केही वर्ष अगाडिसम्म मुलुकको ८० प्रतिशतभन्दा बढी जनंसख्या कृषिमा आश्रित थियो। अहिले घट्दा घट्दै ६५ प्रतिशतमा अड्किएको छ।
यसले कृषिकर्म त्यति आकर्षक नरहेको देखाउँछ। सँगै, युवा जनशक्ति पलायन भइरहेको तितो यथार्थ पनि प्रस्ट्याउँछ।
हामीभन्दा कैयौं गुणा ठूलो र जनसंख्या बढी भएका ४ प्रतिशत अमेरिकी किसानले देशलाई पुग्ने अन्न–खाद्यान्न उत्पादन गर्छन्। विदेश निर्यात समेत गरिरहेका छन्। यसबाट उनीहरूको समृद्धिमा टेवा पुगेको छ। देशकै अर्थतन्त्रमा ठूलो योगदान दिएको देखिन्छ।
नेपालको रोजगार सिर्जना र समृद्धिको अल्पकालीन (तत्कालीन) समाधान खोज्ने हो भने पहिलो कार्य — किसानहरूको मातहतमा रहेको कृषि जमिनमा पूर्ण रूपले अत्याधुनिक कृषि प्रणालीबाट विभिन्न उत्पादन गराई फाइदामूलक मूल्य प्राप्त गर्ने हो।
दोस्रो, उपभोक्ताहरूले आयातीत खाद्यान्न भन्दा गुणस्तरीय र सस्तो मूल्यमा उपभोग गर्न पाउने अधिकार एवं वातावरण निर्माण गर्नु हो।
किसानले आफ्नो प्रमुख खाद्यान्न बाली धानको सफल उत्पादन गरी फाइदामूलक मूल्यमा बिक्री गर्न सक्नुपर्छ। कृषि जमिनको पूर्ण सदुपयोग गरी पूरापूर फाइदा लिन वर्षको तीन बाली अनिवार्य उत्पादन गर्नुपर्छ।
किसानहरूले सही समय र प्रविधिको उच्चतम सदुपयोग गरी 'राम' धान उत्पादन गरेको खण्डमा सरदर बिघाको ४० क्विन्टल धान उत्पादन गर्न सक्छन्।
हाम्रो आरजु राइस मिलले आउने वर्ष, २०८२ का लागि तोकेको १४ प्रतिशत चिस्यानको धानको मूल्य ४० रूपैयाँ किलोमा बिक्री गर्ने हो भने बिघाको एक लाख ६० हजार रूपैयाँमा चार महिनामा सजिलै आम्दानी गर्न सकिन्छ।
राम धान चामल विगत केही वर्षदेखि मध्यम तथा उच्च आय भएका उपभोक्ताहरूका लागि प्रिय बनेको छ।
हामीकहाँ धान उत्पादन तथा घर भित्र्याइसकेपछि न्यूनतम समर्थन मूल्य तोकिन्छ। न्यूनतम समर्थन मूल्यको फाइदा केही भेगका किसानले मात्र पाइरहेका छन्।
यो परम्परा तोड्दै आरजु राइस मिलले धान लगाउनु अगावै न्यूनतम समर्थन मूल्य घोषणा गर्न थालेको छ। यसबाट किसानले आउने फसलबाट के कति आम्दानी तथा कत्तिको फलदायी हुन्छ भन्ने सजिलै निर्क्यौल गर्न सक्छन्।
आरजु राइस मिलले २०८२ सालको अधनी धानको न्यूनतम समर्थन मूल्य

स्थानीय धानको जात 'रंजित' को बजार भाउ भन्दा उपरोक्त धानको मूल्य क्विन्टलमा २ सय रूपैयाँ बढी दिने निर्णय गरिएको छ।
हार्भेस्टर (धान काट्ने मेसिन) ले समयमै धान दाउनी गरे समयमै तोरी लगाउन सकिन्छ। तोरी तीन महिनामै बिघाको सरदर ६ देखि ८ क्विन्टल फलाउन सकिन्छ। बजारको सरदर मूल्य १२५ रूपैयाँ प्रतिकिलोमा बेच्दा बिघाको झन्डै ८५ हजार रूपैयाँ थप आम्दानी गर्न सकिन्छ।
पूर्वको केही भेग, जस्तै राजमार्गसँगै जोडिएको कानेपोखरी तथा वरपरका गाउँमा तोरीको निकै राम्रो खेती हुन्छ। तोरी मिलका लागि धेरै लगानी पनि चाहिँदैन। आधुनिक मिल किसानकै सहभागितामा सजिलै स्थापना गर्न सकिन्छ। यस विषयमा स्थानीय तोरी किसानहरूसँग हाम्रो अन्तर्क्रिया पनि भइरहेको छ।
तोरी तेलमा मिसाउन विदेशबाट आयातीत पाम आयल (तेल) निकै प्रयोग भएको देखिन्छ। पाम आयल मिसावटबाट तयार गरिने तोरी तेलको मूल्य शुद्ध तोरी तेलको भन्दा कम पर्न आउँछ।
तोरी लगत्तै 'चैते धान' लगाउन सकिन्छ। हामीले 'सुवासी धान' को उत्पादन सुरू गरेका छौं। यो एक किसिमको बासमतीकै जात हो। यो धान लगाएको खण्डमा बिघाको सरदर ३० क्विन्टल उत्पादन हुन्छ। आरजु राइस मिलले सुवासी धानको न्यूनतम समर्थन मूल्य ४० रूपैयाँ प्रतिकिलो तोकेको छ। यस हिसाबले किसानले बिघाको १ लाख २० हजार रूपैयाँ थप आम्दानी गर्न सक्छन्।
यस प्रकार हरेक बिघाको वार्षिक आम्दानी करिब ३ लाख ६५ हजार रूपैयाँ हुन आउँछ। सबै खर्च कटाएर खुद मुनाफा दुई लाख पन्ध्र हजार रूपैयाँ हुन्छ।
यसको प्रतिफल भनेको प्रतिवर्ष तीन हजार बिघाबाट हरेक व्यक्ति/परिवारले आफ्नो खर्च गर्न सक्ने आम्दानी झन्डै ६५ करोड रूपैयाँ हुन जान्छ। यसो भएमा, राष्ट्रिय अर्थतन्त्रमा विभिन्न कोणबाट ठूलो रोजगारी सिर्जना हुने हाम्रो प्रक्षेपण छ।
आरजु राइस मिलले यो अवधारणालाई मूर्त रूप दिन, नेपाल र नेपाली किसानको तत्कालको समृद्धि र स्तरीय रोजगारी सिर्जना गर्न यसलाई अभियानका रूपमा सञ्चालन गर्न लागेको छ।
धेरै हन्डर र अनुमान गर्दागर्दै धेरै चोटि असफलताको तितो स्वाद चाख्दै हामी बीस वर्षदेखि निरन्तर यो काममा लागिपरेका छौं। आरजु राइस मिल त्यसै अवधारणाको सुरूआत हो।
किसानहरूले धान रोप्नु अगावै त्यसबाट के कति आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई हरेक वर्ष स्थापित गरेका छौं। अधनी र चैते धानको न्यूनतम समर्थन मूल्य यसैको उदाहरण हो।
तीन हजार बिघामा धान खेतीका लागि हामी करिब दुई सय बिघाको किसान समूह बनाएर, हरेक १५ वटा समूहलाई एक 'हार्भेस्टर' उपलब्ध गराउने र खाद्यान्न बालीको वार्षिक चक्रलाई सहजीकरण गर्ने अभियानमा लागिपरेका छौं।

हामीसँग भएका हार्भेस्टरलाई ६ वटा स्थानीय किसान समूहमा बाँडेर बाह्र सय बिघालाई हाम्रो अभियानमा आबद्ध गराएका छौं। बाँकी नौ वटा समूहलाई कृषि ऋण लिएर नयाँ हार्भेस्टर किन्न सहजीकरण र संगठित गराउने प्रयासमा लागेका छौं। यही सोच अनुरूप उर्लाबारीमा एउटा समूह गठन हुँदैछ।
वर्षको तीन बाली दाउनी गरेको खण्डमा नयाँ हार्भेस्टर कृषि ऋणबाटै किनेर, सबै खर्च कटाएर करिब १५ लाख रूपैयाँ खुद आम्दानी गर्न सकिन्छ। यो आम्दानीबाट समूहमा आबद्ध हरेक किसानले राम्रो फाइदा लिन सक्नेछन्।
आरजु राइस मिल सामुदायिक उद्यमशीलतामा सञ्चालन गर्ने सोचले सुरू गरिएको अभियान हो। विषयवस्तुको पूरा ज्ञान नभई, आवश्यकता महसुस गरेर बाध्यात्मक परिस्थितिमा सुरू गरिएको उद्योग हो यो मिल।
यो उद्योगले फाइदा गर्न थालेपछि यसमा आबद्ध किसानलाई बजार मूल्यमा ४५ प्रतिशत सेयर बिक्री गर्ने उद्देश्य हाम्रो छ। यो अर्को वर्षको सञ्चालन अवधिसम्म हासिल गर्न सक्ने हाम्रो अनुमान छ।
किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार व्यवस्थापन सबभन्दा कठिन काम हो भन्ने कुरा हामीले चामल बिक्री गर्दा अनुभव गरेका छौं। त्यसै कारण हामीले यो समस्याको समाधान स्थानीय स्तरमा खोजेका छौं।
हामीले हरेक गाउँटोलका खुद्रा व्यापारी, किराना पसललाई हाम्रा उत्पादन बिक्री गर्ने सञ्जाल विकास गरी प्रयोगमा ल्याउँदै छौं। यसले हाम्रा उत्पादन नगदमा बिक्री हुन्छ। हामी उधारो फस्ने हालको ठूलो संकट समाधानको उपाय स्थापित गर्न लागेका छौं। यसबाट स्थानीय स्तरका किराना पसलको रोजगारी र समृद्धि पनि बढ्नेछ।
त्यसै कारण अब हामी यो अभियानलाई मूर्त रूप दिन कम्मर कसेर लागेका छौं। किसानका चार वटा समूहलाई हार्भेस्टर दिएर यो कामको सुरूआत गर्दैछौं। यो अभियानले किसान र मिललाई जोड्ने सेतुको काम गर्नेछ। किसानलाई निर्वाहमुखीबाट व्यावसायिक तर्फको बाटो पहिल्याउने काममा सबै नेपालीको सहभागिता अनिवार्य छ।
(लेखक वीरेन्द्र बहादुर आरजु राइस मिलका कार्यकारी अध्यक्ष हुन्। उनी बुद्ध एयरका पनि कार्यकारी अध्यक्ष हुन्।)