गुनासो पेटिका खोल्छन्।
२०१९ सालमा पब्लिक प्राइमरी स्कुल र २०२५ सालमा विद्योदय मिडिल स्कुल हुँदै २०३४ सालमा जनप्रिय बनेको यो स्कुल पश्चिम जाजरकोटको 'एक नम्बर स्कुल' मानिन्छ। नेपाल सरकारले २०७५ मा यसलाई नमूना विद्यालय घोषणा गरेको छ। कक्षा १२ सम्म अध्ययन हुने जनप्रियमा २०८१ मा १ हजार १७५ विद्यार्थी भर्ना भएका थिए। भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र शैक्षिक उपलब्धिका हिसाबले अब्बल जनप्रिय माविले पछिल्लो समय विद्यार्थीका गुनासाहरू गम्भीरतापूर्वक सुन्ने मामिलामा प्रशंसा कमाएको छ। यसबाट विद्यार्थीहरू खुसी र लाभान्वित छन्।
विद्यालयस्तरीय जनप्रिय बाल क्लबका अध्यक्ष लक्ष्मण थापा र समुदायस्तरीय समावेशी बाल क्लबका अध्यक्ष निरज थापाले गुनासो सुनुवाइ प्रक्रियाबाट विद्यार्थीलाई मनभित्रका भावना व्यक्त गर्न सहज भएको बताए।
विद्यालय प्रशासनलाई पनि बालबालिकाका वास्तविक समस्या पहिचान गरी उपयुक्त रणनीति बनाउन सहयोग मिलेको उनीहरूको भनाइ छ।
'हामीलाई मौखिक रूपमा हेडसरलाई मनको कुरा भन्न धक (डर) लाग्छ, त्यही कुरा लेखेर पेटिकामा खसाल्दा सहज हुन्छ,' लक्ष्मणले भने, 'गुनासो गर्दा नाम पनि गोप्य राख्न मिल्ने भएकाले सुरक्षाको चिन्ता पनि भएन, त्यसमाथि लेखेको कुरालाई हेडसरले चासो दिएर पढ्नुहुन्छ।'
विद्यार्थीका अधिकांश गुनासा शिक्षकसँग जोडिएका हुन्छन्। कतिपय विद्यार्थीले शिक्षकको नामै किटेर राम्रोसँग नपढाएको, ढिलो गरी कक्षाकोठामा आएको र छिटो निस्किएको, स्कुलमा उपस्थित नभएको, दुर्व्यवहार गरेकोजस्ता गुनासो लेखेका छन्। शिक्षकसँगका यस्ता असन्तुष्टि गुनासो पेटिकाले सहज बनाएको छ।
शिक्षक–अभिभावक संघका अध्यक्ष गोरख परियारले गुनासो सुनुवाइ कार्यविधिको प्रभावकारी कार्यान्वयनले शिक्षक र अभिभावक दुवै पक्षलाई सचेत र जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनको भनाइ थियो, 'बालबालिकाका कतिपय समस्या उनीहरूले नभन्दासम्म हामीलाई थाहा हुँदैन। शिक्षक र अभिभावकसँग सम्बन्धित कतिपय समस्या उनीहरूले मौखिक रूपमा भन्न पनि सक्दैनन्। यस्तो अवस्थामा गुनासो पेटिकाले धेरै सहज बनाएको छ।'
जनप्रिय माविका प्रधानाध्यापक जयबहादुर थापा विद्यार्थी र अभिभावकसँग छलफल गर्दै। तस्बिर: कलेन्द्र सेजुवालशिक्षा क्षेत्रमा कार्यरत पाँचतारा युवा संरक्षक मञ्चका सामाजिक अभियन्ता पदमबहादुर सिंहले प्रभावकारी गुनासो सुनुवाइले जनप्रिय माविलाई बालमैत्री मानकमा अब्बल साबित गरेको बताए। गुनासो सुनुवाइ प्रणालीले विद्यार्थी र शिक्षकबीचको पेसागत सम्बन्ध अझ गाढा बनाएको उनको भनाइ छ।
सिंहको भनाइ थियो, 'विद्यार्थीले आफ्ना समस्या निर्धक्कसँग लेख्दा त्यसले समग्र विद्यालयको सुधार र शिक्षकलाई समेत पेसाप्रति जिम्मेवार बनाउन मद्दत पुर्याउने गरेको छ। दशेरा माविले यसमा अनुकरणीय काम गरेको छ।'
मैले अध्ययन क्रममा गुनासो सुन्ने प्रणाली कमजोर हुँदा त्यसको प्रभाव कस्तो पर्छ भन्नेबारे छेडागाड नगरपालिकाकै बाल मावि, झाप्रामा देखेँ।
करिब ५ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गुनासो पेटिका प्रधानाध्यापकको कार्यकक्षमा थन्किएको छ। विद्यार्थीका गुनासो मनभित्रै गुम्सिएका छन्।
'यहाँ समस्या त कति छन् कति? तर सरलाई कसरी भन्न सकिन्छ? बाल क्लबमा बसेका हामीलाई त भन्न डर लाग्छ, अरू साथीहरूको हालत के होला?' १० कक्षामा अध्ययनरत जुनतारा बाल क्लबकी अध्यक्ष पुष्पा टमटाले भनिन्।
क्लबकी उपाध्यक्ष सिर्जना वरले पुष्पाको भनाइमा सही थापिन्, 'क्लबको अगुवाइमा साहस बटुलेर हेडसरलाई समस्या सुनाइहाले पनि वास्ता हुँदैन, अनि किन भन्नु?'
पुष्पाका अनुसार ९ र १० कक्षाका विद्यार्थीका लागि कक्षाकोठामा बेन्चको अभाव छ। २०८१ मा ९ कक्षामा ९० जना र १० कक्षामा ९४ जना विद्यार्थी भए पनि सेक्सन विभाजन गरिएन। एउटै बेन्चमा ५–६ जना अटसमटस भएर बस्नुपर्ने बाध्यता हुन्छ। होहल्लाले पछाडि बस्ने विद्यार्थीले शिक्षकले पढाएको सुन्दैनन्।
विद्यालयमा तीन जना अपांगता भएका विद्यार्थी अध्ययनरत छन्। उनीहरूका लागि अपांगतामैत्री शौचालय, कक्षाकोठा र शिक्षणको व्यवस्था छैन। सेनिटरी प्याडको उचित व्यवस्था नहुँदा केही महिनाअघि छात्रा शौचालय दुर्गन्धित भयो। त्यसपछि विद्यालयले शौचालयमा ताला लगाइदियो। छात्राहरूलाई शौच गर्न समस्या भयो।
त्यस्तै, २०८० मा अंग्रेजी शिक्षक जयबहादुर थापाको सरूवा भएपछि पदपूर्ति भएको छैन, जसका कारण कक्षा ६ र ७ का विद्यार्थीले नियमित रूपमा अंग्रेजी पढ्न पाएका छैनन्। भएका शिक्षक पनि नियमित विद्यालय आउँदैनन्, पढाइभन्दा राजनीति बढी गर्छन्।
सिर्जनाले उल्लिखित समस्या सुनाउँदै भनिन्, 'तपाईंसँग हाम्रा समस्या सुनाउने मौका मिल्यो, यहाँ (स्कुलमा) त मौखिक भनेर साध्य छैन, लेखेर दिनलाई गुनासो पेटिका छैन।'
बाल क्लबले केही सिर्जनात्मक काम गर्न खोज्दा पनि प्रोत्साहन र सहयोग नमिलेको उनले बताइन्।
बाल क्लबले २०८१ असारमा कक्षाकोठा अगाडि फूलका बिरूवा रोपेको थियो। तर घेराबार नहुँदा गाई–बाख्राले खाइदिए। सिर्जनाले दुखित हुँदै भनिन्, 'अब यस्तो गुनासो कसलाई, कसरी सुनाउनु?'
छेडागाड नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका डिल्लीकुमार टमटा बाल माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन्। उनले हामीसँग उल्टै गुनासो सुनाए। डिल्लीकुमारको भनाइ थियो, 'यहाँ शैक्षिक जनशक्ति र भौतिक पूर्वाधार नभएको होइन, तर विद्यालयमा त्यसको सही सदुपयोग भएको छैन। यो समस्या कसलाई भन्नु?'
कक्षाकोठा अभावमा एउटै बेन्चमा ५–६ जना विद्यार्थी बसेर पढिरहँदा २०८० मा बनेको नयाँ भवन प्रयोगविहीन अवस्थामा छ। दिवा खाजा बनाउन भान्सा घरसमेत छैन। सरकारी र निजी स्रोतका २२ जना शिक्षक–कर्मचारी भए पनि विद्यालयले अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकेको छैन। सरकारी कोटाको अंग्रेजी शिक्षक अझै राख्न सकिएको छैन। निजी स्रोतका शिक्षक–कर्मचारीलाई तलब खुवाउन सकिएको छैन। २०८० को एसइईमा सहभागी ८९ विद्यार्थीमध्ये २० जना मात्र पास भए।
'म आफै गुनासो सुन्ने कि सुनाउने दोधारमा पो छु,' अध्यक्ष डिल्लीकुमारले भने।
***
जनप्रिय माविको गुनासो पेटिकामा विद्यार्थीले लेखेका केही गुनासा —



