बेइजिङ डायरी
चीनमा दिवंगत भइसकेका मान्छेलाई हरेक वर्ष पैसा दिइन्छ। खर्चबर्च चलाउन भनेर परिवार तथा आफन्तले पैसा दिने चलन सांस्कृतिक मान्यता र पुरानो चलनमा आधारित छ।
चीनमा मृत्युवरण गरिसकेका व्यक्तिहरूलाई परिवार तथा आफन्तले वर्षको दुई पटक सम्झिन्छन्। एक पटक सम्बन्धित व्यक्ति मरेको तिथिको दिन, अर्को पटक अप्रिलको पहिलो सातामा पर्ने पुर्खा दिवसका दिन।
नेपालीहरूले दिवंगत आफन्तको नाममा श्राद्ध गरेजस्तै चिनियाँहरूले पनि बितिसकेका आफन्तलाई सम्झिने निश्चित दिनलाई 'छिङमिङ च्ये' भन्छन्। यही अप्रिल ४ तारिख शुक्रबार (चैत २२ गते) चिनियाँहरूले छिङमिङ च्ये अर्थात् पुर्खा दिवस मनाएका छन्।
विश्वमा प्रचलित पुराना संस्कृतिहरूमा चिनियाँ संस्कृति पनि एक हो। अन्य देश र समाजका प्रचलनभन्दा चिनियाँ संस्कृतिका प्रचलनहरू निकै अनौठा हुन्छन्। त्यस्तै अनौठा प्रचलनहरूमा एक हो छिङमिङ च्ये।
यो दिन चिनियाँहरू दिवंगत भइसकेका आफ्ना पूर्वज तथा आफन्तहरूको स्मृतिमा बनाइएको चिहानमा जान्छन्। चिहान वरिपरि झार उखेलेर सफा गर्छन् र चिहानमाथि नयाँ माटो थपेर श्रद्धाञ्जली दिन्छन्। त्यति मात्र होइन, दिवंगत मानिसलाई मनपर्ने परिकारहरू पनि राखिदिन्छन्। मौसम अनुसारका फलफूल, घरमै बनाइएका खानेकुरा, जुस लगायत चिहान माथि राखेर 'भोक र तिर्खा लागेमा खानू है' भनेर प्रार्थना गर्छन्।
दिवंगत मान्छेको रूचि ध्यान दिएर खानेकुराहरू चिहानमाथि राखिन्छ। त्यो व्यक्ति जिउँदो हुँदा चुरोट खान्थ्यो भने केही प्याकेट चुरोट राखिन्छ। रक्सी खान्थ्यो भने रक्सीका बोतल राखिन्छ। महिला तथा पुरूषका रोजाइ अनुसार सामानहरू राखिदिने चलन छ। यही भएर त चिनियाँ नेता अध्यक्ष माओको स्मृतिमा चुरोटका थाक राखिन्छ। माओ चुरोटका अम्मली भएकाले उनीप्रतिको श्रद्धा स्वरूप चुरोट चढाइएको हो।
माओको सम्झनामा राखिएका वस्तुहरूत्यति मात्र होइन खर्चबर्च चाहिन्छ भनेर पैसाका बिटा पनि चिहान माथि राख्ने चलन छ। त्यसरी राखिएका पैसाका बिटा चाहिँ सक्कली हुँदैनन्, नक्कली कागजी नोटहरू हुन्छन्। पुर्खालाई अर्पण गर्ने त्यस्ता नक्कली कागजी नोटहरू बचारमा किन्न पाइन्छ। सक्कली नोटको बनोट र आकारसँग मिल्दाजुल्दा त्यस्ता नोट पुर्खालाई अर्पण गर्न मात्र काम लाग्छन्।
बेइजिङ लगायत चीनका ठूला सहरहरूमा चिहान बनाउन पाइँदैन। जमिन अभावले गर्दा शव जलाउनैपर्ने बाध्यता छ। तर चिनियाँ ग्रामीण भेगतिर अहिले पनि चिहान बनाएर शव पुरिन्छ।
सहरी क्षेत्रमा चिहान बनाउन नपाइने भएपछि पुर्खा दिवसमा कहाँ लगेर खानेकुरा र पैसा दिने भन्ने प्रश्नको उत्तर खोज्दा निकै अनौठा चलन भेटिन्छन्।
बेइजिङ जस्ता ठूला सहरमा शव विद्युतीय शवदाह गृहमा जलाइन्छ। त्यसरी जलाइसकेपछि शवदाह गृह कार्यालयले केही खरानी तथा अस्तु मृतकका आफन्तलाई दिन्छ। त्यो अस्तुलाई कहाँ कसरी राख्ने भन्ने कुरामा आफन्तसँग केही विकल्प हुन्छन्।
पहिलो विकल्प, त्यही शवदाह गृह कार्यालयभित्र सानो चिटिक्क परेको बाकसमा हालेर राख्ने। अनि प्रत्येक वर्षको वार्षिक तिथि र पुर्खा दिवसका दिन गएर त्यही बाकस झिकेर श्रद्धाञ्जली दिँदै खानेकुरा र खर्च स्वरूप नक्कली पैसा राखिदिने। अर्को वर्ष गएर पुरानो पैसा हटाएर फेरि नयाँ पैसा राखिदिने।
अस्तु राख्ने बाकसलाई आफ्नो निर्दिष्ट घर्रामा राखेर चाबी लगाइन्छ। त्यो घर्राको वार्षिक शुल्क तिर्नुपर्छ। कुनातिर, उचाइमा भर्याङ लगाएर मात्र भेटिने, भुइँतिर वा आफूलाई पायक पर्ने स्थान हेरेर घर्राको शुल्क महँगो वा सस्तो पर्न सक्छ।
दोस्रो विकल्प, अस्तु लिएर जन्मस्थल वा सहरभन्दा अलिक बाहिरको ग्रामीण क्षेत्रमा गएर समाधिस्थल बनाउने र त्यहाँ राख्ने। अनि हरेक तिथि र पुर्खा दिवसका दिन परिवार तथा आफन्तहरू भेला भएर सरसफाइ गर्दै खानेकुरा र नक्कली पैसा राखिदिने।
चिनियाँ सक्कली पैसा (माथिल्लो) र दिवंगत भएका मान्छेलाई भ नक्कली पैसा (तल्लो)
यो विकल्प चीनमा निकै लोकप्रिय छ। तर चिहान बनाउने ठाउँ किन्न निकै महँगो पर्छ। पायक पर्ने स्थानमा त्यस्तो अनुकूल ठाउँ पनि नपाइन सक्छ।
तेस्रो विकल्प चाहिँ अलिक अनौठो छ। आफन्त तथा परिवारजनका मानिस भेला भएर तिथि तथा पुर्खा दिवसका साँझ चौबाटोको पैदल सडकमा आगो बालेर नक्कली पैसा तथा स्मृतिपत्रहरू डढाइन्छ। यसो गरेमा दिवंगत आफन्तले पाउँछन् भन्ने चिनियाँ विश्वास छ।
आगो बाल्न चौबाटो नै रोज्नुपर्ने अर्को रोचक कारण छ। दिवंगतहरू चौबाटोमा आएर कता जाने भनेर बेखर्ची भएर टोलाउँछन् भन्ने चिनियाँ विश्वास छ। त्यस कारण चौबाटोमै गएर पैसा बालेपछि उनीहरूले पाउँछन् रे!
बेइजिङका सहरी क्षेत्रमा बिहानै प्रभातफेरिमा निस्किँदा चौबाटोतिर खरानीको थुप्राहरू यत्रतत्र देखिन्छ। अझ पुर्खा दिवसको भोलिपल्ट बिहान यस्तो दृश्यले सहरलाई निकै कुरूप बनाएको हुन्छ।
यस्तो कार्यले सहरी सौन्दर्यमा असर पर्ने, आगो बाल्दा निस्किने धुवाँले प्रदूषण बढ्ने, आगलागी हुने सम्भावनाका कारण सुरक्षामा चुनौती थपिने, पैदलयात्रुलाई अवरोध गर्ने आदि कारणले प्रशासनले यस्तो नगर्न बारम्बार अनुरोध गर्दै आएको छ। तर संस्कृतिप्रतिको विश्वास र पुरानो चलनलाई भत्काउन सितिमिती नसकिने रहेछ भन्ने उदाहरण पनि हो यो चलन।
दिवंगत मान्छेलाई पैसा दिने चलन मात्र होइन, मृत्युपछि गरिने संस्कार पनि निकै अनौठो हुन्छ।
सोलुखुम्बूकी शकुन्तला राई सन् २००८ मा चिनियाँ युवासँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गर्दै आएकी छन्। बिहे गरेर आएको दुई वर्षभित्रै उनका सासूससुराको मृत्यु भयो। चिनियाँ मृत्यु संस्कारलाई नजिकैबाट नियालेकी उनले त्यो सबै निकै अनौठो लागेको बताइन्।
उनी भन्छिन्, 'चीनमा मान्छे मर्दा अचम्मको चलन हुने रहेछ। तीन दिनसम्म घरमै लास राखिन्छ। कोही आफन्त भेट गर्न आउँदा पटका पड्काइन्छ। आफन्तहरू भेट गर्न आउँदैपिच्छे मृतकका परिवारका महिलाहरू शवको छेउमा गएर कोकोहोलो स्वर निकालेर रूनुपर्ने रहेछ। सासू मरेकै दिन त म पनि रोएँ। तर तीन दिनसम्म बनावटी रून सकिँदैन थियो। भेट गर्न आएका आफन्तलाई मासु लगायत भोज पकाएर खुवाउने चलन पनि मलाई अनौठो लाग्यो। तेस्रो दिन घरबाट शव निकाल्नासाथ डामडुम ढोका लगाइने रहेछ। यसो गर्दा मृतकको आत्मा कहिल्यै फर्केर घरमा आउँदैन र सपनामा पनि देखिँदैन भन्ने चिनियाँ भनाइ छ।'
म चीनमा बसेर काम गरेको ११ वर्षपछि पहिलो पटक मलामी जाने अवसर जुर्यो। चिनियाँ प्रोफेसर यु फङको देहान्त भएकाले सन् २०२४ डिसेम्बर २९ मा मलाई पनि मलामी जान आमन्त्रण गरियो। सन् १९४३ मा चीनको शान्तोङ प्रान्तमा जन्मिएका यु फङले सन् १९६३ मा बेइजिङमा आएर स्नातक तहमा नेपाली भाषा अध्ययन सुरू गरेका थिए। सुरूमा कृष्णबहादुर प्रधान उनका गुरू थिए। सन् १९६५ देखि उनलाई सत्यमोहन जोशीले नेपाली भाषा सिकाएका थिए।
यु फङ उर्फ पुष्पलालउनको नेपाली नाम पुष्पलाल थियो। चीनमा नेपाली भाषा सिक्ने पहिलो पुस्ताका व्यक्ति थिए यु फङ। उनीसँगै नेपाली भाषा सिकेका अन्य चिनियाँहरूमा चाउ चाउ च्यून अर्थात् छाङ हो (नेपाली नाम कुसुम), चौ होङ पो (नेपाली नाम चन्द्रबहादुर), लिउ होङ स्याङ (नेपाली नाम रामहरि), सुहाओ (नेपाली नाम मुकुन्द), च्या चे (नेपाली नाम प्रेमलता), चु छिङ चन (नेपाली नाम केशरी मैया), वाङ श्यू चन (नेपाली नाम सन्तु), छन मिन यी र ली छिङ थिए।
सन् १९७५ जुन २५ तारिख तत्कालीन रेडियो पेकिङले नेपाली सेवा स्थापना गर्दा त्यसको नेतृत्व यु फङले गरेका थिए। औपचारिक रूपमा उनलाई प्रमुख तोकिएको थिएन। सो समयमा नेपाली सेवाको प्रमुख माथिल्लो निकायका चिनियाँले गरेका थिए। तसर्थ, यु फङलाई नेपाली सेवा सुरू गर्ने दलको नेता भनिन्थ्यो। यु फङले बाह्र वर्षसम्म रेडियो पेकिङ र पछि रेडियो बेइजिङको नेपाली सेवालाई नेतृत्व प्रदान गरेका थिए।
रेडियोमा काम गर्दै उनले नेपाली भाषा शिक्षण कार्य पनि गरे। उनले नेपाली भाषा अध्यापनका क्रममा पाठ्यक्रम र पाठ्यपुस्तक पनि विकास गरेका थिए चीनमा नेपाली भाषा सम्वर्द्धन र नेपाली संस्कृति प्रवर्द्धनमा उनको अतुलनीय योगदान छ। सन् २००३ मा रेडियोबाट सेवा निवृत्त भएपछि उनी बेइजिङको सञ्चार विश्वविद्यालयमा नेपाली भाषा पढाइरहेका थिए। नेपालका राजा तथा प्रधानमन्त्रीहरूको चीन भ्रमण हुँदा उनले दोभाषेको काम पनि गरेका थिए।
उनीसँग पुरानो चिनजान भएकाले मलामी जान मलाई पनि बोलाइएको थियो। मसँगै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा काम गर्ने सबै चिनियाँ सहकर्मीहरू गएका थिए। अहिले नेपाली सेवामा काम गर्ने सबै चिनियाँहरू यु फङका विद्यार्थी थिए।
भेला भएका मलामीहरूलाई यु फङका छोराले स्वागत गर्दै सबै जना आइदिनुभएकोमा धन्यवाद भने। हामीले साना कार्डमा श्रद्धाञ्जली लेखेर एउटा पानीको भाँडोमा डुबायौं। विशेष प्रकारको कलमले लेखिएका ती श्रद्धाञ्जली सन्देशहरू पानीमा डुबाएपछि अझै चहकिला हुने रहेछन्।
शव बाकसमा राखिएको थियो। पृष्ठभूमिमा राखिएको स्क्रिनमा यु फङका युवा अवस्थादेखिका तस्बिरहरू एकपछि अर्को गर्दै डिस्प्ले भइरहेका थिए। हामीले सेता र पहेँला फूल शवको टाउकातिर राख्दै केही बोलेर श्रद्धाञ्जली अर्पण गर्यौं।
उनको देहान्त डिसेम्बर २५, बुधबार नै भएको थियो। चिनियाँ चलन अनुसार देहान्त भएपछि बेजोडा दिनमा (१, ३, ५ अथवा ७) दिनमा अन्त्येष्टि गरिन्छ। त्यही भएर डिसेम्बर २९, आइतबार बिहान बेइजिङको प्रख्यात अन्त्येष्टिस्थल पापाओशानमा उनको अन्त्येष्टि गरियो।
अन्त्येष्टि समारोहमा उपस्थित भएर उनले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउन गरेको योगदानको स्मरण गर्दै उनीप्रति मैले श्रद्धाञ्जली अर्पण गरेँ। मेरो मन्तव्यलाई चिनियाँ सहकर्मी चाङ युए अर्थात् वर्षाजीले भावविह्वल हुँदै अनुवाद गरिदिइन्।
चिनियाँ महिला सहकर्मीहरू पहिल्यैदेखि नै स्वाँक्कसुँक्क गर्दै रूँदै थिए। शवको छेउमा गएर श्रद्धाञ्जली अर्पण गर्दा सबै जना क्रन्दन स्वरमा रून थाले। यु फङका छोराले पहिले बुबाको शवको खुट्टामा ढोगे। अनि अगाडि घुँडा टेकेर तीन पटक टाउकाले भुइँमा ढोग्दै अन्तिम बिदाइ गरे।
शवदाह गृहका कर्मचारीले शवलाई भित्रपट्टि लिएर गए। त्यहाँ मलामी तथा आफन्त जाने चलन नभएकाले हामी कोही पनि गएनौं। श्रद्धाञ्जली दिँदा पुरूष सहकर्मीहरू रोएका थिएनन्। बाहिर निस्कएपछि सहकर्मी रवि निकै नराम्ररी रोए, आफ्ना गुरू यु फङलाई सम्झिएर।
चिनियाँ पुर्खा दिवसका दिन चीनको फुचियान प्रान्तमा अनौठो चलन छ। यो दिन अर्काको चिया बगानमा पसेर चियाका मुना टिप्न पाइन्छ। अरू बेला भएमा चोरीको मुद्दा खेप्नुपर्ने भए पनि यो दिन चिया चोर्न पाइन्छ।
चिनियाँ मृत्यु संस्कार र मृत्यु भइसकेका व्यक्तिको स्मृतिमा गरिने श्राद्ध निकै अनौठो भए पनि चिनियाँहरू मृत्यु र यसको संस्कारका बारेमा खुलेर कुरा गर्न चाहँदैनन्।
चिनियाँहरू ठान्छन्— मृत्यु भनेको नराम्रो हो। त्यस कारण मृत्यु सम्बन्धी कुरा गरेर आफ्नो मनभित्र नराम्रो कुरा राख्नु हुँदैन।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)