नेपालको वर्तमान साक्षरता दर ५ वर्ष उमेर र ५ वर्षभन्दा माथि करिब ७६.२ प्रतिशत छ। यसमा ८३.६ प्रतिशत पुरुष र ६९.४ प्रतिशत महिला छन्। तुलनात्मक रूपमा हेर्दा यो तथ्यांक ठीकै छ तर साक्षरता दरमा वृद्धि गर्न आवश्यक छ।
साक्षरता व्यक्तिको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पाटोसँग, उसको चेतना र निर्णय गर्न सक्ने क्षमतासँग जोडिएको हुन्छ।
वित्तीय साक्षरताको सन्दर्भमा नेपालको अवस्था कस्तो छ? वित्तीय साक्षरता किन आवश्यक छ? वित्त बुझेको मान्छेले आफ्नो जीवनपद्धति कसरी अघि बढाउँछ? पैसा के हो? यसको महत्त्व के छ? यसको व्यवस्थापन कसरी हुन्छ? वित्तीय साक्षरता किन आवश्यक छ?
आजको पुँजीवादी युगमा यी प्रश्नहरू महत्त्वपूर्ण छन्।
आम नागरिकका लागि वित्तीय साक्षरता जरूरी छ। नेपालमा हाल वित्तीय साक्षरता दर करिब ५७.९ प्रतिशत छ। यसको अर्थ सय जना मान्छेमा करिब ५८ जनाले वित्तका बारेमा धेरथोर जानेका छन्, उनीहरू साक्षर छन् भन्ने हो।
वर्तमान समयमा 'फिनटेक' सम्बन्धी धेरै काम भइरहेको छ। सूचना–प्रविधिको विकास उच्च गतिमा छ। विश्व–व्यवस्था नै सूचना–प्रविधिमा निर्भर छ।
फिनटेक अर्थात् सूचना–प्रविधिको उच्चतम प्रयोग गर्दै बैंक तथा वित्तीय सेवा प्रवाह गर्नु हो; बैंक तथा वित्तीय सेवा सूचना–प्रविधिको प्रयोगबाट सहजीकरण र सरलीकरण गर्नु हो।
यो आलेखमा वित्तीय साक्षरता सम्बन्धी केही कुरा गरेको छु।
वर्तमान विश्व–व्यवस्थामा वित्तीय साक्षरताको चर्चा बढ्दो क्रममा छ। यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू काम गर्दैछन्। आम नागरिकले वित्तीय साक्षरताका साथ व्यक्तिको हक–अधिकारको पाटो पनि थाहा पाउनुपर्छ। नेपालमा वित्तीय साक्षरताका सन्दर्भमा राज्यको नीति प्रभावकारी छैन। यसमा राज्यका निकायहरू पनि चुकेका छन्।
वर्तमानमा पैसा नै सबै थोक हो भन्ने आम मनोविज्ञान प्रबल बन्दै गएको छ। एक हिसाबले यो कुरा ठिकै हो तर योभन्दा बढी महत्त्व पैसाको उचित व्यवस्थापन गर्नुमा छ। पैसाको व्यवस्थापन व्यक्तिको संस्कारमा पनि भर पर्छ। जीवनका हरेक पाटामा संस्कार स्थायी सम्पत्तिका रूपमा रहन्छ जसले हाम्रो जीवनपद्धति निर्धारण गर्छ।
जीवनका लागि पैसा अस्थायी तर अनिवार्य साधन हो। बदलिँदो सामाजिक परिवेशमा हामीले नयाँ पुस्तालाई हाम्रो असल संस्कार र जीवनको मूल्य–मान्यता बुझाउन नसकेको देखिन्छ। नयाँ पुस्ताले पनि स्वीकार गर्न नचाहेको जस्तो देखिन्छ।
आम सामाजिक मनोवृत्तिले पैसा नै सबै थोक हो, पैसा भएपछि सबै किसिमको सुखशयल प्राप्त हुन्छ भन्ने मान्यता विकास गरेको छ। सामाजिक परिवेश परिवर्तनशील छ। मूल्य–मान्यताहरू बदलिँदै गएका छन्। खुसीको स्रोत पनि बदलिँदै गएको छ।
मानिसले पैसा (पुँजी) को अभावमा निकै महत्त्वपूर्ण अवसर गुमाएको हुन सक्छ।
वर्तमान युगमा मानिसका लागि पैसा अनिवार्य साधनका रूपमा रहेको भए पनि खुसीको निर्विकल्प स्रोत बन्न सकेको छैन। पैसा नै निर्विकल्प हो भन्ने भाष्य गलत छ।
अहिलेको मानव जगत् व्यापारको दुनियाँमा छ। व्यापारको सर्वोच्चतामा परिवारको मूल्य–मान्यता, सामाजिक सम्बन्ध, सदभाव र मानवीय संवेदना धुमिल हुँदै जानु चिन्ताको विषय हो।
हाम्रा मूल्य–मान्यता र मानवीय संवेदना पैसासँग तुलना हुन सक्दैनन्। पैसा निर्विकल्प ठानेर सामाजिक शृंखला भताभुंग पार्दै जाने हो भने समाज रहँदैन, व्यक्ति मात्र रहन्छ। पैसा साध्य होइन, अस्थायी माध्यम मात्र हो। स्थायी त पैसा आर्जन गर्ने सीप, ज्ञान र संस्कार हो जो असल सामाजिक मूल्य–मान्यताबाट प्राप्त हुन्छ।
यस किसिमको असल सामाजिक मूल्य–मान्यता विकास गर्न हाम्रा बालबालिकाका लागि विद्यालय तहदेखि नै साक्षरता कक्षा चलाउनुपर्छ। वित्तीय साक्षरता व्यावहारिक पठनको हिस्सा हुनुपर्छ। विद्यालय र घरपरिवार दुवैले बालबालिकालाई वित्तीय साक्षरताको व्यावहारिक पाटो सिकाउनुपर्छ। देश विकासका लागि वित्तीय साक्षरता धेरै महत्त्वपूर्ण हुन्छ। वित्तीय रूपमा साक्षर व्यक्तिले आफ्नो जीवनको आर्थिक पक्ष व्यवस्थित बनाउँछ।
वित्तीय व्यवस्थापनको प्रारम्भिक शिक्षा घरमै सुरू हुन्छ।
आम अभिभावकले छोराछोरीको खुसीका लागि पैसा खर्च गर्छन्। आर्जन गर्न सक्ने भएपछि छोराछोरीले आमाबाबुको खुसीका लागि खर्च गर्छन्। यसरी पैसा खर्च गर्दा दूरभविष्यसम्म ध्यान पुर्याउनुपर्छ। यसमै जोडिन आउँछ वित्तीय साक्षरता। पैसाको सदुपयोग गर्न नसक्दा भविष्यमा अनेकन अनावश्यक आर्थिक संकट बेहोर्नुपर्ने हुन्छ। संकट टार्न संघर्ष गर्नुपर्ने हुन्छ। यही परिवेशमा 'जनरेसनल पोभर्टी' को समस्या पनि भोग्नुपरेको छ।
'वित्तीय साक्षरता' नहुँदा यस्ता समस्याहरू आउँछन्। यसले तनाव सिर्जना गर्छ।
विद्यालयमा अनेक पारिवारिक पृष्ठभूमिका बालबालिकाहरू हुन्छन्। उनीहरूको आर्थिक अवस्था फरक फरक हुन्छ। यी सबैलाई पैसा आर्जनका लागि जीवनोपयोगी सीप चाहिन्छ। यससँगै पैसाको सदुपयोगबाट आवश्यकताहरू पूरा गर्ने ज्ञान चाहिन्छ। यस्तै ज्ञानका लागि आवश्यक पर्छ वित्तीय साक्षरता।
वित्तीय साक्षरताले व्यक्तिको आर्थिक जीवन सहज बनाउन मद्दत गर्छ। यससँग जोडिएका सबै सरोकारवाला संस्था र विज्ञहरू सक्रिय हुन आवश्यक छ।
वित्तीय साक्षरतामा हासिल गरेको दशकभन्दा बढीको मेरो अनुभवका आधारमा र एक अभियानकर्ताका रूपमा मैले नीतिनिर्माण तहमा पनि सहभागी हुने अवसर पाएँ। मेरो अभियान, अनुभव र नीतिनिर्माणमा सहभागिताका तहबाट हेर्दा मैले आमनागरिकलाई वित्तीय साक्षरतामा अर्थपूर्ण सहभागी गराउनुपर्ने देखेको छु।
आमाबुबा, विद्यालय, समाज र सरकारले व्यक्तिको वित्तीय व्यवस्थापनमा के सिकाइरहेका छन् भन्ने कुरा विज्ञ र अभियानकर्ताहरूले थाहा पाउन आवश्यक छ।
मैले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम चलाउँदा सहभागीहरूको भनाइ हुन्छ – मसँग पैसा छैन, आमाबुबा पैसा खर्च गर्ने कुरा सुन्नै चाहनुहुन्न, परिवारमा बचतको कुरा निस्किँदा खर्च चलाउने त पैसा छैन, केको बचत भन्ने प्रश्न आउँछ, कहिलेकाहीँ त पैसाको विषयमा घरझगडा हुन बेर लाग्दैन।
साँच्चै हो, कतिपयका अभिभावकहरू छोराछोरी पैसाको महत्त्व बुझ्दैनन्, बढी खर्च गर्छन्, बचत गर्न पुग्दैन भन्ने ठान्छन्। तर यो विषयमा परिवारमा कहिल्यै छलफल हुँदैन। यो वास्तविकताले समाजको पिँध (प्रत्येक परिवार र व्यक्ति) सम्म वित्तीय साक्षरता पुगेको छैन भन्ने देखाउँछ। वित्तीय साक्षरताका लागि पियर लर्निङ (सहकर्मी सिकाइ) प्रभावकारी हुने देखिएको छ तर यस्तो सिकाइ गर्न सकिएको छैन।
नेपालको बैंकिङ प्रणाली र बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय साक्षरताको विषयमा अझ उत्तरदायी बनाउनुपर्ने भएको छ। यी संस्थाहरूले आफ्ना प्रोडक्ट (कार्यक्रम/उत्पादन) मात्र बेच्न बल गर्ने तर वित्तीय साक्षरतामा ध्यान नदिने देखिएको छ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरूलाई वित्त व्यवस्थापन सिकाउनुपर्छ, यसको महत्त्व बुझाउनुपर्छ। बैंकका फ्रन्टलाइनका कर्मचारीहरूले बैंकिङ प्रक्रिया सुरू गर्दा आम ग्राहकलाई वित्त व्यवस्थापन राम्ररी बुझाउनुपर्छ।
ग्राहकको केवाइसी फारम भर्दा वा ग्राहकसँग कागजात माग्दा बैंकका कर्मचारीले त्यसको महत्त्व ठीक ढंगले बुझाउन सक्नुपर्छ। ग्राहकलाई वित्तीय क्षेत्रको सेवा र सुरक्षाको राम्ररी जानकारी भएपछि मात्र आफ्नो पैसा व्यवस्थापनबारे खुलेर छलफल गर्न अघि सर्छन्।
बैंक तथा वित्तीय संस्थाहरूले सेवाग्राहीको उचित सम्मान गर्न सक्दैनन्, वित्त व्यवस्थापनको महत्त्व बुझाउन सक्दैनन् भने तिनले ग्राहक आकर्षण गर्न पनि सक्दैनन्।
हरेक वित्तीय संस्थाले आफ्नो वेबसाइटमा आम ग्राहकले सजिलै बुझ्ने गरी वित्तीय साक्षरता सम्बन्धी सामग्री राख्नुपर्छ। सजिलोका लागि यस्तो सामग्री ग्राहक अनुकूलको भाषामा लेख्नुपर्छ। साक्षरता 'टिप्स र टूल्स' पनि उपलब्ध गराउनुपर्छ। विकसित देशहरूले सूचना तथा सञ्चार प्रविधि र एआई समेतको सहयोगमा यस्ता सामग्री प्रभावकारी रूपमा प्रस्तुत गर्ने गरेका छन्। नेपालका वित्तीय संस्थाहरूले पनि यसलाई प्राथमिकतामा राख्न आवश्यक छ।
बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्व पनि हुन्छ। यसअन्तर्गत लगानी गर्दा वित्तीय साक्षरतालाई प्राथमिकतामा राख्नुपर्छ। प्रभावकारी तरिकाले छलफल, गोष्ठी, कार्यशाला तथा प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ। ग्राहकहरूले वित्तीय साक्षरता आफ्नो घरपरिवारमा पुर्याउनुपर्छ।
यसरी सामाजिक र आर्थिक पक्षमा प्रभाव पार्दै व्यापक अभियान सिर्जना गर्नुपर्छ। यसमा नेपाल राष्ट्र बैंकले प्रयास गर्दै आएको छ तर पर्याप्त छैन, धेरै काम गर्न बाँकी छ। राष्ट्र बैंकको नेतृत्वले वित्तीय साक्षरता कार्यक्रम व्यापक र प्रभावकारी बनाउन सबै बैंक तथा वित्तीय संस्था र सरोकारवालाहरूको सहभागिता बढाउनुपर्छ। यस सम्बन्धी नीतिनियम र कार्यक्रम बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।
वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको अनुगमन र मूल्यांकन पनि प्रभावकारी हुन आवश्यक छ। राष्ट्र बैंकले यसको पनि कार्यविधि तयार गरी सबै सरोकारवाला मार्फत कार्यान्वन गराउनुपर्छ।
नेपालमा वित्तीय साक्षरता फैलिँदै छ तर प्रभावकारिता र व्यापकता बढाउन आवश्यक छ। राष्ट्र बैंकले यस सम्बन्धी सहजीकरण र प्रोत्साहनको वातावरण तयार गर्नुपर्छ।
वर्तमान विश्वमा वित्तीय साक्षरता महत्त्वपूर्ण एक प्रक्रिया हो। वित्तीय साक्षता परिवर्तनशील छ र यो समयानुकूल हुन्छ। आजको जानकारी एक वर्षपछि काम नलाग्न सक्छ। यसकारण नयाँ प्रविधि अनुसार अद्यावधिक हुन आवश्यक हुन्छ।
ग्राहक आफै जानकार हुँदैन। बैंक तथा वित्तीय संस्थाले नै ग्राहकको आवश्यकता पहिचान गरेर जानकारी गराउनुपर्छ। वित्तीय साक्षरता व्यक्तिको दैनिक व्यवहारसँग जोडिएको हुन्छ। भन्ने तथ्य सबै सरोकारवालाहरूले थाहा पाउन र तदनुकूल व्यवहार गर्न आवश्यक छ।
(लेखक प्रकाश कोइराला फिनलिट नाम कम्पनीका संस्थापक हुन्। उनी सन् २०२१ मा फोर्ब्सको '३० अन्डर ३० एसिया- फाइनान्स एन्ड भिसी' को सूचीमा पनि परेका थिए।)