बेइजिङ डायरी
हाम्रो छिमेकी मुलुक चीन भन्नासाथ तपाईंको दिमागका के कुराको झल्को आउँछ?
ग्रेटवाल, पाण्डा, चपस्टिक्स, जिम्न्यास्टिक खेलाडी, मार्सल आर्टमा एकछत्र राज गरेका कलाकार ब्रुस ली, ज्याकी चन, उच्च गतिमा गुड्ने चुच्चे रेल वा अरू नै केही!
नेपाल मात्र होइन, विश्वमै चीनलाई चिनाउने मानक हुन् उल्लिखित विषय। यस बाहेक अरू पनि थुप्रै चिनियाँ सांस्कृतिक सम्पदा र मान्यता छन् जसले चीन र चिनियाँको पहिचान बोकेको छ।
यो लेखमा भने म चीनलाई विश्वमा चिनाउने यस्तो चिजको कुरा गर्दैछु जसबारे तपाईंको दिमागमा भने छनक नै नआएको हुन सक्छ। वा झट्टै विश्वास नलाग्न पनि सक्छ कि यस्तो चिज पनि राष्ट्रको मानक हुन्छ भनेर।
यहाँ चर्चा हुँदैछ मदिराको। यस्तो मदिरा जो चीनमा मात्र होइन विश्वमै लोकप्रिय छ। त्यो मदिराको नाम हो माउथाई।
म संयोगले यसको कारखानामा पुगेको थिएँ। यसबारे सोधखोज गर्दा जति बुझ्दै गएँ, उति जिज्ञासा बढ्दै गयो। यसरी मैले थाहा पाएका जानकारीमध्ये केही यो लेखमा उल्लेख गरेको छु।
चीनको दक्षिण–पश्चिममा पर्ने एउटा प्रान्त छ 'क्विचौ'।
यो प्रान्तको भ्रमण गर्न धेरै अगाडिदेखि मन लागेको थियो। कारण चीनमा गरिबी निवारणका लागि क्विचौ प्रान्त सबभन्दा कठिन भूगोल थियो। के कारणले यस्तो मानिएको भनेर जान्न सन् २०२४ नोभेम्बर २२ मा बेइजिङबाट क्विचौ प्रान्तको चुन्यी प्रिफेक्चरका लागि उडेँ। निजी भ्रमण भएकाले एक्लै थिएँ। अनलाइनबाट होटल र टिकट बुकिङ गर्दा क्विचौको चुन्यी प्रिफेक्चरमा सस्तो देखेकाले त्यतै उडेको थिएँ।
चुन्यी विमानस्थलमा झर्नासाथ मैले चारैतिर माउथाई मदिराको विज्ञापन देखेँ। होटल पुगेर यसो घुम्न निस्किनु पर्यो भनेर बाहिर निस्किएको मात्र थिएँ, एक व्यक्तिले अंग्रेजी भाषामा 'कता जाने सर' भनेर सोधे।
क्विचौ माउथाईको कार्यालय अगाडिचीनको ग्रामीण क्षेत्रमा अंग्रेजी बोल्ने मान्छे पाउन कठिन हुन्छ। उनी निजी कार चालक रहेछन्। पर्यटकलाई गाडीमा राखेर घुमाउँदा रहेछन्। केहीबेर गफ गरेपछि उनले मलाई माउथाई मदिराको कारखाना घुम्न जाने प्रस्ताव गरे। मोलमोलाइपछि सहमति भयो र उनको आरामदायी कारमा टुटेफुटेको संवाद गर्दै अगाडि बढियो। उनी टुटेफुटेको अंग्रेजी बोल्थे, म टुटेफुटेको चिनियाँ।
कार अगाडि बढेपछि उनले मेरो राष्ट्रियता सोधे। म नेपाली हुँ भनेको उनले बुझ्दै बुझेनन्। मोबाइलमा टाइप गरेर चिनियाँ भाषामा अनुवाद गरेर देखाएपछि बल्ल बुझे र बेस्कन हाँसे। अनि उनले नेपाली गीत सुन्ने भनेर मलाई सोधे। अलि अगाडिसम्म नेपालबारे थाहा नपाएको व्यक्तिले अहिले नेपाली गीत सुन्ने भनेर सोध्दा म छक्क परेँ।
उनको कारको ड्यासबोर्डमा राखेको स्क्रिनमा बोलेर नै नेपाली गीत खोज्न सकिने रहेछ। उनले चिनियाँ भाषामै नेपाली गीत बजाउनुहोस् भनेपछि त्यहाँ एउटा मात्र गीत देखायो। त्यो थियो एलिना चौहानको 'मिनिरल वाटर' गीत।
चीनमा यो गीत निकै लोकप्रिय छ। चिनियाँ भर्सनको टिकटक अर्थात तौयिनमा यो गीतमा चिनियाँहरूले दर्जनौं भिडिओ बनाएका छन्। त्यसै कारण उक्त कारको स्क्रिनले त्यही गीत मात्र चिन्यो होला नेपाली गीत भनेर!
केही अगाडि गएपछि कारमा अनौठो गन्ध आउन थाल्यो। गन्ध बढ्दै गएपछि मलाई टाउको दुख्न थाल्यो। के गन्हाएको भनेर सोधेँ। उनले माउथाई मदिराको बास्ना हो भने। म अर्को पटक छक्क परेँ।
मदिरा पारखीका लागि त बास्ना नै होला!
माउथाई मदिराको मूल्य र यो चीनको मानक पेय पदार्थ हो भन्नेसम्म मलाई थाहा थियो। तर सहरका हरेक पसल, गल्ली, गाडी, बजार सबैतिर यही मदिराको बोलबाला छ भन्ने चाहिँ थाहा थिएन।
गाडी चालक निकै सज्जन रहेछन्। उनले मलाई मदिरा संग्रहालय, क्विचौ माउथाई कम्पनीको कारखाना, प्रदर्शनी कक्ष सबै घुमाइदिए। जानेसम्मको व्याख्या पनि गरेर सुनाए। आफूले भन्न नसकेको कुरा उनले मोबाइलमा खोजेर अंग्रेजी भाषामा अनुवाद गरेर देखाउँथे। पाँच किलोमिटरदेखि मदिराको गन्ध (बास्ना) र उनको व्याख्याले माउथाईका बारेमा दिमागका एक प्रकारको छाप नै बस्यो।
त्यही छापका आधारमा माउथाईका बारेमा केही लेख्ने जमर्को गरेको हुँ। अब सुन्नुहोस् माउथाईको महिमा!
माउथाई विश्वमा प्रसिद्ध र धेरै बिक्री हुने ब्रान्डमध्येको मदिरा हो। क्विचौ माउथाई कम्पनीद्वारा उत्पादित यसलाई विश्वकै महँगो मदिरा पनि मानिन्छ।
क्विचौ प्रान्तको चुन्यी प्रिफेक्चरमा छिशुई नदीको तटमा माउथाई नामको एउटा फाँट छ। यही फाँटको नामबाट विकसित त्यहाँ सानो सहर पनि छ। यो ठाउँको नाम माउथाई रहेको र त्यहाँ उत्पादित मदिरा पनि यही नामबाट लोकप्रिय बनेको हो।
माउथाई मदिरा जुनेलो, कोदो, गहुँ लगायत अन्नबालीसँगै छिशुई नदीको पानीबाट बनाइन्छ। यो मदिरा बनाउन वाष्पीकरण र लामो समय राखिने परम्परागत चिनियाँ प्रविधि प्रयोग हुँद आएको छ। यसमा विभिन्न फलफूल राखेर बास्नादार पनि बनाइन्छ।
माउथाईको प्रवेशद्वारछिशुई नदी किनारमा रहेको यो क्षेत्रमा मदिरा उत्पादनको इतिहास कम्तीमा दुई हजार वर्ष पुरानो छ। सन् १६४४ मा चीनको छिङ राजवंशले माओथाईको उत्पादन केही व्यवस्थित गरेको थियो। सन् १७०४ मा स्थानीय समाचारपत्र 'रनख्वाइ छाओची' ले चीनभरमा माउथाई गाउँ मदिरा बनाउन सम्पूर्ण देशकै पहिलो स्थानमा रहेको उल्लेख गरेको थियो।
सन् १८५४ मा भएको थाइफिङ विद्रोहका बेला माउथाई सहर ध्वस्त भयो र सबै मदिरा उद्योग भग्नावशेषमा परिणत भए। त्यसको नौ वर्षपछि, सन् १८६३ मा छिमेकी सहरका एक नुन व्यापारीले ध्वस्त भएको मदिरा उद्योगमध्ये एउटा किनेर चलाउन थाले। त्यसको १६ वर्षपछि, सन् १८७९ मा तीन जना अन्य व्यवसायीले थप लगानी गर्दै पुरानै प्रविधिलाई प्रयोग गरेर मदिरा उत्पादन गर्न थाले।
त्यसपछि माउथाई मदिरा लोकप्रिय हुन थाल्यो। २० औं शताब्दीको सुरूमा, छिङ राजवंशको पतन र गणतन्त्र चीनको उदयसँगै माउथाईको लोकप्रियतामा बढोत्तरी भयो।
कतिसम्म भने, चीन गणतन्त्रमा गइसकेपछि पनि आफूलाई छोटो समयका लागि सम्राट घोषित गरेका युआन शिखाइको राज्याभिषेक समारोहमा मुख्य पेयपदार्थका रूपमा माउथाई राखिएको थियो। यो सन् १९१५ को कुरा थियो। सोही वर्ष पानामा–प्यासिफिक प्रदर्शनीमा भाग लिएको माउथाईले उत्कृष्ट पदक प्राप्त गर्न सफल भयो।
फलस्वरूप, चीनभित्र माउथाईको तीव्र माग हुन थाल्यो। सन् १९२९ मा क्विचौ माउथाई कम्पनी स्थापना भयो। अहिले चिनियाँ मदिरा क्षेत्रमा यही कम्पनीले राज गरिरहेको छ।
गणतन्त्र चीनमा माउथाईको विकास तीव्र गतिमा भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीले जनयुद्ध गरिरहेको थियो। माउथाई मदिरालाई अझै लोकप्रिय बनाउने काम त्यही जनयुद्ध र त्यसका नेता माओले गरे।
संयोग कस्तो छ भने, माउथाई नजिकै रहेको चुन्यी गाउँमा सन् १९३५ जनवरी १५ देखि १७ सम्म चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को बहुचर्चित बैठक भएको थियो। यही बैठकबाट माओ शक्तिमा आएका हुन्। त्यसभन्दा अगाडि माओ शक्तिको केन्द्रमा थिएनन्।
त्यति बेला सिपिसीका नेताहरू र जनमुक्ति सेनाहरू 'लङ–मार्च' अभियानमा सरिक हुँदै चुन्यी पुगेका थिए। दुई लाइनको संघर्ष चर्किँदै जाँदा तेस्रो व्यक्ति माओ शक्तिमा उदाएका हुन्।
त्यति बेला सिपिसीको अनुशासन निकै कडा थियो। मदिरा सेवन तथा किनबेचमा एक प्रकारको प्रतिबन्ध थियो। तसर्थ, जनमुक्ति सेनाका योद्धाहरू युद्धमा भएका चोटपटक र गोली लागेका घाउ सफा गर्न माउथाई प्रयोग गर्थे। माउथाईमा कडा स्पिरिट हुने भएकाले आलो घाउ सफा गर्न लाभदायक बन्यो।
आफ्ना योद्धाले माउथाई जस्तो महँगो र लोकप्रिय मदिरा घाउ सफा गर्न प्रयोग गरिरहेको थाहा पाएपछि माओले भनेका थिए, 'माउथाई मदिराका लागि प्रसिद्ध छ। यसले आफ्नो खुट्टा पुछ्नु दुःखको कुरा हो!'
त्यसपछि लाल सेनाको राजनीतिक ब्युरोले माउथाई मदिराको महत्त्वलाई ध्यानमा राख्दै यसको किनबेचमा हस्तक्षेप नगर्न परिपत्र जारी गर्यो। अनि के चाहियो र, माउथाईको लोकप्रियताको पारो ह्वात्तै शिखरमा पुग्यो।
सन् १९४९ मा चिनियाँ गृहयुद्ध अन्त्य हुँदै जनगणतन्त्र स्थापना भयो। त्यसको दुई वर्षपछि, सन् १९५१ मा क्विचौ माउथाई कम्पनीलाई सरकारीकरण गरियो। त्यसपछि चिनियाँ कूटनीतिक बैठकहरू र रात्रिभोजहरूका लागि माउथाई अति आवश्यक मानक पेयपदार्थका रूपमा स्थापित भयो।
माउथाई मदिराअध्यक्ष माओले सन् १९५० रूसी नेता जोसेफ स्टालिनलाई र सन् १९७३ मा उत्तर कोरियाली नेता किम इल-सुङलाई दिएका उपहार पनि माउथाई मदिरा नै थियो। सन् १९५४ मा जेनेभा सम्मेलनमा चिनियाँ नेता चौ एनलाईले कूटनीतिक उपकरणका रूपमा पनि माउथाई नै प्रयोग गरेका थिए।
चीन भ्रमणमा आएका पहिलो अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई माओले यही मदिरा पियाउँदै स्वागत गरेका थिए। त्यस बेलादेखि अहिलेसम्म चीनका उच्चस्तरीय तथा राजकीय भ्रमणमा आउने विदेशी पाहुनाको स्वागत भोज, चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा चीनको प्रतिनिधित्व गर्ने प्राथमिक साँस्कृतिक वस्तुका रूपमा माउथाई अपरिहार्य बनेको छ।
सन् १९७९ मा संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका आधुनिक चीनका नेता तङ स्याओफिङलाई तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले भनेका थिए रे, 'मलाई लाग्छ, हामीले पर्याप्त माउथाई पियौं भने हामी जस्तोसुकै समस्याको पनि समाधान गर्न सक्छौं।'
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमण क्रममा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटवार्तामा दुवैले यही मदिरा पिएका थिए।
चीनले कूटनीति, वार्ता, घरेलु उद्योग, सत्कार, परम्परागत पहिचान आदि कुरामा उच्च ध्यान दिन्छ। मदिरा संस्कृतिमा पनि दुई वर्षदेखि वर्तमान अवस्थासम्म चीनले आफ्नो पहिचानलाई प्राथमिकतामा राखेको छ र माउथाईलाई चीनमा मात्र होइन, विश्वमै लोकप्रिय बनाएको छ।
विश्वका सयभन्दा बढी देश र क्षेत्रमा प्रत्येक वर्ष २०० टनभन्दा बढी माउथाई बिक्री भइरहेको छ। अहिलेसम्म माउथाईले दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार र पदक पाएको छ। सन् २०१४ मा ब्रसेल्स अन्तर्राष्ट्रिय मदिरा प्रतियोगितामा स्वर्ण पदक र सोही वर्ष सान फ्रान्सिस्को विश्व मदिरा प्रतियोगितामा दुइटा स्वर्ण पदक पाएको थियो। सन् २०१५ को द स्पिरिट्स बिजनेस एसियन मास्टर्स र सान फ्रान्सिस्को विश्व मदिरा प्रतियोगिता दुवैमा स्वर्ण पदक पाएको थियो।
माउथाई लोकप्रिय मात्र होइन, धेरै महँगो पनि छ। चिनियाँ बजारमा छ्यासछ्यास्ती माउथाई मदिरा बेच्न राखेको पाइन्छ। तर अधिकांश नक्कली हुन्छन्। यो सक्कली हो वा नक्कली भनेर छुट्ट्याउने एउटा आधार मूल्य पनि हो।
हुन त माउथाईका विभिन्न प्रकार भएकाले मूल्य पनि फरक हुन्छ। सामान्यतया एक सय मिलिलिटर माउथाईको मूल्य पाँच सय चिनियाँ युआनभन्दा बढी पर्छ। यो भनेको लगभग दस हजार नेपाली रूपैयाँ बराबर हो। कुनै कुनै माउथाईको लाखौं चिनियाँ युआन पर्छ।
सन् १९८३ तिर उत्पादित माउथाई सन् २०१७ मा हङकङमा लिलाम बिक्रीमा राखिएको थियो। त्यस बेला एक बोतलको मूल्य १४ हजार ७ सयदेखि २२ हजार २ सय अमेरिकी डलरसम्म राखिएको थियो। अहिलेको नेपाली मूल्यमा भन्ने हो भने १९ लाखदेखि ३० लाख रूपैयाँसम्म। मध्यम स्तरको नेपालीले त एक बोतल किन्न घडेरी नै बेच्नुपर्ला!
त्यसैले मदिरा पिउनुहुन्छ र मौका पर्यो भने चीन भ्रमणमा आउँदा माउथाई चाख्न सक्नु हुन्छ!
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)